फिडेल क्यास्ट्रो, क्युबा र अमेरिका

 Ram prashadरामप्रसाद आचार्य




विदेशी शक्तिसामु कहिल्यै नझुकी मुलुकको स्वतन्त्रता, स्वाभिमान, न्याय र समानताका लागि जीवनभरि सङ्घर्ष गर्नुभएका क्रान्तिकारी कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधनसँगसँगै क्युबामा एउटा क्रान्तिकारी युगको अन्त्य भएको छ ।  गएको शनिवार (नोभेम्बर २६) मा ९० वर्षको उमेरमा उहाँको निधन भयो ।  विश्वमै लामो समयसम्म सत्ता चलाउनेमध्येका एक नेता क्यास्ट्रो करिब आधा शताब्दी क्युबाको नेतृत्व (प्रधानमन्त्री र राष्ट्रपति) गरी शोषित, पीडित, श्रमिक जनतालाई सामाजिक र आर्थिक न्याय दिलाउँदै मुलुकलाई स्वतन्त्र बनाइराख्न सफल हुनुभयो ।  सशस्त्र विद्रोहमार्फत मुलुकका तत्कालीन तानाशाही शासक बाटिस्टालाई सत्ताच्युत गरी कम्युनिस्ट सत्ता स्थापना गर्नुभएका उहाँ विश्वकम्युनिस्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बन्नुभयो ।  
सन् १९२६ मा दक्षिण–पूर्वी ओरियन्ट प्रान्तको एउटा समृद्ध र सम्पन्न कुलिन जमिनदार परिवारमा जन्मेर पनि बहुसङ्ख्यक जनताको विपन्नता देखेर आफ्नो वैभवशाली जीवनशैली त्याग गरी श्रमिक जनताको हक, हित र अधिकारका लागि सशस्त्र विद्रोहमा होमिनुभएका क्यास्ट्रोले बाटिस्टालाई सत्ताच्युत गरेको र कम्युनिस्ट सत्ता स्थापना गरेर रातो झण्डा फर्फराएको विश्व पुँजीवादको प्रतीक छिमेकी अमेरिकालाई पटक्कै मन परेन ।  आफ्ना हितैषीलाई सत्ताच्युत गरेको विरोधमा अमेरिकाले क्युबामाथि कडा आर्थिक नाकाबन्दी लगाउँदै कूटनीतिक सम्बन्धविच्छेद ग¥यो ।  अमेरिकाका कट्टर विरोधी क्यास्ट्रोलाई पदबाट हटाउन वा मार्न धेरै प्रयास गरिए पनि सफलता मिलेन ।  उहाँलाई मार्न ६०० पटकभन्दा बढी षड्यन्त्र भएको क्युबाको गुप्तचर संस्थाले दाबी गर्दै आएको छ ।  अमेरिकाले क्यास्ट्रोलाई हटाउन खोज्दाखोज्दै क्यास्ट्रोले आफ्नै शासनकालमा अमेरिकामा १० वटा राष्ट्रपति फेरिएको देख्नुभयो ।  बुढ्यौली तथा क्यान्सरले स्वास्थ्य कमजोर भएपछि सन् २००८ मा भाइ राहुल क्यास्ट्रोलाई पद हस्तान्तरण गर्नुभएका उहाँ कहिल्यै पनि अमेरिकासित झुक्नुभएन ।  अन्त्यमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आर्थिक नाकाबन्दी खुकुलो बनाई कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्दै क्युबाको पहिलोपटक भ्रमण गरी सम्बन्ध सुधारको प्रयास गर्नुभयो ।  उहाँको यो सकारात्मक प्रयास नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने पटक्कै मन परेको छैन ।  क्यास्ट्रोको निधनमा विश्वका अधिकांश नेताले उहाँको सङ्घर्षपूर्ण जीवनको प्रशंसा गरिरहँदा र उहाँप्रति सम्मान प्रकट गरिरहँदा ट्रम्पले भने उहाँलाई बर्बर तानाशाहको संज्ञा दिनुभयो ।  पछिल्ला समय सुधारोन्मुख भएको क्युबा–अमेरिकाबीचको सम्बन्ध सामान्यीकरणतर्फ नजाने सङ्केत हो यो ।
स्कुले जीवनमा सामान्य विद्यार्थी क्यास्ट्रो क्याम्पसमा कानुनको अध्ययन सकेर कानुन व्यवसायी बने पनि प्रगति नभएपछि कम्युनिस्ट राजनीतिमा सक्रिय हुनुभयो ।  देशमा बाटिस्टाविरुद्ध आन्दोलन सुरु भयो ।  बाटिस्टाको तानाशाही सत्ताले बहुसङ्ख्यक क्युबालीलाई हरिकङ्गाल बनाएको थियो ।  अन्याय, अत्याचार, दुराचारले सीमा नाघेको थियो ।  देश, जनताको यो दयनीय अवस्थाबाट चिन्तित उहाँले ८२ जना युवा साथीसँग मिलेर सरकारविरुद्ध विद्रोह सुरु गर्नुभयो, सन् १९५३ मा एउटा सैनिक ब्यारेकमाथि आक्रमण गरेर ।  तर, सो प्रयास विफल भएपछि उहाँ पक्राउ पर्नुभयो ।  उहाँलाई १५ वर्ष जेलसजाय सुनाइयो तर १९ महिनापछि आममाफीअन्तर्गत रिहा हुनुभयो ।  त्यसपछि चे ग्वेभारासँग मिलेर उहाँकै नेतृत्वमा सन् १९५६ देखि छापामार युद्ध सुरु भयो ।  सन् १९५९ जनवरी २ मा उहाँको छापामार विद्रोही सेनाले राजधानी हवाना कब्जा गरेपछि बाटिस्टा सरकारको अन्त्य भयो ।  बाटिस्टा अमेरिका भागेपछि क्यास्ट्रोले आफ्नो नेतृत्वमा कम्युनिस्ट सरकार स्थापना गर्नुभयो ।  उहाँ प्रधानमन्त्री बन्नुभयो ।  
क्युबामा कम्युनिस्ट सत्ता स्थापना भएकोमा रुष्ट बनेको अमेरिकाले बाटिस्टा समर्थकको सहयोगमा प्रतिक्रान्तिका लागि प्रयास ग¥यो तर सफल भएन ।  सोहीक्रममा थुप्रै मानिस मारिए र कैयौँ जेल परे ।  थुप्रै मानिसले यातना पाए र विदेश पलायनसमेत भए ।  क्युबाली क्रान्तिको यो नकारात्मक पाटो हो ।  यही घटनालाई लिएर क्यास्ट्रोमाथि अमेरिकाले बारम्बार कटु आलोचना गर्दै चरम शत्रुतापूर्ण व्यवहार गर्दै आयोे ।  उहाँको शासनकालमा कहिल्यै पनि अमेरिकासित सम्बन्ध सुधार भएन, वाक्युद्धकै अवस्थामा रह्यो ।  
अमेरिकासित सम्बन्ध बिग्रिएपछि क्यास्ट्रो सरकारलाई तत्कालीन सोभियत रुसले भरपूर सहयोग र समर्थन ग¥यो ।  रुसले आणविक युद्धक विमानसमेत क्युबा पठायो ।  त्यसको अमेरिकी सरकारले कडा विरोध ग¥यो ।  दुवै मुलुकबीच शीतयुद्धका साथै आणविक युद्ध हुने खतरा बढ्यो ।  अनि अन्त्यमा रुसले आणविक युद्धक विमान फिर्ता गरेपछि सम्भावित युद्धको खतरा ट¥यो ।  
सन् १९७६ मा क्युबाको संसद्ले क्यास्ट्रोलाई राष्ट्रपति निर्वाचित ग¥यो ।  त्यसपछि उहाँ सन् २००८ सम्म राष्ट्रपति बनी क्युबाको मुहार फेर्नुभयो ।  रुससँग निकट सम्बन्ध राख्नुभएका क्यास्ट्रोले असंलग्न आन्दोलनमा पनि महŒवपूर्ण भूमिका निर्वाह गर्नुभयो ।  विश्व पुँजीवादी सत्ताविरुद्ध सधँै जुध्नुभयो, कहिल्यै झुक्नुभएन ।
सोभियत सङ्घको सहयोगको भरमा टिकेको आरोप लगाइएको क्यास्ट्रोको सत्ता सोभियत सङ्घको विघटनसँगै पतन हुने दाबी गर्दै आएको विश्वको पुँजीवादी नेतृत्व क्युबामा कम्युनिस्ट सत्ताले निरन्तरता पाएकोमा छक्क परेको छ ।  धेरैपटक प्रयास गर्दा पनि त्यहाँको सत्ता परिवर्तन गराउन नसकेकोमा छिमेकी अमेरिका चिन्तित छ ।  अरूले चाहेर त्यहाँ सत्ता परिवर्तन हुने स्थिति देखिएन ।  यसको मूल कारण भनेकै क्यास्ट्रोले लागू गर्नुभएको क्युबा सुहाउँदो प्रगतिशील सामाजिक, आर्थिक कार्यक्रमको सफलता नै हो ।  बहुसङ्ख्यक जनतामाझ सो कार्यक्रम लोकप्रिय बनेको छ ।  
नारामा होइन, व्यवहारमै क्युबामा आमजनताका लागि स्वास्थ्य र शिक्षा आज पनि निःशुल्क छ ।  त्यहाँको स्वास्थ्य कार्यक्रम विश्वकै लागि नमुना बनेको छ ।  त्यहाँ अत्यन्तै ठूलो समस्याका रूपमा रहेको बालमृत्युदर र मातृमृत्युदर नाटकीय ढङ्गले घटेको छ ।  अहिले सर्वत्र महँगो र थेग्नै नसकिने अवस्थामा रहेको विकासशील मुलुकका जनताका लागि सबैभन्दा चुनौती र टाउको दुखाइ बनिरहेको स्वास्थ्य उपचार खर्च र पढाइ खर्चबारे कुनै चिन्ता लिन नपरेकै कारण क्युबाली समाज तुलनात्मक रूपमा शान्त र तनावमुक्त बन्दै छ ।
क्युबा नेपालभन्दा पनि सानो मुलुक हो ।  लामो समयसम्म स्पेन र छोटो समय अमेरिकाको अधिनमा रही सन् १९०२ मा स्वतन्त्र भएको एक लाख १० हजार ८६० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको क्यारिबियन यो टापु मुलुकको दुर्दिन सन् १९३३ मा फुल्गेन्सियो बाटिस्टाले सैन्य ‘कू’ गरी सत्ता हातमा लिएपछि सुरु भयो ।  बाटिस्टाको २६ वर्षसम्म चलाएको तानाशाही शासनको सन् १९५९ मा अन्त्य भएपछि क्युबा नयाँ युगमा प्रवेश गरेको हो ।  मुख्य भाषा स्पेनिस, मुख्य धर्म इसाई रहेको यो मुलुकका बासिन्दाको अहिले प्रतिव्यक्ति आय १२ हजार १९५ डलर, औसत आयु पुरुषको ७७ वर्ष र महिलाको ८१ वर्ष पुगेको छ ।  अमेरिकाको आधा शताब्दीभन्दा लामो कडा आर्थिक नाकाबन्दीबीच पनि क्युबाले विभिन्न उतारचढाव पार गर्दै आफ्नै ढङ्गको अर्थतन्त्र विकास गरेको छ ।  क्युबाले निकल, चिनी, सुर्ती, माछा, औषधि, कफी आदि निर्यात गर्छ ।  
कुनै पनि शासन व्यवस्थाको अभीष्ट जनतालाई सुख, शान्ति र सन्तुष्टि दिँदै मुलुकको स्वतन्त्रता, अखण्डता र एकतालाई बचाइराख्नु हो ।  जुन शासनसत्ताले यसलाई निरन्तरता दिन सक्छ उही शासन राम्रो हुन्छ ।  अहिलेको परिवर्तित सन्दर्भमा जनताको आवश्यकता र चाहना आत्मसात् गर्दै क्युबाको वर्तमान नेतृत्वले सकारात्मक र रचनात्मक काम गर्न सक्यो र जनताको आवाजको सम्मान गर्न सक्यो भने क्यास्ट्रोले परिकल्पना गर्नुभएको स्वतन्त्र, स्वाभिमान, निडर, समृद्ध र शान्त क्युबा बनाउने सपना साकार हुनेछ ।  २०औँ शताब्दीका चर्चित नेता, क्युबाली महान् योद्धा तथा युगनायक क्यास्ट्रोप्रति सच्चा श्रद्धाञ्जली पनि यही नै हुनेछ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना