मोहम्मद डे मा विदा दिने सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग

सिराजुद्दीन खान

नेपालगञ्ज, मंसिर २६ गते । इस्लाम धर्मका अन्तिम प्रर्वतक हजरत मोहम्मद सल्ल. अलैही वसल्लमको शुभ जन्मोत्सवको दिन मोहम्मद डे मा सार्वजनिक विदा घोषणा गर्न बाँकेका मुस्लिम अगुवा र संघसंस्थाहरुले सरकारसँग माग गरेका छन् ।
नेपाल सरकारले मोहम्मद डे मा तत्काल सार्वजनिक विदा दिने भनि २०६९ साल जेठ ७ गते राष्ट्रिय मुस्लिम संयुक्त गठबन्धनसंग लिखित सम्झौता गरेपनि हालसम्म विदा नदिएको जनाउँदै उनिहरुले सरकारले सहमति सम्झौतालाई पालना नगर्ने गरेको आरोप पनि लगाएका छन् ।
सरकार र मुस्लिम गठबन्धन विच २०६९ सालमा भएको १० बुँदे सम्झौताको बुँदा नम्बर ९ मा तत्काल मोहम्मद डे मा सार्वजनिक विदा दिने भनि प्रष्ट रुपमा उल्लेख गरिएपनि सम्झौता भएको ४ बर्ष वितिसक्दा पनि कार्यान्वयन नभएकोले मुस्लिम समुदाय आक्रोशित भएको केन्द्रिय हज कमिटिका पूर्व अध्यक्ष तथा धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनु भयो ।
उहाँले ४ बर्षअघि गरिएको सम्झौता अनुसार यस बर्षबाट मोहम्मद डे मा सार्वजनिक विदा घोषणा गर्नु पर्ने माग गर्दै त्यसो नगरिए मुस्लिम समुदाय शसक्त रुपमा बिरोधमा उत्रने चेतावनी दिनु भयो ।
यसैगरी बाँकेमा रहेका विभिन्न मदरसा, मस्जिद संचालक समितिहरु, बिभिन्न मुस्लिम संघसंगठन र अगुवाहरुले बैठक, भेला बोलाई निर्णय गरेर यही मंसिर २७ गते मनाइने मोहम्मद डे मा सार्र्वजनिक विदा दिनु पर्ने माग गरेका छन् ।
नेपालगञ्जका सबैभन्दा पुराना दुईवटा मदरसाहरु फैजुन्नबी जामा मस्जिद र मदरसा गौसिया जियाउल इस्लामले बिशेष भेला बोलाएर मोहम्मद डे मा विदा दिनु पर्ने माग गर्दै त्यसका लागि दवावमुलक कार्यक्रम गर्ने निर्णय गरेको मदरसा फैजुन्नबी जामा मस्जिद संचालक समितिका अध्यक्ष रहीस अहमद सिद्दिकीले बताउनु भयो ।
उहाँले सरकारले लिखित सम्झौता गरेर पनि विदा नदिनुबाट सरकारको नियत सफा नरहेको प्रष्ट भएको जनाउँदै यो सम्झौता कार्यान्वयन नगरिए भविष्यमा सरकारसंग कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताउनु भयो ।
यस्तै मदरसा ईस्लामिया संघका केन्द्रिय अध्यक्ष मौलाना मन्सुर अहमद आरफीले ४ बर्ष अघि गरिएको विदा दिने भनि गरिएको सम्झौतालाई पालना गरेर सरकारले ईमान्दारिता प्रस्तुत गर्नु पर्नेमा जोड दिनु भयो ।
अरबी क्यालेण्डरको रविउलअव्वल महिनाको १२ तारिखमा इस्लाम धर्मका अन्तिम पर्वर्तक हजरत मोहम्मद सल्ल. अलैही वसल्लमको जन्म भएको हँुदा सोही दिन बिश्वभरीका मुस्लिमहरुले सो जन्मोत्सवलाई भव्यताका साथ बिविध कार्यक्रम गरेर मनाउँदै आएका छन् ।
यस बर्ष मंसिर २७ गते पर्ने सो शुभजन्मोत्सवका लागि नेपालगञ्जमा भव्य जुलुस निकाल्ने, धार्मिक प्रवचन कार्यक्रमको आयोजना गरिने, रक्तदान गरिने, गरिब, विरामी र कैदी बन्दीहरुलाई फलफुल लगायत अन्य सहयोग बितरण गरिने र आ आफ्नो घरमा बिजुलीको सजावट गरिने तयारी भैरहेको मुस्लिम अगुवा अतहर हुसेन फारुकीले बताउनु भयो ।

mohamad dayसरकार र मुस्लिम गठबन्धन विच २०६९ साल जेठ ७ गतेमा भएको १० बुँदे सम्झौता ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना