वैदिक वैज्ञानिक महर्षि भरद्वाज

kamal rijalकमल रिजाल






 वर्तमान सभ्यता निर्माणमा प्राचीन ऋषि, महर्षिहरूको विशेष योगदान छ ।  हामी चाहे पूर्वको कुरा गरौँ चाहे पश्चिमको समग्र मानव सभ्यता उनीहरूकै देन मानिन्छ ।  यद्यपि विकास र विज्ञान सम्बन्धी कतिपय मामिलामा पश्चिमी जगत पूर्वभन्दा निकै अगाडि छ ।  तथापि स्रोत भने सबैको यिनै प्राचीन ऋषि, मुनिहरू र उनीहरूका विचार नै हुन् ।  पणिनीय व्याकरणका अनुसार ऋषि शब्दको अर्थ द्रष्टा हुन्छ ।  यसअनुसार जसले वेद मन्त्र तथा त्यसमार्फत जीवन र जगतलाई देखेको छ र जसबाट यिनका उपयोग सम्बन्धी ज्ञान प्रवाह भएको छ तिनै ऋषि हुन् भन्ने बुझिन्छ ।  सायणाचार्यले ऋग्वेद भाष्यमा ऋषिको अर्थ अतीन्द्रिय पदार्थहरूलाई तपस्याद्वारा देख्ने व्यक्ति भनेका छन् ।  यास्काचार्यले (निरुक्त २ ।  ३ ।  ११ मा­) पनि ऋषिर्दर्शनात् भनेर यस्तै आशय व्यक्त गरेका छन् ।  ‘ऋषयः सत्यवचसः’ भन्ने अमरकोषको भनाइबाट पनि यस्तै भाव आकलन गर्न सकिन्छ ।  (कल्याण वेदकथाङ्क पृष्ट ३९०) यी विविध भनाइले पनि ऋषिहरूलाई सभ्यता निर्माणकै बाटोमा उभ्याउन खोजेको देखिन्छ ।  त्यसमा पनि महर्षि भरद्वाजको स्थान एकपाइलो अगाडि नै देखिएको छ ।  
महर्षि भरद्वाज वर्तमान मन्वन्तरको सप्तऋषिमध्येमा पर्छन् ।  यस मन्वन्तरका सप्तऋषिमा उनी बाहेक कश्यप, अत्रि, वसिष्ठ, विश्वामित्र, जमदग्नि र गौतम रहेका छन् ।  (श्रीमद्भागवत ८ ।  १३ ।  ५) सप्तऋषिको काम भनेको पनि वैदिक ज्ञानको माध्यमबाट मानव समाज तथा मानवीय गतिविधि व्यवस्थित गर्नु नै हो ।  (ऐ. ऐ. ८ ।  १४ ।  ४) यसबाट पनि सभ्यता निर्माण तथा परिचालनमा उनको देनबारे धेरथोर अनुमान लगाउन सकिन्छ ।  यस बाहेक उनी गोत्र प्रवर्तक ऋषिमा पनि पर्छन् ।  उनको गोत्रलाई भारद्वाज भनिन्छ ।  भरद्वाजकोे गोत्र भएकाले यस गोत्रलाई भारद्वाज भनिएको हो ।  यस गोत्रभित्र अधिकारी, ओझा, कडेल, काप्री, कैनी, खड्का, खाँड, देवकोटा, बलायर, वाग्ले, सुवेदी आदि थर रहेका छन् ।  भारद्वाज गोत्रको तीन प्रवर छन् ।  तिनीमध्ये पहिलोमा भरद्वाज आफैं पर्छन् भने त्यसपछि आंगिरस र वाहस्पत्यको नाम आएको छ ।  (सूर्य पञ्चाङ्ग पृष्ट ७३) प्रकारान्तरले तिनीहरूसमेत यही गोत्र परिवारभित्र जोडिन आएकाले हाल विश्वमा यस गोत्रीय परिवारको उपस्थितिबारे सोझै अनुमान लगाउन सकिन्छ ।  
महर्षि भरद्वाज महान वैज्ञानिक ऋषि पनि हुन् ।  उनलाई आजका वैज्ञानिक अनुसन्धानहरूको मूल स्रोतका रूपमा लिन सकिन्छ ।  उनको ‘यन्त्रसर्वस्व’ नामक ग्रन्थ सबै किसिमको वैमानिक कला तथा यन्त्रिक विधाको विशिष्ट स्रोत मानिएको छ ।  यसको एउटा प्रकरण विमानशास्त्रको नामले परिचित छ ।  यसमा उच्च आकाश तथा निम्न आकाशमा उड्न सक्ने विमान र तिनका पार्ट–पूर्जाबारे विस्तृत विवेचन गरिएको छ ।  विमान कलासितै सम्बन्धित उनका ‘अंशुमतन्त्र’ र ‘आकाशशास्त्र’ नामक दुई अन्य ग्रन्थ पनि भेटिएका छन् ।  (कल्याण धर्मशास्त्राङ्क पृष्ट ३७२)  उनको वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा समेत विशिष्ट स्थान भेटिन्छ ।  ऋग्वेदको छैटौ मण्डललाई उनैद्वारा देखिएका मन्त्रहरूको सँगालो हो मानिएको छ ।  यसैका कारण यस मण्डललाई भरद्वाज मण्डल पनि भनिएको हो ।  यस मण्डलमा ७५ वटा सूक्त र ६६५ वटा मन्त्र छन् ।  (तिलकप्रसाद लुइँटेल, ऋग्वेद संहिता नेपाली अनुवाद) विशेष गरी उनले यी मन्त्रहरूद्वारा अग्नि र इन्द्र तìवबारे विवेचन गरेका  छन् ।  
वस्तुतः वैदिक मन्त्रद्रष्टा ऋषिहरू एकल र परिवारिक गरी दुई किसिमका छन् ।  यिनमा महर्षि भरद्वाज  पारिवारिक ऋषिमा पर्छन् ।  उनका ऋजिष्वा, गर्ग, नर, पायु, वसु, शास, शिराम्बिट, शुनहोत्र, सप्रथ र सुहोत्र आदि १० भाइ छोरा छन् ।  उनीहरू पनि मन्त्रद्रष्टा ऋषिहरूमै पर्छन् ।  यस बाहेक रात्रि र कशिपा गरी दुई बहिनी छोरी पनि छन् ।  उनीहरू पनि मन्त्रद्रष्टा ऋषिभित्रै गणना गरिएका छन् ।  महर्षि भरद्वाजका यी १२ सन्तानद्वारा देखिएका मन्त्रहरू ऋग्वेदका विभिन्न मण्डलमा छरिएर रहेका छन् ।  (कल्याण वेद कथाङ्क पृष्ट ४०८) उनका पुत्र पायु त उनी जत्तिकै वैज्ञानिक मानिएका छन् ।  विशेष गरी उनी युद्ध वैज्ञानिक हुन् ।  अर्थात् उनको विज्ञान अस्त्रशस्त्रसित सम्बन्धित देखिएका छन् ।  उनीद्वारा देखिएको ऋग्वेद छैटौ मण्डलको अन्तिम सूक्तलाई विजयप्रद सूक्त भनिन्छ ।  यस सूक्तमा कुल १९ मन्त्र छन् ।  उनले यसै सूक्तद्वारा संस्कार गरिएको अस्त्रशस्त्रकै कारण अभ्यावर्ती र प्रस्तोक नामक राजाहरूले तत्कालीन समयमा निकै शक्तिशाली मानिएका वारसिख असुरहरूमाथि विजय पाएका थिए ।  (तीस रोचक कथाएँ, गीताप्रेश गोरखपुर)
भरद्वाज ऋग्वेद बाहेक अथर्व वेद र धनुर्वेदका समेत ज्ञाता मानिएका छन् ।  महाभारतमा धनुर्वेद सम्बन्धी उनका ज्ञानबारे महर्षि व्यासजीले लामै व्याख्यान दिएका छन् ।  कल्याण वेद कथाङ्कमा उल्लेख भए अनुसार अथर्ववेदका उनीद्वारा देखिएका २३ वटा मन्त्र छन् ।  यस बाहेक उनी व्याकरणशास्त्र तथा आयुर्वेद शास्त्रमा समेत उत्तिकै पारङ्गत मानिन्छन् ।  उनको आयुर्वेदसंहिता नामक छुट्टै आयुर्विज्ञान सम्बन्धी ग्रन्थ फेला परेको छ, जसको ज्ञान उनले देवराज इन्द्रबाट पाएका थिए ।  भनिन्छ, उनले व्याकरणशास्त्रको ज्ञान पनि देवराज इन्द्रबाटै पाएका थिए ।  साथैे उनका भरद्वाज स्मृति, भरद्वाज संहिता, भरद्वाज श्रौतसूत्र तथा भरद्वाज गृहसूत्र र राजधर्मशास्त्र आदि अनेक अन्य ग्रन्थहरू समेत रहेका छन् ।  भरद्वाज स्मृति २५ अध्यायको रहेको कुरा कल्याण धर्मशास्त्राङ्कमा उल्लेख छ ।  उसका अनुसार हाल यसको १९ अध्याय मात्र भेटिएको छ ।  यसमा गायत्री उपसानादेखि गृहस्थीहरूको जीवन पद्धतिबारे निकै प्रकाश पार्ने काम भएको छ ।  उनी साम गानमा पनि उत्तिकै निपुण मानिएका छन् ।  उनले देवताबाट वृहत्सामको ज्ञान प्राप्त गरेका थिए ।  उनी लामो सयमसम्म जीवित रहने ऋषिमा समेत पर्छन् ।  कुनै सयममा उनले सम्पूर्ण वेदाध्यायनका लागि लगातार तीन हजार वर्षसम्म देवराज इन्द्रको तपस्या गरेका थिए ।  इन्द्रले आएर अरू आयु थपिदिएँ भने के गर्छौं भनेर सोद्धा उनले सहजपारामा भनेका थिए– ‘वेदको अरू अध्ययन गर्नेछु । ’ यसबाट पनि उनको वैदिक ज्ञान र त्यसप्रतिको मोहबारे धेरै कुराको अनुमान लगाउन सकिन्छ ।  
तथापि विडम्बना नै मान्नुपर्छ उनको जन्म कहानी भने त्यति सुखद छैन ।  उनी वृहस्पतिका छोरा हुन् ।  उनको आमाको नाम ममता हो, जो वृहस्पतिका भाई उतथ्यकी पत्नी थिइन् ।  पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार एकपटक वृहस्पतिले उनीमाथि गर्भ–संस्कारको अपेक्षा गरेका थिए ।  त्यतिबेला ममताले घोर पाप भन्दै यसको प्रतिवाद गर्न खोजेकी पनि थिइन् तर एक त तेजस्वी ऋषि त्यसमाथि त्यतिबेला उनी गर्भिणी समेत थिइन् ।  त्यसैले कडा प्रतिवाद गर्न सकिनन् तर उनको गर्भमा रहेको बालक (जो पछि गएर महर्षि दीर्घतमाको नामले परिचित भएका छन्) ले भने प्रतिवादको हदैसम्मको  प्रयास गरेका थिए ।  तैपनि केही लागेन ।  उल्टै ऋषिले तैँले जन्मैदेखि अन्धो हुनुपरोस् भन्ने श्राप दिँदै गर्भिणी ममतामाथि थप गर्भसंस्कार गरिदिए ।  पछि ममताले डर र लाजको कारण सो गर्भस्थ शिशुलाई त्याग्न खोजेकी थिइन् तर वृहस्पतिले यो गर्भ मेरो औरस र भाइ उतथ्यको क्षेत्रज गरी दुवैको पुत्र (द्वाज) हो ।  त्यसैले यसलाई (भर) अर्थात् भरण पोषण गर भनेका थिए भने ममताले त्यसको प्रतिवाद गर्दै ‘हे वृहस्पति ! यो गर्भ मेरो पतिको होइन विशुद्ध तिम्रो र मेरो अर्थात् हामी दुईको हो, त्यसैले तिमीले नै यसको भरपोषण गर्नुपर्छ’ भनेकी थिइन् ।  यिनै कारणले सो बालकको नाम भरद्वाज रहेको हो ।  (श्रीमद्भागवत ९ ।  २० ।  ३८)
वृहस्पतिका छोरा भएकाले उनी वृहस्पति जत्तिकै विद्या र बुद्धिमा पारङ्गत थिए भने इन्द्रका शिष्य भएकाले इन्द्र जत्तिकै पराक्रमी पनि थिए ।  फलतः पछि चक्रवर्ती राजा भरतले त्यस्तै राजगुणोचित पात्रको खोजी गर्दै जाँदा उनकै वंशजलाई भेट्टाएर राजगद्दीमा राख्ने काम गरेका थिए ।  यस्ता वेद विद्या तथा विज्ञान र सबै शास्त्रका ज्ञाता महर्षि भरद्वाजका भौतिक शरीर त हामीमाझ छैन तर उनको कीर्ति पताका भने अहिले पनि उज्वल नक्षत्र बनेर चम्किरहेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना