४३ जिल्लामा भेटिए लोपोन्मुख सालक

काठमाडौँ, मङ्सिर २६ गते ।  नेपालमा हालसम्म १२ जिल्लामा मात्र पाइने भनिएको लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको सालक हालै गरिएको एक अध्ययनपछि ४३ जिल्लामा भेटिएको छ ।  
वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्व एवं ‘यूएसएआईडी, हरियो वन’ कार्यक्रमको सहयोगमा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रले गरेको ‘राष्ट्रिय सालक सर्वेक्षण’पछि सो तथ्याङ्क सार्वजनिक भएको हो ।
सालक नेपाल, भारत, चीनलगायत दक्षिण एसियाली राष्ट्र तथा अफ्रिकाका उष्ण भूभागमा पाइन्छ ।  सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ ।  यो पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ ।  यो आफूलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुडुल्किएर भकुन्डोजस्तै डल्लो पर्छ ।  
नेपालमै पहिलोपटक राष्ट्रियस्तरमा गरिएको ‘राष्ट्रिय सालक सर्वेक्षण’सँगै सालकको संरक्षणका लागि कार्ययोजना पनि बनाइने विश्व वन्यजन्तु कोष नेपाल, हरियो वन कार्यक्रमका जैविक विविधता संरक्षण संयोजक डा. शान्तराज ज्ञवाली बताउनुहुन्छ ।  salak
उहाँ भन्नुहुन्छ, “नेपालका संरक्षित वन क्षेत्रका भन्दा बाहिर पाइने सालकको अवस्था बढी सङ्कटमा रहेकाले त्यहाँ संरक्षणको बढी आवश्यकता छ ।  अब छिट्टै सालकको सङ्ख्याका बारेमा थप अध्ययन अनुसन्धान गर्ने योजना छ । ” नेपालमा हालसम्म सालकको सङ्ख्याका बारेमा कुनै अध्ययन भएको छैन ।  
सालक दिउँसो दुलोमा बस्छ र आहाराका लागि राति मात्र क्रियाशील हुन्छ ।  सालक विश्वमै बढी चोरी सिकार हुने प्राणीमध्येको एक हो ।  नेपालबाट सालक तस्करीका लागि चीन र भियतनाम सबैभन्दा बढी गन्तव्य हुन् ।  विश्वभर आठ जातिका सालक पाइन्छन् ।  दुई हजार पाँच सय मिटर उचाइसम्मको जङ्गलमा भेटिने सालकको दाँत हुँदैन तर ६० देखि ७० सेमीसम्म फैलने यसको जिब्राले प्रायः धमिरा र कमिला खान्छ ।  
सालक अनुसन्धानमा क्रियाशील साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रका अध्यक्ष तुलसीलक्ष्मी सुवालका अनुसार नेपालमा कालो सालक र तामे सालक पाइन्छन् ।  अनुसन्धानका क्रममा सालक संरक्षणमा विभिन्न जिल्लामा देखिएका चुनौतीसमेत सार्वजनिक गरिएको छ ।
अध्यक्ष  सुवाल भन्नुहुन्छ, “नेपालमा सालक संरक्षणका लागि चोरी सिकार, जनचेतनाको कमी, वन डढेलो, वन क्षेत्रमा हुने भौतिक पूर्वाधार निर्माण, विषादी खाएर मरेका कीरा खानाले हुने मृत्यु प्रमुख चुनौती देखिएको छ । ”
चोरी सिकारका साथै नेपालका विभिन्न स्थानमा रहेका अन्धविश्वासका कारण पनि सालकको सिकार हुने गरेको छ ।  कतिपय स्थानमा सालक देखिए अपशकुन हुन्छ भन्ने मानसिकता छ ।   कतिपय स्थानमा यसको मासु खाए दीर्घरोग निको हुने र कहीँ सालकको मासु खाए सुत्केरीको साल छिटो झर्छ भन्ने अन्धविश्वास छ ।  त्रिवि प्राणीशास्त्रका प्रा. करनबहादुर शाहका अनुसार उक्त अन्धविश्वासमा कुनै सत्यता छैन ।  
कालो सालकको पोथीले एक सय २० दिनदेखि एक सय ५० दिनसम्ममा बच्चा जन्माउँछ भने तामे सालकको समागम भएको करिब ७० देखि ७५ दिनमा बच्चा जन्मिन्छ ।  प्रायः एउटै र कहिलेकाहीँ मात्र दुई बच्चा जन्मन्छन् ।  सामान्यतः एउटा सालकको तौलमा २० प्रतिशत भाग खपटा हुन्छ ।  एउटा सात किलोको सालकबाट १.४ किलो खपटा निस्कन्छ ।  
प्रा. शाह भन्नुुहुन्छ, “सालक किसानको साथी हो, यसले खेतीबाली र उत्पादनलाई हानिनोक्सानी गर्ने जीवलाई खाएर नियन्त्रण गर्छ ।  एउटा वयस्क सालकले एक वर्षमा करिब सात करोडसम्म त्यस्ता कमिला र धमिरा खाने विश्वास गरिन्छ ।  यसले आफ्नो आहारा खोज्ने क्रममा माटो खोस्रेर गोडमेल र उर्वर बनाउने कामसमेत गर्छ । ”
विदेशमा सालकलाई घर, रेस्टुराँ वा बगैँचामा पाल्नका लागि जिउँदै तस्करी गरिन्छ भने मरेको सालकलाई रसायनयुक्त सिसामा राखेर सजाउने गरिन्छ ।  औँठी, मालाका साथै विभिन्न प्राचीन चिनियाँ औषधिका लागि समेत सालकका खपटा प्रयोग हुँदै आएका छन् ।  
सालककै खपटाबाट बनाइएको ज्याकेट र झोलाजस्ता सामग्रीको प्रयोग सम्भ्रान्त वर्गबीच प्रतिष्ठाको विषय मानिँदै आएको छ ।  सरकारले बाघ, गैँडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रेसँगै सालकलाई पनि अति सङ्कटापन्न सूचीमा राखेर संरक्षणका काम प्राथमिकताका साथ अघि सारेको वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य बताउनुहुन्छ ।   “राष्ट्रिय निकुञ्ज बाहिरका वन क्षेत्रमा सालक संरक्षणका लागि केही जिल्लामा यसै वर्षदेखि कार्यक्रम सुरु गरेका छौँ”, उहाँ भन्नुहुन्छ ।  
मुलुकका विभिन्न जिल्लाबाट बर्सेनि काठमाडौँ उपत्यकालाई केन्द्र बनाई ठूलो सङ्ख्यामा सालक र सालकको खपटा चीनतर्फ तस्करी हुने गरेको तथ्याङ्क छ ।  उहाँका अनुसार सालक मार्ने र चोरी सिकार गर्नेलाई एक लाख रुपियाँ जरिवाना र कारागार सजायको कडा कानुनी कारबाहीको व्यवस्था छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना