फिडेललाई हेर्ने आ–आफ्नै दृष्टिकोण

 bibas wostiविवश वस्ती



फिडेल क्यास्ट्रो आफ्नै देश क्युबामा मात्र लोकप्रिय नेता थिएनन्, उनको क्रान्तिकारी, दृढ अडानयुक्त छवि अन्तर्राष्ट्रियरूपमै फैलिएको थियो तर केही दिनअघि मृत्युवरण गरेका क्यास्ट्रोलाई हेर्ने आ–आफ्नै नजर छन् ।  विश्वका तमाम क्रान्तिकारी र समाजवादी विचार बोक्नेहरूले उनलाई सकारात्मक दृष्टिकोणले हेर्दै आए र कतिपयले उनले लिएको बाटोलाई पछ्याउन उचित समेत ठाने तर पुँजीवादी खेमाका मानिसले भने उनले करिब आधा शताब्दीसम्म निरवच्छिन्न रूपमा क्युबामा शासन चलाएको हुँदा उनलाई तानाशाहको संज्ञा पनि दिने गरेका छन् ।  विश्वभरिका मुक्तिको सपना देख्नेहरूले भने उनलाई एक आदर्श व्यक्तित्वका रूपमा लिन्छन् र उनले क्युबामा चालेका लोकप्रिय कदमको खुलेरै प्रशंसा गर्छन् ।  
क्युबा, विश्वकै महाशक्ति राष्ट्र अमेरिका नजिकै अवस्थित एउटा द्वीप रहे पनि आधा शताब्दीभन्दा लामो अवधि अमेरिकाको नाकाबन्दी झेल्नुपरेको देश हो ।  सन् १९५९ मा क्रान्तिकारी शक्तिहरूले सत्ता हातमा लिएपछि अमेरिकाको नाकाबन्दीको सिलसिला प्रारम्भ भयो ।  आर्थिक नाकाबन्दी लगाएर क्युबाको आर्थिक तथा राजनीतिक क्षेत्रलाई छिन्नभिन्न पार्ने उद्देश्य अमेरिकाको थियो ।  तत्कालीन समयमा क्युबाको अर्थतन्त्रलाई धान्ने दह्रो आर्थिक स्रोत चिनी उत्पादन थियो र अमेरिकामा चिनी निर्यात हुँदै आएको थियो तर अमेरिकाले आर्थिक प्रतिबन्ध लगाएपछि क्युबाले तत्कालीन समयको अर्को महाशक्ति राष्ट्र सोभियत सङ्घसित व्यापार सम्झौता ग¥यो ।  अझ, सोभियत सङ्घले अमेरिकाले खरिद गर्ने गरेको भन्दा दोब्बर मूल्यमा चिनी किन्न थाल्यो ।  क्युबाले पनि सोभियत सङ्घबाट पेट्रोलियम पदार्थ र कृषि औजार खरिद गर्न थाल्यो र देशको कृषि विकासमा योजनाबद्ध तरिकाले लगानी गर्न थाल्यो ।  
तर सोभियत सङ्घसितको व्यापारिक सम्बन्ध सन् १९९० को दशकपछि तन्किएन ।  कारण थियो, सोभियत सङ्घको विघटन ।  सोभियत सङ्घ छिन्नभिन्न भएपछि क्युबामात्र होइन, विश्वका अरू आर्थिक साझेदारसितको सम्बन्धमा पनि रोकावट आयो तर क्यास्ट्रो नेतृत्वको सरकारले सोभियत सङ्घसितको व्यापार सम्बन्ध टुटेपछि देशमा आउने सङ्कटलाई टाल्न तत्काल केही महìवपूर्ण कदमहरू चाल्यो ।  क्युबाली सरकारले मितव्ययिताको नीति लागू ग¥यो ।  प्रारम्भमा पेट्रोलियम पदार्थको आयातमा ५० प्रतिशतभन्दा बढी नै कटौती ग¥यो ।  विदेशी मुद्रालाई घटाएर शून्यमा झार्ने काम गरियो ।  त्यही क्रममा गहुँ र अरू खाद्यान्नको आयात पनि ५० प्रतिशतमा नै झ¥यो ।  
सङ्कटमा घेरिएको क्युबाली सरकारले सन् १९९३ मा भने केही महìवपूर्ण कदम चाल्न आवश्यक ठान्यो ।  सुरुमा, राज्यको नियन्त्रणमा रहेको करिब ८० प्रतिशत खेतियोग्य जमिनलाई किसान र मजदुरको हातमा सुम्पिने काम ग¥यो ।  किनकि, सरकार जसरी भए पनि उत्पादन बढाउने ध्याउन्नामा थियो ।  त्यही क्रममा राजकीय फार्महरू समाप्त पारियो र सहकारीको माध्यमद्वारा देशमा उत्पादकत्व वृद्धि गर्ने बाटो रोजियो ।  
सन् १९९५ सम्म आइपुग्दा त त्यसअघिका वर्षमा चुलिँदै गएको खाद्य सङ्कट ठीक आकारमा आइसकेको थियो ।  क्युबाली सरकार जनताबीच खाद्य सङ्कट हटेको अनुभूति गराउन सक्षम भइसकेको थियो ।  यी सबै क्यास्ट्रो सरकारको बुद्धिमानी कार्यको प्रतिफल थियो ।  
अमेरिकी आर्थिक प्रतिबन्ध, सोभियत सङ्घसितको व्यापार सम्बन्धमा रोकावट र केही वर्ष खाद्य सङ्कट झेले पनि क्युबाली नेता र जनताले सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा भने कुनै सम्झौता गरेनन् ।  सम्भवतः क्यास्ट्रोले आधा शताब्दी शासन गरे पनि कसैसँग नझुकी देशमा भित्रिएका यावत सङ्कटलाई किनारा लगाउन जुन भूमिका खेले, त्यसले नै उनलाई आफ्नै मुलुक र विश्वभरि लोकप्रिय नेताको रूपमा स्थापित तुल्यायो ।  
क्युबा चिनी उत्पादनका लागि विश्वमै प्रख्यात त छ नै, त्यत्तिकै सूर्ती उत्पादन र निर्यात गर्ने मुलुकको रूपमा पनि ।  तर क्यास्ट्रोले सन् १९९८ मा सिएनएन र बीबीसीलाई दिएको संयुक्त अन्तर्वार्तामा भन्नुभएको थियो, ‘अब हामीले धूमपान विरोधी अभियान सञ्चालन गरिरहेछौँ ।  क्युबा केही गुणस्तरीय रमको पनि उत्पादक हो तर म त्यसको प्रयोग गर्ने सल्लाह कहिल्यै दिन सक्दिनँ तर यदि कसैले यसको प्रयोग गर्छन् भने उसले संयमपूर्णरूपले प्रयोग गर्नु आवश्यक हुन्छ ।  गर्भवती महिलाले रमको धेरै नै माग गर्छन् तर उनीहरूलाई मेरो सल्लाह के छ भने, तपाईंहरू धूमपान र मद्यपान प्रयोग नगर्नुस् ।  हामीलाई थाहा छ, गर्भवती महिलाका लागि यी दुवैले बेफाइदा पु¥याउन सक्छ । ’
सोही अन्तर्वार्ताको क्रममा उहाँले थप्नुभएको थियो, ‘हरेक व्यक्ति जान्दछन् कि, ऐतिहासिकरूपले हामीले विगत पाँच सय वर्षदेखि सूर्ति उत्पादन गर्दै आएका छौँ ।  यो द्वीपका मूल निवासीहरूले सूर्तिको उत्पादन र प्रयोग गर्दथे तर जब कोलम्बस यहाँ आए, उसले हाम्रो र हाम्रो सूर्तीको खोज गरे ।  आज पनि हामीले यसको उत्पादन बढाएका छैनौँं ।  नाकाबन्दीको सिकार हुनुका बाबजुद हामीले तम्बाकुको उत्पादन लगातार कम गर्दै आयौँ ।  जब हामी कसैलाई सिगारको डिब्बा दिन्छौँ भने त्यतिखेर एउटा कुरा अवश्य नै भन्छौ, ‘तपाईं धूमपान गर्नुहुन्छ भने यसको प्रयोग गर्न सक्नु हुनेछ ।  यदि तपाईं धूमपान गर्नु हुन्न भने तपाईंका कुनै मित्र धूमपान गर्नुहुन्छ भने उसलाई दिन सक्नु हुन्छ तर यदि यी दुवैभन्दा धेरै राम्रो काम गर्न सक्नु हुन्छ भने यो सिगार तपार्इंले आफ्नो दुश्मनलाई दिन सक्नु हुनेछ । ’
त्यसो त, सोभियत सङ्घ विघटन हुनुलाई क्यास्ट्रोले एक ऐतिहासिक परिघटना बताए पनि शक्तिको दुरूपयोग, व्यक्तिपूजा, मूर्ति प्रतिष्ठाजस्ता पक्षले कम्युनिष्ट सत्ता विघटन भएको निष्कर्ष निकाल्नुभएको थियो ।  क्रान्ति सम्पन्न भएर सत्ता सम्हालेलगत्तै क्युबाली सरकारले केही महìवपूर्ण निर्णय गरेको थियो ।  त्यस्ता निर्णयहरू कानुन बनाएरै लागू गरिएको थियो ।  कुनै पनि सडक, सार्वजनिक भवन, पुल वा अरू कुनै पनि ठाउँको नाम जीवित नेताहरूका नाममा राख्ने कुरा कानुनमार्फत् नै बन्देज लगाइएको थियो ।  जीवित व्यक्ति र नेताहरूका मूर्ति बनाउने कुराको पनि क्यास्ट्रो सख्त विरोधी हुनुहुन्थ्यो ।  यतिसम्म त ठीकै हो, कुनै सार्वजनिक कार्यक्रममा कसैको पनि तस्वीर टाँग्ने अनुमति थिएन ।  अर्थात्, क्रान्ति सम्पन्न भएदेखि नै व्यक्तिपूजाको कट्टर विरोधमा उभिएका थिए, क्युबाली नेतृत्व र जनता ।  
क्यास्ट्रोलाई हेर्ने सबैका आ–आफ्नै दृष्टिकोण होलान् तर विश्वका मुक्ति चाहने जनताका नजरमा भने क्यास्ट्रो सदैव जीवित नेताका रूपमा रहनेमा आशङ्का छैन ।  निरन्तर अमेरिकी आर्थिक प्रतिबन्ध झेले पनि देशका जनतालाई समस्याबाट उम्काउने तरिका खोज्नुका साथै आर्थिक सम्मृद्धिको दिशातिर पाइला चाल्ने योजना ल्याएर क्यास्ट्रोले एउटा उदाहरण पेस गर्नुभयो– कुनै पनि महाशक्तिले दीर्घकालीनरूपमा अवरोध खडा गरे पनि आफ्नो विचार, सिद्धान्त र नीतिमा अडिग रहेर देशलाई समृद्ध तुल्याउने कार्यमा दत्तचित्त भएर लाग्ने हो भने एक दिन सफलताको सिँढी उक्लिन गाह्रो छैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना