सन्की सोच र सिर्जनात्मक विचार

chandramani-adhikari-300x300डा.चन्द्रमणि अधिकारी

समाज बदल्ने सोचमा परिवर्तन आवश्यक हुन्छ ।  सोच प्रगतिशील  र परिवर्तनकारी भयो भने आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तन गर्न सकिन्छ ।  अनि त्यो सोच सामान्य जगत्को भन्दा फरक र असामान्य भए पनि त्यसको लक्ष्य र उद्देश्य भने समाजलाई परिवर्तन गर्ने किसिमको हुनुपर्छ ।  त्यस प्रकृतिको सोचबाट प्रस्फुटन हुने विचार पनि परिवर्तनकारी हुनु आवश्यक छ ।  अनि विचार र विज्ञानको संयुक्त प्रयासबाट संसारलाई बदल्न सकिन्छ भन्ने विगतका कतिपय घटनाले पुष्टि गरेका छन् ।  त्यसैले आजभोलि सामान्यभन्दा फरक ढङ्गले सोच्नु पर्छ भन्न थालिएको छ, जसलाई अङ्गे्रजीमा ‘थिंकिंग बियोन्ड द बक्स’ भनिन्छ ।  
हुन त सामान्यभन्दा फरक सोच्ने कुरा पनि पृथक्–पृथक् हुन सक्छ ।  एउटा बालकले सोच्ला– जङ्गलको बाघ वा घरमा पालिएको कुकुर किन विद्यालय जाँदैन तर आफू भने किन जानुपर्ने ? म पनि त चराजस्तै उड्न पाए हुन्थ्यो, घर अगाडिको घाम छेक्ने डाँडोलाई मुड्कीले हिर्काएर भत्काइदिन पाए हुन्थ्यो आदि ।  हामी पनि केटाकेटी हुँदा तराईबाट सोझै हिमाल पुग्ने रोपवे बनाउने कल्पना गर्दथ्यौंँ, सपनामा उडेर देश विदेश घुमेको देख्दथ्यौँं ।  त्यस्तैगरी एउटा मानसिक सन्तुलन गुमाएको व्यक्तिको सोचाइ र अभिव्यक्ति अन्य व्यक्तिभन्दा फरक हुन सक्छ तर त्यो कुरा उसले सोचेर सम्झेर गरेको हुँदैन ।  अनि उसको अभिव्यक्तिको ध्येय आर्थिक, सामाजिक वा राजनीतिक परिवर्तन गर्नु र समाज बदन्नु हुँदैन तर एउटा राजनीतिज्ञ, दार्शनिक, अर्थविद्, वैज्ञानिक र समाजसेवी आदि समाजका अगुवाको दर्शन एवं सोच र त्यो सोचबाट जन्मने दृष्टिकोण, विचार र योजना भने समाज र देशको परिवर्तनका लागि लक्षित हुन्छ ।  यद्यपि व्यवहारमा लैजाँदा ती विचारले समाजलाई दीगोरूपमा परिवर्तन नगर्न पनि सक्तछन्, कहिलेकाहीँ त प्रत्युत्पादक पनि हुन्छ ।  हुन त कतिपय अवस्थामा यस्ता सोचलाई सनकको उपज पनि भन्ने गरिन्छ ।  हिजो कुष्ठरोगको उपचार हुनसक्छ भन्दा बहुलठ्ठी सन्की कुरा भनेर उडाइन्थ्यो, आज त्यो सम्भव छ ।  
यस्ता व्यक्ति र उनीहरूको सोच र विचारलाई हिजोका दिनमा कसरी लिइयो भनेर उदाहरण खोज्दा ग्रिकका पाँचौं शताब्दीका प्रजातान्त्रिक राजनीतिक सिद्धान्तका प्रतिपादक दार्शनिक सुकरातलाई शासकहरूले पागलको संज्ञा दिंँदै उनले युवालाई बरालेको, मानिसलाई नास्तिकता तर्फ बढाएको र समाजलाई गलत दिशातर्फ लैजान खोजेको आरोपसमेत लगाएका थिए ।   सोह्राँैं शताब्दीका इटालियन वैज्ञानिक तथा खगोलविद् ग्यालेलियोलाई पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्दा अनर्थको कुरा गरेको भनेर जेल हालिएको थियो ।  चाणक्यलाई पनि कतिपय विद्वान्ले नै सन्की भन्थे ।  कार्लमाक्र्स, हिटलर, नेपोलियन, कोलम्बसलाई पनि बहुलठ्ठी र सन्कीको संज्ञा दिइएकै हो ।  अहिंसा तथा सत्याग्रहकै आधारमा अङ्ग्रेजलाई भारतबाट लखेट्न सकिन्छ भन्ने महात्मा गान्धीले पनि अपत्यारिलो नेतृत्वको आरोप खेपेकै हुन् ।  नेपालका सुविख्यात साहित्यकार तथा दार्शनिक महाकवि लक्ष्मीप्रसाद देवकोटालाई कतिपय लेखकले सन्की र पागलको संज्ञा दिए ।  त्यसको प्रत्युत्तरमा देवकोटाले पागल भन्ने कविता नै लेखे ।  आधुनिक विश्वमा पनि साविकको निरन्तरताभन्दा अलि फरक कुरा आउनासाथ एउटा नेताले अर्कोलाई पागल र सन्की भन्ने गरेका गरेका छन् ।  संयुक्तराज्य अमेरिकामा सन् २०१६ को नोभेम्बर महिनामा राष्ट्रपति पदका लागि भएको निर्वाचनका बखत केही दिनपछि पदमुक्त हुने वर्तमान राष्ट्रपति बाराक ओबामाले अहिले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्की, बौलाहा र विश्वकै लागि खतरा व्यक्ति भनेका थिए ।   
यस्ता अगुवाबाट विश्वमा धेरै कार्य भएका छन् जसको सम्बन्धमा असम्भव कार्य भनी टिप्पणी गरिन्थ्यो ।  चाहे अहिलेको सूचना प्रविधिको विकासको कुरा होस् अथवा मङ्गल ग्रहमा बस्ती बसाल्ने कुरा, समुद्र मुनिबाट रेल चलाउने कुरा होस् अथवा चालकरहित फाइटर विमान उडाउने कुरा होस्, यी सबै कुरा पहिले सुन्दा निकै अचम्म लाग्दा र बहुलठ्ठी बरबराहटजस्ता लागेका थिए ।  कुनैबेला समुद्रपार रहेको आफन्तसँग कुरा गर्नु त के चिठ्ठी पु¥याउन पनि हम्मेहम्मे पर्दथ्यो तर अहिले जीवन्त हाउभाउसहित छिनको छिनमै कुरा गर्न सकिन्छ, चित्र हेर्न सकिन्छ, दस्तावेज आदानप्रदान गर्न सकिन्छ, विवाह र अन्य कतिपय सामाजिक कार्य एवं सममेलनसमेत भिडियो संवादबाट गर्न सकिन्छ ।  फरक र नवीन सोच एवं त्यसअनुसारको विचार निर्माण र विज्ञान तथा प्रविधिको सहायता लिई त्यसको कार्यान्वयन गर्नाले नै यी कुराहरू सम्भव भएका हुन् ।  
    अहिले विश्वमा सूचना प्रविधिको क्षेत्रमा मात्र होइन मानिसको जीवनमा आमूल परिवर्तन ल्याउन सक्ने भौतिक परियोजना पनि निर्माण भएका छन् र हुनेवाला छन् ।  यस्ता कार्य र परियोजनाको निर्माण एवं विकास यातायात क्षेत्रका सडक, पुल, रेल तथा हवाईदेखि ऊर्जा उत्पादन, सिंँचाइ, नहर, व्यावसायिक टावर निर्माण, आवास व्यवस्था, स्वास्थ्य र शिक्षाका क्षेत्रमा समेत भएका छन्, हुँदै छन् र हुनेवाला छन् ।  यसका केही उदाहरण लिँदा बेलायत (इंग्लैण्ड) र फ्रान्स जोड्ने इङ्गलिश च्यानलमा समुद्र सतहबाट ७५ मिटर मुनी निर्माण गरिएको ५० किमि लामो रेलवे
(जुन १९९४बाट सञ्चालनमा आयो) तथा जापानको होन्सु र फोकाइदो टापु जोड्ने समुद्र सतहबाट २४० मिटरमुनि निर्माण गरिएको २३ किमि लामो रेलवे
(जुन १९८८ बाट सञ्चालनमा आयो) को निर्माणको कुरा चल्दा पनि मानिसले सहजै विश्वास गरेका थिएनन् ।  सन् २०१२ मा सम्पन्न उत्तर युरोपमा रसियादेखि जर्मनीसम्मको १२२२ किमिको ग्यासको पाइपलाइन, फ्रान्सबाट स्पेन जाँदा हुने पट्यारलाग्दो जाम घटाउन सन् १९९८ मा बनाइएको टान रिभर उपत्यकाको संसारकै अग्लो (३४३ मिटर) २४६० मिटर लम्बाइको केबुलबाट निर्मित मिलाउ भियाडक्ट नामक सडक पुल (जसले दुइवटा पठारलाई जोड्दछ), चीनको शांगदोंग प्रान्तको झन्डै २७ किलो मिटर लामो र ३५ मिटर चौंडाइ भएको चार वर्षमा सम्पन्न क्वान्दाहो हैवान सडकको पुल (जसको निर्माण समयामा दस हजारले रोजगारी पाएका थिए), १६३ तला भएको दुबईको ८२८ मिटर अग्लो बुर्ज खलिफा व्यावसायिक टावर, कोलोराडो नदीलाई मिलान वा डाइभर्सन गर्न बनाइएको अमेरिकाको  नेभादा र एरिजोना राज्यको सिमानामा पर्ने २२१ मिटर अग्लो तथा ३८० मिटर लम्बाइ भएको हुभर ड्यामको निर्माण (जसले २१ हजारलाई रोजगारी प्रदान गरेको थियो) आदि यस्ता कार्यका उदाहरण हुन भने राजनीतिक प्रणाली तथा शासन व्यवस्थालाई परिवर्तन गरेर साविक भन्दा फरक शासन व्यवस्था स्थापित गरेको उदाहरण हाम्रो सामु छन् ।  त्यस्तै नवीन सोचमा आधारित ठूला परियोजनाले अन्र्तसम्बन्धित उद्योगको समेत विकास र विस्तार गर्छ, तत्काललाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्छ र दीर्घकालका लागि विकासको आधार तयार गर्छ ।  यसको अर्थ हो सोचले नै नयाँ विचार दिन्छ र नयाँ विचारले नयांँ निर्माणको ढोका खोल्छ ।  नयांँ शिराबाट विचार नै नगर्ने हो भने नवीनता प्राप्त हुँदैन, नवीनता विना परिवर्तन पनि सम्भव छैन ।   
त्यसैकारण नेपालमा पनि नितान्त नयाँ दर्शन, सोच र विचारको सिर्जना र तिनलाई आर्थिक सामाजिक पक्षसँग परख तथा विज्ञान एवं प्रविधिसँंगको मिलानको आवश्यकता छ ।  यसमा एकैचोटि चार पाँच लाख मानिसलाई काम दिने बृहत योजनाहरूको थालनी, नेपालबाट १५–२० घण्टामा सिमाना काट्ने पानीलाई डाइभर्सन वा मिलान संरचना तथा उत्पादन केन्द्रको निर्माणद्वारा दुई महिनासम्म नेपालमा अलमल्याउने आधारको खोजी, काठमाडौँका हालको बस्तीलाई पूरै ध्वस्त गरेर नवनिर्माण गर्ने, कतिपय पहाडलाई पूरा सम्याएर बस्ती बसाल्ने र कतिपय अवस्थामा महाभारत र हिमाल शृङ्खलाबीचका एक डाँडाबाट अर्को डाँडामा जानसक्ने संरचना निर्माण गर्ने, हिमालमुनी सुरुङ बनाएर चीनतर्फबाट विश्व बजारसम्मको पहुँचलाई सहज बनाउने, अनावश्यक मूल्यवृद्धिको समुचित व्यवस्थापन गर्न उत्पादनकर्ता वा आयातकर्ता र उपभोक्ताः एवं ग्राहकको बीचमा एकभन्दा बढी एजेन्ट वा मुनाफा लिने वर्ग वा व्यक्ति वा संस्था नरहने संस्थागत बजार संरचनाको निर्माण गर्ने, कर्मचारीतन्त्रको निर्माण शून्यबाट गरी अहिलेको माथिल्लो तहलाई पूरै बिदा गर्ने जस्ता कुरालाई लिन सकिन्छ ।  यस्ता विचार ल्याएर समुचित परीक्षण नगर्दा हालको नेतृत्व ठिङ्गुरिन थालेको त होइन ? भन्ने प्रश्न गर्न थालिएको छ ।  त्यसैले म भन्छु कल्पना र परिकल्पना गर्नु पर्छ, परिकल्पित सोच र विचारलाई आर्थिक–सामाजिक तथा राजनीतिक पक्षसँग परख गर्नुपर्छ ।  यी कुरासँगको परखपछि विचारलाई योजना र परियोजनामा रूपान्तरण गरी त्यसको सामन्जस्य विज्ञान र प्रविधिसँग मिलाइ कार्यान्वयनमा लैजान सके त्यसबाट अपेक्षित नतिजा निस्कन्छ ।  यदि यी पक्षसँग परख र सामान्जस्य गर्दा ति विचार व्यावहारिक र कार्यान्वयन योग्य देखिएनन् भने तिनलाई विचार सूचीबाट बाहि¥याउनु पर्छ ।  अन्यथा जनताले त्यसलाई हावादारी र सन्की सोचको कोटीमा राख्छन्, जसले सोचकर्ताको ओजलाई अवमूल्यन गर्छ ।  परख भएका विचारलाई कार्यान्वयनमा लैजान सक्दा समाज सामाजिक तथा राजनीतिक दृष्टिले सकारात्मक दिशातर्फ अगाडि बढ्छ ।  त्यसैले विचार प्रारम्भमा हेर्दा सन्की नै देखिए पनि विचार बनाउन छोड्नु हुंँदैन ।  









थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना