कायरोकाे चर्चमा हमला, २५ जनाको मृत्यु


कायरो, मङ्सिर २७ गते । इजिप्टको राजधानी कायरोमा रहेको एक चर्चमा भीषण हमला भएको छ । सो हमलामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।
इजिप्टेली अधिकारीहरुले सो हमलामा परी अरु कम्तीमा पनि ४९ जना नराम्ररी घाइते भएका जनाएका छन् । क्रिस्मसको समय सुरु हुन लागेको बेला यो हमला भएको छ ।
साथै विश्वका अरु पनि केही देशबाट प्राप्त समाचारहरुमा विभिन्न स्थानमा यस्ता हमलाहरु भएका छन् । क्रिश्मसको समय सुरु हुन लागेकै बेला यस्तो हमला भएको जनाइएको छ ।
कायरोको एक कोप्टिक क्याथेडल चर्चमा यस्तो हमला भएको हो । इजिप्टको विदेशमन्त्रालयले आइतबार अबेर राति सो हमलाको बारेमा एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।
सो हमलामा भएको क्षतिको विवरण लिने काम भइरहेको छ । सुरक्षाकर्मीले सो
हमलामा व्यापक मात्रामा क्षति भएको जनाएका छन् ।
त्यस क्षेत्रमा रहेको चर्चमा यसअघि पनि उनीहरुले हमलाको प्रयास गरेका थिए ।
आइतबार अपरान्ह बम हमला गरिएको हो ।
तर आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कसैले पनि लिएको छैन । सो
आक्रमणमा भएको क्षतिको विवरण संकलन भइरहेको सुरक्षाअधिकारीहरुले जनाएका
छन् ।
उक्त बम आक्रमणपछि कायरोमा रहेका अरु चर्चहरुमा पनि सुरक्षाको कडा निगरानी गरिएको बताइएको छ ।
आइतबार उक्त चर्चमा प्रार्थनामा रहेका बेला एक अज्ञात व्यक्तिले सो चर्चभित्र बम हानेको अधिकारीहरुले जानकारी दिएका छन् ।
सो बम हमलाको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले निन्दा गर्नुभएको छ । उहाँले सो हमलाले मानवता विरुद्धको अपराध गरेको जनाउनु भएको छ ।
उहाँले नागरिकको शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकारका विरुद्ध यसरी
गरिएको अपराध निन्दनीय हो भन्दै यस आक्रमणमा सम्लग्नलाई कडा कारबाही गर्न
माग गर्नुभएको छ ।
उहाँका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ– नागरिकको बाँच्न पाउने
अधिकारको सम्मान गर्नु सबैको कर्तव्य हो उहाँले भन्नुभएको छ ।
महासचिव बानले उक्त हमलामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पणगर्दै
घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
त्यसैगरी युरोपेली युनियनले पनि सो हमलाको निन्दा गरेको छ । उक्त हमलामा परी ज्यान गुमाएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
इयूले यस हमलामा सम्लग्नहरुलाई कडा भन्दा कडा कारबाहीको पनि माग गरेको छ । रासस ÷सिन्ह्वा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना