विश्व दृष्टिमा महिला

Pabitaपविता मुडभरी पुडासैनी


 

अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराउँदै रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जितेपछि विश्वको शक्तिसम्पन्न मुलुक अमेरिकामा राष्ट्रप्रमुखको नेतृत्व महिलाले सम्हाल्ने विश्वअनुमानमा बिराम लागेको छ ।  विश्वभरका लाखौँ गुमनाम महिलाको समेत ध्यान खिच्न सफल हिलारी क्लिन्टनको अप्रत्याशीत पराजयले विश्वमा राजनीतिमा महिलाको कमजोर अवस्था देखिएको छ ।  हिलारीले हार्नुमा उनका राजनीतिक कमी कमजोरी र विपक्षीका नीतिगत कारण अवश्य होलान्, जसले आगामी निर्वाचनमा महिला उम्मेदवारले चाल्नुपर्ने अग्रगामी कदमको पाठ सिकाएको छ ।  अमेरिकामा महिलाकै नेतृत्व होस् भन्ने जनमत बढिरहेकै अवस्थामा राजनीतिक अनुभवी उदार भावनाकी नेतृ हिलारी विजयको दाबेदार हँुदाहँुदै विश्वलाई नै तीनछक पार्नेगरी भएको ट्रम्पको जितले शक्तिसम्पन्न मुलुकको राष्ट्रप्रमुख बन्ने महिलाको यो अवसर गुमेको छ ।  डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टन मतदाताबीच लोकप्रिय, विश्वमाझ चर्चित र आम महिलाका साझा प्रतिनिधिपात्रका रूपमा रहे पनि राष्ट्रपतिको गरिमामय पदमा उनी आसिन हुन नसक्दा फेरि पनि विश्वभरका महिलाका आशा र उमङ्गमाथि कालो बादल मडारिन पुगेको छ  ।
    चुनाव प्रचारका समयमा महिलालाई कलङ्क र प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई जेल हाल्नुपर्छ भनी विवादास्पद अभिव्यक्ति दिएका ट्रम्पले हाल आफूले आवेशमा बोलेकाले त्यसलाई अन्यथा नलिन आग्रह गरेका छन् ।  त्यसो त उनका कतिपय राष्ट्रवादी नीति तथा राष्ट्रपतिको तलब वार्षिक एक डलर मात्र लिने निर्णय गरेबाट नेपालका अकुत सम्पत्ति भ्रष्टाचार गरेर पनि तलब सेवा सुविधा बढाइरहने र स्वास्थ्योपचारका नाउँमा करोडौँ राष्ट्रिय ढुकुटी माग गर्ने नेपाली नेता नेतृहरूलाई नेता र नेतृत्वमा हुनुपर्ने राष्ट्रियता र उदारताको गतिलो पाठ सिकाएको छ ।  उनका कतिपय अभिव्यक्ति र क्रियाकलाप निकै विवादित र आलोचित रहे पनि अन्ततः ट्रम्पकै विजयले अमेरिकामा महिला नेतृत्वप्रतिको दृष्टिकोण कमजोर रहेको प्रस्ट भएको छ ।  अमेरिकामा ४५आँै राष्ट्रपति निर्वाचनसम्म पनि एक जना महिलाले राष्ट्रप्रमुखको जिम्मेवारी नपाउनु महिलाअधिकारवादीका लागि सोचनीय विषय बनेको छ ।  राजनीतिमा भिजेकी प्रजातान्त्रिक विचारधाराकी जनप्रिय नेत्री हिलारीले विश्वशक्ति राष्ट्र अमेरिकाको राष्ट्रिय नेतृत्व सम्हाल्ने मौका गुमाएसँगै विश्वभर राजनीतिक नेतृत्वमा महिलाको पकड कमजोेर सावित भएको छ ।  दक्षिण एसियाली मुलुकहरूमा महिलाले यो नेतृत्व हत्याएको वर्षौं बितिसक्दा चुनावी प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व हत्याउन ठूला तथा विकसित देशका महिला किन असमर्थ
छन् ? राजनीतिक यात्राको यो लामो कालखण्डमा नेतृत्व हात पार्ने प्रतिस्पर्धामा अमेरिकीमहिला पछारिँदै आउनु चिन्ताको विषय हो ।      विश्वका केही महिलाले यो स्थानमा पुग्ने अवसर पाए पनि तिनले राष्ट्रिय आवश्यकता र महŒवको सवालमा आफ्नो स्वविवेकमाभन्दा कि त आलङ्कारिक कि त पार्टी वा पुरुषको दबाबमा पदीय जिम्मेवारी बहन गर्नुपर्ने विडम्बना छ ।  नेपालमा हाल राष्ट्र प्रमुख विद्या भण्डारी हुनुहुन्छ ।  राष्ट्रपतीय निर्वाचनको दोस्रो कार्यकालमा उहाँ यो पद हत्याउन सफल हुनुभएको हो ।  लामो राजनीतिक सङ्घर्षसँगै स्वच्छ राजनीतिक छवियुक्त र विशेषतः महिला सरोकारका मुद्दामा बढी केन्द्रित हुँदै आउनुभएकी भण्डारीको चयन अमेरिकी निर्वाचन प्रक्रियाभन्दा एकदम अलग भए पनि नेपालमा यसलाई उपलब्धिपूर्ण मानिएको छ ।  नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणको महŒवपूर्ण अध्यायको रूपमा यसलाई हेर्ने गरिएको छ ।  अझ सभामुख र प्रधानन्यायाधीश समेत महिला नै रहेबाट विश्वमै सकारात्मक सन्देश गएको छ ।  हरेक राजनीतिक पार्टीले निर्वाचनमा एकतिहाइ महिला उठाउनुपर्ने र राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिलाको सुनिश्चितता हुनुपर्ने संवैधानिक व्यवस्थाले नेतृत्वमा महिलाको संलग्नता अझै बढ्दै जानेमा आशावादी हुन सकिन्छ  ।      
    नोभेम्बर २५ तारिखदेखि महिला हिंसा विरुद्ध विश्वदिवस १५ दिनसम्म मनाइँदै छ । हिंसा विरुद्धका अभियन्ता सहरका सडक गल्लीमा प्लेकार्ड बोकेर महिला हिंसा विरुद्ध आवाज उराल्ने र ठूलो धनराशी खर्च गरी सभासम्मेलन गर्ने कार्य जोडतोडले हुनेछ ।  महिलाअधिकारकर्मीहरू आँखै अगाडिका महिला हिंसाप्रति आँखा चिम्लिएर तारेहोटलमा जम्मा भएर गोष्ठी सेमिनार गर्नेछन्  ।  हिंसा विरुद्ध सचेतना र हिंसा पीडित महिलाका लागि खर्चनुपर्ने ठूलो रकम सभा सम्मेलनमा खर्च उदेकलाग्दो कुरो हो ।  पितृसत्ताको बोलवाला रहेको जुनसुकै समाजमा कुनै न कुनै निहँुमा महिला प्रताडित भइरहन्छन् ।  चरित्रहीनताको आरोपमा महिलालाई जलाउने एसिड छर्किएर कुरूप बनाउने र अङ्गभङ्ग बनाउने कार्य भइरहन्छन् ।  आफूलाई मुनी, महर्षी र महामानव ठान्ने त्यस्ता व्यक्तिहरूबाट समेत महिलामाथि यौन दुव्र्यवहार भएका घटना सार्वजनिक भइरहेका छन् तर विडम्बना मानव अधिकार उल्लङ्घन विरुद्धका यस्ता गम्भीर कार्य कि त दबाइन्छन् वा चुपचाप सहने प्रवृत्तिले महिला हिंसा र विभेदजन्य व्यवहार विश्वभर साझा समस्या बन्दै आएको छ ।  आर्थिक सामाजिक असमानता र असमर्थता अन्त्य नभएसम्म महिला सधैँ महिला हिंसा र विभेदका सिकार भइरहन्छन्  ।  महिलाको मन र मित्रता कहिले स्थिर हँुदैन भन्दै तिनको अस्थिरताको आलोचना गर्ने गरिन्छ ।  अधिकार र अवसर दिएर महिलालाई पुरुष सरह बनाउने प्रयासमा विश्वका धेरै मुलुक लागे पनि परिणाम लैङ्गिकविभेद विमुख बन्न सकेको छैन ।  विश्वका केही मुलुकले नेतृत्वमा महिलालाई पु¥याए पनि पुरुषकै आग्रह र निगाहमा तिनले काम गर्नुपर्ने बाध्यता छ ।  महिलाका हकहित तथा सशक्तीकरणका कार्यमा यस्ता अभियानबाट उल्लेख्य प्रगति हुन नसकेकाले आइन्दा हिंसा विरुद्धका अभियान यस्ता कुरामा केन्द्रित
हुनुपर्छ ।
केही समयअघि डोकामा तरकारी बोकेकी एक किशोरीको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको रूपलाई लिएर मोडल बन्न आग्रह गर्नेको जमात बढ्यो ।  म्यागेजिनका कभर उनका पोजपोजका फोटोले भरिए ।  तरकारीवालीका रूपमा रहेको उनको नितान्त प्राकृतिक शारीरिक सुन्दरतामा कृत्रिमता भरेर उनलाई मोडलका रूपमा उभ्याउने कार्य ह्वात्तै बढ्यो यतिसम्म कि रूप हुनेले पनि तरकारी व्यवसाय गर्ने हो र ? भन्ने सङ्कुचित मानसिकतासँगै तरकारी व्यवसायको समेत नराम्रोसँग उपेक्षा र अवमूल्यन हुनगएको छ ।  जुनसुकै क्षेत्रमा महिला सशक्तीकरणका नाउँमा एक पक्षलाई बढावा दिँदा अर्को पक्ष मारमा पर्ने विषयप्रति हामी सचेत हुनैपर्छ  ।  आज पनि विश्वभर सत्ता, सम्पत्ति र सम्मान अझै पुरुषका पोल्टामा कैदछन्  ।  महिलालाई सम्मान गर्ने सहयोग गर्ने र सशक्त तुल्याउने कार्यमा पुरुषमात्र होइन महिला पनि पछाडि नै छन्  ।  महिलाले महिलाको खुट्टा तान्ने प्रवृत्ति घर परिवारमा मात्र होइन जताततै देखिन्छ ।  त्यसैले विश्वदृष्टिमै महिला पुरुष जोसुकैबाट महिलाप्रतिको नकारात्मक दृष्टिकोण र व्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ  ।  









थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना