पातबाट पैसा !

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, मङ्सिर २० गते । ‘हरियो वन नेपालको धन’ भन्ने उक्तिका आधारमा सामान्यतया वनबाट पाइने काठको सदुपयोगलाई मात्र सम्झने गरिन्छ । वनमा काठमात्र नभई बहुमूल्य वनस्पति, पात–पतिङ्गर, जरा, फल, फूल अनि पानीको स्रोत पनि हुन्छ । काठको उपयोगलाई मात्र बढी ध्यान दिइने गरेकै हुनाले होला– वन संरक्षणको प्रसङ्ग आउँदा सबै क्षेत्रका मानिसको काठमै धेरै चासो रहनेगरेको ।
नेपालको वनक्षेत्रको कुरा गर्दा कुल क्षेत्रफलको कम्तीमा ४० प्रतिशत वन क्षेत्र राख्नुपर्छ भन्ने नीतिले प्राथमिकता पाउँदै आएको छ । हिमालमा खासै वन र वनस्पतिको नरहे पनि पहाड र तराईमा भने वनजङ्गलको घनत्व बढी नै पाइन्छ ।
नेपालको विद्यमान वनको अवस्था अध्ययन गर्दा तराईको कुल वनमा रहेका रूखको सङ्ख्यामध्ये ८० प्रतिशतभन्दा बढी बुढा पाइएका छन् । भएका वनजङ्गलमा अमेरिका र दक्षिण अफ्रिकाबाट विभिन्न कारणले भित्रिएका वनमारा झारका कारणले वन, वनस्पति, घाँसेमैदान नाश हुँदै छन् । नेपालका वनमा नयाँ रूख उम्रने वातावरण प्रतिकूल बन्दै आएको विभिन्न अध्ययनले देखाएका छन् । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज र त्यसवरपरका सामुदायिक वन, मध्यवर्ती क्षेत्रमा वनमारा प्रजातिका झारले वन्यजन्तुको बासस्थानमा समेत प्रतिकूल प्रभाव पारिरहेको छ ।
वनमारा झारलाई वन विनाशकको रूपमा लिन थालिएका बेला चितवनका सामुदायिक र कबुलियती वनका उपभोक्ता भने तिनै झारबाट आय आर्जनका काममा लागेका छन् । यो कामबाट उनीहरू वन जोगाउनुका साथै त्यस्ता वनमारा झारका पात सङ्कलन गरेर पैसा कमाउने उद्यमसमेत गरिरहेका छन् । pat bat money
चितवनको कालिकानगर गैरीबारी गाउँका च्वार खोलामा गिट्टी कुटेर जीवन गुजरा चलाउँदै आएका बासिन्दा अहिले वनमारा झारको सदुपयोगबाट मासिक हजारौँ रुपियाँ कमाउन सफल भइरहेका छन् । यहाँका महिलाले समूह बनाएर वनजङ्गलको संरक्षण गर्ने र वनमाराका पात सङ्कलन गरेर तिनलाई निश्चित मात्रामा पोलेर चारकोल बनाएर बेच्न थालेका छन् ।
संरक्षणको समेत अभियानमा लागेका उनीहरूलाई जिल्ला वन कार्यालय चितवन र बायो इनर्जी परियोजनाले त्यस काममा सहयोग गर्दै आएका छन् । चारकोल पोल्ने भट्टी वन कार्यालय र परियोजनाले निःशुल्क उपलब्ध गराउने गरेका छन् भने चितवनस्थित नमुना बायोग्यासले समूहमा अबद्ध महिलालाई चारकोल पोल्ने तालिम दिँदै आएको छ । परियोजनाका वन संयोजक सुमन घिमिरेका अनुसार, स्थानीय सामुदायिक वन, कबुलियती वन र राष्ट्रिय वनभित्र विभिन्न प्रजातिका वनमारा जति पनि भएकाले चारकोल उत्पादन गर्न यहाँका महिलालाई सहज भइरहेको छ । चितवनमा गएको दुई वर्षको अवधिमा २६४ मेट्रिक टन चारकोल उत्पादन भइसकेको जिल्ला वन कार्यालय चितवनले जनाएको छ । एक सय ५४ जना महिला सदस्य विभिन्न समूहमा आबद्ध भएर चारकोल उत्पादनबाट मात्र करिब ४२ लाख रुपियाँ आम्दानी गर्न सफल भएका छन् ।
आफूले घाँस दाउराको कामबाहेक अरू केही नजान्दा खोलाको गिट्टी कुटेर जीवन गुजरा गर्दै आएको पीडा सुनाउने गैरीबारीकी राममाया गुरुङले भन्नुभयो– “हामीले भर्खर काम सिकेका छौँ, छोटो समयमा पनि आम्दानी राम्रै भएको छ । वनजङ्गलमा जति पनि वनमारा छ, काट्छौँ, भट्टीमा पोल्छौँ, किन्ने मान्छे घरमै आउँछन् । काम पनि सजिलो छ । ”
चुरेको फेदीका साथै खहरेखोलाको किनारमा प्रायः भूमिहीन किसानको बढी बसोबार रहेको यो ठाउँमा सरकारले स्थानीय समुदायलाई सामुदायिक वन र कबुलियती वन हस्तान्तरण गरेको छ । चेपाङ, मगर, तामाङ र गुरुङ समुदायको बस्तीमा अधिकांश पुरुष घरबाहिर रहने हुँदा घरखर्च चलाउनैका लागि पनि गिट्टी कुट्ने पेसालाई चारकोल उत्पादनले विस्थापित गरिदिएको नमुना बायोग्यासका चन्द्रमणि भट्टराईले बताउनुभयो । यहाँका महिलाले बिहान–साँझ घरको चुल्होचौको गरेर बस्तुभाउ चराउन जाँदा पनि वनमारा सङ्कलन गर्नेगरेका छन् । भट्टराईले भन्नुभयो, “घरवरपर प्रशस्त वनमाराको झाडी छ, घरको काम सकेर झाडी, पातपतिङ्गर जम्मा पार्छन्, एकैछिनमा भट्टीमा पात पोलेर पैसा कमाउन थालेका छन् । ”
चितवनका महिला समूहले उत्पादन गरेको चारकोल किनेर नमुना बायोग्यासले ब्रिकेट र अन्य नवीकरणीय कोइला उत्पादन गर्नेगरेको छ । नमुना बायोग्यासका उत्पादनले काठमाडाँै, पोखरा, बुटवललगायतका सहरी क्षेत्रका होटल, इँटा उद्योग जस्ता व्यवसायलाई पनि आपूर्ति गरिरहेको जिल्ला वन कार्यालय चितवनले जानकारी दिएको छ ।


प्राण वायु दिने पात: सञ्जीवकुमार राई
उपमहानिर्देशक, वनस्पति विभाग

वनजङ्गल भन्नेबित्तिकै प्रायः काठकै कुरा गर्ने गरिन्छ तर वनभित्र पात ज्यादै महìवपूर्ण कुरा मानिन्छ । हामी फल खान्छौँ र फूललाई आहा भनेर सजाउन्छौँ । ती फलफूललाई कार्बाेहाइडे«ड, प्रोटिन जस्ता आवश्यक पदार्थ तयार गर्ने काम पातले गर्छ र फलफूलमा पठाउने काम गर्छ । हरेक अन्न बालीको पनि त्यही हो । पातविना न फल लाग्छ न फूल नै फुल्छ । औद्योगिक राष्ट्रहरूले उत्सर्जन गरेको कार्बनडाइअक्साइडलाई सोसेर प्राणीजगतलाई चाहिने प्राणवायु अक्सिजन प्रवाह गर्ने काम पनि पातले नै गर्छ । पातको प्रशोधनबाट अर्गानिक रङहरू, सौन्दर्यका सामग्री, कागज आदि बनाइन्छ । ब्रिकेटका लागि कच्चा पदार्थ, प्राकृतिक रेशाहरू प्नि पातबाट उत्पादन हुनेगर्छ । त्यसैले पात वनजङ्गलको महत्त्वपूर्ण तत्व हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना