ह्याकिङको आशङ्का, पुनः मतगणनाको माग

करुण अर्याल/अजय शर्मा

काठमाडौँ, मङ्सिर १३ गते । अमेरिकी राष्ट्रपतिको निर्वाचन सकिएको करिब तीन साता बितिसक्दा पनि यसको चर्चा अझै सेलाएको छैन । भोटिङ मेसिन ह्याकिङको आशङ्कामा ग्रिन पार्टीकी राष्ट्रपति उम्मेदवार जिल स्टेनले विस्कोन्सिन, मिचिगन र पेन्सिलभेनिया राज्यमा पुनः मत गणना गर्नुपर्ने माग गर्नुभएसँगै यसको चर्चा थप चुलिएको छ । 

नोभेम्बर ८ मा सम्पन्न भएको निर्वाचनमा अनपेक्षित परिणाम निकाल्दै रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले २९० इलेक्ट्रोरल मत पाउँदै हिलारी क्लिन्टन (२३२) लाई पराजित गर्नुभएको थियो । यद्यपि लोकप्रिय मतमा हालसम्म क्लिन्टन ट्रम्पभन्दा करिब २२ लाखभन्दा बढी मतले अगाडि रहनुभएको छ ।
विवादास्पद छविका ट्रम्प निर्वाचित भएसँगै उहाँको विरोधमा अमेरिकाको विभिन्न राज्यहरूमा प्रदर्शन जारी छ । यसबीच निर्वाचन ह्याकिङबाट प्रभावित भएको चर्चामा पनि अगाडि आएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विस्कोन्सिन, मिचिगन र पेन्सिलभेनियामा भोटिङ मेसिनमा साइबर ह्याकिङको आशङ्का गरिएको छ । ग्रिन पार्टीले साइबर ह्याकिङको मार्फत भोट गणनामा हेरफेर भएको आरोप लगाउँदै पुनः मत गणना हुनुपर्ने माग गर्दै आएको छ । यसबीच विस्कोन्सिन राज्यको निर्वाचन बोर्डले पुनः मतगणनाको आग्रहलाई समेत शुक्रबार स्वीकार गरेको छ । राष्ट्रपति पदको उम्मेदवार तथा ग्रिन पार्टीकी जिल स्टेनले निर्वाचनका क्रममा सो राज्यका कम्प्युटर ह्याकिङ भएर निर्वाचनको परिणाम प्रभावित भएको दाबी गर्दै उजुरी दिनुभएको थियो । युनिभर्सिटी अफ मिचिगनका कम्प्युटर साइन्सका प्राध्यापक एलेक्स हल्डरम्यानले निर्वाचनका क्रममा प्रयोग भएका भोटिङ मेसिन ह्याकिङ भएको बारे आफू स्पष्ट नभए पनि यसबारे अनुसन्धान हुनुपर्ने धारणा राख्नुहुन्छ ।
ग्रिन पार्टीकी राष्ट्रपति उमेदवार स्टेनले विस्कोन्सिनमा रसियाली ह्याकरले भोटिङ सिस्टमलाई ह्याक गरेका हुनसक्ने निवेदनमा उल्लेख गर्नुभएको छ । भोटिङ सिस्टमको पुनः जाँच र मतगणना भएमा राष्ट्रपतिमा निर्वाचित ट्रम्पको भविष्यको समेत पुनः परीक्षण हुने बताइएको छ । Trump__Clinton-637x438
डेमोक्र्याटको मुख्य क्षेत्र मानिएको मिचिगन र पेन्सिलभेनियामा क्रमशः १६ र २० इलेक्टोरल मत छ । राष्ट्रपतीय निर्वाचनमा विस्कनसिन राज्यबाट ट्रम्पले १० इलेक्टोरल मत पाउनुभएको थियो । यी राज्यमा डेमोक्र्याट पार्टीकी क्लिन्टन ट्रम्पसँग झिनो मतले पराजित हुनुभएको थियो । निर्वाचनमा जुन उम्मेदवारले बढी मत पाउँछ, उसले ती राज्यको सबै इलेक्टोरल मत पाउने प्रावधान छ । पेनसेल्भानियामा केवल ७० हजार मतको अन्तर परेको थियो । यसैगरी मिचिगनमा दश हजार ७०४ र विस्कसिनमा २७ हजार २५७ मतले क्लिन्टन पराजित हुनुभएको थियो । तीनै राज्यको परिणाम उल्टेमा ३६ इलेक्टोरल मत तलमाथि पर्न जाने देखिएको छ ।
ग्रिन पार्टीबाहेक क्लिन्टनका चुनावी अभियन्ताहरूले पनि विस्कसिन राज्यको मतगणना गर्नु पर्नेभन्दै प्रर्दशन गरेका छन् । यद्यपि नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यसलाई हास्यास्पदको सङ्ज्ञा दिनुभएको छ । साथै उहाँले चुनावको परिणामलाई चुनौती दिनुको सट्टा सम्मान गर्न आग्रह गर्नुभयो । यसबाहेक क्लिन्टनका सहयोगीहरूले पेन्सिलभेनिया र मिचिगन राज्यमा पनि पुनः मतगणना हुनुपर्ने माग गरेका छन् । यसअघि पनि राष्ट्रपतिको प्रारम्भिक निर्वाचनमा डेमोक्रेटिक पार्टीका इमेलहरू ह्याकरले चुहाएको आशङ्का गरिएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना