डा. केसीसँग वार्ता जारी,अनसन आज तोड्ने विश्वास

काठमाडौँ, मङ्सिर १९ गते ।  स्वास्थ्य क्षेत्रको सुधारका लागि आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसी र सरकारी वार्ताटोलीबीच शनिबार पनि सहमति जुट्न सकेन ।  शुक्रबार राति अबेरसम्म भएको वार्तापछि शनिबार सहमति भई डा. केसीले अनशन तोड्नुहुने भनिएको थियो तर शनिबार भएको वार्तामा सहमति जुट्न सकेन ।  सरकारी वार्ताटोलीले भने आइतबार सहमति हुने र डा. केसीले अनशन तोड्नुहुने दाबी गरेको छ ।
सरकारी वार्ताटोलीका सदस्यसमेत रहनुभएका स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्र उप्रेतीले अधिकांश विषय सहमति नजिक पुगेको र केही प्राविधिक विषयमा सहमति हुन बाँकी रहेको जानकारी दिँदै आइतबार सहमति गरेर डा. केसीले अनशन तोडनुहुनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताउनुभयो ।  उहाँले सहमति हुन नसकेको प्राविधिक विषयबारे भने स्पष्ट भन्न चाहनुभएन ।  
डा. केसीले अगाडि सार्नुभएको त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई हटाउनुपर्ने मागका सम्बन्धमा उच्चस्तरीय न्यायिक समिति गठन गर्ने सहमति भएको बुझिएको छ ।  स्वास्थ्यमन्त्री गगन थापा, शिक्षाविद् केदारभक्त माथेमालगायतको संलग्नतामा समिति गठन गर्ने र आवश्यक छानबिन गरी गल्ती देखिए कारबाही गर्ने सहमति भएको छ ।  स्वास्थ्य सचिव डा. उप्रेतीले शुल्कलगायत विषयमा यसअघि पनि सरकारले सहमति गरेकाले कडाइसाथ लागू गर्न पहल गर्ने आश्वासन डा. केसीलाई दिइएको बताउनुभयो ।  
यसैबीच, राससका अनुसार नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. केसीको जीवनरक्षाका लागि सरकारले पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।  
केसीका समर्थकले शनिबार आयोजना गरेको ¥यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै भट्टराईले केसीका माग जायज भएको भन्दै सरकारले तत्काल माग पूरा गरेर केसीको जीवनरक्षा गर्नुपर्ने बताउनुभयो ।  उहाँले शिक्षा र स्वास्थ्यमा व्यापार हुने गरेको उल्लेख गर्दै विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।  पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको परम्परागत राजनीतिले देशको दिशाबोध गर्न नसक्ने बताउँदै भन्नुभयो, “अहिलेको राजनीतिको विकल्प खोज्नुपर्छ । ”
डीनमा डा. अग्रवाल
त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा प्राडा जगदीशप्रसाद अग्रवाललाई नियुक्त गरेको छ ।  शुक्रबार गठन भएको सर्च कमिटीको सिफारिसमा त्रिवि कार्यकारी परिषदले प्रा.डा अग्रवाललाई डिन पदमा नियुक्त गरेको हो ।
    नियुक्तिपछि गोरखापत्रसँग कुरा गर्दै प्राडा अग्रवालले आफू ठूलो चुनौतीका बीच आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “गर्न धेरै बाँकी छ चुनौतीको पहाड छ सबैको सहकार्यबाटै म अगाडि बढ्नेछु । ”
    डा. अग्रवालको पदबहाल कार्यक्रम आइतबार हुनेछ ।  डा. गोविन्द केसीले वरिष्ठताको आधारमा डिन नियुक्ति हुनुपर्ने माग गर्दै तत्कालीन डिन केपी सिंहलाई परिषद्ले डीन नियुक्त गरेकै दिनदेखि आमरण अनशन बस्नुभएको थियो ।  अनसनको २० औँ डिन डा. केपी सिंहले राजीनामा दिएपछि नयाँ डिन नियुक्तिको सिफारिस गर्न शुक्रबार साँझ डा. कुमुदकुमार काफ्लेको संयोजकत्वमा डिन सर्च कमिटी गठन गरिएको थियो ।  यसअघि शनिबार बिहान स्वास्थ्यमन्त्री गगनकुमार थापाले आमरण अनशनरत डा. गोविन्द केसीसँग अनसन तोड्ने विषयमा भेट गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना