ओझेलमा नपरोस् रामधुनी

jk yadav जयकृष्ण यादव

 

पूर्वी नेपालको सुनसरी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रामधुनीमा यस वर्ष पनि भव्य वालाचतुर्दशी मेलाको तयारी भएको छ ।  सुनसरीको रामधुनी भासी नगरपालिका–१० मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रामधुनी मन्दिर लामो समयदेखि प्रचारप्रसार र संरक्षण अभावमा सङ्कटमा पर्न थालेको भए पनि मेलाले छुट्टै रौनक बढाउने गरेको छ ।  
नेपालको पर्यटकीय क्षेत्रका रूपमा रहेको रामधुनी वन क्षेत्रमा रामधुनी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।  रामायण र रामकथासँग जोडिएको क्षेत्र भएका कारणले रामधुनी मेलालाई भारतीयहरूले समेत महìवका साथ हेर्ने गरेका छन् ।  सुनसरी जिल्लाको एक नगरपालिका र ४ गाविसमा फैलिएको रामधुनी जंगलको मध्य भागमा रहेको रामधुनी भासी नगरपालिका १० (साविकको सिंगिया गाविस वडा नम्बर २ को) रामधुनी मन्दिरमा यस वर्ष मङ्सिर १३ गते बलाचतुर्दशीका दिन धुमधामका साथ मेला लाग्दैछ ।  मेलाको पूर्वसन्ध्यामा रंगरोगन र सरसफाइको काम गरिएको छ ।  यस क्षेत्रको स्थलगत अवलोकन र भ्रमणका लागि प्रायः हिन्दू धर्मावलम्बी आउने गरेका छन् ।  यहाँको महिमा र मेलाको छुट्टै महìव छ ।
    रामधुनी भासी र प्रकाशपुर गाउँ विकास समिति अन्तर्गतको मध्यभागमा पर्ने भए पनि जङ्गलको मध्यक्षेत्रको प्रख्यात धार्मिक स्थलको नाम हो रामधुनी ।  जहाँ प्रत्येक वर्ष बलाचतुदर्शी तथा रामनवमीको दिन भव्य मेला लाग्ने गर्दछ ।  ठूलो मेला लाग्ने क्रममा यही मङ्सिर १३ गते समेत रामधुनी मेला लाग्दैछ ।   बाबा र मजदुरहरू दिनभर मन्दिर क्षेत्रको  सरसफाइ र रङरोगनको काम गरिरहेका छन् ।  भगवान् राम १४ वर्ष वनवासको समयमा आएको बेला रामधुनीको बीचमा रहेको पोखरी, जुन पोखरीमा सीताले नुहाएको स्थानीयहरू दाबी गर्छन् ।  साढे तीनसय वर्ष अगाडि नै जङ्गलमा रहेको तर अहिले जीर्ण अवस्थामा पुगेको सीताले नुहाएको त्यो पोखरीको पनि धमाधम सफाइ भइरहेको छ ।
पूर्वी नेपालमा मात्रै नभई देशभर र भारतको विशेषगरी अयोध्या नगरी तथा राजधानी नयाँ दिल्ली, गुजरात, विहार, सहर्सा लगायतका क्षेत्रका महात्मा र बाबाहरूको मनपर्ने र रोजाइमा पर्ने सुनसरीको रामधुनीमा मेला हुनुपूर्व नै बाबाहरू आइसकेको दृश्य पनि रामधुनी मन्दिर परिसरमा देखिन्छ ।  त्यो दृश्यले रामधुनी मेला साँच्चै भव्य र सभ्य तरिकाबाट सम्पन्न हुने संकेत गरेको छ  ।  सुनसरी जिल्लाको सदरमुकाम इनरुवाबाट करीब १७ किलोमिटरको उत्तरमा रहेको रामधुनी स्थानमा चारैतिर घना जङ्गल र सुन्दर फूलबारीका बीचमा धुनीस्थल रहेकोमा हाल फूलबारी छैन ।  तर त्रेतायुगदेखि बल्न सुरु भएको अखण्ड धुनी आजसम्म पनि निरन्तर बलिरहेको छ ।  किंवदन्तीमा आधारित यो स्थान पूर्वाञ्चलकै प्रसिद्ध तीर्थस्थल हो ।  रामनवमी, विवाह पञ्चमी र बालाचतुर्दशीमा लाग्ने मेलामा लाखौँको संख्यामा भक्तजन आउने गरेकोमा केही वर्ष यता घट्ने क्रममा रहेकाले त्यसलाई ध्यानमा राखी रामधुनी संरक्षित वन क्षेत्र कार्यक्रम र रामधुनी क्षेत्र संरक्षण विकास समितिले धुमधामका साथ मेला आयोजना गरेका छन् ।  यहाँ नेपाल, भारत तथा भुटानका मानिस आउने गरेका छन् ।  वनबासको क्रममा सम्झनास्वरूप भगवान् रामले छाडेको एकजोर खराउ केही वर्ष अघि चोरी भएकाले हाल कृत्रिम रूपले बनाइएको खराउ राखिएको छ ।
यस पवित्र स्थलमा त्रेतायुगमा रामचन्द्रले बासबस्दा बालेको धुनी निरन्तर जलिरहेको र कथंकदाचित्् निभेमा धरानस्थित पिण्डेश्वरमा रहेको अखण्डदीपबाट प्रज्वलित गर्नुपर्ने र पिण्डेश्वरको अखण्डदीप निभेमा रामधुनीको धुनीबाट आगो लगी सल्काउनुपर्ने परम्परा हालसम्म कायमै रहेको पुजारी काशीदास उदासीको भनाइ छ ।   राम वनबासको क्रममा सम्झनास्वरूप भगवान् रामले छोडेको एकजोर खराउ चोरी भए पनि रथका पाङ्ग्रा हालसम्म रहेको र यो मन्दिर बाहिर तुलसीको बोट घेरेको अवस्थामा देखिन्छ ।  त्यसलाई १० जनाले पनि उचाल्न सकिँदैन ।  
कृष्णराज उदासीले भन्नुभयो, रामचन्द्रको पाउ स्पर्श भएको यस पवित्र भूमिमा आफ्नो ध्यानलाई पूर्ण गर्न बसेका बाबा वनस्खण्डी नाम गरेका योगीले रामचन्द्रले जगाएका अग्निलाई निभ्न नदिई राखेर त्यसबाट प्राप्त भएको विगुत (खरानी) प्रसादको रूपमा वितरण गर्ने प्रचलन सुरु भएको हो ।  रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँको विगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म छ ।  यसबाहेक रामचन्द्रले किशोर अवस्थामा राजकुमारी विदिन्युलाई भेट्न आउँदा रामधुनी वनमा ती राजकुमारी धुनी बाली बसेको जनश्रुति पनि छ ।  
रामधुनीमा मुख्य रूपमा धुनिमन्दिर र दरवार मन्दिर, हनुमान, परेवा, हरिण, गौशाला, हाँसपोखरी आदि छन् ।  धुनीमन्दिरमा सधैँ एउटा साजको मूढो सल्काएर राखिन्छ र उक्त मूढो बलिरहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद हो ।  यसैगरी दरवार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ ।  त्यसभित्र चन्द्र, शिवलिंग, दु्र्गा र सिंहका मूर्तिहरू तथा नयाँ एकजोर खराउ पनि राखिएका छन् ।  वनस्खण्डी बाबाले बोकेर हिँड्ने मनचिन्ते चिम्टा पनि छ ।  किंवदन्ती अनुसार वनखण्डी बाबाले यहाँका सखुवाको बोटमा चिम्टा रोपेर आँपका वृक्ष बनाएका थिए ।  त्यो रुखको आँप खाँदा सखुवाको गन्ध आउने गर्छ ।  पुजारी उदासीले अहिले पनि एक दर्जन आँपको रुख रहेको तर तल सखुवाको र माथि आँपको जस्तो रहेको जानकारी दिनुभयो ।
 यहाँ पहिला पहिला साजको मुढा आफँै सरेर धुनीमा आउने गरेको बताइन्छ ।  पिण्डेश्वरका बाघम्बर र चिताम्बर, रामधुनीका वलखण्डी तथा चतराका औलियाबाबा समकालीन थिए भनिन्छ ।  उनीहरूका बारेमा कैयौँ प्रकारका चमत्कारी कथाप्रसङ्ग समेत जोडिएका छन् ।  रामधुनी धार्मिक पर्यटन स्थल मात्र नभएर फिसिङ, जंगलसफारी, नौकाशयर, वर्ड वाचिङ र जलक्रीडा पर्यटनका लागि समेत महìवपूर्ण छ ।  कोशीनदी र कोशी टप्पु वन्यजन्तु आरक्ष चतरा र वराहक्षेत्र यस स्थानबाट नजिकै पर्दछन् ।  
 रामधुनीलाई एउटा पार्कका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।  तर अहिलेसम्म यस क्षेत्रमा विद्युत् र सुरक्षाको प्रत्याभूति छैन ।  शौचालय, खानेपानी र पिच बाटोको अभावमा रामधुनीको विकास पछि परेको गुनासो छ ।   
    नेपालको महाकुम्भ लाग्ने स्थल चतरा, बराहक्षेत्र सँगै दन्तकाली, पिण्डेश्वरी धाम तथा बर्जु तालको जिल्ला सुनसरीको मध्य भागमा ऐतिहासिक रामधुनी जंगल र मन्दिर रहेको छ ।  यहाँ नेपाल सहित भारत र भुटानका हिन्दू धर्म मान्ने साधुसन्त र धर्मप्रति आस्था राख्ने पर्यटक आउने गरेका छन् ।   
  यहाँ कबीर, राम, औलिया बाबा लगायतका तपस्वीहरूले तपस्या गरेको मानिन्छ ।  सुनसरी सदरमुकाम इनरुवा देखि १८÷१९ किलो मिटर दूरीमा रहेको रामधुनी वन तथा मन्दिरको बाटो निकै विकट छ ।  झुम्का बजारदेखि ५ किलो मिटर पश्चिम र प्रकाशपुर बजारदेखि ४ किलो मिटर पूर्वमा रहेको रामधुनीको बाटो कच्ची भए पनि इनरुवादेखि झुम्का पूर्वपश्चिम राजमार्गको पिच बाटो छ भने इनरुवादेखि प्रकाशपुरको बाटो पनि पिच छ ।  पटक पटक कालो पत्रेको आश्वासन आए पनि काम सम्पन्न हुन सकेको छैन ।  तर अबको एक वर्ष भित्रमा  कालोपत्रे हुने रामधुनी संरक्षित वन परिषद् र स्थानीयवासीको विश्वास छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना