अनिश्चित बनेको सेयर बजार

sarojसरोज अधिकारी



सेयर बजार सधैंँ अनिश्चित हुने बजार नै हो ।  बुलिस टे«न्ड पछ्याउँदै उकालो लाग्दै गरेको बजार केही समय अझ उकालो लाग्छ वा ओरालो लाग्दै गरेको बजार अझ केही समय ओरालो लाग्छ भनेर अनुमान गर्न खासै गाह्रो पर्दैन तर हालको नेप्से भने क््रयास नै भएर अब ओरालो लाग्छ कि यो करेक्सन मात्र हो र अब बजार केही समयमा नै नयाँ उचाइमा पुग्छ भनेर अड्कल गर्न सक्ने अवस्था देखिँंदैन ।  नेप्सेमा ठूलै उतार चढाव देखिन थालेको छ ।  एकै दिनमा सर्किट ब्रेकर नै लाग्नेगरी बजार घट्ने र पुनः फर्केर चर्को रूपमा वृद्धि हुनुले सहीरूपमा दैनिक टे«डिङ गर्नेका लागि बजार निकै उपयोगी थलो भए पनि लगानीकर्ता भने अन्योलमै परेको देखिन्छ ।  
एकैदिन धेरै कमाउने वा गुमाउने क्रम जारी नै रहेको वर्तमान अवस्थामा लगानीकर्ताले आफ्नो खरिद बिक्रीलाई भाग्यवादी सोचको रूपमा पनि हेर्न थालेका छन् ।  “मैले सेयर बेच्यो कि मूल्य बढ्छ वा मैले सेयर किन्यो कि घट्छ” जस्ता कुरा बजारमा व्याप्त छ ।  सेयरका बारेमा सञ्चारमाध्यममा पाइने सामग्री पनि सेयर बजारको सही अवस्था दर्शाउनेभन्दा पनि अब बजार बढ्छ भन्ने वकालत वा घट्छ भन्ने कुराको डर पस्कन व्यस्त देखिएका छन् अहिले ।  सेयर बजार अब फर्कियो र बढ्छ वा बजार अब ओरालो लाग्छ भन्नेजस्ता हल्लाले बजारमा निकै प्रभाव पार्ने गरेको छ ।  अनि त्यसैगरी सेयरलाई प्रभाव पार्ने खालको हल्ला र त्यसको खण्डनले पनि निकै चर्चा पाउन थालेको छ ।  सेयर कर्जा मार्जिन लेन्डिङको दायरा फराकिलो बनाउने सन्दर्भमा हालै चलेको हल्ला त्यसको उदाहरण हो ।  
एक हजार ८८१ को बिन्दु छोएर एक हजार ४०३ सम्म ओरालो लागेको बजारमा हाल केही सुधार देखिएको भए पनि राजनीतिक तहमा सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावका बारेमा मुलुकभर भएको विरोधको असर बजारमा देखिन थालेकोले बजार पुनः ओरालो लाग्न थालेको देखिन्छ ।  सेयर बजार भनेकै लोभ र डरको बजार हो ।  देखिएको सम्भावनालाई पछ्याउनेहरू सेयर खरिद गर्न उपयुक्त अवसर भन्दै सेयर खरिदमा लाग्छन् भने बजार घट्ने कारणहरू पछ्याउँदै डराउनेहरू र नाफा बुकिङ गर्नेहरू सेयर बेच्न लाग्छन् ।  वर्तमान परिवेशमा नेप्सेमा सामान्य उचारचढाव स्वाभाविक भए पनि अबको बजार कता भन्ने विषयमा भने हाल दुईखाले सोच पाइएको छ ।  
आगामी दिनमा बजार बजार माथि लाग्छ भन्ने भविष्यवाणीलाई पछ्याउनेहरू नेपाली सेयर बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप ल्याउन नेप्सेमा छिट्टै नयाँ सफ्टवेयर आउने विश्वासमा छन् ।  कम्तीमा तीन वटा क्लियरिङ बैङ्क ल्याइने, मोफसलबाट पनि सेयरको कारोबार सुरु हुने र गैरआवासीय नेपाली लगायत संस्थागत विदेशी लगानीले पनि सेयर बजारमा प्रवेश पाउने वातावरण तयार गरिनेजस्ता सुधारका कार्यक्रम छिट्टै आउने हुँदा आगामी दिनमा सेयर कारोबार सहज हुनुका साथै लगानीकर्ताले सेयरको माग बढाउने सम्भावना भई बजारलाई नयाँ उचाइतर्फ लाने तर्क गर्न उनीहरू थालेका छन् ।  त्यसैगरी नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोष पनि नेपाली पुँजी बजारमा प्रवेश गर्ने तयारीमा रहेको, संस्थापक सेयर सर्वसाधारणमा परिणत हुने कुरा प्रत्येक दुई वर्षमा पाँच प्रतिशतका दरले मात्र ल्याउन पाउने विषयमा कुरोकानी अघि बढेकोले त्यसले बजारलाई नकारात्मक असर नपार्ने, दुई वर्षभन्दा बढी सेयर होल्ड गर्नेका लागि पुँजीगत लाभकर नलाग्ने व्यवस्था ल्याइनेजस्ता कारणले आगामी दिनमा बजार नयाँ उचाइमा पुग्ने विश्वास गर्दै सेयर बजार केही अङ्क तल झेरेको अवसरको फाइदा लिंँदै लगानी गर्नेहरूको सङ्ख्या बढ्दो छ ।  आर्थिक वर्ष ०७३–७४ को पहिलो त्रैमासिक प्रतिवेदनमा सेयर बजारमा वर्चस्व रहेको बैङ्क तथा वित्तीय समूहको प्रगति सन्तोषजनक आउनु र बीमा कम्पनीहरूको पुँजी वृद्धिको योजना छिट्टै आउने आशामा बजार एकपटक दुई हजारको बिन्दु पार गर्नेगरी उकालो लाग्छ भन्दै खरिद गर्नेहरू बजारमा प्रशस्त भेटिन्छन् ।  
बजार ओरालो लाग्छ भन्ने कुरामा विश्वास गर्नेहरू भने मुलुकमा देखिएको संविधान संशोधनलाई लिएर चर्केको आन्दोलनले मुलुकको आर्थिक क्रियाकलापलाई असर पार्ने र यसले अन्ततः सेयर बजारलाई पनि असर पार्न थालेकोले नाफा भएका कम्पनीहरूको नाफा बुक गर्ने धुनमा देखिएका छन् ।  नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूका लागि पुँजी वृद्धिका लागि तोकेको समय यसै आर्थिक वर्षभित्र समाप्त हुने भएकोले बोनस सेयर, हकप्रद र एफपीओको बाढी नै आउने र सेयरको आपूर्तिको तुलनामा बजारमा सेयर खरिदको माग नबढ्ने सम्भावना बढेकोले बजार घट्नसक्ने तर्कमा विश्वास गर्नेहरू पनि प्रशस्तै भेटिन्छन् ।  बजार सुधारको दिशामा भएका कार्यहरूमा सेयर खरिदको माग बढाउने विषय भनेको मोफसलबाट कारोबारको थालनी र गैरआवासीय नेपाली तथा संस्थागत विदेशी लगानी (फरेन इन्टिच्युसनल इन्भेष्टमेन्ट) आउने कार्यले गति नलिएकोले वर्तमान अवस्थामा सेयरको सप्लाइको तुलनामा माग नहुने निश्चित देख्नेहरू पनि सेयर बेच्नतर्फ लागेका छन् ।  भूकम्पपश्चात् मुलुकमा बढेको घरजग्गाको कारोबार र निक्षेपमा झिनो भए पनि बढेको ब्याजदर र सस्तिएको सुनको मूल्यले पनि सेयर लगानीकर्तालाई नाफा बुकिङ गर्दै त्यसतर्फ तानेको हुनसक्छ, जुन बजार घट्नुको कारकतìव बनेको देखिन्छ ।  
अन्त्यमा
सेयर बजारमा लाभको सम्भावना देख्नेहरूले नै खरिद गर्ने हो अनि नाफा बुक गर्ने वा डरले घाटामै भए पनि बजारबाट निस्कनेले बेच्ने हो ।  राजनीतिक अस्थिरताका माझ वर्तमान सेयर बजारमा देखिएको ठूलो उतारचढावबीच पनि सेयर बजारमा राम्रा कम्पनीको छनोट नै लगानीको उपयुक्त विकल्प हुनसक्छ ।  एकै दिनमा थुप्रै कमाउने वा गुमाउने अवस्थामा पुगेको जस्ता भाग्यवादी कुरालाई काट्न सक्ने र बजारबाट नाफा कमाउन सकिने मुख्य आधार दीर्घकालीन रूपमा गरिने लगानी हो ।  दीर्घकालीन रूपमा लगानी गर्न चाहनेहरूका लागि हाल बजारमा निकै उपयुक्त अवसरहरू छन् ।  यसका लागि आफूले छनोट गर्ने कम्पनीले कमाएको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, निक्षेप तथा लगानी कारोबारको वार्षिक वृद्धि, खराब कर्जाको अवस्थाजस्ता विविध आर्थिक स्वास्थ्य, भविष्यमा दिनसक्ने प्रतिफल र सञ्चालकहरूको ट्याक रेकर्ड आदिको राम्रो अध्ययनपछि मात्र लगानी गर्नु उपयुक्त हुन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना