वैशाखमा चुनाव हुन्छ : प्रधानमन्त्री

puspa kamal dahal prachanda_1काठमाडौँ, मङ्सिर २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा चुनाव सम्पन्न हुने गरी चुनावको मिति घोषणा हुन लागेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “देश चुनावमा जाने निश्चित भएको छ, वैशाखको दोस्रो वा अन्तिम हप्ता चुनाव हुने गरी मिति घोषणा गर्ने तयारी भइरहेको छ, अब त्यो चाँडै हुन्छ । ” देशलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नहुने बताउँदै उहाँले देशलाई अगाडि बढाउनका लागि पहिलो ढोका चुनाव भएको हुनाले चुनावको तयारीमा आफू लागेको बताउनुभयो ।
माओवादी केन्द्रको ३ नं. प्रदेश समितिले  सोमबार राजधानीमा आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देश अगाडि बढिसक्यो, अब यसलाई कसैले रोकेर रोकिँदैन । ”
संविधान संशोधनमा कसले समर्थन गर्छ कि गर्दैन भनेर प्रस्ताव दर्ता नगराएको बताउँदै उहाँले निर्वाचनका लागि ढोका खोल्न संशोधन प्रस्ताव ल्याएको स्पष्ट पार्नुभयो । “देश स्थानीय निकाय लगायतको निर्वाचनमा जाने निश्चित भएको छ”, माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “माओवादी पार्टीभित्रैबाट केही साथीले संशोधन प्रस्तावको विरोध गरिरहनुभएको छ, अहिले जनताको मनोभावना बुझ्न जानुभएको छ, अन्ततः उहाँहरू पनि संशोधनकै
पक्षमा आउनुहुन्छ । ”
बूढीगण्डकी, अरुण र पश्चिम सेती गरी तीनवटा आयोजना निर्माणका लागि सरकारले काम गरिरहेको बताउँदै उहाँले काठमाडौँमा रेल्वे लाइन ओछ्याउने, फास्ट ट्र्याक नेपालीले बनाउने स्पष्ट गर्दै यी काम आफ्नो नेतृत्वको वर्तमान सरकारले नै सुरु गर्ने योजना सुनाउनुभयो । उहाँले देश लोडसेडिङमुक्त गर्न सकिन्छ, त्यसमा सबैको सहयोग चाहिन्छ भन्नुभयो ।
थोरै मेहनत गरियो भने १५० मेगावाट बिजुली बचाउन सकिने धारणा राख्दै उहाँले भन्नुभयो, “बिजुली चुहावट ठूलाठूला व्यवसायीबाट हुने गरेको छ, त्यसलाई नियन्त्रण गर्र्दै गाउँघरका सानासाना बिजुली चुहावटलाई पनि रोक्न सकियो भने धेरै बिजुली बचत हुन्छ । ”
उहाँले माओवादी केन्द्रको नेतृत्वमा सरकार भएका कारणले राष्ट्रियता बलियो भएको दाबी गर्दै राष्ट्रिय एकता र जनताको भावना एकीकृत गर्न जनतामा जान कार्यकर्ता तथा नेतालाई निर्देशन दिनुभयो । उहाँले परिवर्तन विरोधीले टाउको उठाउन खोजेका छन् भन्दै माओवादी कमजोर भयो भने विरोधी शक्तिहरू आफ्नो योजनामा सफल हुने भएकाले पार्टीको सम्पूर्ण शक्ति सङ्गठन निर्माणमा लगाउन निर्देशन दिनुभयो । प्रदेश नं. ३ का इन्चार्ज हितमान शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले अब सहर सदरमुकाम छाडेर गाउँगाउँ जानुपर्ने बताउनुभयो । पार्टीका नेता तथा कार्यकर्ता सहरमुखी भएका कारणले पनि पार्टीमा समस्या भएको बताउँदै उहाँले अब जनताका घरघर नगईकन सङ्गठन बन्न नसक्ने बताउनुभयो ।
 


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना