फिडेल क्यास्ट्रोको अवसानपछि

hari adhikariहरि अधिकारी




गत शनिबार प्रशान्त महासागर, क्यारिबियन द्वीप समूहको सानो टापु–राज्य क्युबाको पूर्व निरङ्कुश शासक एवं विश्व साम्यवादी आन्दोलनका सबैभन्दा सम्मानित नेता फिडेल क्यास्ट्रोको उहाँकै देशको राजधानी हवानामा ९० वर्षको उमेरमा प्राकृतिक कारणले निधन भयो ।  फिडेलको मृत्युले एउटा युगको अन्त्य गरेको छ ।  उहाँ क्युबाली जनताको मुक्ति सङ्घर्षका नायक हुनुहुन्थ्यो, जसले केही दर्जन क्रान्तिकारी युवालाई सङ्गठित गरेर क्युबाका तत्कालीन तानाशाह जर्नेल फुल्जेन्सिया बतिष्टाको शासन–सत्तालाई धुलो चटाइदिनुभएको थियो ।  उहाँ र ल्याटिनी अमेरिकी जनताको स्वतन्त्रता सङ्घर्षका अर्का उद्भट नेता चे ग्वेभाराको मित्रता र राजनीतिक सहकार्य अद्भूत रहेको थियो ।  क्युबाको मुक्ति पछाडि केही समय क्यास्ट्रो सरकारमा काम गरेर चे बोलिभियाको स्वतन्त्रता सङ्घर्षमा होमिनु भयो र त्यहीँ मारिनु भयो ।  
कम्युनिस्ट क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो र क्युबाका एकछत्र शासक फिडेल क्यास्ट्रोका बीच भने चरम् विरोधाभाष रहेको पाइन्छ ।  सैनिक तानाशाहीबाट जनतालाई मुक्त पार्ने सङ्घर्षका नायक फिडेलले चलाएको करिब पाँच दशक लामो साम्यवादी सत्ता पनि त्यत्तिकै क्रूर, स्वतन्त्र विचारप्रति त्यस्तै असहिष्णु र आम जनताका इच्छा–आकाङ्क्षाप्रति त्यसैगरी उदासिन बन्न पुगेको आरोप लाग्यो जसरी सैनिक तानाशाही बदनाम भएको थियो ।  आम जनतामाथि हुकुमी शासन लादिने तरिकामा मात्र फरक आयो तर जनतामाथिको दलन रोकिएन ।  क्रान्तिको उद्बोधन गर्नु, त्यसलाई सफल पार्नु र सत्ता–कब्जा गर्नु एउटा कुरो हो तर प्राप्त सत्तालाई आम जनताको भावना अनुरूप उनीहरूको अभिमतलाई समेटेर कल्याणकारी ढङ्गले सञ्चालन गर्नु विल्कुलै अर्को कुरो हो भन्ने कटु यथार्थ क्युबन क्रान्ति र त्यसपछिको फिडेल–राजमा छर्लङ्ग भएको छ ।  
तत्कालीन सोभियत रूसको पूर्ण सहयोग र केन्द्रीय सत्ताले विना व्यवधान सञ्चालन गर्न पाएको आर्थिक नीति र योजनाको लामो शृङ्खलाबाट पनि आम क्युबाली जनताको जीवन स्तरमा खासै सुधार आउन नसकेको तीतो सत्यले क्यास्ट्रोको कठोर कम्युनिस्ट शासनको कमजोरी प्रस्ट पार्छ ।  त्यसमाथि विश्व–शक्तिराष्ट्र द्वय संयुक्त राज्य अमेरिका र सोभियत रूसका बीच चलेको शीतयुद्धको लामो सिलसिलामा रूसको प्यादाको रूपमा सञ्चालित भएर क्युबाका कम्युनिस्ट नेता क्यास्ट्रोले निकट छिमेकी महाशक्ति राष्ट्र अमेरिकासँग जुन ठूलो वैरभाव देखाउनु भयो, जसको दुष्प्रभाव अन्ततः क्युबाको उन्नति प्रगतिमाथि नै पर्न गयो ।  जम्माजम्मी ९० माइल टाढा रहेको अमेरिकासँग हुन सक्ने विशाल परिमाणको व्यापारिक साझेदारीको ढोका बन्द गरेर क्यास्ट्रोले अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दीलाई निम्त्याउनु भयो ।  आजको विश्व साझेदारीको युगमा विश्व समुदायबाट एक्लिएको कुनै पनि राष्ट्रले अपेक्षित विकास गर्न सक्दैन भन्ने कुराको बलियो उदाहरण बन्न पुगेको छ क्युबा ।  
फिडेल क्यास्ट्रोले आफ्नो पाँच दशक लामो शासन–कालमा क्युबाली राष्ट्रवाद र क्युबाली जनताको आत्मगौरवको गाथा जस्तोसुकै मीठो शब्दमा दोहो¥याउँदै आएको भए पनि उहाँको शासनबाट आजित भई अनेक किसिमको जोखिम उठाएर भए पनि ९० माइलको समुद्री बाटो छिचोलेर अमेरिकामा शरण लिनुपुग्ने क्युबाली नागरिकहरूको सङ्ख्या लाखौँ भइसकेको छ ।  क्युबाबाट सबैभन्दा नजिक पर्ने अमेरिकी राज्य फ्लोरिडामा क्युबाली–अमेरिकीहरूको निकै ठूलो समूह उपस्थित छ अहिले ।  अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा २९ इलेक्टोरल मत भएको त्यस महŒवपूर्ण राज्यको परिणाम तिनै क्युबाली आप्रवासीहरूको मतबाट निर्धारित हुने गरेको छ भन्दा अत्युक्ति हुने छैन ।  
क्युबाली क्रान्तिको नायक फिडेल क्यास्ट्रोको निधनको समाचार प्रसारण भएदेखि नै फ्लोरिडाका मियामी, टम्पा र ल्यालाहासीजस्ता सहरमा क्युबाली–अमेरिकन खुसीयाली मनाउन हजारौँको सङ्ख्यामा सडकमा निस्किएको देखिनुलाई चरम् विडम्बनापूर्ण दृश्य मान्नुपर्छ ।  यसले प्रमाणित गर्छ– क्रान्तिपुरुष फिडेल सम्पूर्ण क्युबाली जनताका प्रिय नेता बन्न भने सक्नुभएको रहेनछ ।  पार्टी सङ्गठन, राज्य संयन्त्रका पुर्जाहरू र रेजिमेन्टेड शक्तिका बलमा कुनै व्यक्ति वा व्यक्तिहरूको समूहले जनतालाई जसोतसो कजाउन त सक्छ तर तिनको हृदयमा सम्मानका साथ राज गर्न भने सक्दोरहेछन् भन्ने कुराको पनि दृष्टान्त हो यो फिडेल क्यास्ट्रोप्रति कुनै बेलाका उहाँकै प्रिय जनताले व्यक्त गरेको घृणा ।  विश्व साम्यवादी आन्दोलनका महान् नक्षत्रमध्येका एक क्यास्ट्रोको शौर्य–गाथामा लागेको दागका रूपमा लिन सकिन्छ यसलाई ।  
त्यसो त फिडेललाई असिम माया र श्रद्धा गर्नेहरू पनि त्यत्तिकै धेरै देखा परे ।  राष्ट्रपति राउलले नेता फिडेलको निधनको समाचार राष्ट्रिय रेडियोबाट आफ्नै आवाजमा सुनाउनुभएको थियो– एकछिनका लागि पूरै क्युबा निःशब्द भयो ।  खान–पिउन, नाच्न र रमाइलो गर्न रुचाउने क्युबाली जनता शोक सन्तप्त भए ।  सहरमा चलिरहेका पार्टीहरू बन्द गरिए ।  रेष्टुराँ, डान्सबार र क्लबहरूमा बजिरहेका आर्केष्ट्राहरू रोकिए ।  बजारका पसलमा सटर गिराइए, सारा देश चकमन्न भयो ।  फिडेल क्यास्ट्रोको कठोर शासन–कालका गाह्रा–अप्ठ्यारा दिनहरू बेहोरेका पाका मानिसमध्ये कतिपयले राहतको गहिरो निश्वासका साथ त्यो दुःखद समाचारलाई लिए होलान् तर क्युबाको नयाँ पुस्ताका लागि नेता क्यास्ट्रोको निधन स्तब्ध पार्ने खालको भयानक समाचार बन्यो ।  
वास्तवमा क्युबाको नयाँ पुस्ताका लागि फिडेल क्यास्ट्रोबाहेक अर्को कुनै नेता नै थिएन ।  अरू नेता स्वयं राष्ट्रपति राउलसमेत फगत महान् क्यास्ट्रोका कमजोर अनुयायी मात्र हुनुहुन्थ्यो, नेता हुनुहुन्नथ्यो ।  राज्यको प्रचार संयन्त्रले फिडेल क्यास्ट्रोलाई मात्रै महिमामण्डित गर्दै नाताका सामु प्रस्तुत गर्ने गथ्र्यो ।  पाठ्यपुस्तकहरूमा महान् क्युबाली क्रान्तिको गाथा वर्णन गरिएको हुन्थ्यो, जसको नेता फिडेल नै हुनुहुन्थ्यो ।  अमेरिकी साम्राज्यवादसँग चट्टानी दृढताका साथ मुकाबिला गर्न सक्ने महान् नेता फिडेल क्यास्ट्रो नै हुनुहुन्थ्यो भन्ने कुरा नै सुन्दै पढ्दै आएको क्युबाली युवा–पुस्ताका लागि उहाँको अवसानभन्दा भयानक क्षति अर्को के हुन सक्थ्यो र !
पछिल्ला दिनहरूमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र क्युबन नेता राउल क्यास्ट्रोले क्युबा–अमेरिका सम्बन्धमा ऐतिहासिक रूपमा कायम रहँदै आएको तनावलाई खुकुलो पार्ने जुन प्रयत्न गर्दै आउनुभएको छ, फिडेल क्यास्ट्रोको निधनले त्यस प्रक्रियालाई अझ सहज बनाउने विश्वास गर्न सकिन्छ ।  क्यास्ट्रो जीवित छँदै नै ती दुई छिमेकी राष्ट्रकाबीच रहेको वैरभाव हटाउने प्रक्रिया सुरु भएको र दशकौँदेखि बन्द रहेको हवानास्थित अमेरिकी दूतावास पुनः सञ्चालनमा ल्याइएकाले प्रशान्त महासागर क्षेत्रमा तनावमा न्यूनीकरण गर्ने प्रक्रिया उहाँको जानकारी र सहमतिमै सुरु भएको थियो भन्ने अनुमान गर्न सकिन्छ ।  शीतयुद्धको अन्त्य र विश्व शक्ति राष्ट्रका रूपमा रूसको पतन भएको सन्दर्भमा फिडेल क्यास्ट्रोले पनि अमेरिकसँगको द्वन्द्व अन्त्य गर्न चाहनुभएको थियो भने त्यसलाई व्यावहारिक कूटनीतिको निर्देश मान्न सकिन्छ ।  अमेरिकासँगको द्वन्द्वका कारण
सन् १९६२ मा झण्डै झण्डै तेस्रो विश्वयुद्ध हुन लागेको भयानक घटनाको साक्षी रहनुभएका फिडेल क्यास्ट्रोका मतमा पनि एक न एक दिन छिमेकी अमेरिकासँग हातेमालो गर्नुपर्छ भन्ने भावना उठेको हुँदो हो, जीवनको गोधूली बेलामा । ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना