संस्कृतिको एक पृथक् पाटोः बालाचतुर्दर्शी

munundara ratanaमुनीन्द्ररत्न वज्राचार्य


हिन्दूधर्म संस्कृतिमा विभिन्न रीतिथितिमा कार्तिक कृष्ण चतुर्थीका दिन दिवंगतहरूको नाममा बालाऊ भनी शतबीज छर्न जाने चलन परापूर्वकालदेखि नै चलिआएको छ ।  आमाबाबु नभएका छोराछोरीले वा छोराछोरी नभएका बाबुआमाले आफ्ना दिवंगत परिवारको नाममा यसदिन पशुपतिका देवपत्तन क्षेत्रमा रहेका मन्दिरको आसपास शतबीज छर्दै परिक्रमा गर्दछन् ।  वनकालीको गणेश स्थानबाट शुरु गरी पशुपति, कैलाश, गुह्येश्वरी, श्लेष्मान्तक, मृगस्थली, विश्वरूप बाटोमा पर्ने सबै देव देवताहरूको दर्शन गरेर बागमती माथिको वनमा रहकोे न्हाय्पँख्वाँय् गणेशमा बाँकी सबै चढाएर शतबीज छर्ने काम पूरा गरी समापन गरिन्छ ।  कोही टाढा जान नसक्नेहरू नेपालका ठाउँठाउँमा रहेका तीर्थ, मन्दिर, मठ, विहार परिक्रमा गरेर शतबीज छर्ने चलन छ ।  शतबीज भन्नाले सप्तधान्यादि धान, जैधान, भटमास, मास, सस्र्यु, रायोगेडा, कालो तिल, जौ, सानो केराउ, लावा मिसाएर शतबीज तयार गरिन्छ ।  यससँगै फलफूल, रोटी, फूल पनि चढाउने गरिन्छ ।
शतबीज छर्ने परम्पराको प्रारम्भ र महìवबारे हिमवत्खण्ड पुराणको बयालिसौं अध्यायमा उल्लेख छ ।  यस अनुसार भगवान् शिवजीले मृगरूप लिएर जहाँजहाँ खेल्नुभयो, खानुभयो, सुत्नुभयो र विहार गर्नुभयो, ती स्थान पुण्यक्षेत्र भएकोले त्यहाँ शतबीज छर्दा एकटुक्रा सुन दान गरेको बराबर हुने, कैलाशबास हुने र मोक्ष प्राप्त हुनेछ ।  हिन्दू या बौद्ध होस् आफ्ना मरेका परिवार आफन्तजनको चिरशान्ति एवं स्वर्गप्राप्तिको कामनाले शतबीज छर्ने गर्दछन् ।  शतबीजारोपण वा छर्ने परम्पराको विस्तार सम्बन्धमा एउटा धार्मिक किंवदन्ती पनि छ ।  भगवान् शिवजीले मृग रूप धारण गरी श्लेष्मान्तक वनमा विहार गरी कैलाशमा नर्फकेकोले पार्वतीलाई ज्यादै पीर प¥यो ।  त्यसैले बागमतीको किनारामा रहेको मृगस्थलीमा भगवान् मृगको रूप लिएर विहार गरिरहेको थाहा पाएर शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न अन्न छर्नु भयो ।  ती छरेका सम्पूर्ण अन्न सप्रिन थाले र मृगका बथान त्यहाँ आउन थालेकाले पार्वतीलाई शिवरूपी मृग चिन्न गाह्रोे परेन यसैको सम्झनामा कालान्तरमा शतबीज छर्ने परम्परा रहन गयो ।  बालाचर्तुशी पर्वको अर्को किंवदन्ती अनुसार अर्को कारण परापूर्वकालमा नेपालमा भुवनकेशरी नाम गरेको राजाको पालामा बालानन्द नाम गरेको मान्छेसँग सम्बन्धित एउटा कथासँग पनि सम्बन्ध छ ।  बालानन्दबाट बालासूर राक्षस हुन गई उनलाई मारेको दिनको सम्झना गरी यो पर्व मनाएको किंवदन्ती छ ।          
नेपाल थरीथरीका सांस्कृतिक परम्पराले ओतप्रोत रहेको देश हो ।  एकै अवसरमा पनि विभिन्न जात्रा, परम्परा रहेको हुन्छ ।  यसै अवसरमा बालाचतुर्दशीका दिन काठमाडौं उपत्यकामा अर्को पनि जात्रा छ ।  काठमाडौँ उपत्यकाको पश्चिम भेगको ढल्कोस्थित विष्णुमति किनारा शोभाभगवती अगाडि इन्द्रायणी मन्दिर छ ।  नेपालको प्राचीन धार्मिक किंवदन्ती अनुसार मत्र्यलोकमा वर्षा नभएर अनिकाल भई हाहाकार मच्चिई खान नपाएर सबै प्राणी भोकले दुर्भिक्षको अवस्थामा पुगेको थियो ।  स्वर्गका राजा इन्द्रले यस्तो अवस्था बुझी आफ्ना पत्नी इन्द्रायणीलाई मत्र्यलोकमा गई अनिकाल र दुर्भिक्षबाट मुक्त गर्न पठाए ।  इन्द्रायणी मत्र्यलोकमा आई दुर्भिक्ष हटाई सुखपूर्वक जीवनयापन गर्न लगाई कल्याण गरिदिए ।  यसै दैवीशक्तिको सम्झनामा इन्द्रायणी देवीको मूर्ति स्थापना गरियोे ।   इन्द्रायणी देवीको स्थापना गुणकामदेवको पालामा गरेको अनुमान गर्न सकिन्छ ।   
बालाचतुर्दशीका दिन इन्द्रायणी लुुतिमरु अजिमाको  जात्रा धुमधामले गरिन्छ ।  मार्गकृष्ण त्रयोदशीका दिन यहाँ राति जात्राका लागि इन्द्रायणी देवघरबाट इन्द्रायणी लुतिमरु अजिमाको खटलाई बाजागाजाका साथ ‘गम’ भनि द्यःछेँ अर्थात् देउताको घर असन त्यौड तःननीबाट जात्रा गरी विष्णुमती ल्याइन्छ ।  त्यस्तै विभिन्न स्थानबाट विभिन्न खट जस्तो शोभाभगवती, ज्वालामाई, माखचा खट, भुँडे गणेश, र स्वाँछपु गणेश आदिको खटहरू ल्याई लहरै उभ्याइराखिएको हुन्छ ।  सो राती इन्द्रायणी मन्दिर अगाडी विशेष यज्ञ हुन्छ ।  प्रत्येक वर्ष बालाचतुर्दशीका दिन पञ्चबलीको होम गरी पूजा गर्ने चलन छ ।  मन्दिर अगाडि बालाचतुर्दशीको जात्राको समयमा सर्पाहुति यज्ञ होम गरिन्छ ।  सो राती इन्द्रायणी मन्दिर अगाडि विशेष यज्ञ हुन्छ ।  यस यज्ञको मूल विशेषता भनेको नै तान्त्रिक मांसाहुति, सर्पाहुति यज्ञ हो ।  यहाँ गरिने यज्ञका लागि प्रत्येक वर्ष इन्द्रजात्राको समय भाद्र शुक्ल द्वादशीका दिन टोखास्थित जङ्गलबाट रुखकाटी विधिपूर्वक यहाँ ल्याउनुपर्दछ ।  मध्यरातमा पुुरोहितबाट विधिपूर्वक गुह्यात्मक तान्त्रिक पूजा गरी यज्ञ गरिन्छ ।  यज्ञमा काठमाडौंमा उब्जनी हुने सबै प्रकारको धान,गेडागुडी(बीबः) र फलफूल चढाउनु पर्दछ ।  विशेषगरी बाला चतुर्दशी जात्रा चलाउन एक दिन अगाडि इन्द्रायणी पीठमा रात्रिपूजामा राँगाको टाउको, फोक्सो, कलेजो मुटु र आन्द्रा सहित बलिमा चढाइन्छ ।  साथै यस पूजामा आहुति दिन प    ञ्चबलिका लागि जीवित दुई दुई जोडी भँगेरा, फट्याङ्ग्रा (बुँइचा), माछा, परेवा, सर्प आदि यज्ञकुण्डमा हालिन्छ ।  यस्तै सोहीबेला इन्द्रायणी लुति अजिमा मन्दिर अगाडि आगामी वर्षको यज्ञका लागि भनेर दुईजोर सर्प मचागाः भन्ने चिहानमा सर्पको जोडी जमिनमा छोडिन्छ ।  यसैले सर्पाहुती भनी  गरिने यज्ञ निकै रोमाञ्चकारी छ ।  यसको प्रचलन कहिलेदेखि भयो भनी कहीँ प्रमाण पाइँदैन ।  पनि मध्यकालको प्रारम्भिक समयका ठकूराजा (मल्ल) श्री जयदेवको पालादेखि चलि आएको भन्ने धारणा छ ।  यस्तै अचेल परेवाको जोडी बलि चढाउनु पर्दैन किनभने कुनै समयमा सो दुईजोडी परेवा उडेर कीर्तिपुर नगरमा उडेर गएको कारणले त्यहाँ इन्द्रायणी
(लुतिमरु) अजिमालाई सम्झी नामै बखँुमदः अष्टमी भनि सो दिन कीर्तिपुरका सातगाउँमा न्हय्गाँ जात्रा भनी इन्द्रायणी देवीको जात्रा अझै चलाउने गरिएको छ ।  
बालाचतुर्दशी पर्व मनाउन यसदिन विभिन्न कुखुराको भाले, बोका र राँगाको बलि दिने गरिन्छ ।  यहाँ इन्द्रायणी मन्दिर अगाडि देवदेवीको दर्शन र पूजा गर्न भक्तजनको भीड लाग्छ ।  सोही साँझ त्यहाँ राखिएका सम्पूर्ण खट ठहिटीचोकमा राख्न लगिन्छ ।  बिहानैदेखि भक्तजनको भेला भई पूजाआजा गरी जात्रा मनाइन्छ्् ।   मध्याह्न सो खटहरू आफ्नो आफ्नो निश्चित स्थानमा घुमाइन्छ ।        
बालाचतुर्दशीका दिन इन्द्रायणी देवी लुतिमरु अजिमाको जात्रा सम्बन्धमा भाषा वंशावलीमा यसरी उल्लेख छ  ।  इन्द्रायणी जात्रा मनाउन विभिन्न खट गुठी, नांचा गुठी, इलां गुठी, चिलाख गुठी, गहाना विचार गर्ने गुठी, मरः जा नकेगु (भुजा ख्वाउने) गुठी आदिको व्यवस्था गरिएको छ ।  यस गुठी चलाउन यहाँका विभिन्न ज्यापु, मानन्धर र कसाई जातिको गुठी लागेका छन् ।  गुठी चलाउन यो देवीको करीब ३६० रोपनी जग्गा रहेको बुझिन्छ तर अचेल यसको लेखाजोखा छैन ।  इन्द्रायणी लुतिमरु अजिमासँग ठहिटी र वटु टोलका मानन्धरहरूसँग धेरै सम्बन्ध छ ।  बालाचतुर्दशीमा जात्रा चलाउने र सर्पाहुति होम र खट जात्रामा यी मानन्धर सरिक हुन्छन् ।  दिउँसो लुतिमरु अजिमा अगाडि ठहिटीका मानन्धरहरू मरःजानकेगु भनी ससाना केटाकेटीलाई भुजा र अरु परिकारका खानेकुरा ख्वाउने गर्छन् ।  यसरी बालाचतुर्दशीका दिन विभिन्न जात्रा सहित यो पर्वलाई धुमधामले मनाउँदै आइरहेको छ ।  यस्ता जात्रा सरकार तथा समस्त देशवासीबाट संरक्षण हुनु आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना