हिमपात र शीतलहरले जनजीवन प्रभावित

काठमाडौँ, पुस ६ गते ।  पुस महिना लाग्दानलाग्दै हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमा शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको छ ।  हिमाली क्षेत्रमा हिमपात  सुरु भइसकेकाले पदयात्राका लागि योजना नबनाउन र पदयात्रा छोट्याई सुरक्षित स्थानतिर आउन विज्ञले सुझाव दिएका छन् ।
तराई र तराईसँग जोडिएका भित्री मधेसका जिल्लामा लामो शीतलहर चल्नसक्ने भएकाले मानव स्वास्थ्यमा प्रतिकूलता पर्नसक्नेतर्फ सचेत हुन पनि सबैलाई विज्ञले सुझाव दिएका छन् ।  
डिसेम्बरको दोस्रो हप्तादेखि नेपाललगायत भारत, भुटान, पाकिस्तान, म्यानमार, बङ्गलादेश लगायतका दक्षिण एसियाली मुलुकमा लामो शीतलहर चल्ने गर्छ ।  डिसेम्बर १० देखि नेपालका पश्चिम तराईमा शीतलहर चल्न सुरु भएको र डिसेम्बर १५ सम्ममा पूर्वी नेपालमा समेत शीतलहर चलेको जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  
गत हप्तादेखि सुरु भएको शीतलहरले तराईको जनजीवन निकै प्रभावित बनाएको छ ।  पहाडी क्षेत्रमा बाहेक तराईका प्रमुख सहरको हवाई सेवासमेत अवरुद्ध भएको महाशाखाले बताएको छ ।  गत आइतबारबाट तराईमा दिउँसो घाम झुल्किए पनि पुनः शीतलहर चल्नसक्ने सम्भावना रहेकाले बालक, वृद्धवृद्धाको स्वास्थ्यमा असर पर्नसक्नेतर्फ सचेत रहन आग्रह गरिएको छ ।  
डा. मदन ज्ञवाली चिसोले आममानिसलाई असर पार्ने भए पनि विशेष गरेर बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा निकै असर पर्ने हुँदा बालबालिका र वृद्धवृद्धाले खानपानमा ख्याल गर्नुपर्ने, बाक्लो लुगाकपडा लगाउनुपर्ने र खुला चउर वा स्थानमा धेरै बेर बस्न नहुने सुझाव दिनुहुन्छ ।  
डिसेम्बरको तेस्रो साता लाग्दासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियसभन्दा ओरालो लाग्दै गएको छ भने दिपायल, सुर्खेत, धनकुटा, इलाम लगायतका क्षेत्रमा पाँच डिग्रीभन्दा पनि तल झरिसकेको विभागले जनाएको छ ।  त्यसैगरी जुम्ला, बझाङ, सोलुखुम्बु, ताप्लेजुङ, मनाङ, मुस्ताङ लगायतका उच्च हिमाली क्षेत्रमा तापक्रम घटेर ऋणात्मक (माइनस)मा झरिसकेको छ ।  
उच्च हिमाली क्षेत्रमा हिमपात हुन सुरु भइसकेको छ भने माथिल्लो क्षेत्रका बस्ती तल बेसीतिर झरिसकेका छन् ।  जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार एक÷दुई दिन तराई क्षेत्रमा दिउँसो घाम लाग्न थाले पनि पुनः लामो समयसम्म शीतलहर चल्नसक्ने भएकाले मानव स्वास्थ्य र हिउँदे तरकारी बालीमा प्रत्यक्ष असर पर्नसक्ने देखिएको छ ।  
उहाँले भन्नुभयो, “अक्सर गरेर डिसेम्बर १५ बाट सुरु भएको शीतलहर एक महिनासम्म चल्ने प्रवृत्ति देखिएको छ ।  अहिल्यै काठमाडौँ उपत्यका लगायतका पहाडी तथा हिमाली क्षेत्रमा चिसो अत्यधिक बढिसकेको छ ।  तराईमा शीतलहर चल्दा त्यसको प्रत्यक्ष असर जनजीवनमा पर्छ ।  त्यसैले चिसोबाट बच्ने उपाय गर्नु जरुरी छ । ” Shitlahar
स्वास्थ्य विभागका अनुसार तराईमा चिसोले उत्पन्न हुने रोगका कारण स्वास्थ्य संस्थामा आउने बिरामीको चाप बढ्न थालेको छ ।
यसैबीच गृह मन्त्रालयले शीतलहर तथा चिसोबाट प्रभावित परिवारको उद्धार तथा पुनस्र्थापनाका लागि सम्बन्धित मन्त्रालय, विभागहरू, जिल्ला दैवीप्रकोप उद्धार समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायहरू र विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूसँग समन्वय गरी तयारीमा बस्न निर्देशन दिएको जनाएको हो ।  
गृह प्रवक्ता बालकृष्ण पन्थीका अनुसार शीतलहरको प्रभावबाट सर्वसाधारणलाई सुरक्षित राख्न जिल्ला दैवीप्रकोप उद्धार समितिलाई विपद् व्यवस्थापनका लागि जिल्लामा क्रियाशील सबै सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूलाई सहभागी गराई पूर्व आकलन तथा तयारी अवस्थामा बस्न निर्देशन दिएको छ ।
त्यस्तै चिसोबाट प्रभावित हुनसक्ने भूकम्प प्रभावित जिल्लाका अस्थायी शिविर तथा त्रिपालमुनि बसेका बालबालिका, वृद्धालगायतको उचित व्यवस्थापनका लागि उद्धारकार्यमा अगुवा सहयोगी संस्था (डिएलसा) को समन्वयमा दाउरा, कम्बल र तातो खाले लुगाकपडा लगायतका सामग्रीको प्रबन्ध मिलाइएको जनाएको छ ।  
तराईका विशेष गरी दुर्गम तथा ग्रामीण बस्तीहरूमा स्थानीय निकायसँगको समन्वयमा दाउरा र कम्बल वितरण गर्न मन्त्रालयले निर्देशन दिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना