भाषाको विवाद ः बौद्धिक विलास

 shyam rimal_1श्याम रिमाल



एकपल्ट ‘अन्धी’ शब्द प्रयोग गर्दा गाली खाएको थिएँ मैले ।  दृष्टिविहीन भन्नुपर्दाेरहेछ ।  स्व. सूर्यबहादुर थापाले एउटा राजनीतिक विषयका सन्दर्भमा आएका कुरालाई ‘लङ्गडो’ तर्क भन्नुहुँदा उहाँ विवादमा पर्नुभयो ।  अपाङ्ग शब्द त भन्नै हुन्न, अपाङ्गता भएका मानिस भन्नुपर्छ जबकि सुन्दरता सुन्दर शब्दबाट आएझैँ अपाङ्गता पनि अपाङ्गबाट नै आएको हो ।  राष्ट्रिय अपाङ्ग महासङ्घ भन्ने त संस्थाको नाम नै छ ।  
विद्यावारिधि पाएका र पछि प्रधानमन्त्री भएका एक नेताले अर्काे पार्टीका वरिष्ठ नेतालाई ‘कुकुरलाई घिउ नपचेको’ भने, त्यो पनि विदेशी राजदूतावासमा ।  राजनीतिकर्मीले बोलेको भाषा सर्वसाधारण जनताले सिक्ने कि नसिक्ने, प्रश्न गर्न मन लाग्छ ।  तिनले सार्वजनिक मञ्चमा मौखिक रूपमा बोलेका वाक्य नै अझ कति पो मिल्छन् र ? हालै एक कार्यक्रममा शताब्दी पुरुषले ‘आइमाई’ हरू निकै अघि बढेको कुरा बताउनुभयो, सभामा खासखुस त चल्यो तर विरोध गर्ने हिम्मत कसैमा आएन, किनकि उहाँ हुनुहुन्थ्यो एक सय वर्षतिर लम्कँदै गर्नुभएका ।  कस्ता कस्ता मै हुँ भन्ने लेखक वा साहित्यकारका पाण्डुलिपिका भाषा र वर्णविन्यास हेर्दा सम्पादकका दिमाग दिगमिग हुन्छ ।  
हालैको वर्ष नेपाली भाषा, व्याकरण, वर्णविन्यासमा भएको सडकदेखि अदालतसम्मको बहस कुनै राजनीतिक घटनाभन्दा कम भएन ।  यस वर्ष सरकार फेरियो, प्रधानमन्त्री र अन्य नेताले भारत भ्रमण गरे र केही विवाद भए ।  त्यसपछि त नेपाली भाषाले नै चर्चा पायो सञ्चार माध्यम र सडकमा समेत ।  विशेषगरी युद्ध, विद्या, पद्धति, भानुभक्तजस्ता व्यञ्जन शब्द युद्ध, विद्या, पद्धति, भानुभक्त जसरी टुक्राएर वा खुट्टो काटेर लेख्नुपर्छ भनी गरिएको निर्णय र व्यवहारविरुद्ध आन्दोलन नै छेडियो ।  अब धेरै विषय नेपाल प्रज्ञाप्रतिष्ठानले स्वीकारी नेपाली बृहत् शब्दकोशको नवौँ संस्करण सच्याउने भनी गरेको निर्णयले आन्दोलनकारी शान्त भएका छन् ।  यसैबीच हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिने भन्ने विवादास्पद विषयले पनि भाषाप्रेमीहरूको ध्यान खिच्यो ।  भाषा विषयका यस्ता विवाद धेरै पहिलेदेखि हुँदै आए पनि यसरी मुलुक नै तताउनेगरी यसअघि आएको थिएन होला ।  भाषामाथिको विवादको मूल जरोबारे धेरैले नबुझे पनि चासो भने रह्यो ।
अब पछिल्लो वर्णविन्यासमध्ये धेरैलाई स्वीकारेर अगाडि बढेका व्यक्ति, पुस्तक प्रकाशनगृह वा सञ्चार माध्यमले कसरी आफूलाई परिवर्तित गर्ने भन्ने बहस ज्यूँ का त्यूँ नै छ ।  तद्भव वा आगन्तुक शब्दमध्ये धेरैमा पातलो स, कानुन, जमिन, खेलकुद जस्ता उर्दू, फारसी, अरबी, हिन्दी शब्द र ह्रस्व लेख्ने गरिसकेकालाई त गाह्रो हुने भयो ।  पचासको दशक पूर्वमा जाने कि नेपाल प्रज्ञाप्रतिष्ठानलाई मान्ने ? गोपाल पाँडे असिमको
 ‘सर्वनाम, विशेषण, जाति, पेशा, थर
सधैँभर दीर्घ हुन्छन्, दीर्घै लेख्ने गर’
 भनी कण्ठस्थ पारेकाले साय्मी थर वा जातलाई पनि साय्मि लेख्नुपर्ने भयो ।  कसैले ज्यापू लेख्छन् भने त्यही गर्नुप¥यो ।  ठिमी र थिमि एकै अर्थ लाग्ने शब्द पनि एक ह्रस्व र अर्काे दीर्घ लेख्नुपर्ने स्थिति पनि हामीकहाँ छ ।  पहिले चलेका आगन्तुक कम्युनिष्ट, अष्ट्रेलिया, फेडरेशन आदि शब्दमा पनि अलमल हुनेछ ।  विदेशी भाषाका शब्दको व्युत्पतिबारे अध्ययन गर्न गाह्रो हुनेभएकाले तिनको उच्चारण र लेखाइको शुद्ध रूप कसरी थाहा पाउने ? चिनियाँ, फ्रान्सेली शब्दको लेख्य र कथ्य फरक भएको अवगत नै छ ।  
नयाँ नियम पालना गरिसकेकाले पुरानैमा स्वाट्ट पस्न गाह्रै छ ।  भाषा परिवर्तनशील हुन्छ भन्ने एकाथरि र भाषा कसैले उर्दी लगाएर लेखाउन मिल्दैन भन्ने अर्काथरिको यो विवाद सर्लक्क कहाँ सकिएको छ र ? प्रज्ञाप्रतिष्ठानले ल्याउने नेपाली बृहत् शब्दकोश (२०४०) को दसौँ संस्करण कुर्नैपर्ने हुन्छ ।
एकथरिको प्राथमिकता भाव अभिव्यक्ति हुन्छ, तिनले वर्णविन्यासमा खासै चासो राख्दैनन्, प्रेस वा सम्पादकले मिलाइदेला भन्ने हुन्छ, एकथरि दीर्घ शब्द नै दिर्घ लेख्छन्, त्यस्तालाई यस्ता बहसमा चासो पनि छैन ।  अर्काथरि फुकीफुकी पाइला चाल्छन्, कतै केही बिग्रेला कि भनेर ।  सबैभन्दा बढी पीर राष्ट्रिय र लोकप्रिय पत्रिकालाई परेको छ कुन वर्णविन्यासलाई आधार बनााउने ?
अपाङ्गहरू स्वयं अपाङ्ग महासङ्घ, अपाङ्गमैत्री शब्द प्रयोग गर्छन् भने भाषा र शब्दमा खेल्नेहरूप्रति तिनको आक्रोश किन ? “तिम्रो छोरीलाई खोप लगाइ सक्यो ? लगाइसक्यो, तिम्रो नि ? लगाइसक्यो”– रेडियो नेपालबाट बज्ने यो विज्ञापनमा कत्तिको ध्यान गएको छ भाषाविद् र रेडियोका उच्चपदस्थ अधिकारीको ?
साँच्चै भन्नुहुन्छ भने सर्वसाधारण पाठक वा स्रोताको पत्रपत्रिका र विद्युतीय माध्यममा प्रकाशन र प्रसारण हुने भाषा वा व्याकरण वा वर्णविन्यासमा भन्दा तिनले बोकेको अर्थमा मात्र ध्यान जान्छ ।  भाषाका कुरा त भाषाविद् र भाषाका विद्यार्थीलाई बौद्धिक विलासको कुरा मात्र जस्तो लाग्छ ।  भाषा, व्याकरण र वर्णविन्यासमाथिको यो बौद्धिक विलास अनन्तसम्म गर्न सकिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना