प्रायोजित हर्षवादको चपेटामा सङ्घीयता

 ram p gautamरामप्रसाद गौतम


मिडियाको लहलहैमा लागेर, तानाशाहका बन्दुकसँग डराएर वा विना कुनै आधार अरूको लहैलहैमा लागेर हर्ष प्रकट गर्ने प्रवृत्तिलाई प्रायोजित हर्षवाद भनिन्छ ।  प्रायोजित हर्षवाद त्यो अवस्था हो जहाँ जो खुसी भइरहेको छ उसले केही पनि पाउँदैन ।  राजतन्त्र कालमा राजारानीको जन्मदिन सबैले मनाउनुपर्ने, सबै खुसी हुनुपर्ने दकाक सर्वत्र पाइन्थ्यो ।  तत्कालीन राज्य नियन्त्रित समाचार माध्यमले बडो जोडतोडका साथ यस्तै प्रकृतिका खबर छाप्थे ।  उनीहरू पनि प्रायोजित रूपमा हर्षित भएको देखाउन बाध्य थिए किनकि उनीहरूको रोजीरोटीको सवाल थियो ।
उत्तर कोरियामा अहिले पनि राष्ट्रपतिको जन्मदिनमा जनताले बाध्यतावश खुसी भएको, रमाएको देखाउनुपर्छ भनिन्छ ।  यी त्रास सिर्जित प्रायोजित हर्षवाद हुन्, जुन तानाशाहहरूको आदेशमा सञ्चालित हुन्छन् ।  सच्चा प्रजातन्त्र तथा गणतन्त्रमा हर्ष प्रकट गर्नको लागि सिधै डरधम्कीको प्रयोग त गरिँदैन तर कतै न कतैबाट खुसी भएको देखाउन जरुरी छ ।  गणतन्त्र भनिए पनि आखिर अल्पतन्त्रलेमात्र सत्तासुखमा ढलिमली गरिरहेको हुन्छ ।  उनीहरू पनि कुनै निश्चित दर्शन विचारबाट निर्देशित हुन्छन् र त्यो उनीहरूले बोकेको विचार देश, जनताको हितमा नभए पनि बलजफ्ती राम्रो हो भनी जनतालाई थोपर्छन् ।  नेताहरू आलोपालो सत्तामा हुने नै भए, उनीहरूसित शक्ति हुन्छ, राज्यकोष हुन्छ ।  अनेक अख्तियार हुन्छ फलस्वरूप आसेपासे, कार्यकर्ता र पत्रकारहरू उनीहरूकै विचारलाई स्यालहुइँयाको रूपमा प्रचार गर्छन् ।  स्वतः सबैतिर त्यो विचार फैलिन्छ ।  कसैले साहस गरेर गलत भनेमा उसलाई एक्लो पारिन्छ, कुनै अवसरबाट वञ्चित गरिन्छ ।  यसरी कुनै विचारको गहन अध्ययन विना ल्याइने अवधारणा, विचार वा सोचहरू आमव्यक्तिका साझा सोच बन्न पुग्छन् ।  
सङ्घीयताको सन्दर्भमा पनि भएको यही र यस्तै हो ।  कुनै धनीमानी देश वा त्यहाँका संस्थाहरूले नेपालका विभिन्न क्षेत्रका चल्तापुर्जा मानिसलाई विदेश घुम्ने अवसर दिन्छन् ।  उनीहरूलाई कुनै बैठकमा भाग लिने अवसर दिन्छन्, खानपिन सुत्ने व्यवस्था, घुम्ने अवसर, सम्मान, मनग्गे भत्तालगायत साँझपख रामरमिता मिलाइदिन्छन् ।  अनि मौका पारेर सङ्घीयता बनाउने हो भने ह्वारह्वार्ती विकास हुन्छ भनेर उनीहरूको दिमाग भुट्छन् ।  अनि उनीहरू विदेश भ्रमण, विदेशी प्रशिक्षण र भत्ताको ह्याङ रहुन्जेल सङ्घीयतालाई अथक रूपमा प्रचार गर्छन् ।  
यद्यपि अहिले नेपालमा तानाशाही शासन होइन तर पनि केही कुरालाई अनावश्यक रूपमा लाद्नको लागि त्यो चीजको यथार्थ सुन्दरताभन्दा कैयौंँ गुणा बढाइचढाइ व्याख्या गरिएको छ ।  त्यसको सबैभन्दा ज्वलन्त उदाहरण सङ्घीयतामाथि गरिएको अनावश्यक विकासवादी प्रोपोगण्डा हो ।  यहाँ सङ्घीयता भयो भने के के न हुन्छ भनेर व्याख्या गरिएको छ ।  सङ्घीयताले त्यत्रो विकास हुने भए किन भारतले मागे जति सबैलाई अलग राज्य दिँदैन ? किन नेपालभन्दा ठूला भारतीय प्रदेशमा थप सङ्घीयता खोजिँदैन ।  किनकि सङ्घीयताले विकास हुन्छ भन्ने कुरा सयमा सय प्रतिशत नै झुठो हो ।  यो कुरा सबैलाई थाहा छ तर मुख खोलेर यो भन्ने क्षमता अधिकांशबाट ह्रास भइरहेको छ किनकि हामी सबै प्रायोजित हर्षवादका शिकार भइरहेका छौँ ।  हामी आफैँ मस्त निद्रामा छौँ ।  खोज र अनुसन्धानमा त शून्यमा नै छौँ ।  हाम्रा विचार कहिले माक्र्सवाद, कहिले लेनिन वा माओवाद, प्रजातन्त्रवाद, गणतन्त्रवादबाट बन्छन् र ती विचारलाई अहिलेको पुँजीवादी संसारमा पदवाद, डलरवाद, सुसु (सुरासुन्दरी) वादले दुई मिनेटमा यताको उता बनाइदिन्छ ।  
नेपाललाई एकल राष्ट्रको रूपमा देख्न नचाहने अदृश्य कुशक्तिको कोपभाजनमा राष्ट्रियता बिकेको छ ।  व्यक्तिगत सोचमा राष्ट्रभन्दा व्यक्ति प्रमुख हुन्छ त्यसैले आफ्नो वा आफ्नो संस्थालाई गोप्य लाभ हुन्छ, भने देश जतासुकै जाओस् भन्ने धारणा केहीमा व्याप्त छ ।  त्यसैको चपेटामा आम सर्वसाधारणको मस्तिष्क घुमिरहेको छ ।  आज पनि सङ्घीयताले देश अगाडि जान्छ भन्ने कुरा सिकाइँदै छ ।  कसरी जान्छ भन्ने कुरा कसैले जनतालाई स्पष्ट पार्न सकेको छैन ।  के सङ्घीयताले साधन स्रोत बढाउँछ ? के सङ्घीयताले हामीलाई उद्यमशील बनाउँछ ? के सङ्घीयताले हाम्रो चेतनालाई उर्वर बनाउन सक्छ ? यी कुराको उत्तर हामीसँग छैन ।  सिसा फोर्न सजिलो छ तर जोड्न सम्भव नै छैन ।  यति त राजनीति गर्ने वा बुद्धिजीवी भन्ठान्नेहरूले बुझ्नुपर्छ ।  
सङ्घीयता सबै देशको लागि बेठीक हो भन्ने आशय हुँदै होइन तर नेपालको भूअवस्थितिजस्तो छ, त्यो विचार गर्दा नेपालको लागि यो ठीक छैन भन्ने त सङ्घीयता कार्यान्वयनमा नजाँदै देखिएका झिल्काहरूले प्रस्ट पारिसकेका छन् तर प्रदेशको सिमानाले उत्तर र दक्षिण दुवैतर्फका देश छुन्छ भने सङ्घीयता स्वीकार गर्न सकिन्छ ।  
केन्द्रीयता एउटा रोग हो भने सङ्घीयता अनन्त र अनेक रोगको नाम हो ।  यसको सङ्केत ०७२ असोज ३ बाट नै देखिँदै गएको छ ।  १४ महिनाको अवधिमा सङ्घीयताले कसैलाई अघोर राष्ट्रवादी र कसैलाई त्वंशरणंवादी अर्थात् सुप्रचलित लम्पसारवादी बनाइसक्यो ।  अहिले सङ्घीयता नेपालको भूपहिचान होइन भन्नेहरू यावत् पश्चगमनकारीको रूपमा चित्रित गराइन थालेका छन् ।  यहाँ अन्धकार कसैको भेरीलाइटको सहयोगले झल्किरहेको छ र उज्यालो र सत्य अन्धकारको ग्रहणमा रुमल्लिएको छ ।
सङ्घीयता राम्रो मोडल हो तर त्यो भूराजनीति मिलेको ठाउँमा उपयुक्त हुन्छ ।  साझा बस राम्रो सवारी साधन हो भन्दैमा यसलाई सगरमाथाको चुचुरोमा चढाउन सकिन्छ र ? बाटो
चाहिँदैन ? सन्तुलन मिल्नुपर्दैन ? पक्कै पर्छ ।  नेपालमा सङ्घीयताले विकास हुन्छ भन्नु र मरुभूमिको बालुवा रुखमा फल्ने फलफूल हो भनेर झुक्याउनु एउटै कुरा हो भन्न सकिन्छ ।  हाम्रा नेता यस्तै हुन्, कर्मचारी यस्तै हुन् ।  जसले दिनभरि घाम तापेर बस्नको लागि पनि कमिसन खोज्छन् ।  जनतामा विकासको अपनत्व महसुस गराउन सकिएको छैन ।  यस्तो अवस्थामा सङ्घीयताले विकास हुन्छ ? सुहागरात र बलात्कारको बीच भेद बुझिँदैन भने देशको अवस्था यस्तै हुनेछ ।  सङ्घीयता अन्य देशको लागि यो सुहागरात हुन सक्छ तर नेपालको सन्दर्भमा बलात्कार हो ।  अरूको खुसीका कहानी ल्याएर यहाँका सोझा जनतालाई चलचित्र देखाउने काम नगर्नु राम्रो हुन्छ  ।
यतिखेर बडो चेतनशील र राष्ट्रवादी बनेर संविधान संशोधन प्रस्तावले ५ नं. प्रदेशलाई टुक्रा पार्ने प्रस्ताव गरेको छ ।  यस्तै २ नम्बर प्रदेशलाई पहाडबाट त्यसरी अलग पारियो जसरी रजस्वला भएकी किशोरीलाई छाउपाडी गोठमा राखिन्छ ।  यत्तिलेमात्र नपुेर यस्तो कृत्यले देशको विकास हुन्छ भन्ने भ्रम गोयवल्स शैलीमा फैलाइँदै छ ।  यसरी मनचिन्ते विभाजन नगरौँ ।  वस्तुनिष्ठ आधार विना भ्रमको व्यापार नगरौँ ।  प्रदेश बनाउँ तर तीन वटा भौगोलिक क्षेत्र हिमाल, पहाड, तराईलाई जोडेर ।
संशोधन प्रस्तावले अलग पारेको नवलपरासी, रूपन्देही र कपिलवस्तुमा २०६८ को जनगणना अनुसार १० लाख २१ हजार चार सय सतसठ्ठी जनसङ्ख्या छ ।  त्यसमा क्षेत्री ५९ हजार ३०५ बाहुन एक लाख ४१ हजार ६८९, मगर एक लाख चार हजार १६६, नेवार ९९ हजार ७०१, थारू जो भूमिपुत्र हो जो पहाडसँग मिलेर बस्न चाहन्छ त्यो एक लाख २१ हजार ६९७ छ ।  कामी २९ हजार ६३६, गुरुङ १५ हजार ६९७ छन् ।  यसरी आधाभन्दा बढी पहाडप्रेमी बसेको ठाउँ हो यो ।  यसैगरी बाँके बर्दियामा पनि पहाडी र थारूकै बाहुल्यता छ ।  अर्थात् हाम्रो देशमा हिमाल, पहाड, तराईको सम्बन्ध जुनकुनै बिन्दुमा अन्योन्याश्रित छ ।  जीवनका पद्धति र प्रणाली उत्तर–उत्तरबाट दक्षिणतिर प्रवाहित छन् ।  यसलाई नछुटाऊँ ।  सबै हिमालमा जन्मेका, पहाडमा जन्मेका र तराईमा जन्मेकालाई अमूक–अमूक जलवायुमा जन्मेको नभई नेपालमा जन्मेका सबै नेपाली हौँ भन्ने पाठ सिकाउँ ।  
गाली कसैले कसैलाई नगरौँ कसैलाई राष्ट्रवादी र कसैलाई अराष्ट्रवादीको विल्ला पनि नलगाऊँ बरु नेपालमा जन्मेका नेतालाई सम्पूर्ण नेपालीको चित्त बुझ्नेगरी प्रदेशको सीमाङ्कन गर्ने जिम्मा दिऊँ ।  देशको ठूलो पदमा बसेका नेताले कुनै जातिको वा रङको वकालत गरेरमात्र हुन्छ ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना