आँट र इमानदारीको राजनीति

chandramani-adhikari-300x300डा.चन्द्रमणि अधिकारी

सन् १९४५ को मध्यमा दोस्रो विश्वयुद्ध निर्णायक मोडमा पुगेको थियो । जापानको नागासाकी र हिरोसिमामा अणुबम प्रहार हुनाले लाखौँ जीवन समाप्त हुनुका साथै कैयाँैं मानिस असह्य पीडामा बाँचिरहेका थिए । त्यतिबेला जापानले आत्मसमर्पण गर्ने कि युद्ध लडिरहने भन्ने प्रश्न उठ्यो । यस प्रश्नको निकास खोज्न जापानका सम्राट, मन्त्रिमण्डलका सदस्यहरू, सर्वोच्च सभासद्हरू, सेनाप्रमुखहरू एवं उच्चपदस्थ पदाधिकारीहरू समेतको बैठक एउटा बङ्करभित्र अगष्ट १४ तरिखको मध्याह्न १२ः०० बजेदेखि १५ तारिखको मध्याह्न १२ः०० बजेसम्म बस्यो । जापानको भाग्य निर्धारण गर्न निम्ति चौबीस घण्टा लगातार बसेको बैठकले तत्काललाई आत्मसमर्पण गरी जापानको भविष्य जोगाउने निर्णय लियोे, जसलाई जापानको सबभन्दा लामो दिन पनि भनिन्छ । त्यसैको परिणाम अहिले जापान छ ।
उता दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाले आफ्नो राजनीतिक आदर्श र अभ्यासमा दखल पु¥याएकाले जीवनको उत्तरार्धमा पत्नी विन्नी मन्डेलालाई परित्याग गर्नुभयो । प्राचीनकालमा चाणक्यले सम्भावना भएर पनि सम्राट हुने मनसाय राखेनन् भने चन्द्रगुप्त मौर्यले राज्यहित खातिर आफ्नो इच्छा नभए पनि सेल्युकस पुत्री हेलेनसँग विवाह गरे । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पारिश्रमिकवापत वार्षिक एक डलर मात्र लिने र बन्द व्यापारमा संलग्न नहुने भनी घोषणा गर्नुभएको छ, यद्यपि व्यवहार र प्रभाव हेर्न बाँकी छ । आधुनिक नेपालमा पनि गणेशमान सिंहले मुठीमा आएको प्रधानमन्त्रीको पद त्याग्नुभयो, राज्य सञ्चालन गर्दा मनमोहन अधिकारीले कुनै ठाउँ र बेलामा सङ्कीर्ण स्वार्थ देखाउनुभएन । राज्य जिम्मा लिनेहरूले जोखिम मोलेर वा आफ्नो व्यक्तिगत स्वार्थ एवं सुखसयललाई त्यागेर समयमा दूरदर्शी निर्णय लिन सक्नुपर्छ भन्ने उदाहरण हुन् यी । अन्यथा राजनीतिक नेतृत्व महìवहीन हुन्छ र भविष्यले स्मरण गर्दैन ।
यस पृष्ठभूमिमा नेपालको वर्तमान राजनीतिक नेतृत्व यस्तै प्रकृतिको बलिदान गर्न र दूरगामी निर्णय लिन सक्षम छ, छैन भन्ने प्रश्नले जनमानसमा बास गरेको छ । केही दिन अघिको कुरा हो, एक मित्रले अर्को मित्रलाई सोधे – नेपालमा राम्रो फस्टाउने व्यवसाय के
होला ? दोस्रो मित्रले जवाफ दिए– राजनीति । पहिलो मित्र अक्कनबक्क भए – राजनीति कसरी व्यवसाय हुन सक्छ ? दोस्रोले जवाफ दिए, जहाँ आर्थिक कारोवार हुन्छ, बढाबढ र घटाघट हुन्छ, नाफा हुन्छ, त्यही हो व्यवसाय । नेपालको राजनीतिमा यी कुराको कमी छ र ? करोडौँंको कारोवार र लेनदेन भइहाल्छ । लगानी र मुनाफा गर्नेको कमी छैन । अन्य काममा नाफादर गणितीय हुन्छ, राजनीतिक व्यावसायमा ज्यामितीय दरमा लाभ हुन्छ । अनि स्रोता बनेको पङ्क्तिकार असमञ्जस्यमा परेर झस्कियो, कतै अर्थशास्त्रीय तथा सामाजिक मान्यता भताभुङ्ग त
भएन ?
यस प्रसङ्गलाई छोडेर प्राज्ञिक र शास्त्रीय रूपमा भन्दा राजनीति राज्यसम्बन्धी नीति हो । यसको सम्बन्ध देशको केन्द्रीय संस्थासँग जोडिएको हुन्छ र त्यो केन्द्रीय संस्था भनेको राज्य हो । त्यसैले राज्यको हित, संरक्षण तथा प्रवद्र्धन गर्नु राजनीतिको मूल ध्येय हो । यसले व्यक्तिको स्वतन्त्रता र सुरक्षाको प्रत्याभूतिलाई प्राथमिकतामा त राख्छ तर राष्ट्रिय संस्थाको हितको अगाडि भने व्यक्तिगत स्वार्थ गौण हुन्छ । राजनीतिले सिर्जना गरेको वृत्तको केन्द्रीय लक्ष्य राज्यको अखण्डताको संरक्षण गर्नु हो । त्यसवृत्तको पहिलो रेखामा जनता हुन्छन् । त्यसपछिका वृत्तीय रेखाहरूमा संविधान, राजनीतिक दल र संस्थाहरू, समुदाय, समूह, परिवार हुँदै पछिल्लो घेरमा व्यक्तिलाई राखिन्छ । यो नै क्ल्कवाइज (सुल्टो) राजनीतिको संरचनागत मोडेल हो । यसको विपरीत हिँड्नु एन्टि–क्ल्कवाइज (उल्टो) दिशातर्फ बढ्नु हो । त्यसैले पनि राजनीति गर्नुको अर्थ देशको सेवामा समर्पित भई जश र यशलाई पछ्याउनु हो । सुखसयललाई व्यक्तिगत आकाङ्क्षा बनाउनुभन्दा पनि देश, जनता र समुदायलाई समृद्ध बनाई उनीहरूलाई सुखसयल दिन सकेमा त्यही अनुपातमा प्राप्त हुने सुखसयलमा रमाउने व्यवहार र चरित्रको विकास गर्नु हो ।
सजिलो अर्थमा राजनीति राज्यनिर्माणको कला र अर्थ–सामाजिक–राजनीतिक विज्ञान हो, यो पेसा र व्यवसाय दुवै होइन । यद्यपि यसलाई राज्यको हितमा गरिने व्यवसायको रूपमा लिइएमा भने मुनाफामाथिको हकदाबी केवल राज्यको हुन्छ । यी विषयलाई देशको अर्थनीतिले व्यवस्थित गर्छ, अर्थनीतिको समुचित संयोजनले राजनीतिक लक्ष्य हासिल गर्न तथा प्राप्त उपलब्धिको संरक्षण गर्न सहयोग पुग्छ ।
आज यी कुराहरू आदर्श मात्र हुन् कि भन्ने मनोविज्ञानको विकास भएको कुरा नेपालमा मात्र होइन अन्यत्र पनि अनुभव हुन थालेको छ, बरु यसको डिग्री फरक होला । यस प्रसङ्गमा निर्वाचनको अभियान र क्रियाकलापको कुरा गर्दा बेलायत तुलनात्मक शान्त मानिन्छ तर अब वेस्टमिनिस्टर राजनीति पनि अलोचना रहित छैन । हुन त पछिल्लो अवधिमा सूचना प्रविधिको विकास एवं विस्तारले मानिसको चेतनास्तर उकालो लाग्यो, फलस्वरूप बेलायतसमेतका विकसित मुलुकमा पनि मतदाताले राजनीतिकर्मीहरूको काम कारबाही र उनीहरूले निर्वाह गरेको भूमिकामा कडा टिप्पणी गर्न थालेका उदाहरण भेटिन्छन् । केही वर्ष अगाडि जेम्स लैन्डले नामका राजनीतिक विश्लेषक (बीबीसीमा, २०१४) ले बेलायतका जनप्रतिनिधिका सम्बन्धमा जनताका गुनासा बारेका कुरामा टिप्पणी गर्दै भन्नुभएको थियो, संसद् सदस्यहरू अरू कुरामा भन्दा पनि मतदाताको परम्परागत सोचाइको क्रम भत्किएको कारणले आफू पछाडि परिनेमा बढी चिन्तित देखिन्छन् । त्यस सम्बन्धमा इराक मामला, खर्चमा अनियमिता तथा यौनकाण्डसमेतका विषयमा जनप्रतिनिधिहरूको रबैया हेर्दा कतिपय मतदाताले त संसद् सदस्यको मुख्य ध्येय नै मतदातालाई ठग्नु, सार्वजनिक कोषको दुरूपयोग गर्नु र सहायकहरूसँग रासलिलामा मस्त हुनु हो भन्नेसम्मका आरोप उहाँले लगाउनुभयो । त्यसैले पनि वर्तमान राजनीति जनइच्छा अनुकूलको प्रवाहमा बग्न नसकेकाले नागरिकको नयाँ विचारप्रति आशक्ति बढ्दै गएको आशय पनि व्यक्त गरिएको थियो । यसबाट २१ सौँं शताब्दीका नागरिक पुराना पार्टी र परम्परागत धारको पछाडि लाग्नुभन्दा पनि विषय र मुद्दाको गम्भीरता अनुरूप विचार बनाउने तथा राजनीतिक पार्टीको घोषणापत्रअनुसार मतदान मात्र नगरेर विषयको गम्भीरतालाई हेरी सङ्गठित हुने, नयाँ अभियान चलाउने र विचारको विकास पनि गर्छन् भन्ने कुराको पुष्टि हुँदै गएको छ । बेलायतमा बे्रक्जिटवारेको र स्कटल्याण्डको भविष्य बारेको जनमतसङ्ग्रहको नतिजा र निर्णय यसका उदाहरण हुन् ।
अमेरिकामा पनि मतदाताहरूको चेतना र मनोविज्ञान अब परम्परागत मात्र रहेन । उनीहरू पनि सिर्फ मतदान गर्ने लाइनमा मात्र देखिने दिनहरू इतिहास बन्दै गए । अमेरिकी नागरिक आजभोलि संयुक्तराज्य अमेरिकाको निर्माण हुंँदाको समयका आधारको खोजी गर्दैछन् । उतिबेला संयुक्तराज्य अमेरिका निर्माणको लक्ष्य नागरिकको जीवन, स्वतन्त्रता, मानवअधिकार र सम्पत्तिसम्बन्धी अधिकारको रक्षाको प्रत्याभूति गर्नु थियो । त्यसैले नै सबै राज्यले सुरक्षा र करसमेतका अधिकार केन्द्रलाई दिएका थिए तर अहिले जनता यस कार्यमा राज्य क्रमशः फितलो हुँदै गएको अनुभव गर्न थालेका छन् । उनीहरूको सोचाइमा नागरिकको यो अधिकारमा प्रहार भइरहेको छ, जसले गर्दा जनताले कर तिर्नुको सार्थकता प्रमाणित हुन सकेको छैन भन्नेसम्मका गुनासो आएका छन् । यसले राज्यप्रणाली र राजनीतिप्रतिको जनताको बदलिंँदो मनोविज्ञानलाई उजागर गर्छ ।
पछिल्ला समयमा अमेरिकी जनताले आफूलाई कम सुरक्षित महसुस गर्दै जानुको कारणले पनि साविकको राजनीतिबाट उनीहरू असन्तुष्ट हुँदै गएको पुष्टि हुन्छ । नोभेम्बर २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बाहिरी जगत्ले सोचेभन्दा फरक ढङ्गले डोनाल्ड ट्रम्प विजयी हुनुको यो पनि प्रमुख कारण हो । ट्रम्पले अमेरिका पहिलो (अमेरिका फस्ट), सुरक्षामा बढोत्तरी र करकटौतीका विषयलाई प्रमुख विषय बनाउनुभयो, अमेरिकी जनताले विजयी गराए । हुन त त्यहाँ राष्ट्रिय हितका बारेमा कतिपय बेला प्रतिपक्ष र सत्तापक्ष सम्झौतामा पुगेर राजनीतिक सुझबुझ देखाएका पनि छन् । सन् २०१० मा काँग्रेसमा प्रस्तुत बजेटमा भएको खट्पट र पारित भएको घटनालाई यसको उदाहरण मान्न सकिन्छ । त्यसबेला अर्थशास्त्रीहरूले समेत आर्थिक सङ्कट दोहोरिने चेतावनी दिएकाले डेमोक्रेट तथा रिपब्लिकनहरू मिलेर बजेट पारित गरे ।
तर नेपालमा राजनीतिको नाममा भइरहेका अभ्यासहरू, संसद्का गतिविधि र नीति तथा विधि निर्माणका हर्कतहरू, सत्ता प्राप्तिका खेलहरू, सरकार सञ्चालनका पद्धतिहरू, बजेटका विषयमा विनियोजन ऐन पारित गरी त्यसमा आश्रित बाँकी पुरक विधेयकहरू अस्वीकृतिका अपरिपक्व निर्णय गर्ने कार्य, आफ्ना मतदाताको हैसियतसँग मेल नखाने गरी आफ्नो तलबभत्ता आफंैँ बढाउनु, राज्य कोषबाट पहुंँचको आधारमा मापदण्डविना रकम वितरण गर्नु समेतका बेढङ्गी कामहरू हेर्दा यहाँ राजनीतिलाई मद्भट्टीको ठेक्का मान्ने मनोेविज्ञानले गाँजेको देखिन्छ, अर्थात् देश प्रदूषित राजनीतिको चपेटामा पर्दै गएको अनुभूति हुन्छ । हुन त आजसम्म जनतामा आक्रोश मात्र छ । आक्रोश रहुञ्जेल नेतृत्वलाई धिक्कारे पनि देश नागरिकले जोगाउँछन् तर जनतामा निराशा, नैराश्य र पलायन छायो भने त्यस्तो देशलाई कसैले पनि जोगाउन सत्तैmन । छिमेकको सिक्किम मात्र होइन विश्वका कतिपय देश राजनीतिक नक्साबाट हराएका छन् । यो कुरा राजनीतिकर्मीले राम्ररी बुझ्नु पर्छ । त्यसैले अझै पनि राजनीतिकर्मी मूल्य मान्यता, इतिहास र अन्तर्राष्ट्रिय अनुभव समेतलाई मन मस्तिष्कमा राखेर कर्मलाई यश–जसको विषय बनाई अगाडि बढ्नु होस् भन्ने शुभकामना दिंँदैछन् नागरिक ।

 

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना