जनगुनासो समाधान गर्न प्रहरी सक्रिय , विशेष रणनिति र योजना तय

सिराजुद्दीन खान

नेपालगञ्ज, मंसिर २१ गते । प्रहरीले जनताको गुनासो समाधान गर्न बिशेष रणनीतिहरु तय गरेको भेरी अञ्चल प्रहरी कार्यालयले जनाएको छ । जनतालाई सुरक्षा प्रदान गर्दै जनताकै सहयोगमा अपराध नियन्त्रणमा सक्रिय रहेको प्रहरीले जनताको गुनासो समाधान गर्न बिशेष योजना र रणनीतिहरु बनाएको भेरी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी धिरु बस्न्यातले बताउनु भयो ।
अञ्चल प्रहरी कार्यालय भेरीले बाँके, बर्दिया र सुर्खेतका बिभिन्न स्थानमा गरेको सार्वजनिक सुनुवाईहरुमा जनताले गरेका गुनासोहरु र दिएका सुझावहरुमा टेकेर बिशेष योजना र रणनीतिहरु तयार पारिएको एसएसपी बस्न्यातले बताउनु भयो ।
नागरिकहरुले गरेको गुनासो तथा प्रहरीबाट गरेको अपेक्षाका विषयमा पत्रकारहरुलाई जानकारी गराउँदै अञ्चल प्रहरी प्रमुख बस्न्यातले जनताको गुनासो समाधान गर्न प्रहरीले नयाँ र समयसापेक्ष योजनाहरु बनाएको जनाउनु भयो ।
नागरिक संग प्रहरीले हातेमालो गर्दै सुरक्षाका नयाँ तरिकाहरु अवलम्बन गर्ने उपायका बारेमा प्रहरीले हाल सार्वजनिक सुुनुवाई गर्दै आएको छ ।
जघन्य अपराध, जबरजस्ती करणी जस्ता घटना र फरार अपराधीको अनुसन्धानमा प्रहरी असफल भएको जनगुनासोको विषयमा एसएसपी बस्न्यातले अब प्रहरीले गर्ने अनुसन्धानलाई सफल बनाउन दक्ष जनशक्ति उत्पादनको लागि तिव्र गतिमा काम गरिरहेको बताउनु भयो ।
पत्रकार भेटघाटमा बोल्दै बस्न्यातले ३ जिल्लामा विभिन्न गाउँविकास समिति र नगरपालिकामा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमबाट आएका सुझाव र गुनासो प्रति प्रहरी गम्भीर भएको जनाउनु भयो ।
सार्वजनिक सुनुवाईमा प्रहरी जनशक्ति तथा श्रोत साधन एवम् भवन निर्माण तथा जग्गा ब्यवस्थापन हुनुपर्ने, प्रहरी आचरण ब्यवहारमा सुधार, प्रहरी गस्ति प्रभावकारी नभएको गुनासो आएको जनाउँदै उहाँले सुधारका पक्षमा काम भैरहेको उहाँले बताउनु भयो ।
मुस्कान सहितको सेवा दिन थालेको प्रहरीलाई पनि एक्कासी परिवर्तन हुन समय लाग्ने जनाउँदै उहाँले प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति र सुरक्षा कायम गर्न सहज हुने बताउनु भयो ।
भेरी अञ्चल प्रहरी कार्यालयमा सरुवा भएर आएलगत्तै अञ्चल प्रहरी प्रमुख बस्न्यातले प्रहरी र जनताको सम्बन्ध सुधारदेखि लिएर प्रहरीको आचरणमा सुुधार ल्याउन बिशेष अभियान संचालन गर्नुु भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना