पत्रकार दया र घृणाका पात्र होइनन्

laxaman pantaलक्ष्मणदत्त पन्त

 


‘पत्रकार सिकायतकर्ता, टिप्पणीकार, सल्लाहकार, बादशाहका प्रतिनिधि र राष्ट्रका शिक्षक हुन् । चार वटा विरोधी पत्र चार हजार सङ्गिनभन्दा बढी खतरनाक हुन्छन् !’ पत्रकार र पत्रकारिताको भूमिका तथा शक्ति व्याख्या गर्न नेपोलियन बोनापार्टले झन्डै दुई शताब्दी अघि व्यक्त गरेका यी शब्दहरू पत्रकारिताका अध्येता र पत्रकारहरूका बीचमा चर्चित छन् । मानव जीवनसँग सम्बन्धित दैनिक गतिविधिको सूचना तथा मानव रुचिका विविध विषयमा सटिक टिप्पणी र समाचार मात्र होइन विश्वको सामाजिक तथा राजनीतिक परिर्वतनमा पत्रकार र पत्रकारिताको विशेष भूमिका रहँदै आएको सन्दर्भमा व्यक्त बोनापार्टको विचार आज पनि उत्तिकै सान्दर्भिक छ । विश्वको राजनीतिक इतिहासमा समाचार, आमसञ्चारका माध्यम र पत्रकारका कारण शक्ति केन्द्रले घुँडा टेकेको इतिहास साक्षी छ । त्यसो त सत्य, तथ्य, निष्पक्ष र स्वतन्त्र रूपमा सूचनाको सङ्कलन, चयन, सत्यापन, सम्पादन र सम्प्रेषणमार्फत गलत काममाथि निगरानी राख्ने दायित्व बोकेका पत्रकार र पत्रकारिता पेसालाई असाध्यै श्रद्धाभावले हेर्नेको सङ्ख्या पनि उल्लेख्य नै छ । पत्रकारिता पेसाको आवरणमा पीत पत्रकारिताको अभ्यास गर्नेका कारण भने नेपालमा मात्रै होइन विश्वभरि नै यस पेसा अँगाल्नेप्रति धेरैले गुनासो गरेको देखिन्छ ।
राज्यका साधन स्रोतको दुरूपयोग गर्ने, शक्तिको आडम्बर देखाउने, भ्रष्टाचार, अपराध, दण्डहीनता र कुकर्ममा संलग्न हुनेमाथि निरन्तरको निगरानीमार्फत समाज, देश र नागरिकका लागि सूचना सम्प्रेषण गरी क्षति न्यूनीकरण गर्न तल्लीन पत्रकारहरू नेपालमा कसरी दया वा घृणाका पात्र बने भन्ने विषयमा चिन्तन हुनु आवश्यक छ । नेपालमा अहिले सयौँको सङ्ख्यमा अखबारहरू, झन्डै सात दर्जन टेलिभिजन, छ सय वटा रेडियो स्टेसन र एक हजारको हाराहारीमा अनलाइन दर्ता छन् । नेपाल पत्रकार महासङ्घमा आबद्ध तेह्र हजार र बाँकी करिब सात हजार गरी बीस हजार पत्रकारले कुनै न कुनै रूपमा सूचना र समाचार सम्प्रेषण गरिरहेका छन् । यतिका सङ्ख्यामा कार्यरत पत्रकारहरूले कतिको सत्य, तथ्य, विश्वसनीय र सूचना तथा समाचार सम्प्रेषण गर्छन् भन्ने विषयमा छुट्टै र शृङ्खलाबद्ध बहस चलाउन सकिन्छ । यद्यपि, यस पङ्क्तिकारले आज उठाउन खोजेको प्रसङ्ग नेपालमा पत्रकारहरू दया वा घृणाका पात्र किन बन्छन् र यसले नेपालको समग्र पत्रकारिताप्रतिको विश्वासलाई कस्तो प्रभाव पारेको छ भन्ने हो ।
सम्पादकीय स्वतन्त्रता पत्रकारिताको प्राण हो । गलत कार्यमाथि निरन्तर निगरानी, निष्पक्ष र स्वतन्त्र रूपमा सूचनाको सम्प्रेषणमार्फत जनमत तयार गर्ने र समाज तथा राष्ट्रलाई सही बाटोमा डो¥याउने जिम्मेवारी पनि पत्रकार हो, मानिन्छ । यही विशिष्ट जिम्मेवारीका कारण पत्रकारितालाई राज्यको चौथो अङ्गको प्रतिष्ठा दिइएको हो । यस प्रतिष्ठालाई कायम राख्न पत्रकारले सके वा सकेनन् भन्ने विषयमा समीक्षा हुनु आवश्यक हो । धेरैले यो भूमिका कायम राख्न नसकेको र फलस्वरूप पत्रकारको भूमिका वा शक्ति कमजोर, कम विश्वसनीय र कतिपय सन्दर्भमा शङ्कास्पद भएको विद्वत पाठक वा प्रापकले गुनासो गरेको सामाजिक सञ्जाल र सार्वजनिक बहसमा प्रशस्तै सुन्न, हेर्न पाइन्छ ।
नेपालमा पत्रकारले पत्रकारिता मात्रै गर्दैनन्, पत्रकारितामार्फत अरू थोक वा अरू कार्य र त्यस्तो कार्य जुन अनुचित छ, पत्रकार आचारसंहिता विपरीत छ, पत्रकारिताका स्थापित मान्यताको वर्खिलाप छ पनि गर्छन् भन्ने बहस नौलो होइन । स्थापित सञ्चारमाध्यम र पत्रकारले कमजोर स्रोत, चर्चा पाउने महŒवाकाङ्क्षा र बढ्दै गएको ‘सेन्सेसन’ तथा ‘ट्याबलोडाइजेसन्’ को प्रभावका कारण रसेन्द्र भट्टराई, अनुजा बानिया, दिलशोभा, अम्बर गुरूङ प्रकरणहरूदेखि कञ्चन रेग्मीसम्मका घटनामा पत्रकारिता पेसाप्रति आममानिस र प्रापकको जनविश्सास घटेको कुरामा शङ्का गर्नै पर्दैैन । पत्रकारिता पेसालाई शङ्काको दृष्टिले हेरिनुमा यी र यस्तै घटना जिम्मेवार छन् । आफू कार्यरत आमसञ्चार माध्यम, आबद्ध पेसागत संस्था वा सूचना विभागद्वारा प्रदान गरिने परिचय पत्र वा प्रेस प्रतिनिधि पत्रलाई पत्रकार आचारसंहिता विपरीत व्यक्तिगत स्वार्थमा प्रयोग गरिनुले पनि सर्वसाधारणले पत्रकार र पत्रकारिता पेसाप्रति बनाउने धारणा नकारात्मक छ । निगरानी राख्नुपर्ने संस्था वा निकाय, कर्मचारीतन्त्र, शक्तिकेन्द्र र राजनीतिक दलसँगको गैरपेसागत सामिप्यता, व्यक्तिगत स्वार्थपूर्तिका लागि यी समूहबाट फाइदा लिने प्रवृत्ति पनि पत्रकारिता पेसाप्रति सर्वसाधारणको विश्वास घटाउने कारण हुन् । यसले पत्रकारलाई घृणाको पात्रका रूपमा चित्रण गर्न मलजल गरिरहेको छ । पत्रकारबाटै हुने यस्ता प्रवृत्तिको अन्त्य हुनु अत्यावश्यक छ ।
पत्रकारिताको सामाजिक उत्तरदायित्वको सिद्धान्त अनुशरणबिनै र श्रमजीवी पत्रकार ऐनप्रतिको बेवास्तासहित मिडियामा गरिएको लगानीका कारण पत्रकारको जीवन पेसागत रूपमा कमजोर र जीवनयापनका सवालमा दया गरिरहनुपर्ने पेसाका रूपमा चित्रित छ । व्यापारिक, ठूला, व्यवस्थित र अत्यधिक पहँुच भएको भनिएका मूलतः अखबार र टेलिभिजन च्यानहरूका लगानीकर्ताहरूले देखाउने रवैया, अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण पत्रकारहरू या त पेसाको दुरूपयोग गर्ने अवस्थामार्फत घृणाको पात्र या न्यूनतम पारिश्रमिकसमेत नपाउने, बिरामी पर्दा सम्बन्धित सञ्चार गृहले उपचार खर्च नदिने, दुर्घटना तथा जीवन बीमा नहुने यथार्थका बीच उनीहरू दयाको पात्रका रूपमा चित्रित हुन बाध्य छन् ।
पत्रकार महासङ्घलगायतका पत्रकारका पेसागत संस्थाहरूले पत्रकारको पेसागत सुरक्षा, जीविकोपार्जनका सन्दर्भमा सञ्चार गृहका लगानीकर्तालाई कम सरकार र राज्यका अङ्गलाई बढी जिम्मेवार बनाउने पहलका कारण पत्रकारलाई गाह्रोसाह्रो पर्दा मुनाफा कमाउने सञ्चार गृहले होइन सरकारले आर्थिक सहयोग गर्ने स्थिति समेत हाम्रासामु छ । पत्रकारले समयमा पारिश्रमिक पाउनुपर्छ, उनीहरूको दुर्घटना वा जीवन बीमा पनि हुनुपर्छ, दैनिक जीवनयापनका लागि पत्रकारले पत्रकारिताकर्म वा पेसाबाहेक अरू स्वार्थमा प्रवेश गर्नु हुँदैन भन्ने विषय जायज छन् । विडम्बना पत्रकारको पेसागत सुरक्षाका सवालमा सञ्चार माध्यमको बहुस्वामित्वमार्फत वार्षिक करोडौँ मुनाफा कमाउने सञ्चार माध्यमले आफ्नो दायित्व पूरा गर्दैन । सरकार र राज्यका अङ्गमार्फत पत्रकारलाई प्रत्यक्ष आर्थिक लाभ दिन लगाएर पत्रकारले शक्ति केन्द्रमाथि कस्तो निगरानी राख्ने अपेक्षा गर्न सकिन्छ ।
सञ्चार माध्यममा लगानी गर्नेको नीति सम्पादकले कार्यान्वयन गर्ने विषय विश्व पत्रकारिताको अभ्यासमै त्यति नौलो र अनौठो होइन तर मुनाफा कमाउने सञ्चार गृहले पत्रकारलाई तलब नदिनु, बीमा नगर्नु, ज्यान जोखिममा पारेर सुसूचीत गर्ने व्यक्तिलाई अप्ठ्यारो पर्दा दयाको पात्र बनाइनु विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम ऐन र श्रम कानुनको उल्लङ्घन मात्र होइन सरासर अपराध हो । यस अपराधले पत्रकारलाई समाजले दयाको पात्र मात्र बनाएको छैन सञ्चार गृहको प्रभावकारितामाथि नै प्रश्न चिह्न खडा गरेको छ ।
निजी क्षेत्रबाट सञ्चालित र ठूला भनिएका सञ्चार गृहहरूले वार्षिक करोडौँ मुनाफा कमाइरहेका छन् । त्यसो नहुँदो हो भने त दशकौँदेखि ती सञ्चार गृह टिकिरहने अवस्था नै हुने थिएन । आफ्नो लगानीलाई उद्योग भन्न रूचाउने लगानीकर्ताले सरकारबाट सहुलियतको अपेक्षा समेत गरी नै रहेका हुन्छन् । समुन्नत समाज, न्याय, विकास, आर्थिक समृद्धि, राष्ट्रिय प्रगति र सहभागितामूलक लोकतन्त्रको कार्यान्वयनका लागि स्वतन्त्र र निष्पक्ष पत्रकारिता आवश्यक छ । सेवाभावबाट अभिप्रेरित पत्रकारिता पेसामा पत्रकारले आफ्ना आचारणको पालना गर्ने र यस क्षेत्रमा लगानी गर्नेले पत्रकारको पेसागत सुरक्षाको प्रत्याभूति गर्ने अवस्था आए मात्रै पत्रकारिता पेसा सम्मानित र पत्रकार शक्तिशाली बन्नेछन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना