उत्कृष्ट देशका लागि शिष्ट विशिष्ट

Narayan p paudelनारायणप्रसाद पौडेल


नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरू देशबाट आएका अवैध आप्रवासीका लागि खराब हुन सक्लान् तर अमेरिकी जनताका लागि मरिमेट्ने, खट्ने र डट्ने उद्योगपति राजनेता हुनुहुँदोरहेछ ।  त्यसैले सारा पुँजीवादी सञ्चारमाध्यमका प्रायः सबै प्रायोजित मत सर्वेक्षणलाई युरोपबाट बेलायत अलग्गिन्न भन्ने भविष्यवाणीजस्तै गलत साबित गर्दै विजयी हुनुभयो ।  देशभक्त अमेरिकी जनता खुसी छन् ।  आफ्नै देश र जनताको भलाइ सोचेको पारितोषिक पाउनुभयो पुँजीपति डोनाल्ड ट्रम्पले ।  अमेरिका अमेरिकीको हो, अनाधिकृत रूपमा गएर बसेका विदेशीको होइन ।  शक्तिशाली मुलुक भएकाले बाह्य मुलुकको नागरिक र विधर्मी पुगेर राष्ट्रपति बन्ने आँट पनि गर्दैन, मिल्दैन ।  वंशज र अङ्गीकृत नागरिकताको विवाद पनि चर्काइँदैन र थर्काइँदैन ।  त्यसबाट हामी नेपालीले धेरै कुरा सिक्न, बुझ्न र आन्तरिक राजनीतिक व्यवस्थापनमा व्यवहारोपयोगी बनाउन सकिन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मातृभूमि र देशभक्त जनताका लागि सम्पूर्ण जीवन अर्पेका राजनेता हुनुहुँदोरहेछ ।  धार्मिक स्वभावका त्यागी र सदाचारी नेता मोदीले भारतीय जनताको सर्वोपरि हित नै आफ्नो धर्म र सेवा मानेर काम गर्नुभएको छ ।  वृद्धा आमा र शिक्षण पेसामा समर्पित श्रीमतीलाई मोदी प्रधानमन्त्री बनेकोमा कुनै घमण्ड भएको देखिएन, सुनिएन र मोदीमा परिवारवाद वा नातावाद र कृपावादमा लागेको आरोप पनि भेटिएन ।  सिङ्गो देशलाई नै आफ्नै घर र जनता नै परिवार मानेर गरेको सङ्घर्ष र त्यागको जस पनि पाउनुभएको छ मोदीले ।  उहाँको देशभक्तिप्रति विपक्षी दलहरू पनि नतमस्तक छन् ।  छरछिमेकीप्रतिको मोदीको व्यवहार छिमेकीका लागि प्रतिकूल होला तर भारत र भारतीय जनताको हितानुकूल छ ।  एउटा देशभक्त राजनेताले सोच्ने र गर्ने त्यही हो, जो मोदीले गर्नुभएको छ ।  हाम्रा सम्मानित विशिष्टहरूले सायद मोदीबाट पनि सिक्ने पाठ यही हो ।
अर्को छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपतिले त्यस्तै सोच्नुहुन्छ, गर्नुहुन्छ ।  पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान आदि सबै देशका प्रमुखले पहिले आफ्नै देशबारे सोच्छन् र गर्छन्, स्याबासी पनि पाउँछन् ।  तर, नेपालमात्र यस्तो देश किन भयो जहाँका नेता वा विशिष्ट व्यक्तिले आफ्नो मुलुकभन्दा अर्को देशबारे बढी चिन्ता गर्छन् ।  स्वदेशबारे सोचेको र गरेका सामान्य काम वा लगानीको ब्याजको स्याज असुल्दा सात पुस्तालाई पुग्नेगरी लिन्छन् ।  आफ्नै कमाइ, आय वा सम्पत्तिले सुविधासम्पन्न जीवनयापन गर्न सक्नेले पनि राष्ट्रको ढुकुटीलाई सुकुटी पारेर लिनु विशिष्टताको परिचायक ठान्छन् ।  पद र पहुँचका भरमा जसले जति बढी देशको ढुकुटीको दोहन गर्न सक्यो, जान्यो, आफ्ना अनुचरलाई बाँड्यो, त्यो त्यति ठूलो विशिष्ट भएको भान पार्न खोज्छन् ।  राष्ट्रको धन–सम्पत्तिको दोहन गर्नु पनि दण्डनीय हुनुपर्नेमा उल्टै शान र मानको विषय पो बन्न गएको छ नेपालमा ।  त्यसैले देशको जग भत्काएर आफ्नो निजी घरमा पर्खाल हाल्छन् ।  जनताभन्दा परिवारको भलो गर्छन् ।  ‘डन’, ‘गन’ र धनको भर पर्छन् ।  स्वास्थोपचारका लागि स्वदेशका अस्पताल र चिकित्सकको भर पर्दैनन्, विश्वास गर्दैनन् ।  आपूmभित्र रहेको कपट र कलुषित भावनाले होला, देशभित्र आफूलाई सुरक्षित ठान्दैनन् ।  असुरक्षित ठानेको देशको राष्ट्रिय ढुकुटी लिएर विदेशिन्छन् ।  वनभन्दा मनको बाघले खाएको प्रमाण हो यो ।
जुन बेलासम्म आफ्ना देशका जनताबीचमा रहे, त्यति बेलासम्म हाम्रा विशिष्टहरू पनि देशभक्त थिए, लोकतन्त्रवादी रहेकाले लोकप्रिय भए, जनताले पनि सकेको सम्मान दिए, लिए ।  तर, जब सिंहदरबारभित्र छिरे त्यसपछि गाउँ बिर्से, आफ्नो धर्म बिर्से, आफैँ आएको बाटो बिर्से, आफ्नो वर्ग बिर्से, हिजोसम्मका सङ्गी, साथी र सम्बन्ध बिर्से ।  नजर खालि डलर, भारु, दारु र विदेशतिर लगाए ।  जमिन छोडे, हावामा उडे, पजेरोमा गुडे ।  नेपालीपन र मन रहेन, मर्दै गयो, विदेशीपन भरिँदै गयो शनैः शनैः ।  त्यसपछि विदेशी शक्तिको भक्ति गर्नुको विकल्प रहेन ।  अनि पुनः पुनः सत्तारोहणको सपना पूरा गर्न पनि आफ्नै देशका सहर र गाउँका जनताको मन जित्नभन्दा विदेशी प्रभुले लगाइदिएको पालो कुर्ने भए ।  नेपालमा म्यादी वा करार सरकारको जमाना आयो ।  करारको म्याद थाम्ने र राख्ने अधिकार पनि नेपाल र नेपाली जनताबाट खोसेर विदेशी प्रभुका हातमा हस्तान्तरण गरेको परिणाम भोग्दै छ मुलुकले ।  त्यसैले स्वविवेकले निर्णय गर्ने अधिकारको स्वामित्व सुम्पेका आठ दलभित्र र बाहिर कतै नेपाली ट्रम्प र मोदी भेटिन्छन् कि खोज्दै छ देशले ।  भेटेन पहिले र अहिले, पाउने कहिले ?
हाम्रो देशको अवस्था कुन हदसम्म बिग्रेछ र सम्मानित विशिष्ट पदको विश्वसनियता र गरिमा कतिसम्म गिरेछ भन्ने कुराको प्रमाणका लागि धेरै टाढा जान पर्दैन ।  हास्यकलाकारद्वय धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा पीडितका घर बनाउँदा र बन्दासम्म पनि राष्ट्रपतिले गोरखा र प्रधानमन्त्रीले सिन्धुपाल्चोक तथा काभ्रेमा शिलान्यास गरेका भूकम्पपीडितका घर त बनेनन् नै, शिलान्यासका ढुङ्गा र इँटासमेत गायब पारिएछन् ।  जुन देशका सर्वमान्य राष्ट्रपति र प्रधानमन्त्रीले सार्वजनिक समारोहमा घोषणा गरेका वाचा र प्रतिबद्धता पूरा हुँदैनन्, त्यो देशको अवस्था कस्तो होला ? अझ योभन्दा पनि लाजमर्दो विषयचाहिँ के रह्यो भने राष्ट्रको शिर उँचो पारेर विदेशबाट स्वदेश फर्केका खेलाडीलाई समेत सरकारी तहबाट ढोल पिटेरै ढाँट्ने काम हुँदोरहेछ भन्दा स्वाभिमानी नेपालीको शिर झुकेको छ ।  एएफसीकप जितेर मलेसियाबाट फर्केका नेपाली फुटबल खेलाडीलाई निवर्तमान प्रधानमन्त्रीले दिने भनेर सार्वजनिक रूपमा घोषणा गरेको रकम पनि अझैसम्म दिइएको रहेनछ ।  सन् २०१६ जनवरीमा बङ्गलादेशमा आयोजित बङ्गबन्धु गोल्डकप जितेको नेपालले फेबु्रअरीमा भारतको गुवाहाटीमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि स्वर्णपदक प्राप्त गरेको थियो ।  विजेता खेलाडीलाई त्यतिबेलै दिने भनेर सगर्व सार्वजनिक गरिएको सरकारी निर्णयानुसारको रकम यतिबेलासम्म पनि दिइएको रहेनछ ।  वर्तमान प्रधानमन्त्रीले बधाइ दिनेक्रममा सरकारले फेरि जनही तीन लाख रुपियाँका दरले स–सम्मान पुरस्कृत गर्ने निर्णय सुनाउँदा धेरै खेलाडीले आपसमै कानेखुसी गरेर भनेछन्– पहिलेकै उधारो सात लाख बाँकी छ, अझै कति थपेको होला ? ढाँट्नुको पनि एउटा हद हुन्छ नि ! यो त साह्रै दुःखद विषय हो सुन्नेका लागि र हो राष्ट्रिय लज्जा पनि ।
कसैले पनि आफ्नो देशका अति सम्मानित विशिष्ट अग्रज र अगुवालाई अशिष्ट र निकृष्टको पगरी गुथाउन चाहँदैन, खोज्दैन ।  कुनै नेपालीलाई आफ्ना नेताको मानमर्दन सुपाच्य हुनै सक्दैन ।  तर, हाम्रा सम्मानित विशिष्टहरू आफैँ अशिष्ट र निकृष्ट हुन थालेपछि कसैले रोक्न पनि सक्दैन ।  देशभन्दा परिवार, पार्टीभन्दा गुट, ज्ञानभन्दा ग्याङ, सिद्धान्तभन्दा सम्झौता, विचारभन्दा व्यवहार, स्वाधिनभन्दा पराधिन र स्वशासित हुनभन्दा निर्देशित हुन चाहेपछि कसैको केही सीप लाग्दोरहेनछ ।  देशको दुःख र दुर्दिन भाग्दोरहेनछ ।
जुन देशका विशिष्टहरू यति अशिष्ट हुन्छन्, त्यो देशले कसरी प्रगति गर्न र उत्कृट बन्न
सक्छ ? सक्दैन ।  असफल हुन सफलहरूको जमातकै कारण जहाँ गहिरो त्यहीँ पहिरो गएको छ, बर्सेनि ।  घरझगडा बढ्नाले छिमेकबाट आएका पाहुनाले कब्जा गर्ने अवस्था आइसक्यो ।  लोकतन्त्र खोज्दा राष्ट्रियता गुमाउनपर्ने, राष्ट्रियता रोज्दा लोकतन्त्रबाट हात धुनपर्ने अवस्था फेरि दोहोरियो र राजनीति फोहोरियो ।  देश बँचे गुमेको लोकतन्त्र पछि लडेर पनि लिन सकिन्छ ।  देशै नरहे लोकतन्त्रको लोभ देखाउन र विशिष्ट बन्ने मौका पनि नमिल्न सक्छ ।  किमाधिकम् ?


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना