बेहुलीझैँ सिँगारियो जानकी मन्दिर

धर्बेन्द्र झा

जनकपुरधाम, मङ्सिर १९ गते ।  त्रेता युगमा भएको राम(सीताको विवाह सम्झनामा जनकपुरमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि धुमधामका साथ मनाइँदैछ ।  आइतबार जनकपुरको जानकी मन्दिर परिसरमा वैदिक परम्परा अनुसार राम र सीताको वैवाहिक कार्यक्रम हुने र सो को सम्पूर्ण तयारी पुरा भएको छ ।
साताव्यापी मनाइने रामजानकी विवाह महोत्सवअन्तर्गत शनिबार मटकोर (विवाहको कार्यक्रम हुनु एक दिनअघि माटो खन्ने काम) कार्यक्रम भएको छ ।  साँझ जानकी मन्दिरबाट साधुसन्तसहितको सहभागितामा निस्केको जानकीको डोलालाई जनकपुरको प्रसिद्ध गंगासागर पोखरीको डिलमा लगि मटकोर कार्यक्रम गरिएको छ ।  वैवाहिक कार्यक्रमका लागि रामजानकी मन्दिर बेहलीझैँ सिँगारिएको छ ।  
मटकोर कार्यक्रममा मैथिली महिलाले विवाहका लागि बनाउने मडवाका लागि पोखरीबाट माटो खनेर मन्दिर परिसर भित्र्याएका थिए ।  सो कार्यक्रम हेर्न बाहिरबाट आएका श्रद्धालु भक्तजनहरूको भीड लागेको थियो ।  कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागार्इँसहित उच्च अधिकारीहरूको उपस्थिति थियो ।  
आइतबार विधिअनुसार स्वयंवरपछि वैवाहिक कार्यक्रम हुने र सोको सम्पूर्ण तयारी पूरा भएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो ।  वैवाहिक कार्यक्रममा सहभागी हुन भारतको अयोध्याबाट ठूलो सङ्ख्यामा साधुसन्तहरू जनकपुर आइसकेको उहाँले बताउनुभयो ।  विवाह महोत्सव हेर्न नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू आउने क्रम जारी छ ।  वैवाहिक कार्यक्रमअन्र्तगत मटकोरभन्दा अगाडि तिलकोत्सव, धनुषयज्ञ, नगर दर्शन लगायत कार्यक्रम सम्पन्न भइसकेका छन् ।  janaki temple
धर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार त्रेता युगमा मिथिलाका राजा जनकले जनकपुरमा आफ्नी छोरी सीताको विवाहका लागि योग्य वरको चयन गर्न धनुषयज्ञको र चयन भइसकेपछि तिलकोत्सवको आयोजना गर्नुभएको थियो ।  राजा जनकले शिवको अति नै बलियो धनुष यज्ञमा राखेर त्यसलाई उठाएर बाण चढाउन सक्ने व्यक्तिसँग छोरीको विवाह गर्ने सर्त राख्नुभएको थियो ।  
सो सर्त स्वीकार गर्दै अयोध्याका राजकुमार रामले धनुषयज्ञमा भाग लिई शिवको धनुषलाई उठाएर वाण चढाउन खोज्दा धनुष भाँचिएर तीन टुक्रामा विभाजित भएको थियो ।  शिवको धनुषको एक टुक्रा आकाशमा अर्को पातालमा र तेस्रो टुक्रा जनकपुरभन्दा २० किलोमिटर टाढा रहेको धनुषाधाम भन्ने स्थानमा खसेको किंवदन्ती छ ।  
धनुषाधाममा अहिले पनि धनुषको टुक्रा खसेको स्थानमा ढुङ्गाको प्राकृतिक आकृति धनुषजस्तै जमिनमा बनेको छ ।  सो धनुष खसेको स्थानमा मन्दिर बनाइएको छ भने त्यहाँ हजारौँ पर्यटक दर्शन गर्न जाने गर्छन् ।  रामले धनुष भाँचेपछि राजा जनकले सीताको विवाह रामसँग गर्ने निर्णय गरेका थिए ।  सोही कथालाई यथार्थ बनाउँदै जनकपुरमा प्रत्येक वर्ष विवाह महोत्वसको क्रममा तिलकोत्सव, धनुषयज्ञ, फूलबारी लीला, नगर दर्शनलगायतको कार्यक्रम गर्ने परम्परा छ ।  विवाह महोत्सवमा सहभागी हुनआउने पर्यटकहरूका कारण जनकपुरका होटल, लोज र धर्मशालाहरू भ्रिभराउ छन् ।  साथै भक्तजनको सुविधाका लागि स्थानीय सङ्घ संस्थाहरूले ठाँउ ठाँउमा बासको प्रबन्धका लागि पन्डाल निर्माण गरिदिएका छन् ।  
विवाह महोत्सवलाइ मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरको सुरक्षा व्यवस्था मजबुत पारिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईँले जानकारी दिनुभयो ।  उहाँका अनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना