यजुर्वेद र याज्ञवल्क्य

 kamal rijalकमल रिजाल




वैदिक संहिताहरूमा यजुर्वेदको छुट्टै विशेषता छ ।  ज्ञान र विज्ञानको प्रचुर भण्डार मानिने वेदको यो खण्ड आध्यात्मिक दृष्टिले जति महìवपूर्ण मानिन्छ वैज्ञानिक दृष्टिले पनि उत्तिकै महìवपूर्ण देखिएको छ ।  यजुर्वेदको शुक्ल र कृष्ण गरी दुई भेद छन् ।  यीमध्ये आदित्य परम्पराबाट प्राप्त मन्त्रहरूलाई शुक्ल यजुर्वेद भन्ने गरिएको पाइन्छ भने ब्रह्मपरम्पराबाट प्राप्त मन्त्रहरूलाई कृष्ण यजुर्वेद भन्ने गरिएको छ ।  शुक्ल यजुर्वेदका द्रष्टा महर्षि याज्ञवल्क्य मानिएका छन् ।  वैदिक विद्वान्का अनुसार उनले यस वेद मन्त्रलाई बाजी (घोडा) को रूप धारण गरेर आएका सूर्यबाट प्राप्त ज्ञानचक्षुद्वारा देखेका हुन् ।  त्यसैले यसलाई वाजसनेयी शुक्ल यजुर्वेद भन्ने गरिएको छ तर यसबारे अन्य कतिपय विद्वान्को मत भने अर्कै पाइन्छ ।  उनीहरूका अनुसार याज्ञवल्क्यका बाबुको नाम वाजसनि हो ।  वाजसनिका छोरा भएकाले याज्ञवल्क्यलाई वाजसनेय पनि भनिन्छ ।  उनै वाजसनेयद्वारा देखिएका मन्त्र भएकाले यसलाई वाजसनेयी भनिएको हो ।  
शुक्ल यजुर्वेदको १५ वटा शाखा छन् ।  यिनमा काण्वाः, माध्यान्दिनाः, शापेयाः, तापापनीयाः, कापालाः, प्रौण्ड्रवत्साः, आवटिकाः, पाराशर्याः, वैधेयाः, वैनेयाः, औधेयाः, गालवाः, वैजवाः र कात्यायनीयाः पर्छन् ।  वाजसनेयले आफ्ना जुन जुन शिष्यहरूलाई पढाएका थिए उनीहरूकै नामबाट यी शाखाका नाम रहन गएका हुन् ।  त्यसैले यी सबै वाजसनेयी नै कहलिएका छन् ।  यीमध्ये हाल नेपाल र पूर्वोत्तर भारतमा प्रचलित शाखाको नाम भने माध्यान्दिनीय हो, जसलाई माध्यन्दिनीय वाजसनेयी शुक्ल यजुर्वेद संहिता भनिन्छ ।  त्यस्तै कृष्ण यजुर्वेदको भने ८६ शाखा रहेकोमा हाल तैत्तिरीय, मैत्रायणी, कठ र कपिष्ठल गरी चारवटाको मात्र अस्तित्व भेटिएका छन् ।  (कल्याण वेद कथाङ्क पृष्ठ १८२)
माध्यान्दिनीय वाजसनेयी शुक्ल यजुर्वेद संहितामा ४० अध्याय, ३०३ अनुवाक, १९७५ मन्त्र, ९० हजार ५२५ अक्षर र एक हजार २३० अनुस्वार रहेका छन् ।  यस शाखाअन्तर्गतको ब्राह्मण ग्रन्थलाई शतपथ ब्रह्मण, श्रौत्र सूत्रलाई कात्यायन श्रौत्र सूत्र र गृह्य सूत्रलाई पारस्कर गृह्यसूत्र भनिन्छ ।  यस शाखामा यी लगायत अरू धेरै परिशिष्ट पनि छन् ।  (शिवराज आचार्य कौण्डिन्न्यायन, वैदिक धर्म मूलरूपमा पृष्ठ १४६) यसबाहेक प्राचीन महर्षिहरूले वेदलाई वेदपुरुषको नाममा जीवन्त स्वरूप मानेर उपासना गर्ने गरेका समेत पाइएको छ ।  उनीहरूका अनुसार यिनका अलग अलग गोत्र छन्, परिवार छन् ।  यसमा यजुर्वेद मात्र अपवादमा पर्ने कुरै भएन ।  उनको गोत्र काश्यप, ऋषि परमेष्ठि, देवता इन्द्र, छन्द त्रिष्टुभ र उपवेद धनुर्वेद हो भने पत्नीको नाम धृति हो ।  स्वरूपगत हिसाबमा उनी रातो वर्ण, कैला आँखा, पातलो कम्मर तथा ठूला गाला र घाँटी भएका मानिन्छन् ।  ( प्रा. डा. वेणिमाधव ढकाल, आह्निक सूत्रावली नेपाली अनुवाद पृष्ठ ८) शुक्ल यजुर्वेदको प्रतिपाद्य विषयमा यसको ४० औँ अध्याय विशुद्ध ब्रह्मज्ञानपरक रहेको छ भने बाँकी सबै अध्याय श्रौत्र कर्मकाण्डसित सम्बन्धित देखिन्छन् ।  यसमा खासगरी दर्श, पौर्णमास, अग्निहोत्र, चातुर्मास्या, राजसूय तथा वाजपेय यज्ञ, सौत्रामणी यज्ञ, अश्वमेध यज्ञ, पुरुषमेध यज्ञ, सर्वमेध यज्ञ र पितृमेध यज्ञ आदिको विवेचना भेटिन्छ ।  (कल्याण वेद कथाङ्क पृष्ठ १८३)
यसै शाखाको ब्राह्मण ग्रन्थ मानिएको शतपथ ब्राह्मणको १४ काण्ड, १०० अध्याय, ४३८ ब्राह्मण, सात हजार ६२४ कण्डिका र सात लाख ६८ हजार अक्षर छन् ।  यसको पनि कार्य मूलतः श्रौत्र याग (यज्ञ) तथा अनुष्ठानसित नै सम्बन्धित रहेका छन् ।  (शिवराज आचार्य कौण्डिन्न्यायन, वैदिक धर्म मूलरूपमा पृष्ठ १४७) उपनिषद्को कुरा गर्ने हो भने यस शाखाअन्तर्गत १९ वटा उपनिषद् गणनामा आएका छन् ।  यसमा सबैभन्दा पहिलो ईशोपनिषद् रहेको छ ।  यो स्वरूपगत हिसाबले पनि सानै देखिन्छ ।  यसमा जम्मा १८ मन्त्र सङ्गृहीत छन्, जसको उल्लेख शुक्ल यजुर्वेद संहिताकै ४० औँ अध्यायमा भएको छ ।  त्यस्तै ठूलो आकृतिको उपनिषद्मा वृहदारण्यक उपनिषद् छ ।  ब्रह्मज्ञान सम्बन्धी विषद् व्याख्या भएको यस उपन्यासको प्रवचनकर्ता स्वयं याज्ञवल्क्य नै रहेका छन् ।  
त्यस्तै यसै शाखाको मानिने कात्यायान श्रौत्र सूत्रमा २६ अध्याय छन् ।  यसको पनि मुख्य काम श्रौत्र याग तथा अनुष्ठानलाई सुव्यवस्थित गर्नु नै हो ।  गृह्यसूत्रमा वैजवाप गृह्यसूत्र र पारस्कर गृहसूत्रको उल्लेख भेटिन्छ तर हाल चलनचल्तीमा पारस्कर गृह्यसूत्र नै देखिन्छ ।  यसका तीन काण्ड छन्, जसले जन्मदेखि मृत्युपर्यन्त र कतिपय अवस्थामा त्यसपछिका पनि (जुठो सूतक आदि) गतिविधिलाई समेत व्याख्या गरेका छन् ।  (कल्याण वेद कथाङ्क पृष्ठ १८५)
यी त भए माध्यन्दिनीय वाजसनेयी (याज्ञवल्क्य) शुक्ल यजुर्वेद शाखा सूत्रका कुरा ।  यसबाहेक उनको
(याज्ञवल्क्यको) केही स्मृति र शिक्षा ग्रन्थसमेत छन् ।  उनको स्मृति ग्रन्थलाई याज्ञवल्क्य स्मृति भनिन्छ, जसको स्थान मानव समाजमा अहिले पनि उत्तिकै महìवको देखिन्छ ।  खासगरी गृहस्थी जीवन व्यवस्थित गर्ने उद्देश्यले तयार पारिएको याज्ञवल्क्य स्मृति ग्रन्थले सीमा विवाद तथा सुरक्षा लगायत राज्यसञ्चालन एवं दण्डविधानका प्रावधानलाई जुनरूपमा उल्लेख गरेको छ, त्यसलाई हाम्रो मात्र राम्रो ठान्ने र अन्तर्राष्ट्रिय सीमानाको भन्दा आन्तरिक सिमानाको कुरा गर्न रुचाउने आजका राजनेता तथा राजकर्मचारीले एकपटक पढ्नै पर्ने देखिन्छ ।  साथसाथै उनका बह्मोक्त योगी याज्ञवल्क्यस्मृति, वृहद्योगी याज्ञवल्क्यस्मृति, याज्ञवल्क्य शिक्षा, याज्ञवल्क्य गीता, याज्ञवल्क्योपनिषद् आदि अन्य ग्रन्थ पनि भेटिएका छन्, जसले कुनै न कुनैरूपमा मानव जीवनलाई सम्मृद्ध र सुसंस्कृत गराउने प्रयास गर्दैै आएका छन् ।  (कल्याण धर्मशास्त्राङ्क पृष्ठ ३४४)
मन्त्रद्रष्टा ऋषिहरूमा सर्वाधिक अगाडि देखिएका महर्षि याज्ञवल्क्य अदम्य साहस तथा उत्साहका धनीसमेत मानिन्छन् ।  उनको त्याग, तपस्या तथा सदाचारमय जीवनपद्धति मानव समाजका लागि अहिले पनि उत्तिकै अनुकरणीय देखिन्छ ।  अध्यात्मवेत्ता, योगी, ज्ञानी, ध्यानी आदि विभिन्न विशेषणले विभूषित यी उद्भट विद्वान् हाम्रा शाखा गुरु पनि हुन् ।  हामीले उनकै वैदिक शाखा र सूत्र पाएका मात्र छैनौँ त्यसैमार्फत आफ्ना संस्कार पूरा गर्दै आएका पनि छौँ ।  यसबाहेक अर्को सुखद पक्ष उनी नेपाली अर्थात् नेपालकै निवासीसमेत हुन् ।  
ब्रह्मज्ञानीहरूका बीच पनि उनको स्थान सर्वाधिक अगाडि रहेको छ ।  उनी समान ब्रह्मज्ञानी तत्कालीन भूगोलमा अर्को कोही देखिएका छैनन् ।  परम ब्रह्मज्ञानी भइकन पनि याज्ञवल्क्य भगवद्भक्तिमा पनि उत्तिकै अनुपम देखिएका छन् ।  उनको रामभक्तिलाई सबैले प्रशंसा गर्दै आएका छन् ।  सर्वप्रथम राम चरित्र सुनाउने उनै मानिन्छन् ।  उनैले नै प्रयागराजमा ऋषिहरूको सभामा भरद्वाज ऋषिलाई रामचरित्र सुनाएका थिए ।  उनी जति आत्मज्ञानी थिए त्यति नै स्वाभिमानी पनि थिए ।  आफूलाई चित्त नबुझेको कुरो जसले गरे पनि तत्कालै प्रतिवाद गरिहाल्थे ।  उनी बाहिर देख्दा जति कडाजस्ता लाग्थे भित्र त्यति नै नरम थिए ।  सितिमिति कोही पनि उनको अगाडि पर्न सक्दैन थिए तर जो जो पर्थे उनीहरूको मान्यता भने कहिल्यै साथ छाड्न नपरे हुन्थ्यो भन्ने किसिमको हुने गथ्र्यो ।  
वैदिक मन्त्रद्रष्टा ऋषिहरू एकल र परिवारिक गरी दुई किसिमका छन् ।  यसमा याज्ञवल्क्य पारिवारिक ऋषिमा पर्छन् तर उनी सांसारिक भोगवासनामा भने कमलपत्रवतकै अवस्थामा देखिन्छन् ।  निःसन्देह सबै वेद मन्त्रमा उनको राम्रो दखल छ ।  त्यसमा पनि यजुर्वेदमा उनको स्थान अन्योन्याश्रयकै अवस्थामा देखिएको छ ।  यजुर्वेदलाई याज्ञवल्क्यले देखाएका छन् ।  याज्ञवल्क्यलाई यजुर्वेदले चिनाएको छ ।  हाल उनको भौतिक शरीर त हामी माझ छैन तर उनको यजुर्वेदीय कीर्तिपताका भने अहिलेसम्म पनि फहराइरहेको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना