क्युबाबाट सिक्नुपर्ने साक्षरता अभियान

yp acharyaवाई.पी. आचार्य

 

फिडेल क्यास्त्रो भौतिक रूपमा अस्ताउनुभयो ।  उहाँका योगदान र विचार जीवन्त रहनेछन् ।  उहाँको भौतिक बिदाइसँगै उहाँप्रतिका सम्मानभाव र आलोचना विश्वभरि नै तरङ्गित भए ।  उहाँलाई सम्मान गर्ने धेरै आधार छन् ।  खासगरी उहाँको चट्टानी देशभक्ति प्रशंसनीय छ ।  शिक्षा र स्वास्थ्यको नीति अनुकरणीय छ ।  पुँजिपतिको छोरो भएर पनि श्रमजीवी आचरण प्रस्तुत गर्दै आत्मकेन्द्रीयताबाट अलग रहने चरित्र मननयोग्य छ ।
    सन् १९५८ मा क्युबामा समाजवादी क्रान्ति भयो ।  ३३ वर्षीय क्यास्त्रोले नयाँ व्यवस्थाको नेतृत्व गर्नुभयो ।  उहाँ सत्तामा आउनुभन्दा पहिले राज्यका हरेक तप्कामा बतिस्टा सामन्तहरूको दबदबा थियो ।  गाउँ र सहरका बीचमा ठूलो खाडल थियो ।  निरक्षरताको अन्धकारले देशै ढाकेको थियो ।  धनी र गरिबका बीचमा आकाश र पातालको अन्तर थियो ।  कामदार र सामन्तको बीचमा अछूतीय भेद थियो ।  स्वास्थ्य सुविधाप्रति आम जनताको खेद थियो ।  यस्तो दर्दनाक स्थितिमा क्रान्तिले क्यास्त्रोलाई जन्मायो ।  क्रान्तिको आगोबाट जन्मिनुभएका क्यास्त्रोले देशलाई हरेक प्रकारका खाडलबाट मुक्ति दिलाउन, आत्मनिर्भर बन्दै विकासको गतिमा अगाडि बढ्ने बाटोको पहिलो तगारो निरक्षरतालाई मान्नुभयो ।  सत्तामा पुगेपछि उहाँको पहिलो प्रतिबद्धता देशबाट निरक्षरता उन्मूलन गर्ने थियो ।  क्युबामा सम्पूर्ण शिक्षा प्रणालीलाई बलियो बनाउनका लागि साक्षरता अभियानलाई महŒवपूर्ण हतियार बनाइयो ।  समाजवादी व्यवस्थापछि त्यहाँको राजनीतिक नेतृत्व निरक्षरताका विरुद्ध खनियो ।  निरक्षरतालाई समग्र देश विकासको बाधक र साम्यवादी संस्कृतिको खिया मानियो ।  साक्षरतालाई समग्र देश, समाजवाद, र क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाकवच मानियो ।  
    क्युबाको साक्षरता अभियान विश्वमै नमुनाको रूपमा रहेको विद्धान्हरूको मत छ ।  एक हिसाबले हेर्दा क्युबाबाट निरक्षरता उन्मूलन गर्न सम्पूर्ण देश नै परिचालित भयो ।  एक रिपोर्टअनुसार तीन लाखभन्दा बढी क्युबाली साक्षरता अभियानमा प्रत्यक्ष खटिएका थिए ।  त्यहाँ मुख्यगरी चार वटा समूह सो अभियानमा परिचालित भए ।  १) दल (ब्रिगेड) ः यस समूहमा दश वर्षदेखि १९ वर्षसम्मका विद्यार्थीहरू थिए ।  करिब एक लाख स्वयंसेवी विद्यार्थी एकैसाथ गाउँमा गए ।  ती विद्यार्थीले सैनिक पोसाक लगाए र देशलाई निरक्षरताबाट स्वतन्त्रता दिलाउने भनी सपथ खाए ।  उनीहरूले जनतालाई अक्षर चिनाए, व्यवहार सिके ।  राजनीति सिकाए, कर्म, श्रम सिके ।  सशक्तीकरण गरे, अनुशासन सिके ।  यसले विद्यार्थी र समुदायबीचको सम्बन्ध सुमधुर बनायो ।  सहर र गाउँको बीचको खाडल पुर्न सहयोग ग¥यो ।  विद्यार्थीलाई भोगाइबाट सिकाइ भयो ।  सिद्धान्तको व्यवहारमा प्रयोग भयो ।  २) पपुलर अल्फावेटाइजर ः कम्पनीका कामदार यस समूहअन्तर्गत परिचालित भए ।  पढेलेखेका कामदारले निरक्षरलाई सिकाए ।  आफ्ना साथी र छिमेकीलाई सिकाए ।  मालिकले कामदारलाई अनिवार्य साक्षरता शिक्षा दिनुपर्ने व्यवस्था थियो ।  कसैले कम्पनीमै सिके, सिकाए ।  कसैले गाउँमा गएर सिकाए ।  यसले श्रमिक र मालिकबीचको दूरी कम गर्न सहयोग पु¥यायो ।  तल्ला तहका कामदारलाई सशक्तीकरणमा सघायो ।  ३) फादरल्यान्ड ब्रिगेड्स ः यिनीहरू प्रौढ कामदार थिए ।  यिनीहरूलाई पैसा दिएर गाउँमा खटाइयो ।  सहरका पढालेखा कामदार गाउँमा गए ।  किसानलाई अक्षर चिनाए ।  क्रान्तिको मर्म बुझाए ।  व्यवस्थाप्रतिको आस्था जगाए ।  आत्मनिर्भर बन्ने कला सिकाए ।  ४) स्कुल शिक्षक ब्रिगेडस ः यस समूहअन्तर्गत विद्यालयका व्यावसायिक शिक्षकहरू अभियानमा खटे ।  उनीहरू गाउँ, घर, टोल, कार्यस्थलमा पुगे, समाजवादी सिद्धान्त पढाए, श्रमको तागत बुझाए, स्वतन्त्रताको प्रत्याभूति गराए ।  उनीहरूले विभेदको खाडल पुर्ने प्रयास गरे ।  श्रमिक र किसानको आत्मबल बढाए ।  समाजवादी आचरण सिकाए ।  बसीखाने र गरिखाने बीचको दूरी घटाए ।  
    क्युबाको यो बहुप्रतिष्ठित साक्षरता अभियानमा प्रत्येक स्यंसेवकलाई दुई वटा किताब, एक जोडी जुत्ता, दुई जोर मोजा, एउटा झोला, दुई जोर प्यान्ट, दुई वटा सर्ट, एउटा काँधमा टालिएको कपडा (जसले उनीहरू साक्षरता कार्यकर्ता भएको जनाउँथ्यो) र सुत्नका लागि एउटा कम्बल उपलब्ध गराइएको थियो ।  साथै एउटा आधुनिक ग्यास टुकी (बत्ती) पनि उपलब्ध गराइएको थियो ।  यसले रातमा कक्षा सञ्चालन गर्न सहयोग पु¥यायो ।  साथै यो टुकी साक्षरताको उज्यालो फैलाउने प्रतीकको रूपमा पनि प्रयोग भयो ।  क्युबाली साक्षरता अभियानमा सहजकर्ताले परम्परागत पढ्ने पढाउने पद्धतिमात्र अपनाएनन् ।  पाउलो फ्रेरेले विकास गरेको रिफ्लेक्ट विधि अपनाए ।  समुदायलाई सशक्तीकरण गरेर सिक्ने कुरामा जोड दिए ।  प्रौढ र किसानका अनुभवलाई केन्द्रमा राखेर सिक्न प्रोत्साहित गरे ।  यो अभियान यति प्रभावकारी भयो कि जहाँ दुई वर्षभित्रमा साक्षरता दर दोब्बर हुन पुग्यो र सन् १९६१ मै क्युबाको साक्षरता दर ९६ प्रतिशत पुगेको थियो ,जुन विश्वमै पहिलो साक्षरता दर धेरै भएको राष्ट्र बन्न पुग्यो ।  
    क्यास्त्रोले साक्षरता अभियानमा दुई वटा मुख्य नारा तय गर्नुभएको थियो – १. निरक्षर भेटिए भने पढाउन सक्नेले पढाइहाल्नु, २. धेरै जान्नेले थोरै जान्नेलाई सिकाइहाल्नु ।  यसरी हेर्दा क्युबामा सबै पार्टी कार्यकर्ता र लेखपढ गर्न सक्नेहरू कुनै न कुनै रूपमा अभियानमा खटिएका थिए ।  यो अभियानको मुख्य उपलब्धि शिक्षालाई समाजिक सेवासँग जोड्नु थियो ।  अन्धविश्वास, कुसंस्कार, अन्याय र सामन्ती चरित्रको अन्त्य गर्नु थियो ।  श्रमप्रतिको आस्था जगाई सबैलाई उत्पादनमा लाग्न प्रोत्साहन गर्नु थियो ।  देशभक्तिको भावनालाई पत्थरीकरण गर्नु थियो ।  किसान र कामदारहरूलाई सशक्तीकरण गरी राज्यप्रति अपनत्वभावको विकास गराउनु थियो ।  जनताका बीच बन्धुत्वभाव बलियो बनाउनु थियो ।  सामाजिक न्याय र समानताको जरो गाड्नु थियो ।  यी तमाम विषयमा अभियान सफल रह्यो ।  
क्यास्त्रोबाट नेपालले के सिक्ने ?
    रमेशनाथ पाण्डेको भनाइअनुसार तत्कालीन राजा वीरेन्द्र क्यास्त्रोबाट निकै प्रभावित हुनुहुन्थ्यो ।  सम्भवतः त्यसैले होला उहाँले २०२८ को नयाँ शिक्षा पद्धतिमा राष्ट्रिय सेवा दल (रा.वि.से.) को व्यवस्था गरी विद्यार्थीलाई समाज सेवामा खटाएको तर उहाँबाहेक कसैले पनि क्यास्त्रोको सफल अभियानबाट सिक्ने प्रयत्न गरेनन् ।  कम्युनिस्ट भन्नेहरूले पनि क्यास्त्रोको गुणगान गाउनमै समय खर्चे, सिकाइमा टाउको दुखाएनन् ।  शिक्षा क्षेत्र त अझ ओझेलमा प¥यो ।  
मूलतः साक्षरता अभियानमा हामीले क्युबाबाट सिक्न सकिने कुरा धेरै छन् ।  यहाँ पनि पार्टीका कार्यकर्तालाई साक्षरता अभियानमा दौडाउन सकिन्छ ।  पार्टीको नीति कार्यक्रमसँगै जनतालाई साक्षर बनाउ, पार्टी सङ्गठन गर, सोही आधारमा तिम्रो मूल्याङ्कन हुन्छ भन्न सकिन्छ ।  धार्मिक सङ्घसंस्थाले पनि धर्मसँगै शिक्षा दिन सक्छन् ।  मन्दिरमा, चर्चमा, गुम्बामा, मस्जिदमा जानेहरूलाई त्यहाँको पुरोहित, पादरी, लामाहरूले अनिवार्य केही सिकाउने व्यवस्था गर्न सकिन्छ ।  सेना र प्रहरीलाई आफ्नो क्याम्प नजिकको समुदायमा गएर साक्षरता शिक्षा सञ्चालन गर्न भन्न सकिन्छ ।  विद्यालयका शिक्षकलाई सोही गाउँको जिम्मा दिएर काम नगरे तलब रोकिदिन सकिन्छ ।  १२ कक्षाभन्दा माथि उत्तीर्ण विद्यार्थीले कम्तीमा पनि आफ्नो घर वा छिमेकलाई साक्षर बनाएपछि मात्रै प्रमाणपत्र पाउने व्यवस्था गर्न सकिन्छ ।  उद्योगमा काम गर्ने निरक्षर कामदारलाई उद्योगले आफैँ अनिवार्य साक्षर बनाउनुपर्ने व्यवस्था गर्न सकिन्छ ।  च्याउसरी उम्रिएका गैरसरकारी संस्थालाई यो अभियानमा जिम्मेवार बनाउन सकिन्छ ।  यही अभियानमार्फत अन्धविश्वास, साम्प्रदायिकता, छुवाछूत हटाउन सकिन्छ ।  शिक्षालाई श्रमसँग जोड्न सकिन्छ ।
    क्यास्त्रोको साक्षरता अभियान विश्वलाई पाठ हो ।  शिक्षा क्षेत्रमा क्युबाले गरेको प्रगति आधुनिक विश्वको लागि अनुकरणीय चाख हो ।  जसरी उहाँले शिक्षालाई समग्र विकासको जग मान्नुभयो त्यसरी नै अरूले पनि शिक्षामा जोड दिए क्यास्त्रोको वास्तविक सम्मान हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना