रानीपोखरी सफा गरिँदै

काठमाडौँ, पुस २ गते । रानीपोखरीमा रहेको माछा अन्यत्र सार्ने काम सकेसँगै अब पोखरी सफाइको काम सुरु हुँदै छ । गत मङ्गलबारदेखि रानीपोखरीमा रहेका सबै माछा कमलपोखरीमा सारिसकिएको हुँदा अब तत्काल पोखरी सफा गर्ने काम सुरु गरिने कामपाले जनाएको छ । निर्माण भएको चार सय वर्षदेखि पोखरी सफा गरिएको छैन । अहिले पोखरी वरपर पर्खाल निर्माण लगाउने काम भइरहेको छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पका कारण पोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर तथा पोखरी र वरपर क्षति पुगेको थियो । पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार अबको एक दुई दिनभित्र पोखरीको हिलो सुकाइएपछि सफा गर्ने काम सुरु हुन्छ ।rani pokhari

ऐतिहासिक महत्वको विष्णुतीर्थको पुनः निर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विद्युत् जडान गरी झिलीमिली बनाइने, बगैँचा निर्माण गरिने तथा हरियाली र रङ्गीन पानीको फोहरा समेत निर्माण गरिने जनाइएको छ ।

बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काम रोक्न निर्देशन दिएको थियो । अब बालगोपालेश्वर मन्दिर पुनः निर्माणको जिम्मा भने विभागले नै लिएको छ ।

दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् । प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन ‘विष्णुतीर्थ’ निर्माण गराएको इतिहासमा उल्लेख छ । पोखरी निर्माणका क्रममा गोसाइँकुण्डदेखि नेपालका विभिन्न भागका नदी, जलाशयका पानी पनि राखिएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना