परिपक्व बन्दै सेयर बजार

sarojसरोज अधिकारी


नेपाली सेयर बजार हाल आएर परिपक्व बन्दै सन्तुलित ढङ्गले अघि बढ्न थालेको छ ।  अघिल्लो वर्ष यसै समयमा एक हजार एक सयको हाराहारीमा रहेको नेप्से केही महिना अघि एक हजार ८८१ को बिन्दु छोएर हाल एक हजार पाँच ५१५ को बिन्दु नजिक पुगेको छ ।  नेप्सेमा झण्डै आठ सय अङ्कको वृद्धिलाई सहज लिएका लगानीकर्ताहरू बजारमा केही करेक्सन देख्नेबित्तिकै अत्तालिनु उचित थिएन र होइन पनि ।  बजारको आफ्नै चक्र हुन्छ अनि बजार आफ्नै ढङ्गबाट स्वतन्त्र रूपमा खरिदको चाप र आपूर्तिको मात्र अनुसार स्वतन्त्र चल्न दिनु उपयुक्त हुन्छ ।  
बजारमा केही करेक्सन आउने क्रम देखिएको अवस्थामा नै नेपाली सेयर बजारका बारेमा अर्थमन्त्री, नेप्से, धितोपत्र बोर्ड र विभिन्न लगानीकर्ताको हितमा खुलेका सङ्घ संस्थाहरूले वक्तव्यबाजी गर्ने कुरा सही र बजारको सन्तुलित विकासका लागि ठीक कुरो होइन ।  २० खर्बको हाराहारीमा पुगेको बजार पुँजीकरण हाल १७ खर्बको नजिक रहेको छ भने दैनिक कारोबार पनि ५० करोडभन्दा माथि रहेको अवस्था कायमै छ ।  अहिले एक वर्ष अघिमात्र बजार छिरेर लगानी गरेका लगानीकर्ताहरूले पनि गुमाएको अवस्था छैन ।  नेप्से एक हजार आठ सयभन्दा माथि भएको अवस्थामा सेयर खरिद गरेका लगानीकर्ताले मात्र केही गुमाएको स्थिति हो तर उनीहरूले पनि धैर्यका साथ केही समय कुर्नासाथ बोनस सेयर, हकप्रद, लाभांश आदि पाउने हुनाले घाटा खानुपर्ने अवस्थाको अन्त्य हुने निश्चित छ ।  उचित प्रतिफल दिन नसक्ने संस्थाहरूको उच्च मूल्य तिरेर विना विश्लेषण गरिएको लगानीलाई भने हाल समस्या परेको अवस्य पनि छ ।  सेयर बजार भनेको सधैँ बढ्ने बजार होइन अनि सधैँ नाफा हुने बजार पनि होइन भन्ने कुराको हेक्का राखेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।  सेयर बजारमा लगानीकर्ताले हेर्ने मुख्य कुरा भनेको नै आफूले लगानी गर्ने कुनै पनि सस्थाले भविष्यमा कस्तो प्रतिफल दिनसक्छ भन्ने कुरा हो ।  
नेप्से एक हजार आठ सयभन्दा माथि हुँदाको अवस्थामा कम प्रतिफल दिने हैसियत राखेका कतिपय कम्पनीहरूको बजारमूल्य एकाएक आकाशिएको अवस्थाबाट त्यस्ता कम्पनीहरूको बजारमूल्यमा हाल करेक्सन ठूलै मात्रामा आएको छ ।  त्यस्ता कम्पनीहरूको बजारमूल्य सही ठाउँमा आएको अवस्था छे ।  राम्रो प्रतिफल दिनसक्ने बैङ्क तथा वित्तीय संस्थाहरूको सेयरको बजारमूल्यमा खासै ठूलो गिरावट आएको होइन ।  कम प्रतिफल दिने खालको सेयरको बजारमूल्य आकाशिएर सुन्निएका सेयरहरूको मूल्यमा करेक्सन आएको छ ।  जसले बजार अझ परिपक्व ढङ्गले अघि बढेको छ ।  
आगामी दिनमा बजार सुधारका लागि नियमनकारी निकायले ल्याउने तयारीमा लागेको विविध कार्यक्रम छिट्टै आएको अवस्थामा बजार ओरालो लाग्नेक्रममा केही ब्रेक लाग्ने आशा गर्न सकिन्छ ।  हालको बजारको अवस्था भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा नै रहेको जस्तो देखिन्छ ।  नेप्सेको कारोबार र उतारचढावलाई हेर्ने हो भने अहिले सेयरको बजारको गाडी न अगाडि बढेको देखिन्छ न त पछाडि नै गएको छ ।  मानौँ सेयरको गाडीको गियर फसेको छ ।  नेपालमा मात्र होइन विश्वको कुनै पनि सेयर बजारमा कारोबार हुने भनेकै डराउने र नाफा बुक गर्नेले बेच्ने हो अनि भविष्यमा राम्रो प्रतिफल पाउने सम्भावना देख्नेले खरिद गर्ने हो ।  तसर्थ अबको नेपाली सेयर बजार कुन दिशातर्फ जान्छ भन्ने कुरामा बहश गर्नेभन्दा पनि बजारमा लगानीका लागि उपयुक्त सेयर कुन छ भनेर चनाखो भई लगानी गर्ने नै हो अनि नाफा भएको सेयर माया गरेर राख्ने होइन, आफूलाई भविष्यमा राम्रो प्रतिफलको सम्भावना नभएका सेयर बेच्ने नै हो ।  
सेयर बजार सुधारका लागि सरकार र नियमनकारी निकायले ल्याउने तयारी गरेको अनलाइन टे«ेडिङ, गैरआवासीय नेपाललाई नेपाली बजारमा लगानी गराउने र नियमसंगत ढङ्गले नाफा लैजान पाउने अवस्थाको सिर्जना, मोफसलबाट कारोबार गराएर लगानीकर्ता वृद्धि गर्ने कार्य जसमा बैङ्कहरूलाई लाइसेन्स दिने हो वा वर्तमान दलाल कम्पनीहरूको शाखा विस्तारमा कडाइ गर्ने हो, तत्काल गर्नुपर्ने देखिन्छ ।  त्यसैगरी लगानीकर्ता परिचयपत्र दिने कार्य छिट्टै लागू गर्न जरुरी छ भने सेयर राफसाफ सजिलो बनाउनका लागि दुई नयाँ बैङ्क थप्ने काम तत्काल गर्नुपर्ने देखिन्छ ।  बाफियाअन्तर्गत संस्थापक सेयर साधारण सेयरमा परिणत गर्ने कुरा बजारलाई नकारात्मक असर नपार्ने गरी ल्याउने प्रत्याभूति दिलाउने खालको नीति नियम बन्नुपर्छ ।  सेयर बजारमा लामो समयसम्म लगानी गर्ने लगानीकर्ताका लागि पुँजीगत लाभकरको छुटको व्यवस्था गर्ने कुरा पनि चर्चामा आएको हो त्यसमा सम्बन्धित निकायले तत्कालै नीति ल्याउनुपर्ने देखिन्छ ।  त्यसले लामो समयसम्म सेयर होल्ड गरिराख्न लगानीकर्तालाई प्रोत्साहन मिल्नेछ जसले बजारमा सेयरको आपूर्ति कम गर्न मद्दत पुग्ने देखिन्छ ।  
 अन्त्यमा
नेप्सेमा बैङ्क तथा वित्तीय सस्थाहरूकै वर्चस्व कायम रहेको वर्तमान परिवेसमा राष्ट्र बैङ्कको पुँजी वृद्धिसम्बन्धी नीति कार्यान्वयन गर्ने सिलसिलामा हकप्रद सेयर, बोनस सेयर र एफपीओ आदिको बाढी नै आउने निश्चित छ ।  त्यसले बजार घटाउन मद्दत गर्न सक्छ ।  राजनीतिक अस्थिरता, बजारमा देखिएको पुँजीको तरलताको अभावका कारण निक्षेपको व्याजदरमा वृद्धि पनि बजार ओरालो लाग्ने प्रमुख कारणहरू बन्न सक्छन् ।  त्यस्तो अवस्थाबाट पार पाउने उपायको रूपमा नेप्सेले गैरआवासीय नेपाली तथा विदेशी लगानी भिœयाउने अनि मोफसलबाट कारोबार गराउने र लामो समयसम्म सेयर होल्ड गर्नेका लागि पुँजीगत लाभकरमा दिने राहत जस्ता कार्यक्रमहरू लागू गर्न अब ढिलाइ गर्नुहुन्न ।  सरकारले बजारमा देखिएको तरलताको सहज गर्न विकास निर्माणका कार्यलाई तीव्रता दिँदै आर्थिक क्रियाकलाप बढाउने अवस्था पनि सेयर बजारको हितमा हुन सक्छ ।  नेप्सेमा हाल देखिएको करेक्सनले बजार वियरिस ट्रेन्डतर्फ गयो कि ? भन्ने कुरासँग सहमत हुने आधारह निकै कम छन् ।  सेयर बजारमा छिरेका नयाँ लगानीकर्ताले पनि बजारलाई निकै तलको बिन्दुसम्म आउन जोगाउने नै देखिन्छ । तर नियमनकारी निकायले बजार सुधारका लागि हालसम्म गरेका कार्य सराहनीय भए तपनि ल्याउन लागेको नयाँ कार्यक्रम भने छिटो लागू गर्न सबैको पहल हुनु जरुरी छ ।  त्यसले नेपाली सेयर बजारलाई आगामी दिनमा राम्रो अवस्थामा पु¥याउने निश्चित छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना