संयुक्त युवा, विद्यार्थीले थप आन्दोलन गर्ने

काठमाडौँ,  मङ्सिर २४ गते  । विपक्षी दल निकटका संयुक्त युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावको विरोधमा थप आन्दोलन घोषणा गरेका छन् । व्यवस्थापिका–संसद्का संशोधन प्रस्ताव दर्ता लगत्तै आन्दोलित भएका उनीहरुले आज युवा सङ्घ नेपालको कार्यालयमा पत्रकारसम्मेलन गरी थप आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले प्रस्तावको विरोधमा शुक्रबारदेखि सोमबारसम्म विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

अनेरास्ववियुका अध्यक्ष नबिना लामाका अनुसार शुक्रबार नयाँ बानेश्वरमा खेलाडीको प्रदर्शन, शनिबार वैदेशिक हस्तक्षेप रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, आइतबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म दौड जुलुस र सोमबार संशोधनका विपक्षमा सडक बहस गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

उहाँले संशोधनले देश विघटन गराउने भएकाले नेपाललाई एउटै स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आन्दोलन गर्नु परेको बताउनुभयो । युवा सङ्घका अध्यक्ष राजीव पहारीले संशोधन विधेयकले नेपालको राष्ट्रिय अखण्डतामाथि आँच आउने भएकोले राष्ट्र बचाउनका लागि आन्दोलन गर्नु परेको बताउनुभयो । उहाँले विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राखिने जानकारी गराउनुभयो ।

पत्रकारसम्मेलनमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजुले संशोधनले मुलुकको स्थापित सामाजिक सद्भावलाई बिथोल्ने भएकाले प्रस्ताव फिर्ता लिनुपर्ने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना