कछुवा गतिमा अनुदान सम्झौता

राधा चालिसे

काठमाडौँँ, मङ्सिर २१ गते ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिले मङ्सिर १५ गतेभित्र नै काठमाडौँ उपत्यकाका तीन जिल्लाका भूकम्पपीडितसँग अनुदान सम्झौता गरिसक्ने लक्ष्यसहितको कार्ययोजना सार्वजनिक गरे पनि उक्त योजनाअनुसार काम हुन सकेन ।  
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहनुभएको निर्देशक समितिको बैठकले मङ्सिर १५ गतेभित्रै उपत्यकाका भूकम्पपीडितसँग सम्झौता सक्ने निर्णय गरे पनि हालसम्म ६२ प्रतिशत लाभग्राहीसँग मात्र सम्झौता हुन सकेको छ ।
काठमाडौँँ जिल्लामा रहेका साढे ४२ हजार लाभाग्राहीमध्ये ३१ हजार नौ सयसँग मात्र सम्झौता भएको छ भने १० हजार ८३२ जनाको गुनासो दर्ता भएको छ ।  काठमाडौँका स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारी भने लक्ष्यअनुसार कार्य भएको दाबी गर्नुहुन्छ ।  उहाँ विभिन्न कारणले छुटेका परिवार मात्र बाँकी रहेको बताउनुहुन्छ ।  सोमबारदेखि नै पीडितको खातामा रकम जम्मा गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत रकम निकासा भइसकेको पनि उहाँले बताउनुभयो ।  Reconstruction-Authority
त्यस्तै ललितपुरमा २५ हजार ५०६ मध्ये ११ हजारसँग सम्झौता भएको छ भने पाँच हजार गुनासो दर्ता भएको स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।  ललितपुरका कतिपय स्थानमा पीडितको नाम छुट भएको र त्यसको समाधान नभई सम्झौताको कार्य अगाडि बढाउन अवरोध गरेको पनि उहाँले बताउनुभयो ।  
जिल्लामा सुकुम्बासीको समस्या, नापी नभएका जग्गाको समस्यालगायत दर्जनौँ समस्या रहेकाले पनि सम्झौतामा लक्ष्यअनुसार प्रगति हुन नसकेको उहाँको भनाइ छ ।  आइतबार जिल्ला समन्वय समितिको बैठक सोमबार बसेकाले धेरै समस्या समाधान हुने विश्वास उहाँको छ ।  आगामी एक सातामा कार्य प्रगति निकै अगाडि बढ्ने उहाँको दाबी छ ।   भक्तपुरमा २६ हजार ६६ भूकम्पपीडितमध्ये १६ हजार ६३२ मात्र हालसम्म सम्झौता गरेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना इकाईले जनाएको छ ।  
प्रचण्ड नेतृत्वको सरकारले पीडितलाई आवास निर्माण गर्न तीन लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरे पनि सोही अनुरूपको परिमार्जित कार्यविधि मन्त्रिपरिषद्बाट पारित हुन ढिलाइ भएपछि दोस्रो किस्ताको निकासी गर्न ढिलाइ भएको छ ।  परिमार्जित कार्यविधिको मस्यौदालाई छिटै मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना