सीमाङ्कनको समस्या तत्काल समाधान गर्नुपर्छ– नेता खड्का

टीकाबहादुर बस्नेत

दाङ, मंसिर २० गते । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले सीमाङ्कनको समस्या झन्पछि झन् जटिल बन्दै जाने बताउनुभएको छ । रिपोर्टर्स क्लव दाङले आइतबार दाङको अमेलियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खड्काले दलहरुले गृहकार्य विना सीमाङ्कन गरेका कारण सीमाङ्कनको समस्या जटिल बन्दै गएको बताउनुभएको हो ।
दलहरुले गृहकार्य विना सीमाङ्कन गरेको दावी गर्दै उहाँले पाँचनम्वर प्रदेशमा थालिएको आन्दोलनलाई समयमै सम्बोधन नगरे त्यसबाट जटिल समस्या उत्पन्न हुने बताउनुभयो । मुलुकमा झन्पछि झन् जटिल समस्या उत्पन्न हुने दावी गर्दै खड्काले भन्नुभयो, ‘मुलुकले झन् ठूलो समस्या भोग्ने निश्चित छ । वर्तमान समस्याको जड दिल्लीमा गरेको १२ बुँदे सम्झौता नै हो ।’ Khum-Bahadur-Khadka-810
संघीयताकै कारण मुलुक बिखण्डनतर्फ जाने भन्दै उहाँले नेपालजस्तो सानो मुलुकमा संघीयता आवश्यक नभएको बताउनुभयो । ‘संघीयतामा नजाऔं, त्यहाँ जातजातिको कुरा आउँछ भोलि अप्ठेरो हुन्छ भन्दा साथीहरूले मान्नुभएन । अहिले सबै पछुतोमा पर्दै हुनुहुन्छ । म अझैं भन्छु, आज देश बिखण्डनतर्फ जान थालेको छ । यो सब संघीयताकै कारणले हो’, नेता खड्काले भन्नुभयो, ‘सीमाङ्कनको समस्यालाई समयमै नसुल्झाउने हो भने झन् ठूलो समस्या आउँछ ।’
पत्रकार सम्मेलनमा बोल्दै उहाँले भारतीय राजदुतको उपस्थितिमा आफूलाई उपसभापति बनाउने सहमति भएको बताउनुभयो । नेता खड्काले भन्नुभयो, ‘भारतीय राजदूतको उपस्थितिमा सभापतिका उम्मेदवार देउवाले आफ्नो विजयपछि मलाई उपसभापति बनाउने सहमति गर्नुभएको थियो । मेरो समर्थनमा विजयी भएपछि देउवाले सहमतिको पालना गर्नुभएन ।’
सभापति देउवाको कार्यशैलीका कारण कांग्रेस समस्यामा पर्दै गएको नेता खड्काले दाबी गर्नुभयो । रिपोर्टर्स क्लज दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम पूर्वगृहमन्त्री समेत रहनुभएका खड्काले जनताले चाहेमा हिन्दु राष्ट्र फर्काउनुपर्ने बताउनुभयो । ९४ प्रतिशत ओमकार परिवार रहेको नेपालमा ४ प्रतिशतको हाराहारीमा रहेका मुस्लिमहरुको पनि हिन्दु राष्ट्रका लागि समर्थन रहेकाले जनता जागेमा हिन्दुराष्ट्र फर्काउन सम्भव रहेको भन्दै खड्काले नेताहरुको अदुरदृष्टिका कारण ख्रिष्टिउन धर्मालम्वीहरु बढ्दै गएको आरोप लगाउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना