कार्कीकाे मुद्दामा अाज सुनुवाइ स्थगित, पुस ७ मा अर्काे पेशी

Rss_Images_1480594184439_KK_ktm_161202_

अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको मुद्दाको पेशी बुझ्न बिहीबार सर्वोच्च अदालतमा उपस्थित हुँदै । तस्बिर:कालिका खड्का/रासस

गोरखापत्र समाचारदाता

काठमाडाँं, मङ्सिर १६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई गरिएको नियुक्तिको वैधानिकतासम्बन्धी मुद्दाको सुनुवाइ आउँदो पुस ७ गतेका लागि सरेको छ । कार्कीका तर्फबाट बहस गर्ने कानुन व्यवसायी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइका लागि अर्काे मिति ताेकिएकाे हो । इजलासले बिहीबारको सुनुवाइ स्थगित गरे पनि अब उपरान्त कुनै पनि पक्षको अनुरोधमा पेशी स्थगित नहुने आदेशसमेत इजलासले गरेको छ ।

‘अब उपरान्त प्रस्तुत विवादका सन्दर्भमा निवेदक वा विपक्षी कुनै पनि पक्षको अनुरोधमा पेशी स्थगित नगरिने व्यहोराको जनाउ सम्बन्धित पक्षहरुलाई दिई यस विषयमा सुनुवाइका लागि २०७३ पुस ७ गतेको पेशी तोकी लगाउका अन्य निवेदनहरु साथै राखी नियमानुसार पेश गर्नु’, आदेशमा उल्लेख छ ।

पूर्ण इजलासबाट सुनुवाइ हुने विवादको सन्दर्भमा सामान्यतया पेशी स्थगित गर्नु मनासिव नहुने भएको र धेरैजना कानुन व्यवसायीको वकालतनामा पेश भएको मिसिलबाट देखिएको तथा संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद देखिँदा यसलाई लामो समयसम्म अनिर्णयको अवस्थामा राख्न उचितसमेत नदेखिएको आदेशमा उल्लेख छ ।       

प्रमुख आयुक्तमा कार्कीलाई गरिएको नियुक्ति असंवैधानिक दावीसहित अधिवक्ता ओमप्रकाश अर्यालले दायर गर्नुभएको रिट निवेदनमा भएको आफ्नै फैसला पुनरावलोकन गर्ने सर्वाेच्च अदालतको आदेशपछि बिहीबार पहिलोपटक सुनुवाइका लागि पेशी तोकिएको थियो । त्यसका लागि न्यायधाीशत्रय जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित पूर्ण इजलास गठन भएको थियो ।

सर्वाेच्चले पेशी स्थगित गर्न नपाउने आदेश गरेपछि अब त्यस मुद्दाको सुनुवाइ आउँदो पुस ७ गते हुने निश्चित भएको छ । कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव पेश भएपछि संवैधानिक व्यवस्थाअनुसार कामकारवाही गर्नमा रोक लागेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना