असल गुरु पाउनै गाह्रो : शोभा

तीन वर्षदेखि सङ्गीत सिक्दै आउनुभएकी शोभा पाण्डेले भर्खरै गीति एल्बम ‘शङ्का’ स्रोतामाझ ल्याउनुभएको छ ।  रूपन्देही देवदहकी पाण्डेले डा. कृष्णहरि बरालको एकल रचना र गैरे सुरेशको एकल सङ्गीतमा शङ्का ल्याउनुभएको हो ।  एल्बममा मलाई माया गर्ने भए मेरो यो भनाइ..., मेरो चरित्रमा शङ्का गर्ने तिमी को..., मन मान्दैन मन मान्दैन..., यस्तो मान्छे फेला परोस्..., नदेख्नु पथ्र्यो त्यो त्यो रूप... बोलको गीत रहेका छन् ।  प्रस्तुत छ, यलु जोशीले गायिका पाण्डेसँग गर्नुभएको कुराकानी–sobha pande

–शङ्का एल्बममा कस्तो प्रकारको गीत/सङ्गीत छ ?
यो प्रेम, सङ्गम र विछोडको गीत रहेको छ ।  एल्बममा वास्तविकतामा आधारित रहेको गीत सङ्गीत रहेको छ ।  
– दर्शक/श्रोताबाट कस्तो प्रतिक्रिया आएको छ ?
राम्रो प्रतिक्रिया आएको छ ।  नयाँ गायिकालाई यस्तो राम्रो प्रतिक्रिया आउँछ जस्तो लागेको थिएन तर सबैले स्वर राम्रो छ अझ मिहनत गरेर सङ्गीत सिक्न सुझाव दिनुभएको छ ।  
– कसरी एल्बम निकाल्ने सोच बनाउनुभयो ?
रेडियोमा म्युजिक कार्यक्रम चलाउँथे ।  यही क्रममा कृष्णहरि बराल सरको गीत धेरै सुन्थे, बजाउँथे ।  मलाई पनि गीत सङ्गीतमा रुचि थियो ।  जसका कारण उहाँसँग भेट भयो र उहाँकै सल्लाह अनुसार एल्बम निकाल्ने योजना बनाएँ ।  
– सङ्गीत क्षेत्रमा लाग्न कतिको गाह्रो छ ?
गाह्रो भन्दा पनि सङ्गीत सिकाउने गुरुको अभाव हुने रहेछ ।  दुई वर्षसम्म राम्रो गुरुको खोजीमा नै बित्यो ।  पहिले जहाँ सिक्न जाँदा पनि राम्रो लाग्ने तर पछि अलिअलि सिकेपछि ठीक नलाग्ने ।  यो सङ्गीत सिकाउने केन्द्रहरू व्यवसायमुखी बढिरहेछन् ।  राम्रो सिकाउने गुरु भए म अझ राम्रो हुन्छु जस्तो लाग्छ ।  
– सङ्गीतको प्रेरणा ?  
मेरो प्रेरणाको स्रोत भनेकै रेडियो हो ।  रेडियोमा गीत सुन्ने अनि गाउने गर्दागर्दै यसैमा सौख बन्न पुग्यो ।  मेरो दाइ पनि गीत गाउनुहुन्थ्यो ।  राम्रो गाउन सक्छु जस्तो लागेर प्रयार गर्दै गएँ ।  
– तपाईं जस्तै नयाँ गायक/गायिकालाई के भन्नुहुन्छ ?
सङ्गीत भनेको साधना हो ।  सिकेर बुझेर गाउँदा राम्रो हुन्छ ।  पैसाको भरमा एल्बम निकाल्न नहुने मेरो सोचाइ छ ।  
–यो एल्बमको श्रेय कसलाई दिनुहुन्छ ?
मेरो शङ्का एल्बम बराल सरकै कारण स्रोतामाझ आउन सम्भव भएको हो ।  उहाँले भन्नुभएको थियो गाए पनि सदाबहार गीत गाउनुपर्छ ।  आफूलाई चित्त नबुझ्ने गीतको कुनै अर्थ हुँदैन ।  
–अहिले के पढ्दै हुनुहुन्छ ?
सङ्गीत विषय लिएर स्नातक दोस्रो वर्ष पढ्दै छु ।  व्यवस्थापनमा स्नाकोत्तर पढ्दै छु ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना