त्रिविको इतिहास लेखिँदै


शेषकान्त पण्डित

काठमाडौँ, पुस ४ गते ।  स्थापनाको आधा दसकपछि त्रिभुवन विश्वविद्यालय आफ्नो आधिकारिक इतिहास लेख्ने अभियानमा जुटेको छ । नेपालको पहिलो विश्वविद्यालय भए पनि लिखित आधिकारिक इतिहास नभएको र यसबाट विश्वविद्यालय सञ्चालनमा केही असुविधा भएको महसुस गरिएपछि प्राध्यापक विश्वविद्यालयको इतिहास लेखनमा जुटेका हुन् ।  
विश्वविद्यालयले यसका लागि इतिहास केन्द्रीय विभागका प्रा. डा. भगेश्वर पङ्गेनीको संयोजकत्वमा एक समिति गठन गरेको छ र हाल उक्त समितिले इतिहासको खोजी सुरु गरेको छ ।  समितिका संयोजक पङ्गेनीले विश्वविद्यालयको इतिहास लोप हुने खतरा भएपछि त्यसको खोजी गर्ने कार्यमा आफूहरू जुटेको जानकारी दिनुभयो ।  उक्त समितिले विश्वविद्यालयको स्थापना र सञ्चालन, भौतिक संरचना, इतिहास लगायतका विषयमा खोजी गर्ने जिम्मेवारी पाएको छ ।  TU-Central-Office-Building-Kirtipur
जानकारका अनुसार त्रिविभन्दा अघि नेपालमा उच्च शैक्षिक संस्थाको स्थापना तथा सञ्चालन भइरहेको भए पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन ।  त्रिविको स्थापना गर्ने बहस २०१२ सालमा सुरु भए पनि विश्वविद्यालयको औपचारिक स्थापना २०१६ सालमा भएको थियो ।  विश्वविद्यालय स्थापना हुनुभन्दा अघि नेपालमा झण्डै दुई दर्जन क्याम्पस सञ्चालनमा थिए तर ती सबै भारतको पटना युनिभर्सिटीसँग आबद्ध थिए ।  
प्राध्यापकका अनुसार तत्कालीन अवस्थामा सञ्चालित दुई दर्जनभन्दा बढी कलेजलाई सम्बन्धन दिने र नयाँ विषयको औपचारिक पठनपाठन गर्ने मुख्य उद्देश्यले विश्वविद्यालयको स्थापना गरिएको हो ।  त्रिविको स्थापनापछि सञ्चालित दुई दर्जनभन्दा बढी कलेज भारतीय विश्वविद्यालयसँगको सम्बन्धन छोडेर त्रिविमा आबद्ध भएका थिए ।  
लिखित इतिहासको खोजीका क्रममा अध्ययन समितिका प्राध्यापकले हालै भारतको पटना युनिभर्सिटीबाट लिखित दस्तावेज सङ्कलन गरेको जानकारी संयोजक पङ्गेनीले दिनुभयो ।  यसबाहेक कोलकाता र बनारसका विश्वविद्यालयसँग पनि त्रिविका केही लिखित दस्तावेज हुन सक्ने भएकाले त्यसका लागि समेत प्रयास गरिने जानकारी प्राध्यापकले दिएका छन् ।  
“अनुसन्धानकर्ताले विश्वविद्यालयबारे केही लेखरचना र दस्तावेज लेखे पनि विश्वविद्यालयको आधिकारिक इतिहास बन्न सकेको थिएन, अब हामी त्यसको अभियानमा जुटेका छौँ,” समितिका संयोजक पङ्गेनीले बताउनुभयो ।
अध्ययन तथा नयाँ विषयको खोजी गर्नुपर्ने भएकाले विश्वविद्यालयको कार्यकारी परिषद्ले उक्त समितिको समयसीमा तोकेको छैन ।  सम्भव भएसम्म छिट्टै अध्ययन पूरा गर्ने अभियानमा छौँ, उहाँले बताउनुभयो ।  यसका लागि विश्वविद्यालयका पूर्व पदाधिकारी, विश्वविद्यालयको स्थापनामा सहभागी व्यक्तिसँग इतिहास सङ्कलन गरिने जानकारी दिइएको छ ।  
गत वर्षको विनाशकारी भूकम्पका कारण विश्वविद्यालयको केही भवनमा क्षति पुगेका कारण विश्वविद्यालयको इतिहास पाउन समस्या भएको संयोजक पङ्गेनीले बताउनुभयो ।  प्रा. पङ्गेनीको संयोजकत्वमा गठित सो समितिमा प्रा. केशव सुवेदी, प्रा. कर्णबहादुर बानियाँ, सहप्राध्यापक अङ्गतमणि गौतम र सदस्य सचिवमा विष्ण्ुाप्रसाद अर्याल रहनुभएको विश्वविद्यालयले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना