वार्ताद्वारा द्वन्द्वको समाधान विश्वकै लागि उदाहरण : डा. महत

Prakash-saran-mahatकाठमाडौँ, मङ्सिर २४ गते ।  परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालले वार्ताबाटै द्वन्द्वको समाधानमा हासिल गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएको बताउनुभएको छ ।  
इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संसारका अरू देशमा पनि द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्नसक्छ । ” शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको सङ्घर्षको उदाहरण दिँदै परराष्ट्रमन्त्री डा. महतले यस सङ्घर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशील बन्न सिकाएको धारणा राख्नुभयो ।  
परराष्ट्र मन्त्रालयबाट प्राप्त महतको सम्बोधन मन्तव्यमा उहाँले “विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको सङ्घर्षको परिणामस्वरूप दशकौँपछि नेपाली जनताले संविधान सभामार्फत आफैँ संविधान लेख्ने अवसर पाएका र नेपाली जनताद्वारा जारी यस संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको” धारणा व्यक्त गर्नुभएको उल्लेख गरिएको छ ।  
मन्त्री डा. महतले भन्नुभयो, “हामी संसारमा नै उदाहरण दिन मिल्ने गरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसद्मा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ । ” उहाँले भन्नुभयो, “हाल नेपालमा राष्ट्रपति, संसद्मा सभामुख र प्रधानन्यायाधीशमा पनि महिला रहनुभएको छ । ”
नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहका निर्वाचन गर्न गइरहेको र यसमार्फत लामो समयपछि नेपाली जनताले लेखेको संविधान कार्यान्वयनमा थप सशक्तता आउने र दिगो विकास र देशले लिएको समावेशी र सहभागितामूलक शासन व्यवस्थालाई थप संस्थागत बनाउन सहयोग पुग्ने धारणा पनि राख्नुभयो ।  
नेपाल सधैँ शान्ति, प्रजातन्त्र र मानवअधिकारका पक्षमा रहेको भन्दै नेपाल हरेक नागरिकको मौलिक तथा नैसर्गिक अधिकारको सम्मानको पक्षमा रहेको उहाँले उल्लेख गर्नुभयो ।  शुक्रबारसम्म चल्ने यस सम्मेलनमा इन्डोनेसियाली राष्ट्रपति र संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानले पनि मन्तव्य
राख्नुभएको थियो ।
विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री तथा प्रतिनिधि सहभागी सम्मेलनको उद्घाटन इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले बिहीबार बिहान गर्नुभएको हो ।  यस सम्मेलनको यसपटकको नारा (थिम) धर्म, प्रजातन्त्र र बहुलवाद राखिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना