अतिक्रमणमा नेपाली भाषा

madhav regmi माधव रेग्मी

 

हिजोआज विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत् विद्यार्थीलाई कतिपय सामान्य नेपाली शब्दहरूको समेत अर्थ थाहा नभएको वा प्रयोग गर्न नजानेकोे पाइन्छ ।  निजी विद्यालयमा नेपाली एक विषयबाहेक अन्य सम्पूर्ण विषय अङ्ग्रेजीमा नै पठनपाठन हुन्छ ।  फलस्वरूप यस्ता विद्यालयमा अध्ययनरत् विद्यार्थी सामान्यतया अन्य विषयमा भन्दा नेपाली विषयमा र अङ्ग्रेजी भाषामा भन्दा नेपाली भाषामा कमजोर रहेको पाइन्छ ।  एउटा नेपाली विद्यार्थी आफ्नै देशको राष्ट्रभाषा नेपालीमा नै अन्य मुलुकको भाषामा भन्दा कमजोर हुनु निःशन्देह अत्यन्त दुःखद् विषय हो ।    
आमशिक्षक र अभिभावकको सोच एवं चाहना पनि विद्यार्थीलाई अङ्ग्रेजी भाषामा नै दख्खल बनाउनुपर्ने भन्ने रहेको पाइन्छ ।  पक्कै पनि विश्वव्यापीकरणको अहिलेको समयमा अङ्ग्रेजी भाषाको प्रयोग गर्नु वा अङ्ग्रेजी भाषामा दख्खल बनाउन खोज्नु सकारात्मक कुरा हो ।  तथापि आफ्नो मौलिक नेपाली भाषाको ज्ञान र प्रयोगको स्तरका बारेमा चासो नै नदिने र अङ्ग्रेजी भाषा चाहिँ जसरी पनि राम्रो हुनुपर्ने भन्ने सोच अधिकांश रूपमा रहेको पाइन्छ, जुन सकारात्मक मान्न सकिन्न ।  यस्तो प्रवृत्तिले समग्र नेपाली भाषाको विकासका प्रतिकूल असर त पु¥याँउछ नै, सँगसँगै हामीले नेपाली भाषाप्रति न्याय गर्न नसकेको पनि ठहरिन्छ ।  
पछिल्लो समयमा त अङ्ग्रेजी भाषा मात्र नभई चाइनिज, जर्मनी, फ्रेन्च, हिन्दीजस्ता विभिन्न भाषामा समेत निजी विद्यालयमा बालबालिकालाई पढाइने गरिएको पाइएको छ ।  यसले गर्दा एउटा गम्भीर प्रश्न उठ्छ, किन हामीमा विदेशी भाषाप्रतिको मोह यसरी बढ्दै जान थालेको छ ? किन हामी विदेशी भाषा, संस्कृति जति सबै राम्रो र उपयोगी तर हाम्रो आफ्नै चाहिँ नराम्रो र अनुपयोगी भन्ने भावना राखी आफ्नै नेपाली भाषालाई अवमूल्यन गर्दै जान
थाल्दैछौंँ ? विश्वका विकसित देशका नागरिकहरू, जस्तै युरोपियन, जापनिज, चाइनिज, रसियन, कोरियन आदिले आफ्नै भाषाको प्रयोग गरेर अगाडि बढिरहेका छन् ।  तर हामी चाहिँ आफ्नै भाषाको प्रयोगमा उदासिनता प्रकट गर्दैछौँं ।  वास्तवमा, हामी नेपालीका  लागि हाम्रो नेपाली भाषा अन्य विदेशी भाषाभन्दा बढी प्यारो र महìवपूर्ण हुनुपर्छ, जसरी उनीहरूले आफ्नो भाषाको प्रयोग र माया बढी गरेका छन् ।    
हामीकहाँ एसएलसीमा अलिकति राम्रो अङ्क÷स्तर ल्याउनासाथ प्रायजसो विद्यार्थीको रुचि विज्ञान वा प्राविधिक विषय अध्ययन गरेर डाक्टर, इन्जिनियर वा प्राविधिज्ञ बन्ने भन्ने रहेको पाइन्छ ।  विज्ञान वा प्राविधिक विषय पढ्नु निश्चय पनि राम्रो कुरा हो, तर राम्रो अङ्क हासिल गर्ने सबैले विज्ञान, प्रविधि नै पढ्नै पर्ने भन्ने सङ्कुचित सोचले हामीमा जरा गाडेको छ ।  के राम्रो अङ्कका साथ उत्तीर्ण गरेका कुनै पनि विद्यार्थीले नेपाली, भूगोल वा संस्कृतिजस्ता विषय पढ्नै हुँदैन र ? नेपाली, भूगोल वा संस्कृतिजस्ता विषय लिएर पढेका विद्यार्थीलाई भन्दा विज्ञान वा तथाकथित प्राविधिक विषय लिएर पढेको विद्यार्थीलाई बढी इज्जत दिने संस्कार हामीकहाँ पाइन्छ ।  वस्तुतः, कुनै पनि विषयमा खोज, अनुसन्धान गरेर नयाँ कुरा पत्ता लागाउन सकेमा त्यो विषय आफैँमा नराम्रो भन्ने हुँदैन ।  त्यसैले, मेधावी विद्यार्थीले पनि नेपाली भाषा पढेर नेपाली भाषा संरक्षणमा लाग्न सकेमा नेपाली भाषाको विकासमा ठोस योगदान पुग्न सक्छ ।  
नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली बृहत् शब्दकोष (२०७२) द्वारा नेपाली भाषाको वर्णविन्यासमा गरेको परिवर्तनलाई खारेज गरी पुरानै कायम गर्ने गरी गरेको निर्णय सकारात्मक छ ।  उक्त वर्णविन्यासले भाषा सरल र सहज बनाउने नाममा भाषाका नियमलाई मिच्दै नेपाली भाषा झन् जटिल र क्लिष्ट बनाएको गुनासो आम भाषाविद् एवं नागरिकले गरेका थिए ।  निश्चय नै समयानुकूल भाषामा परिमार्जन र सुधारको खाँचो हुन सक्छ तर भाषालाई परिष्कृत र राम्रो बनाउनुको सट्टा झन् बिगार्ने काम भने गरिनु हुँदैन ।  भाषा पहिचान र संस्कृतिको द्योतक भएकाले यसको विकास र विस्तारमा लाग्नु सबै भाषाविद्, बुद्धिजीवी तथा प्रज्ञा प्रतिष्ठानको दायित्व हो ।  
भाषाको समयानुकूल विकास र दैनिक जीवनमा प्रयोगमा आउने अत्यन्त प्रचलित अङ्ग्रेजी शब्दहरूको नेपाली शब्दहरू आविष्कार गर्न भाषविद्, प्रज्ञा प्रतिष्ठानलगायत सम्बन्धित पक्षको पटक्कै ध्यान गएको पाइँदैन ।  उदाहरणका लागि टेलिफोन, टेलिभिजन, मोबाइल, इन्टरनेट, कम्प्युटर आदिको नेपाली शब्द हामीसँग छैन ।  सुन्दा अपत्यारिलो लाग्न सक्छ कि आम जापानी वा चाइनिज नागरिकले मोबाइल वा कम्प्युटर भनेको हत्पती बुझ्दैनन् किनकी यस्ता शब्दहरू प्रयोग गर्न उनीहरू आफ्नै भाषाको प्रयोग गर्छन् ।  यो पक्कै पनि उनीहरूको भाषिक र सांस्कृतिक सम्पन्नताको परिचायक हो तर अपसोच, प्रायजसो हामी नेपाली कसैले पनि नयाँ शब्दको आविष्कार गरी भाषा र संस्कृतिको जगेर्ना गर्ने कुरामा ध्यान दिन त के सोच्ने पनि गरेका छैनौँ ।  अङ्ग्रेजी शब्दले नै काम चलेकै छ नि भन्ने मानसिकता प्रायः सबैमा छ तर प्रचलनमा रहेका अङ्ग्रेजी भाषाका यस्ता शब्दहरू बुझाउने नेपाली शब्दहरूको विकास गर्न सके हाम्रो भाषा समृद्ध हुनका साथै बोलीचालीमा नेपाली भाषा नै प्रयोग गर्न सकिन्थ्यो ।  
आधुनिकता सँगै नेपाली भाषाको प्रयोगमा अङ्ग्रेजी भाषा मिसाएर बोल्ने क्रम दिनानुदिन बढ्दो छ ।  सञ्चार माध्यम, पत्रपत्रिका, विभिन्न कार्यक्रम वा बोलीचालीको क्रममा आममानिसले नबुझ्ने गरी अत्याधिक मात्रामा अङ्ग्रेजी मिसाएर नेपाली भाषाको प्रयोग गरिएको पाइन्छ ।  यसले एकातिर त जुन उद्देश्य राखेर लक्षित व्यक्ति वा समुदायसँग सञ्चार वा कुराकानी गर्न खोजिएको हो, त्यो पूरा हुँदैन भने अर्कोतिर नेपाली भाषामाथि विदेशी, विशेषगरी अङ्ग्रेजी, भाषाको अतिक्रमण पनि बढ्दै गएको पुष्टि हुन्छ ।  दैनिक जीवनमा प्रयोग हुने सामान्यभन्दा सामान्य शब्दलगायत विज्ञान र प्रविधिसम्बन्धी शब्दहरूको नेपाली शब्द वा भाषा नै नहुनु अत्यन्त लाजमर्दो विषय हो ।  
भाषा कुनै पनि समाज वा राष्ट्रको संस्कृति, सभ्यता र जीवनशैलीरूपी अभिन्न अङ्ग हो ।  भाषाको माध्यमबाट नै मानिसका बीच सञ्चार कायम गर्न वा विचार आदानप्रदान गर्न सम्भव हुन्छ ।  भाषाको विकासबाट नै साहित्य, संस्कृति, पहिचान र राष्ट्रियताको विकास र सुदृढीकरण सम्भव हुन्छ तर विडम्बना हामी आफ्नै भाषा, संस्कृतिको विकास र यसमाथि भइरहेको अतिक्रमणप्रति उदासिन प्रायः छौँ ।  
मानव इतिहासमा भाषाको लोप हुने क्रम प्राचीन कालदेखि नै भई आए पनि विश्वव्यापीकरण र आर्थिक सम्पन्न राष्ट्रका भाषाले अन्य भाषामाथि प्रभुत्व जमाउँदै गएकाले कम प्रचलनमा रहेका भाषाहरू तीव्र गतिमा लोप हुँदै गएका छन् ।  संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार हाल विश्वमा करिब छ हजारको सङ्ख्यामा भाषा प्रचलनमा रहे पनि दुई तिहाई भाषा लोप हुने खतरामा रहेको छ ।  
यसप्रकार विश्वमा प्रतिवर्ष कैयाँैं भाषाहरूको लोप हुँदै गइरहेको छ ।  हामीकहाँ पनि भाषामाथिको अतिक्रमण यसरी नै निरन्तर चलिरहने हो भने कुनै एक दिन नेपाली भाषा नै लोपोन्मुख स्थितिमा नपुग्ला भन्न सकिन्न ।   भाषाको विनाश भएमा भविष्यका सन्ततिले नेपाली संस्कृति, सभ्यता र पहिचान नै गुमाउने निश्चित प्रायः छ ।  तसर्थ, नेपाली भाषालाई अन्य भाषाको अतिक्रमणबाट जोगाउन सबैको ध्यान जानु जरुरी छ ।  यसका लागि सम्पूर्ण भाषाविद्, शिक्षाप्रेमी, राष्ट्रप्रेमी, आमनागरिक र प्रज्ञा प्रतिष्ठान एकजुट भई भाषाको संरक्षण र संवद्र्धनमा लाग्नु अपरिहार्य भएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना