नेपालमा हुक्का र चुरोट

saroj acharyaसरोज आचार्य


धूमपान स्वास्थ्यका लागि हानिकारक भए पनि धूमपान गर्ने लत छुट्न वा छुटाउन धेरैलाई कठिन परेको देखिन्छ ।  कोही रहरले कोही देखासिकीले त कोही शोख वा धाकधक्कु प्रकट गर्न पनि धुम्रपानको लतमा फसेको पाइन्छ ।  यसको लतमा फसेपछि उम्कन गाह्रो पार्छ सुर्तीमा हुने निकोटिनले ।  
निकोटिनयुक्त सुर्तीको प्रयोग प्राचीनकादेखि नै हुँदै आएको हो ।  सुर्तीबाट किटनासक औषधि तथा यसबाट निस्कने रङ्गलाई रोगनका रूपमा प्रयोग हुँदै आएको हो ।  सन् १५५६ मा फ्रान्समा, सन् १५५८ मा पोर्चुगलमा र सन् १५५९ मा स्पेन र सन् १५६५ मा बेलायतमा कुल्फी (पाइप) मा राखेर खाने सुर्तीको उत्पादन भयो ।  सन् १८६५ मा वासिङ्टन ड्युकले अमेरिकाको नर्थ क्योरोलिनामा ३०० एकड जमिनमा यसको व्यावसायिक खेती सुरु गरेका थिए ।  ‘सिभिल वार’ मा संलग्न सेनालाई कागजमा सुर्ती बेरेर हातैले तयार गरेको चुरोट बिक्री गर्ने उद्देश्यका साथ यसको खेती सुरु गरिएको थियो ।  सन् १८८१ मा जेम्स बोन्स्याकले चुरोट उत्पादन गर्ने मेसिनको आविस्कार गरेपछि हातले बेरिएको चुरोट हराउन थाल्यो ।  सिभिल वारमा संलग्न सेनाले नै चुरोटलाई बेलायतसम्म भित्र्याए, बेलायतले भारतलाई उपनिवेश बनाएको बेलामा नै हिन्दुस्तान हुँदै चुरोटले नेपाल भित्रने अवसर पायो ।  
नेपालमा सन् १९६५ मा तत्कालीन सोभियत सङ्घ (रुस) सरकारको सहयोगमा जनकपुरमा चुरोट कारखाना खुलेपछि भारतबाट भित्रने बिँडी र चुरोटमा कमी आई जनकपुर चुरोट कारखानाबाट उत्पादित चुरोट प्रिय बन्यो ।  यो कारखाना बन्नुअघि प्रयोग हुँदै आएको तमाखु (हुक्का) तान्नेले पनि चुरोट नै खान थाले तर हुक्का तान्नेको जगजगी पनि नेपालमा त्यत्तिकै रह्यो ।  हङकङतर्फ व्यापार गर्न खुला भएपछि मनाङका व्यापारीले ५५५ र बेन्सन एण्ड ह्याज चुरोटलाई सहज रूपमा नेपाल भित्र्याए, लेवनानमा खटिएको शान्ति सेना नेपाल फर्कंदा साथमा ल्याउन सहज सामग्रीका रूपमा यी उत्पादन परे ।  यो चुरोटको स्वाद दिने चुरोट नेपालमै उत्पादन गर्न किन सकिन्न भन्ने मनसुवाका साथ नेपालमा सूर्य टोवाको कम्पनी खडा भयो ।  सूर्य टोबाकोको उत्पादनले जनकपुर चुरोट कारखानाका उत्पादनलाई प्रतिस्पर्धामा पछाडि धकेल्यो र सन् २०११ मा जनकपुर चुरोट कारखाना बन्द गरियो ।  
जनकपुर चुरोटका उत्पादनअघि भारतबाट आउने फूलमार, मोटरमार, क्रायभेन लगायतका ब्राण्डका चुरोटले नेपालको सहरी बजार लिएको थियो ।  जनकपुर चुरोट कारखानाका उत्पादन आशा, गैँडा, याक चुरोटले फूलमार, मोटरमार, क्रायभन चुरोटलाई विस्थापित गर्दा चुरोटका पारखी हुक्काका पारखीभन्दा निकै बढे ।  
विशेष गरी मल्ल शासनकालमा प्रयोगमा रहेको हुक्काको स्थान राणाकालमा चुरोटले लिन थालेको थियो ।  तत्कालीन प्रधानमन्त्री श्री ३ पद्म समसेरले चुरोटको प्रयोग बढ्दै गई देशको ठूलो रकम चुरोटमा खर्च हुन जाँदा चुरोटको सट्टा तमाखु सेवन गर्न देशबासीका नाममा सन्देश जारी गर्नुपर्ने अवस्था आयो ।  ‘‘पहिले म पनि दिनमा ५०–६० ओटा चुरोट खान्थेँ, मैले चुरोट खान एकदम छोडिदिएको तीन वर्ष भयो त्यसपछि मैले बरोबर तमाखु खाने गरेको छु, चुरोट छोडेर तमाखु मात्र खाने गर्दा मलाई कुनै हानि भएको छैन ।  शरीरलाई पनि बहुतै हानि गर्ने चुरोट खानु बहुतै खराब अम्मल हो, यो अम्मललाई सकेसम्म एकैदिनमा छोड्नु बेस, नसके अलिअलि घटाउँदै लगे बेस, जसरी हुन्छ सबैले यो लतलाइ छोड्न नै बेस छ ।  यो मेरो प्रार्थनालाई विचार गरेर तिमी सबैले पनि चुरोट छोड्ने चेष्टा गर्ने छौ भन्ने आशा गर्दछु । ’’ वि.सं २००४ आश्विन १० गते गोरखापत्रमा प्रकाशित देशवासीको नाममा श्री ३ पद्मको यो सन्देशले उतिबेलै चुरोट विदेशबाट झिकाउँदा ५०।६० लाख रुपियाँ खर्च लाग्ने गरेको र देशलाई ठूलो आर्थिक धक्का पुग्न गएको दर्शाउँछ ।  
वास्तवमा श्री ३ पद्म शम्सेरले चुरोटको सट्टा तमाखु खाने गरेको भए पनि तमाखुलाई स्वास्थ्यबद्र्धक भने मानिएको छैन ।  सुर्तीजन्य सबै खाले अम्मल स्वास्थ्यका लागि हानिकारक छैनन् भन्ने वैज्ञानिक पुष्टि हुन सकेको पनि छैन ।  
तत्कालीन राणा शासकहरूको चाँदीको हुक्का हुने गरेको संस्मरण गर्नुहुन्छ श्री ३ जङ्ग संस्थाका अध्यक्ष यमजितप्रताप जङ्गबहादुर राणा ।  सर्वसाधारणले माटोको चिलिम भएको हुक्का तान्थे भने राणाजीको चाँदीको हुन्थ्यो, धुवाँ तान्ने पाइपको टुप्पोमा सुन जडिएको हुन्थ्यो ।  हुक्का तान्दाको गड्गडाहटमा राणाजीको शान बोल्थ्यो ।  गालीगलौज गर्न नमिल्नेलाई हल्का सजायँ दिनुपर्दा राणाजी हुक्कामा रहेको गन्हाउने पानी थाप्लामा खन्याउने आदेश दिन्थे ।  थाप्लामा परेको यो गन्ध हप्तौँ रहिरहन्थ्यो ।  
पाटनका राजा योगनरेन्द« मल्ल कहिल्यै मर्दैनन् भनेर केही वर्ष अघिसम्म उनको आसन अगाडि तमाखु भरेर हुक्का राख्ने चलन छँदै थियो भने पशुपतिमा रणबहादुर शाहका लागि हुक्का तयार गर्ने चलन पनि पछिसम्म रह्यो ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना