आउन छाडे साइबेरियन चरा

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ,  पुस ४ गते ।  नेपालको मौसम अनुसार हेमन्त ऋतु सुरु भइसकेको छ ।  सूर्य उत्तरी ध्रुवबाट टाढिँदै जाने यो समयमा उत्तरी ध्रुवमा दिनको आधा समय उज्यालो र आधा समय अँध्यारो हुने बेला भयो ।  यस समयमा अधिकांश समय हिमपात अनि दिन छोटा हुने भएकाले उत्तरी ध्रुवको जनजीवन निकै शान्त र चराचर शून्यप्रायः हुनेगरेको छ ।  
यतिबेला उत्तरी ध्रुवमा बस्ने मानिस पनि न्यानो ठाउँ खोज्दै अन्यत्र सर्ने गर्छन् भने वन्यजन्तु, पक्षीसमेत सुरक्षित बासस्थानतर्फ लाग्ने गर्छन् ।  ती क्षेत्रमा पक्षी (जसलाई साइबेरियन चरा भन्ने गरिन्छ) दक्षिण एसियाली मुलुकहरूमा आउने गर्छन् ।  रुस, युरोप, मङ्गोलिया तथा चीनको उत्तरी क्षेत्रका पक्षी हप्तौँदिन उडेर नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान अदि देशका वन–जङ्गल, सीमसार क्षेत्र र घाँसे मैदानमा सुरक्षित बास खोज्ने गर्छन् ।  यस्ता चरालाई पाहुना चरा÷आगन्तुक चरा पनि भन्ने गरिन्छ ।  
हरेक वर्षको मनसुन सकिँदा नसकिँदै उत्तरी ध्रुवका चराले नेपाली भूमिलाई गन्तव्य बनाएर उडान गर्छन् ।  पक्षीविद् डा. हेमसागर बरालका अनुसार, हरेक वर्ष हिउँदमा १५० प्रजातिका पक्षी नेपाली आकाशमा विचरण गर्ने गर्छन् ।  siaberiean birds
गत वर्षसम्मको अध्ययनलाई आधार मान्ने हो भने हिउँदमा कम्तीमा ३० हजार पाहुना चराले नेपाली आकाशमा प्वाँख उमार्छन् र नेपाली धर्तीको चारा चर्ने गर्छन् ।  यस पटक मनसुनको समय झण्डै दुई हप्ता लम्बिएकाले साइबेरियन चराले उत्तरी ध्रुवबाट उडान भर्न सकेनन् ।  
पक्षीविद्का भनाइका मौसमको खराबीले यस पटक नेपालकै भूमिमा बच्चा कोरल्न भनेर छिट्टै उडान भर्ने केही प्रजातिका चराले मङ्गोलिया र चिनिया भूमिमा ‘फोर्स ल्यान्डिङ’ गरेर केही समय त्यतैतिर बिताउनुपर्दा यस पटक नेपाली भूमिमा बच्चा कोरल्ने अवसर पाएनन् ।  उत्तरी ध्रुवबाट एउटै उडान गरेर सीधै नेपाली भूमिमा आउने चराको सङ्ख्या यस पटक कम भएको छ ।  लगातार तीन÷चार दिन–रातको उडानको योजना बनाएका केही प्रजातिका चरा नेपाललगायतका दक्षिण एसियाली देशबाट मनसुन नहटेकाले दक्षिण–पूर्वी एसियाली भूमिमा उड्न बाध्य भएको पक्षीविद्को भनाइ छ ।
साइबेरियन चरा घुम्ने ठाउँ
विशेषगरी हिमाली क्षेत्रका तल्लो भेग, जहाँ बाक्लो हिउँ पर्दैन र हिउँ पूर्णरूपले पग्लँदैन, त्यस्ता क्षेत्रमा थोरै सङ्ख्यामा साइबेरियन चरा विचरण गर्छन् ।  अधिकांश पाहुना चरा भने नेपालका पहाडी र तराई क्षेत्रमा विचरण गर्छन् ।  
नेपालका रैथाने चराले नेपालको सबै भूभाग विचरण नगरेको हुनसक्ने भए पनि दुई÷तीन महिनाका लागि आउने यी चराले भने पूर्वदेखि पश्चिम नेपालका सबै क्षेत्रको आकाशमा आफ्ना प्वाँख उडाएर सबै भूगोलको चारो चाखेका हुन्छन् ।  
मङ्सिर, पुस महिनाको समय चराका लागि विचरण गर्न, आकाशमा उड्न निकै लोभलाग्दो मानिन्छ ।  तराईमा बाक्लो हुस्सु नलाग्ने र पहाडमा हावाहुरी नचल्ने र हिउँदे पानी पर्न सुरु हुनुभन्दा अघिको समयलाई साइबेरियन चराले निकै सदुपयोग गर्नेगरेको बताइन्छ ।  
यसपटक मनसुनको अवधि लामो भएकाले अक्टोबरको पहिलो सातासम्म आइपुग्ने चरा नेपाली आकाशमा प्रवेश गर्न नसके पनि पछिल्लो समयमा मौसममा आएको सुधारले झण्डै १५० प्रजातिका उत्तरी ध्रुवका चरा हाल नेपाली भूमिमा प्रवेश गरिसकेका छन् ।  यी चराले विशेषगरी तालतलैया, खोलानाला, घाँसेमैदान र वन–जङ्गलमा विचरण गर्नेगर्छन् ।  यस वर्ष ३० हजारभन्दा बढी पाहुना चरा नेपाली आकाश र भूमिमा विचरण गरिरहेको अनुमान गरिएको छ ।  हाल नेपालमा आउने कतिपय साइबेरियन चराले एकैदिनमा नेपालका सम्पूर्ण भूभागको यात्रा गर्नेगरेका छन् ।  तराईमा विचरण गर्न आउने चराले विशेषगरी कोशी टप्पु, चितवन, कपिलवस्तु, बर्दिया, घोडाघोडी ताल क्षेत्रमा बढी समय बिताउने गरेका छन् ।  पहाडमा रमाउने चराहरूले पोखरा, नारायणी नदीको छेउछाउ, रारा ताल क्षेत्रलाई बढी मनपराउने गरेको बताइन्छ ।  
ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक लङ्कबहादुर शाहीका अनुसार, पछिल्ला समयमा तालको संरक्षण कार्यमा स्थानीय समुदायलाई बढी परिचालन गरिएकाले तालको संरक्षणसँगै जलपक्षीको बासस्थानमा सुधार आएको छ ।  उहाँले भन्नुभयो, “जैविक विविधताका दृष्टिले निकै महìवपूर्ण रहेका तर पुरिन थालेका कतिपय तालतलैयालाई पुनर्जीवन दिने काम भएको छ, जलपक्षी, माछा तथा अन्य पानीमा आधारित जैविक विविधताको संरक्षणमा टेवा पुगिरहेको छ । ”
साइबेरियन चरा नेपाली आकाशमा घुम्न आउने समयमा तराईतिर खेतमा धान काटेको र गहुँ छरेको हुनेगरेकाले हुलका हुल चरा खेतमा झरेका धान र गहुँका टुसा चर्ने गर्छन् ।  बालीमा विषादिको प्रयोग हुने र जाल प्रयोग गरिनाले बथानमा उड्ने चरा बढी मात्रामा मारिने गरेका छन् ।
खोजी खोजी साइबेरियन चराको शिकार गर्ने, खेतमा विषादि प्रयोग गर्ने, ताल–तलैयामाथि जाल राख्नेलगायतका कामलाई निरुत्साहित गर्न नसक्दा चरा अवलोकनका लागि सबैभन्दा राम्रो मानिने कोशी टप्पुमा हाल साइबेरियन चराहरू आउन छाडेका सुनसरी जिल्लाको पश्चिम कुशाहाका चरा गाइड हरिश सिंह बताउनुहुन्छ ।  

सबै चराको रोजाइमा संरक्षित क्षेत्र
अशोककुमार राम
संरक्षण अधिकृत, पर्सा वन्यजन्तु आरक्ष
उत्तरी ध्रुवका चरा नेपाली भूमिमा आउनुभनेको नेपालको जैविक विविधता र संरक्षणका लागि ठूलो अवसर हो ।  कतिपय अध्ययन÷अनुसन्धानकर्ताका साथै पक्षीका पारखी यही मौका छोपेर नेपाल आउनेगरेका पनि छन् ।  तराईमा वन–जङ्गल घट्दो अवस्थामा रहेका र सिमसार क्षेत्रहरू विनाश हुँदै गएकाले नेपालका रैथाने चराका साथै हिउँदमा आउने साइबेरियन चरालाई समेत चुनौती थपिँदै गएका छन् ।  विशेषगरी संरक्षित क्षेत्रमा संरक्षणका क्रियाकलाप प्रभावकारीरूपमा सञ्चालन भइरहेकाले पक्षीमात्र नभई समग्र वन्यजन्तुको बासस्थान र आहारमा सुधार भइरहेको छ ।  हरेक चराले संरक्षित क्षेत्रलाई नै बढी रुचाउने गरेकाले संरक्षित क्षेत्रमा झुण्डका झुण्ड चराका बथान देख्न सकिन्छ ।  




बढी चुनौतीमा जलपक्षी
डा. हेमसागर बराल, पक्षीविद्
नेपालका सिमसार क्षेत्रहरूको बिग्रँदो अवस्थाले साइबेरियन चराको बासस्थान र आहारमा चुनौती थपिँदै आएको छ ।  सिमसार क्षेत्रहरूमा बारुद, विषादि, जाल थापेर माछा मार्ने, सिमसार क्षेत्र वरपरका गुँड लगाएर बस्ने चराको शिकार हुने प्रवृत्ति बढ्दै गएकाले जलपक्षीलाई ठूलो असुरक्षा (थ्रेट) छ ।  केही सामुदायिक वनको संरक्षण राम्रो हुँदै गएकाले वन–जङ्गलमा विचरण गर्ने चराका लागि राम्रो वातावरण भए पनि घाँसेमैदानमा चर्ने र घोल (गुँड) लगाउने प्रजातिका चराका लागि उत्तिकै चुनौती देखिन थालेका छन् ।  पछिल्लो समयमा जलवायु परिवर्तनको असर, नेपालका घाँसेमैदानमा वनमारा झारको प्रभावलगायतका कारणले कैयौँ प्रजातिका साइबेरियन चरा नेपाली भूमिमा विचरण गर्न छाडेर भारत, श्रीलङ्का र अरबका मुलुकका वन–जङ्गलमा जानेगरेका छन् ।  यसका लागि बासस्थान सुधार, जनचेतना अभिवृद्धिलगायतका विशेष कार्यक्रम सञ्चालन गर्नु जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना