ज्ञानमा आधारित अर्थतन्त्रको युग

 roshan pokhrelरोशन पोखरेल  




युगअनुसार फरक–फरक तŒव फरक–फरक प्राथमिकतामा पर्ने गर्छन् ।  आज हामी बाँचिरहेको युग ज्ञानको युग हो ।  यस युगमा ज्ञान नै आर्थिक–सामाजिक विकासको मुख्य संवाहक पनि हो ।  ज्ञान, सूचना प्रविधिको यस युगमा परम्परागत धारणामा भनिएझैँ आर्थिक प्रणालीको गौण सहयोगी तŒव मात्र नभएर सशक्त मूल तŒवको रूपमा विकास भएको छ ।  परम्परागत अर्थतन्त्रमा प्राथमिक तŒव मानिएका श्रम र पुँजीलाई विस्थापित गर्दै ज्ञान नै पुँजी हो भन्ने नयाँ अवधारणा अगाडि आएको छ ।  अर्थतन्त्रको यो नवीन धारणामा श्रम र पुँजी प्रणालीका मूल तŒव नभएर सहयोगी तŒव मात्र रहनेछन् ।  परम्परागत अर्थतन्त्रले लिएको स्थानीय पुँजीको सम्भावनामा व्यापकता थप्दै विश्वपुँजीको सम्भावनातर्फ यस अर्थतन्त्रले इङ्गित गरेको पाइन्छ ।  सशक्त उत्पादनलाई पुँजीको कमी नहुने, लाभको आशामा पँुजीको स्रोत आफैँ उत्पादनसम्म पुग्ने विश्वब्यापी पुँजीको मान्यता यस धारणले राख्छ ।  
ज्ञानको उचित परिचालनबाट रोजगारीमा वृद्धि, गरिबी निवारण तथा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने अवधारणाले व्यापकता पाएको छ ।  ज्ञानको उपयोग गर्दै प्राकृतिक संशाधनको कम उपस्थिति रहेका दक्षिण कोरिया, जापान, मलेसिया, दूबई जस्ता कैयौँ मुलुकले आर्थिक–सामाजिक समृद्धि हासिल गरेका छन् ।  प्राकृतिक स्रोत साधनको भरमार उपस्थिति भएका मुलुकलाई पछाडि पार्दै लोभलाग्दो प्रगति हासिल गर्ने यस्ता मुलुक ज्ञानको उचित परिचालन तथा व्यवस्थापनबाट नै सम्पन्न मुलुकको सूचीमा दरिन पुगेका हुन् ।  ज्ञानको उपयोगलाई आर्थिक विकासको सञ्चालक मान्ने यो अवधारणा, वास्तवमा ज्ञानमा आधारित अर्थतन्त्र हो ।  विगतका परम्परागत अर्थतन्त्र आज ज्ञानमा आधारित अर्थतन्त्रमा रूपान्तरित भएका छन् ।  जसबाट यिनले हासिल गरेको समृद्धि लोभलाग्दो मात्र होइन दिगो र फराकिलो समेत बन्न पुगेको छ ।  हाल विश्व अर्थतन्त्रमा ठूला मानिएका प्राविधिक रूपले सम्पन्न अर्थतन्त्रहरू ज्ञानमा आधारित अर्थतन्त्र नै हुन् ।
 ज्ञानमा आधारित अर्थतन्त्र भौतिक र प्राकृतिक संशाधनभन्दा बढी बौद्धिक सक्षमतामा भर पर्छ ।  जहाँ प्राकृतिक–भौतिक स्रोत साधनलाई भन्दा बढी बौद्धिक सक्षमता, ज्ञान, सीप, आविस्कार जस्ता अमूर्त तŒवलाई आर्थिक प्रणालीका मूल सञ्चालकको रूपमा स्विकारिन्छ ।  नविन सोच, विचार, अत्याधुनिक प्रविधि, अन्वेषण र शिक्षाको जगमा यो अर्थतन्त्र अडेको हुन्छ ।  यस अर्थतन्त्रले तीव्र विकास, आविस्कार, परिवर्तन र बृहत् दायरा (क्षेत्रीय वा समग्र विश्व) को वकालत गर्छ जबकि परम्परागत धारणा आफैँमा सुस्त, स्थानीय दायरामा मात्र सिमित र अपरिवर्तनीय औद्योगीकरणको पक्षपाती हुन्छ ।  परम्परागत अवधारणाले भौंतिक संशाधनको उच्चतम परिचालनमा जोड दिन्छ भने ज्ञानमा आधारित अर्थतन्त्रले ज्ञान, सीप, विचार तथा आविस्कारजस्ता अमूर्त तŒवको अधिकतम उत्पादन, वितरण तथा व्यावसायीकरणबाट सजिलै आर्थिक–सामाजिक रूपान्तरण प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्छ ।  यस अवधारणाले प्राकृतिक संशाधनबाट हुने कमीको परिपूर्ति मानव स्रोत तथा अन्य अमूर्त तŒवका गुणस्तर सुधारबाट गर्न सकिन्छ भन्ने तथ्यलाई जोड दिएको देखिन्छ ।  
    मूलतः ज्ञानमा आधारित अर्थतन्त्र दुई मुख्य शक्तिका कारणले उत्पत्ति भएको मानिएको छ ।  पहिलो आर्थिक क्रियाकलापमा देखिएको ज्ञानको तीव्रता र दोस्रो आर्थिक मुद्दाका विश्वब्यापीकरण ।  यिनै शक्तिले कम विकसित मुलुकको अर्थतन्त्र तथा प्रतिस्पर्धात्मक क्षमतामाथि पनि तीव्र दबाब सिर्जना गरिरहेका छन् ।  विश्वब्यापी रूपमा आत्मसात् गरिएका निजीकरण, उदारवाद, खुला बजार र व्यापारमा सीमाभङ्गताले ज्ञानमा आधारित अर्थतन्त्रलाई फस्टाउने वातावरण तयार गरिरहेको छ ।
    फस्टाउँदो विश्वब्यापीकरण तथा सूचना प्रविधिको प्रयोगसँगै भविष्यमा विश्व खुम्चिएर एउटा गाउँमा सिमित हुने निश्चित छ ।  बदलिँदो वातावरणमा कुनै पनि राष्ट्रको अर्थतन्त्र अलग–थलग रहन सक्दैन ।  जति नै सानो राष्ट्र र अर्थतन्त्र भए पनि विश्वअर्थतन्त्रसँगै चाल मिलाएर हिँड्नुको विकल्प अब देखिँदैन ।  यस अवस्थामा अल्पविकसित तथा विकासोन्मुख राष्ट्रले पनि ज्ञानमा आधारित अर्थतन्त्रलाई आत्मसात् गर्नु उपयुक्त देखिन्छ ।  विकसित र अल्पविकसित राष्ट्र बीच देखिएको ज्ञानको खाडल पुर्न पनि ज्ञानमा आधारित अर्थतन्त्रको उपयोग आवश्यक देखिएको छ तर हालको परम्परागत अर्थतन्त्रबाट एकैपटक छलाङ लगाएर ज्ञानमा आधारित अर्थतन्त्रमा रूपान्तरित हुन त्यति सहज भने छैन ।  उपयुक्त नीति, कार्ययोजना तथा पूर्वाधार विना ज्ञानमा आधारित अर्थतन्त्रको सपना दिवास्वप्न मात्र हुन जान्छ ।  यसका लागि सरकार, निजी क्षेत्र, शैक्षिक क्षेत्र तथा अनुसन्धान केन्द्रजस्ता भिन्न–भिन्न क्षेत्रलाई परिचालन गरिनु आवश्यक छ ।  
ज्ञानमा आधारित अर्थतन्त्रको पूर्ण विकासको लागि चार प्राथमिक कार्य आवश्यक रहन्छन् ।  ती हुन्, शिक्षामा दीर्घकालीन लगानी, अन्वेषण क्षमताको विकास, सूचना पूर्वाधारको आधुनिकीकरण र आर्थिक विकासमैत्री वातावरणको स्थापना ।  विश्व बैङ्क इन्टिच्युटले अघि सारेको अवधारणा हेर्ने हो भने पनि ज्ञानमा आधारित अर्थतन्त्रका चार खम्बा देखिन्छन् ।  पहिलो अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीतियुक्त शासन, दोस्रो शिक्षित दक्ष जनशक्ति, तेस्रो प्रभावकारी आविस्कार प्रणाली र चौथो आधुनिक सूचना पूर्वाधार ।  यिनै चार खम्बामा ज्ञानमा आधारित अर्थतन्त्र टिकेको हुन्छ ।  यिनै क्षेत्रलाई बलियो तुल्याउँदै लैजाने हो भने आर्थिक उत्पादनका लागि आवश्यक ज्ञानको गुणस्तर तथा मात्रामा उल्लेख्य रूपमा वृद्धि हुन गई राष्ट्रिय उत्पादनमा बढोत्तरी हुन पुग्छ, फलस्वरूप अभूतपूर्व आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।  
यीमध्ये पनि ज्ञानमा आधारित अर्थतन्त्रको प्राथमिक सर्त मानवपुँजीको विकास हो ।  शिक्षित, दक्ष, नवीन सोचधारी, अन्वेषक जनशक्तिको अभावमा यो अर्थतन्त्र सफल हुन सक्दैन ।  आवश्यक जनशक्ति विकासका लागि शिक्षा स्वास्थ्यजस्ता प्रत्यक्ष मानवस्रोतमा प्रभाव पार्ने क्षेत्रमाथिको लगानी वृद्धि गर्ने नीति अख्तियार गर्नु आवश्यक हुन्छ ।  मानवपुँजीको विकाससँगै ज्ञान, सीप र सिर्जनशीलतालाई प्रोत्साहित गर्नु पनि उत्तिकै जरुरी छ ।  जसबाट ज्ञानको उत्पादन, वितरण तथा व्यापारीकरणबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।  
हुन त आर्थिक विकासका लागि ज्ञानको अपरिहार्यता विगतमा पनि स्वीकार गरिएकै थियो तर सन् १९९९ मा विश्व बैङ्क इन्स्टिच्युटले विकासका लागि ज्ञान भन्ने परियोजना सञ्चालन गरेसँगै ज्ञानमा आधारित अर्थतन्त्रको बारेमा चासो सुरु भए हो ।  हालको प्रतिस्पर्धी समयमा तीव्र आर्थिक विकासका लागि ज्ञानको उपयोग नै सर्वोपरि साबित हँुदै आएको छ ।  भौतिक तथा प्राकृतिक संशाधनमा आधारित आर्थिक विकासको दाँजोमा ज्ञानको उपयोगबाट प्राप्त गरिने विकास दिगो हुनुको साथै, फराकिलो र तीव्र भएको पाइन्छ ।  त्यसैले पनि विकासोन्मुख राष्ट्र परम्परागत अर्थतन्त्रबाट ज्ञानमा आधारित अर्थतन्त्रमा रूपान्तरित हुन लालायित देखिएका हुन् ।  हाम्रै छिमेकी मुलुक चीन र भारत पनि शिक्षा र प्रविधिमा फड्को मार्दै विश्वअर्थतन्त्रको ठूलो हिस्सा ओगट्न सफल देखिन्छन् ।  ज्ञानमा आधारित अर्थतन्त्रको सबल पक्ष आविस्कार हो ।  मानवसमाजलाई आवश्यक पर्ने ज्ञान, सीप र सूचनाको आविस्कार गरी त्यसको मौद्रिकरण गर्ने सफल मुलुक नै आजको विश्व अर्थ–राजनीतिका नायक हुन् ।  यसै तथ्यबाट पनि ज्ञानमा आधारित अर्थतन्त्रको सामथ्र्यको अनुमान गर्न सकिन्छ ।  बजारले तिनैलाई पुरस्कृत गरेको छ जसले विचार र आविस्कारलाई व्यावसायीकरण गर्न सकेका छन् ।  गरिब तथा अल्पविकसित मुलुकका अर्थतन्त्रले समग्र विश्वअर्थतन्त्रबाट समय समयमा खाने धक्काको सामना गर्न पनि परम्परागत अर्थतन्त्रबाट ज्ञानमा आधारित अर्थतन्त्रमा रूपान्तरित हुनुको विकल्प छैन ।  यसका लागि समय छँदै शिक्षा प्रणालीमा व्यापक सुधार गरी रचनात्मक सोच, आविस्कार तथा व्यावसायीकरणमा वृद्धि गर्नु आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना