छोराछोरीको कुलत अभिभावकको कमजोरी

देवबहादुर कुँवर

काठमाडौं,  पुस २ गते  ।  लैनचौरका २० वर्षीय विवेक पढाइमा अब्बल थिए ।  एसएलसीसम्म उनी आफ्नो विद्यालयमा प्रथम भए ।  कलेज पढ्न थालेपछि भने उनको पढाइ कमजोर हुँदैगयो ।  राजधानीकै एउटा चर्चित कलेजमा विज्ञान विषय अध्ययन गरिरहेका लामाको १२ कक्षामा विषय ब्याक लाग्यो ।  बुबा–आमा व्यापारी भएकाले उनका लागि राम्रो कलेजमा अध्ययन गर्नु र महँगो मोटरसाइकल चढ्नु नयाँ कुरा थिएन ।  अभिभावकले पनि एक्लो छोराको पढाइ राम्रो होस् भन्नका लागि प्रायः सबै माग पूरा गरिदिएका थिए ।  छोराका क्रियाकलापबारेमा पटक्कै ध्यान दिएका थिएनन् ।
अभिभावकले छोराका क्रियाकलापसम्बन्धमा हेक्का नराख्दा कलेज पढ्दै गरेका विवेक अहिले मासिक १२ हजार शुल्क तिर्नेगरी कलेज नभई सुधार–गृहमा पु¥याइएका छन् ।  लागू औषधको कुलतमा फसेका विवेक यतिखेर अभिभावकका लागि दुःख र पीडाका भारी बनेका छन् ।  त्यस्तैं, काठमाडौँको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा स्टाफ नर्सको पदमा कार्यरत एउटी आमाको पीडा पनि विवेकका आमा–बुबाको भन्दा कम छैन ।  आफू डाक्टर बन्न नसके पनि छोरा–छोरीलाई डाक्टर बनाउने उनको सपना विपनामा परिणत हुन सकेन ।
पढाइ राम्रो हुने आशले ‘बोर्डस’ गरेका छोरा र छोरी लागू औषधको कुलतमा फसेपछि व्यापारको सिलसिलामा अस्टे«लियामा रहेका श्रीमानलाई समेत फिर्ता बोलाएर छोराछोरीलाई कुलतबाट छुटाउन विदेश पठाउने निर्णयमा उनी पुगिन ।  त्यो निर्णय कार्यान्वयन हुन सकेन ।  अन्ततः सुधार–गृहमा पठाउनुपर्ने बाध्यता आइलाग्यो ।  यी दुई घटना लागू औषधको कुलतमा फसेका युवाका परिवारले भोग्नुपरेका पीडाका उदाहरण मात्र हुन् ।  काठमाडौंमा मात्र करिब ८० हजार युवायुवती लागू औषधको कुलतमा फसेको तथ्याङ्क सार्वजनिक भएको छ ।  आर्थिकरूपले अवस्था कमजोर भएकाभन्दा पनि राम्रो भएका परिवारका छोराछोरी कुलतमा फस्ने समस्या बढी देखिएको छ ।  अभिभावकले छोराछोरीका क्रियाकलापमा समयमै चासो नदिँदा घरपरिवार उजाड जस्तै बन्नेगरेका छन् ।  
छोराछोरीको उज्ज्वल भविष्यका लागि दुःख गर्ने अभिभावकले आफ्ना सन्तानका क्रियाकलापप्रति समय–समयमा चासो नराख्दा लागू औषधको कुलतमा फस्ने समस्या बढेको हो ।  प्रहरी प्रधान कार्यालय, लागू औषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी नायब उपरीक्षक अपिल बोहरा भन्नुहुन्छ, “लागू औषधले कतिपयको घर–परिवार उजाड बनेको छ । ”
मान्छेले अन्य कुलत छाड्न सके पनि लागू औषधको लतमा फसेपछि छाड्न सक्दैन ।  त्यसकारण यसको लतबाट आफ्ना सन्तानलाई सुरक्षित र टाढा राख्न उनीहरूका क्रियाकलाप्रति बारम्बार चासोराख्नु र सजग रहनु नै उत्तम उपाय हो ।  “साथीसङ्गी र देखासिकीले बच्चा बिग्रँदैनन्”, प्रहरी नायब उपरीक्षक बोहरा भन्नुभयो, “जसका ‘गार्जेन’ (अभिभावक) व्यस्त हुन्छन्, विदेशमा रहेका हुन्छन् र ‘केयरफुल’ हुँदैनन्, तिनका बच्चा कुलतमा फस्ने सम्भावना धेरै हुन्छ । ” लागू औषध नियन्त्रण ब्युरोका अनुसार, युवायुवती लागू औषधको कुलतमा फस्नुमा ५० प्रतिशत अभिभावकको कमजोरी देखिन्छ ।  लागू औषध प्रयोग गर्नेहरूमा ३१ प्रतिशत १० जोड दुई पढ्नेहरू छन् ।  छोराछोरीलाई मनग्गे खर्च दिने, बाआमा विदेश बस्ने, उनीहरूका क्रियाकलापप्रति खासै चासो नदिने र एकअर्काको देखासिकीमा लाग्ने भएकाले युवामा यो समस्या बढेको हो ।
नेपालमा एक लाख ५० हजार लागू औषध दुव्र्यसनी रहेको अनुमान गरिएको छ ।  गृह मन्त्रालयको लागू औषध नियन्त्रण एकाइका अनुसार, १५ देखि २४ वर्ष उमेर समूहका दुव्र्यसनी ५२ प्रतिशत, २५ देखि ३४ वर्ष उमेर समूहको दुव्र्यसनी ४२ र ३५ वर्षभन्दा माथि उमेर समूहका ६ प्रतिशत दुव्र्यसनी छन् ।  त्यस्तै, शैक्षिकस्तरका आधारमा २८ प्रतिशत एसएलसीभन्दा कम अध्ययनरत, २२ प्रतिशत एसएलसी उत्तीर्ण र ३१ प्रतिशत टेन प्लस टु गरिरहेका छन् ।  अरू स्नातक तहभन्दा माथि अध्ययन गरेका छन् ।  drugs
चुरोट, रक्सी र गाँजाबाट सुरु हुने लागू औषधको लत चरेस, हेरोइन हुँदै औषधिका साथै लागू औषधिका रूपमा पनि प्रयोग हुने लागूऔषध प्रयोग गर्नपुग्छन् ।  उनीहरू औषधिजन्य लागू औषध डाइजेपाम, बुनुफ्रिन र फेनारगन सुई (सिरिन्ज) को सहयोगमा लिन बाध्य हुन्छन् ।  यो भनेको लागू औषध दुव्र्यसनमा पस्ने अन्तिम ‘स्टेज’ (चरण) हो ।  
सिरिन्जबाट लागू औषध लिनेहरूलाई पुनर्जीवन दिन कठिन हुनेगरेको पाइएको छ ।  रिहाविलिटेसन सेन्टर (पुनःस्थापना केन्द्र) मा भर्ना भएर निको भएकाहरू पुनः लागू औषधको कुलतमा फस्नुको मुख्य कारण नै सिरिन्जको लत हो ।  लागू औषधका कारण घर–परिवार र समाजमा झैझगडा, द्वन्द्व र अशान्तिसँगै चोरी, डकैती, लुटपाट, आगजनी, काटमार र तोडफोड, बलात्कार, आत्महत्या जस्ता जघन्य अपराध हुनेगरेका छन् ।  त्यस्तै, एचआईभी÷एड्स, यौनजन्य अन्य रोग, हेपाटाइटिस बी र सी, क्षयरोग तथा मानसिक रोगजस्ता प्राणघातकसमेतका रोग लाग्नेगरेका छन् ।  लागू औषधको प्रयोग नेपाली समाजका लागि मात्र नभई विश्वका लागि नै ठूलो शत्रुका रूपमा देखापरेको छ ।  यसका कारण विश्वमा बर्सेनि साढे दुई लाख मान्छे लागू औषधको कुलतमा फस्नेगर्छन् ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को तथ्याङ्कमा विश्वमा १४ करोड लागू औषध दुव्र्यसनी रहेको पाइएको छ ।

लागूऔषधका प्रकार
नेपालमा स्वदेशी र विदेशी गरी छ किसिमका लागूऔषध पाइन्छन् ।  हेरोइन (सेतो र खैरो), कोकिन, अफिम, चरेस÷गाँजा र औषधीजन्य लागूऔषध ।  चरेस÷ गाँजा र अफिम नेपालमै उत्पादन हुन्छ ।  अफिम अन्य मुलुकबाट समेत आयात हुनेगरेको छ ।  
गाँजा र चरेसपछि बढी मात्रामा औषधिजन्य लागू औषधको प्रयोग हुनेगरेको छ ।  औषधिजन्य लागू औषधमा डाइजेपाम, एम्फेटामाइन (स्युडो), बु्रफिनर्फिन, कोडिन, नाइट्रोसन, लुप्रिजेसिक, फेनारगन, नाइट्रोजेपाम, कोरेक्स र स्पास्मो गरी १२ भन्दा बढी किसिमका छन् ।  नेपाल–भारत खुला सिमानाका कारण सहजै रूपमा भित्रिने यस्ता लागू औषध सस्तो मूल्यमै सहजरूपमा पाइने भएकाले नेपाली युवाले बढी मात्रामा प्रयोग गरेको पाइन्छ ।  अन्य लागू औषध महँगो हुनेभएकाले अधिकांशले औषधीय लागू औषधको प्रयोग गरेका हुन् ।  सम्पन्न परिवारका दुव्र्यसनीले भने हेरोइन, कोकिन र अफिम प्रयोग गर्छन् ।

नेपालमा लागूऔषध कारोवार
नेपाल प्रहरीले वर्षमा तीन खर्ब रुपियाँ मूल्य बराबरसम्मको लागू औषध बरामद गर्नेगर्छ ।  आर्थिक वर्ष २०७२÷७३ मा मात्र ६१ लाख २१ हजार अमेरिकी डलर मूल्य बराबरको चरेस÷गाँजा, २२ लाख डलर मूल्य बराबरको कोकिन, नौ लाख २२ हजार डलर बराबरको हेरोइन, सात लाख डलर मूल्य बराबरको अफिम र १६ लाख ८४ हजार डलर मूल्य बराबरका चिकित्साका लागि प्रयोग हुने तर लागू औषधका रूपमा पनि प्रयोग हुने लागूऔषध बरामद गरेको छ ।  नेपालमा वर्षमा तीन अर्बको लागू औषधको कारोबार हुनेगरेको जनाइएको छ ।
यो आर्थिक वर्षको मङ्सिर महिनासम्ममा चार हजार २३५ किलो गाँजा, एक हजार ८१४ किलो चरेस, तीन किलो ५८६ ग्राम हेरोइन, ३३ किलो ९६५ ग्राम अफिम, दुई हजार ७२२ ग्राम कोकिन, मेडिकलजन्य लागूऔषधमा स्युडो २५ किलो, एमफेटामाइन नौ सय ग्राम, बु्रनर्फिन २१ सय एम्पुल, डाइजेपाम २९ हजार ९८२ एम्पुल र अन्य तीन हजार ८८२ एम्पुल बरामद भएको छ ।  यस वर्ष बरामद भएको यो परिमाणको लागू औषधसँगै तीन हजार ४१० नेपाली र १७ जना विदेशी पक्राउ परेका छन् ।

फितलो कानुनी कारबाही
लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ मा लागू औषधसम्बन्धी कसुर तथा सजायको व्यवस्था रहेको छ ।  लागू औषध सेवन, कारोवार, निकासी, पैठारी र भण्डारणलगायतका कामलाई निषेध गरेर लागू औषधका किसिम, सेवन, कारोबार, उत्पादन र परिमाणका आधारमा पृथक् सजाय हुने व्यवस्था छ ।  सजाय तोक्दा अपराधको मात्रालाई हेरेर न्यूनतम एक वर्ष जेल सजायदेखि एक लाख रुपियाँसम्म जरिवाना छ ।  यो सजायमा पनि तजविजको अधिकार न्यायाधीशलाई दिइएको छ ।  
अन्य मुलुकमा लागू औषध ओसारपसार र कारोबारलाई जघन्य अपराधको रूपमा लिनेगरिएको छ ।  यस्तो अपराधले व्यक्तिविशेषलाई मात्र नभई सिङ्गोे परिवार, समाज र राष्ट्रलाई घात गर्ने भएकाले आजीवन कारावास तथा मृत्युदण्डको व्यवस्था छ ।  नेपालमा भने कमजोर कानुनका कारण एक पटक पक्राउ परेर सजाय भुक्तान गरी छुटेका व्यक्ति पुनः त्यस्तै कसुरमा पक्राउ पर्नेगरेका छन् ।  अन्तर्राष्ट्रिय आपराधिक समूहले पनि विश्वका अन्य देशमा लागू औषध निर्यात गर्न नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाउने गरेको पाइन्छ ।  यसकारण लागू औषध सेवन र कारोबार नियन्त्रणमा अपेक्षाकृत सफलता हातपर्न सकेको छैन ।

के गर्नुपर्ला वा के गर्न सकिन्छ ?
लागू औषध सेवन र कारोबारमा किशोर उमेरका युवायुवती फस्नुको मुख्य कारणमा ५० प्रतिशत कमजोरी अभिभावकको देखिन्छ ।  त्यसपछि मात्र साथीसङ्गी, बढ्दो उमेर, लहड, रहर, फ्रस्टेसन र फरक जीवनशैली लगायतका कारण पर्छन् ।  अभिभावकले बालबालिकाको भविष्यप्रति चिन्ता लिए जति उनीहरूका क्रियाकलापप्रति चासो र चिन्ता नलिएकै कारण स्वतन्त्र वातावरणसँगै बिग्रिने र कुलतामा फस्ने सम्भावना बढी हुन्छ ।  
बालबालिकालाई कुलतबाट जोगाउन अपनाउनुपर्ने सतर्कता ः
१.    फजुल खर्चमा नियन्त्रण गर्ने,
२.    विद्यालय÷कलेजसम्मका क्रियाकलाप रेखदेख गर्ने वा ध्यान दिने,
३.    छोराछोरी तथा कलेजसँग नियमित सम्पर्कमा रहने,
४.    छात्रावास (होस्टेल) मा राख्नु वा बोर्डर्स गर्नुभन्दा पढ्नका लागि घरमै उपयुक्त वातावरण बनाउने,
५.    विलासिताका सामग्रीहरू किन्न नियन्त्रण गर्ने,
६.    छोराछोरी सुत्ने घर÷कोठाको नियमित जाँच गर्ने,
७.    उनीहरूले बोक्ने पर्स वा वालेट तथा ब्याग जाच्ने वा हेर्ने,
८.    साथीसङ्गीसँगको सम्बन्धका बारेमा सोधपुछ गर्ने,
९.    मदिरा वा चुरोट पिउने लतका विषयमा जानकारी लिने,
१०.    पारिवारिक तथा पढाइको तनावबाट मुक्त राख्ने ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना