आलोचनात्मक दृष्टिमा सञ्चार माध्यम

rajendra kiratiराजेन्द्र किराती




विज्ञान र प्रविधिको अभूतपूर्व विकाससँगै सूचना तथा सञ्चार जगत्मा कायाकल्प भएको छ ।  सञ्चार माध्यम सिङ्गो मानव समाजको अभिन्न पक्ष बनेको छ ।  छिटो, सहज र व्यावहारिक ढङ्गले आम मानव समाजलाई सञ्चार गर्ने माध्यम नै मिडिया हो ।  हरेक वर्ग, समुदाय र क्षेत्रका मानिसहरूको दैनिक तथा दीर्घकालीन क्रियाकलाप अभिलेखीकरण गर्ने साधन नै सञ्चार माध्यम हो ।  आज कुनै मुलुक, समुदाय, दल, संस्था, समूह र व्यक्ति सञ्चार माध्यमको उपयोग विना सफल हुन सक्दैन ।  सफलताको आधारभूत कडी नै सञ्चार माध्यम बन्दै गइरहेको छ ।  यसको सार्वभौमिकता, उपदेयता र सान्दर्भिकता ऐच्छिक नभई अनिवार्य भएको छ ।  २१औँ शताब्दीको सञ्चार माध्यमको वास्तविकता यही हो ।  
इतिहासलाई नियाल्दा तात्कालीन शासकहरूले सञ्चार माध्यमलाई शासनसत्ता रक्षाको साधन बनाएको देखिन्छ ।  उनीहरूले अन्याय र विभेदपूर्ण शासनलाई बचाउ गर्न सञ्चार माध्यमको भरपूर उपयोग गरे ।  आफ्नो गुणगान र महिमामण्डनका लागि सिङ्गो सञ्चार माध्यमलाई नियन्त्रणमा राख्थे ।  जनस्तरमा सञ्चार माध्यमको पहुँच थिएन ।  सामन्तवादको अन्त्यसँगै पुँजीवादी प्रजातन्त्रको स्थापना भएपछि सामन्ती राजतन्त्र वा कुलिनतन्त्रमा निहित निरपेक्ष शासकीय शक्ति केही सम्भ्रान्त र पढेलेखेका जनताको पहुँचसम्म विस्तार भयो ।  यही बिन्दुबाट निजी क्षेत्रमा सञ्चार माध्यम आरम्भ भयो ।  
आज सञ्चार प्रविधिको नाटकीय विकास र उपयोग भइरहेको छ ।  निजी सञ्चार माध्यमहरू च्याउसरी उम्रिएका छन् ।  नेपालकै सन्दर्भमा सामन्ती पञ्चायती शासनमा सरकारी सञ्चार माध्यमको एकाधिकार थियो ।  बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि जनस्तरमा धेरै सञ्चार माध्यम खोलिए ।  यता लोकतान्त्रिक गणतन्त्र स्थापनापछि त झनै छापा तथा विद्युतीय सञ्चार माध्यम खोल्ने उभार नै चलेको छ ।  अर्को शब्दमा भन्ने हो भने सञ्चार माध्यम क्षेत्रमा अभूतपूर्व क्रान्ति भएको छ ।  हाल नेपालमा झण्डै आठ हजार पत्रपत्रिका, सात सय रेडियो, ९६ वटा टिभी र दर्जनौँ अनलाइन सञ्चार माध्यमले इजाजत लिइसकेका छन् ।  सङ्ख्यात्मक रूपमा सञ्चार माध्यमको यो तथ्याङ्क अत्यधिक हो ।  यसले नीतिगत, व्यवस्थापकीय र प्राविधिक समस्या बढाएको छ, निकै जटिल चुनौतीका अग्ला पहाड उभ्याइदिएको छ ।
नियमतः वस्तुको सङ्ख्यात्मक विकासको पराकाष्ठा नै गुणात्मक फड्को मार्ने मोड हुन्छ ।  सङ्ख्यात्मक विकासको चरम अवस्था नै गुणात्मक परिणामको आधारशीला हो ।  यो सङ्ख्यालाई गुणमा बदल्ने आधारबिन्दु हो ।  त्यसैले आज नेपाली सञ्चार माध्यमको गुणात्मक विकासमा स्टेकहोल्डरहरूले सामूहिक तथा संस्थागत ध्यान दिन जरुरी छ ।  समाज रूपान्तरणमा सञ्चार माध्यमको औचित्य र महŒव यसको गुणात्मक विकासमा निर्भर हुन्छ ।  यसलाई गुणात्मक रूपान्तरण गर्न सकिएन भने यो अराजक, विवेकशून्य, अनुशासनहीन, अवस्तुवादी र अव्यावहारिक बन्छ ।  त्यतिमात्र नभई आफ्नो नीतिशास्त्रीय मूल्यमान्यताबाट गिरेर केवल नाफाको व्यापार, राजनीतिक तथा भावनात्मक ब्ल्याकमेलिङ गर्ने माध्यम बन्दछ, जुन सञ्चार माध्यमको आदर्श होइन ।  त्यसैले सङ्ख्यात्मक अङ्कगणितलाई नीतिगत व्यवस्थापन र अनुगमनमार्फत गुणमा बदल्न जरुरी छ ।
कुनै वस्तुको सङ्ख्यात्मक विकास र विस्तार हुनु नै चुनौती र जटिलता थपिनु हो ।  नियामक संस्थाको सही नीति र विधिद्वारा नियन्त्रण र निर्देशन नभए अराजकता र अव्यवस्थातर्फ धकेलिने खतरा हुन्छ ।  राजनीतिक परिवर्तनसँगै विशेष गरेर तेस्रो विश्वका मुलुकमा सञ्चार माध्यमको आकार विस्तार भएसँगै अराजकता र अनुशासनहीनताको आयतन पनि बढिरहेको छ ।  वर्तमान लोकतान्त्रिक शासन व्यवस्था अन्तर्गत नाफामुखी एकाधिकार पुँजीवादको वर्चस्व रहेको छ ।  यसले विश्वव्यापीकरण, उदारीकरण तथा निजीकरणमा आधारित एकाधिकार आर्थिक नीतिको वकालत गर्छ, निजित्व र नाफाको पक्षपोषण गर्छ ।  यसमा राजनीतिक, आर्थिक, सामरिक, सामाजिक, सांस्कृतिक, धार्मिक, दलगत, क्षेत्रगत, समूहगत र व्यक्तिगत निहित स्वार्थहरू टकराउँछन् ।  यस्तो धरातलमा स्वतन्त्र र आदर्श बोकेको वस्तु वा संस्था पाउन असाध्यै कठिन हुन्छ ।
आजको विश्व एकाधिकार पुँजीवादी साम्राज्यको राज्यरूप हो ।  नाफामुखी एकाधिकार पुँजीवादी अर्थतन्त्र हो ।  सैन्य हस्तक्षेपको सामरिक नीति हो ।  उपभोक्तावादी सांस्कृतिक साम्राज्यको संस्कृति हो ।  यस्तो परिवेशमा जुनसुकै वस्तु वा संस्थाले सार्वभौम रूपमा वर्गपक्षधरता र स्वार्थ बोकेको हुन्छ ।  उपभोक्तावादी सांस्कृतिक धरातलमा कुनै वस्तु वा संस्थालाई आफ्नो आदर्शमा रहनु कठिन हुन्छ ।  यही परिवेशमा पत्रकारिता क्षेत्र पनि उपभोक्तावादी संस्कृतिबाट टाढा छैन ।  मीठो खाइहाल्ने, राम्रो लाइहाल्ने, गुडी जाने, उडी जाने, रमिते डाँडाबाट रमितापान गरिहाल्ने, धनी बनिहाल्ने, नाफा कमाइहाल्ने, मोजमस्तीमा रमिहाल्ने, अनि भोगविलाश गरिहाल्ने उपभोक्तावादी संस्कृतिबाट सञ्चार माध्यम पनि अछूतो छैन ।  उपभोक्तावादी सांस्कृतिक रसायनले सञ्चार माध्यमको आदर्श, मूल्य, अनुशासन र नीतिशास्त्रलाई जोड्न सक्दैन ।  यो सैद्धान्तिक आदर्श विपरीत प्रवृत्ति हो ।  
अर्थात् सञ्चार माध्यममा पनि उपभोक्तावाद हावी हुँदैछ ।  सकारात्मकता, सिर्जनशीलता र वस्तुवादिताको स्थिति रक्षात्मक छ ।  निरपेक्ष नकरात्मकताको बोलवाला छ ।  उपभोक्तावादी संस्कृतिले सिर्जनशील, सहयोगी, व्यावहारिक, वस्तुवादी र कर्मशील बन्न प्रेरित गर्दैन ।  आलोचनात्मक आलोचना र समर्थन नभई निरपेक्ष आलोचना, समर्थन र प्रतिशोधको नीति अपनाइन्छ ।  आपूmले सिन्को नभाँच्ने, अरूले गरेको नदेख्ने तर निहित स्वार्थका लागि अरूमा आशावादी भइरहने लम्पट प्रवृत्ति नै उपभोक्तावाद हो ।  यसले सम्पूर्ण मानव संस्कृतिलाई जस्तै सञ्चार माध्यमलाई पनि प्रदूषित बनाउने खतरा छ ।  उपभोक्तावादी परिवेश, प्रवृत्ति र स्रोतामैत्री बन्नका लागि सञ्चार माध्यममा नकारात्मक घटना प्रवृत्तिले प्रधानता पाउँदै गएको छ ।  नराम्रो घटनाको सनसनीमा ब्ल्याकमेलिङ गर्ने संस्कृति बढेको छ ।  यसमा परिवेशलाई ढाकछोप गर्दै सारभन्दा रूपमा ध्यान दिइन्छ ।  उदाहरणस्वरूप युवतीले आत्महत्या गरेको घटना उजागर गरिन्छ तर आत्महत्या गर्नुपर्ने सामाजिक विवशताको निर्मम परिवेशलाई ओझेलमा पारिन्छ ।  यसले बजार वा उपभोक्ता केन्द्रित सनसनीपूर्ण सामग्रीलाई प्राथमिकतामा राख्छ, जुन प्रगतिशील पत्रकारिताभित्र पर्दैन ।
यही गलत संस्कृतिका कारण सञ्चार माध्यमप्रति नकारात्मक धारणा बढिरहेको छ ।  यहाँसम्म कि सञ्चार माध्यमले त लेखिहाल्छ, बोलिहाल्छ, अनि विरोध गरिहाल्छ भन्ने गलत बुझाइ छ ।  यो सञ्चार माध्यमका लागि दुर्भाग्य र विडम्बनाको विषय हो ।  सञ्चार माध्यमप्रतिको नकारात्मक धारणालाई सकारात्मक र सिर्जनशीलतामा बदल्नका लागि गलत प्रवृत्तिलाई सचेत, विवेकशील, अनुशासित र जिम्मेवार ढङ्गले सच्याउनुपर्छ ।  समाज रूपान्तरणको हिस्सेदार एवं विभेद र अन्यायविरुद्धको पहरेदार बन्नुपर्छ ।  आवाजविहीनहरूको आवाज र शोषित उत्पीडितहरूको सारथि हुनुपर्छ ।  निहित स्वार्थमा आधारित उपभोक्तावादी ब्ल्याकमेलिङ र प्रतिशोधको मनोविज्ञानलाई हटाउनुपर्छ ।  अनि मात्र सञ्चार माध्यमप्रति स्वतस्फूर्त सकारात्मक धारणा बन्दै जानेछ ।  
तसर्थ वर्तमान सञ्चार माध्यमको सङ्ख्यात्मक अङ्कगणितलाई गुणात्मक परिणाममा बदल्नु पहिलो कार्यभार हो ।  सञ्चार माध्यममैत्री संरचना बनाई नीति र विधिमार्फत नियामक निकायको प्रत्यक्ष निगरानी, नियन्त्रण र अनुगमनबीचबाट सञ्चार माध्यमलाई आलोचनात्मक समर्थन, गतिशील, सिर्जनशील र वस्तुवादी बनाई समाज रूपान्तरणमा सक्रिय गराउनुपर्छ ।  अन्यथा यो प्रतिशोध साँध्ने भाँडो, ठगी व्यापार र ‘इमोसनल ब्ल्याकमेलिङ’ को साधन मात्र बन्नेछ ।  यस्ता सवाल सञ्चार माध्यमका लागि राम्रो होइन ।  सञ्चार माध्यमको दुरूपयोगले आम रूपमा बढिरहेको नकारात्मक प्रवृत्तिलाई मलजल पुग्छ ।  त्यसैले सकारात्मक र सिर्जनशील सञ्चार संस्कृतिमा जोड दिन जरुरी छ ।  यस्तो सञ्चार माध्यमले मात्र राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा पथप्रदर्शकको भूमिका निर्वाह गर्न सक्नेछ ।  बेथिति र विकृतिमा थिति र सुकृति स्थापित गर्नेछ ।  आजको आवश्यकता सकारात्मक, सिर्जनशील र आलोचनात्मक सञ्चार संस्कृतिको संस्थागत र गुणात्मक विकास गर्नु हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना