राष्ट्रिय नीतिमा नपरेको जडीबुटी

khem raj niraula_1खेमराज निरौला


 

नेपालका नीति निर्माताहरूको दिमागमा दिगो विकास, आर्थिक उन्नति र सबैका लागि स्वास्थ्य भन्ने राष्ट्रिय नीतिमा हाम्रा बहुमूल्य जडीबुटीको समुचित सदुपयोग भन्ने धारणा बन्न सकेको छैन ।  कुनै पनि मुलुकको वास्तविक विकास त्यहाँ उपलब्ध स्थानीय स्रोत र साधनको समुचित उपयोगमा भरपर्छ ।  हाम्रो मुलुक जैविक विविधतामा सम्पन्न छ तर पनि उक्त विविधतालाई उचित संरक्षण र सम्बद्र्धनको अभावमा हाम्रा कयौँ बहुमूल्य जडीबुटी लोप भएर जाने अवस्थामा छन् ।  
नेपालको कुल भूभागको करिब ३९ प्रतिशत जंगलले ओगटेको छ ।  करिब १५ प्रतिशत भूभाग स–साना बुटा तथा झाडीले ओगटेको छ ।  विभिन्न हावापानी र भौगोलिक अवस्थिति अनुसार विभिन्न प्रजातिका वनस्पतिहरू छन् ।  यहाँ हिमालयदेखि तराईको समथर भूभागसम्म करिब १ हजार ६ सय प्रजातिका औषधिजन्य वनस्पतिहरू पाइन्छन् ।  अधिकांश नेपाली किसान यिनै औषधिजन्य वनस्पतिको भरमा जीविकोपार्जन गर्दै आएका छन् ।  धेरै यस्ता वनस्पतिहरू आयुर्वेदिक दृष्टिकोणले महìवपूर्ण छन् ।  कतिपय रङ्ग, बास्ना र स्वादका आधारमा विभिन्न उद्योग व्यवसायमा प्रयोग गर्न सकिने खालका छन् ।  यस्ता बहुउपयोगी जडीबुटीको बेवास्ता गर्नु नेपालजस्तो गरिब मुलुकका लागि झन् ठूलो नोक्सानी हो ।  
वनस्पतिमा रहेको औषधीय गुण पहिचान गरी प्रयोगमा ल्याउन सकेको खण्डमा धेरै रोगहरूबाट मुक्ति पाउन सकिन्छ ।  मानिसले केही महìव नै नदेखेका काउछो र भलायोजस्ता वनस्पतिले पनि औषधिको काम गर्छन् ।  यस्तो जडीबुटीको प्रयोगलाई केवल आयुर्वेद चिकित्साले मात्र पहिल्याउन सकेको छ ।  तुलसी, नीम, हलेदो, अमला, हर्रो बर्रो, चन्दन, वज्रदन्ती, वर, पिपल, यार्सागुम्बा, पाँचऔँले, जटामसी घोडटाप्रे, लगायत कयौं नाम नसुनेका जडीबुटी मात्र हैन पतझर र डढेलो लागेर मासिने वनस्पतिमा पनि औषधिको गुण लुकेको हुन्छ ।  इसापूर्व तेस्रो शताब्दीको कौटिल्यको अर्थशास्त्रमा पनि नेपालबाट भारततिर जाने जडीबुटीको उल्लेख भएको पाइन्छ ।  त्यस्तै लिच्छवीकाल र मल्लकालमा पनि यो प्रणाली व्यापक रूपमा रहेको पाइन्छ ।  
नेपालमा जुनसुकै प्रकारका रोगका लागि पनि औषधि हुने जडीबुटी छन् ।  कतिपय जटिल रोगहरूको उपचार परम्परागत आयुर्वेदिक ज्ञानबाट सम्भव नहोला तर आयुर्वेदिक ज्ञान भएका हामै्र गाउँघरका धामी धनवन्तरीहरूले पनि जडीबुटीको माध्यमबाट सामान्य रोगको उपचार गर्न सक्छन् ।  जसले गर्दा पैसा र समयको पनि राम्रो सदुपयोग हुनजान्छ ।  सरकारले जडीबुटी सम्बन्धी कार्यलाई राष्ट्रिय प्राथमिकताको सूचीमा पारेर आयुर्वेद चिकित्सालयको अभियान चलाउने हो र हाल भइरहेका आयुर्वेद क्याम्पसको संख्यामा वृद्धि गरी यसको क्षेत्रलाई विस्तार गर्ने हो भने यसले राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलै योगदान पु¥याउन सक्नेछ ।  
अहिले नेपालले विभिन्न प्रयोजनका औषधि र अस्पतालका लागि महँगा उपकरणहरूको आयात र त्यससम्बन्धी जनशक्तिको निर्माणमा अर्बौँ रुपियाँ खर्च गर्नु परिरहेको छ ।  यसले गर्दा वर्षैपिच्छे विदेशी ऋणको भार बढ्दै गएको छ ।  जटिल प्रकारका रोगहरूको उपचार स्वदेशी औषधि र प्रविधिले नभए निश्चय पनि त्यहाँ विदेशी अध्ययन अनुसन्धान औषधि र प्रविधिका लागि सरकारले खर्च गर्नुपर्दछ ।  तर स्वदेशमा उत्पादन गर्न सकिने सरल र सुलभ प्राकृतिक भण्डार हुँदाहुँदै त्यसलाई पूरै बेवास्ता गरेर महँगो उपचार प्रविधि मात्रै अपनाउनु राष्ट्रिय हित विपरीत छ ।  
नेपालले सीमित मात्रामा औषधिजन्य कच्चापदार्थ विदेशमा पनि निर्यात गर्ने गरेको छ ।  तर अवैधानिक र जथाभावी निर्यातले त्यस्ता बहुमूल्य जडीबुटीहरू लोप हुने अवस्थामा पुगेका छन् ।  उपयुक्त ज्ञान सीप र नीतिको अभावमा करिब १४ प्रजातिका वनस्पति लोपोन्मुख छन् ।  पाँचऔँले, पदमाचल, जटामसी, यार्सागुम्बा जस्ता बहुमूल्य जडीबुटीको चोरी निकासी र अव्यवस्थित दोहनले लोप हुने अवस्थामा छन् ।  यस्ता वनस्पतिको अधिक प्रयोग र अवैध व्यापारमा कडा रोक लगाई तिनीहरूको संरक्षणमा सरकारले चासो देखाउन जरुरी छ ।  उपयुक्त निति नियम बनाएर होस् वा संरक्षित क्षेत्र घोषणा गरेर होस् जडीबुटीको तस्करीलाई नियन्त्रण गरिनुपर्दछ ।  वनविनाश नियन्त्रण र दुर्लभ मानिने वनस्पतिको संरक्षणको नीतिले पनि यस्ता वनस्पतिको संरक्षणमा वृद्धि हुन्छ ।  जडीबुटीको सही पहिचान हुन नसक्नु यस क्षेत्रलाई चाहिने शिक्षित जनशक्तिको अभावले जडीबुटीको उपयोग र ‘पेटेण्ट राइट’ सुरक्षित गर्ने कार्यमा बाधा उत्पन्न भएको छ ।  जडीबुटीको व्यावसायिक खेती, जनचेतना, उचित शिक्षा र तालिमको प्रबन्धले जडीबुटी संरक्षणमा सहयोग पुग्दछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना