अन्त्यहीन अन्योलमा राष्ट्र

 puskar mathemaपुष्कर माथेमा

 

बिहान भइसकेको छ तर बाक्लो कुहिरो फाटेको छैन ।  यो बिहानीका लागि नेपालले लामो कठिन रात कटाएको थियो ।  कुहिरोले छोपेको बिहानीको उज्यालोमा नेपाल पाइला चाल्दैछ ।  कुहिरोमा बाटो स्पष्ट नदेखिनु स्वाभाविक हो तर कुहिरोमै मज्जा लिनुलाई भने स्वाभाविक मान्न सकिँदैन ।  समृद्धिको गन्तव्यमा पुग्नका लागि कुन गोरेटोसँग जोडिने भन्ने अन्योलमा अलमलिरहेको छ नेपाल ।  अन्योलको कुहिरो चिर्नुको अर्काे विकल्प छैन ।  विगतका अल्मलाइका कारण नेपालले महँगो मूल्य चुकाइसकेको छ र अब थप मूल्यको भार थेग्न सक्ने अवस्थामा नेपाल छैन ।   
लोकतान्त्रिक वातावरणमा अन्योल चिर्ने मूल जिम्मेवारी राष्ट्र हाँक्नका लागि जनताले मत दिएर राजनीतिक नेतृत्वको तहमा पु¥याइएका दलहरूको हो ।  राष्ट्रलाई डो¥याउने बाटोका सन्दर्भमा दलहरूबीच समान धारणा आउन सकेको छैन ।  सबैका हातमा आ–आफ्नै डम्फु छन् र त्यसैका तालमा उनीहरू मोहित छन् ।  साझा धुन पहिल्याउन सकिएको छैन ।  थरि थरिका डम्फुका ध्वनिको मिश्रण सङ्गीत बन्न सकेको छैन, हल्लाका रूपमा गुञ्जिरहेको छ ।  हल्ला बनेको ध्वनिलाई सङ्गीतमा रूपान्तरित गर्ने र सोही सङ्गीतमा समृद्धिको नृत्य नचाउने वातावरण वर्तमान राजनीतिक नेतृत्वले सिर्जना गर्न सक्नुपर्दछ ।  राष्ट्रका लागि उपयुक्त दूरदृष्टि, उक्त दूरदृष्टि हासिल गर्ने मार्गचित्रमा स्पष्टता र अडान, अंशियारहरूको उपस्थितिप्रति सम्मान, सहकार्यमा विश्वास, पारस्परिक सद्भाव जस्ता गुणले उक्त वातावरण सिर्जना गर्न सहयोग पु¥याउँछ ।  
जनता एउटा सोझो बाटोको प्रतीक्षामा छ ।  मूल बाटोसँग जोडिएका उपबाटाले उनीहरूलाई पनि अल्मल्याइरहेको छ ।  कुन बाटो सही हो भन्ने असामञ्जस्यमा स्तम्भित छन् उनीहरू ।  यो असामञ्जस्यको समाधान खोजिरहेका छन् उनीहरू ।  समाधान दिने वर्ग भने आफ्ना मतलाई स्थापित गर्ने मोहमै चुर्लुम्म डुबिरहेका छन् ।  अविकसितताको भुमरीबाट पार पाउनका लागि यात्रा गरिरहेको डुङ्गालाई पार लगाउनका लागि जारी सल्लाहको क्रमले अर्काे भुमरी सिर्जना गरिरहेको छ तर निष्कर्ष निस्किरहेको छैन ।  पिपल विस्तार समस्या भयो र त्यसलाई रोक्नुप¥यो भने हाँगा काट्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई जरैबाट उखेल्नुपर्दछ ।  राष्ट्रलाई दीर्घ समस्याबाट मुक्ति दिनका लागि राष्ट्रिय दृष्टिकोणबाटै सोच्नु अनिवार्य छ, अल्पकालीन वा आंशिक समाधानले अन्य समस्यालाई अस्तित्वमा आउन नदिने प्रत्याभूति गर्न सक्दैन भन्ने बोध निर्णयतहमा बसेकालाई हुनुपर्दछ ।   
राजनीति साधन मात्र हो, साध्य होइन ।  साध्य त समृद्धि हो, स्थिरता हो ।  ज्यावल चयन स्तरकै तर्क वितर्कमा अल्मलिँदा निर्माणले गति लिन सक्दैन ।  समृद्धिको मार्गमा सहयात्रु बनी हिँडेका अन्य राष्ट्रले लामो दूरी पार गरिसक्दा पनि नेपाल अझै प्रस्थानबिन्दूमै अलमलिरहेको छ ।  प्रगतिका लागि उत्तोलक बन्नुपर्ने राजनीति स्वयम् उपलब्धिका मार्गमा अवरोध बनिरहेको छ ।  नेपाली राजनीतिज्ञहरूमा लि क्वान यू वा डेङ जियाओ पिङ वा मोहम्मद महाथिर बन्ने सम्भावना नभएको होइन तर झिना मसिना अल्पकालीन स्वार्थले ती सम्भावनालाई ब्यूँतिन दिएको छैन– यो यथार्थलाई बुझ्न जति ढिलो ग¥यो, सिङ्गो नेपालको वर्तमान र भविष्यका लागि त्यो त्यति नै ठूलो अभिशाप बन्नेमा शङ्का छैन ।  
नेपालले इतिहासबाट कहिल्यै पाठ सिक्न सकेन ।  राजनीतिक दलहरूबीच आपसी मेलमिलापको अभावका कारण नै विगतमा जनता आफ्ना आधारभूत अधिकारबाट वञ्चित हुन बाध्य भएका थिए ।  राजनीतिक दूरदृष्टिको अभावले गर्दा नै नेपाल आफूभित्रका सम्भावनालाई उपयोग गर्न नसकेको हो ।  नेपाली जनताको समर्थनबाट धप्प बलेका दलहरूले आफूभित्रको सामथ्र्यलाई चिन्न नसक्दा नै नेपालका आन्तरिक मामिलामा बाह्य हस्तक्षेपका लागि ढोका खुलिरहेको हो ।  इतिहासमा अस्तित्वमा आएका गल्तीलाई निरन्तर चल्तीमा ल्याएकै कारण नेपालको अवस्था अग्रगमनतर्फ अग्रसर हुन सकेको छैन ।  ‘भ्यागुताको धार्नी’ नियतिमै सीमित भएका छौँ हामी, न आफू उफ्रिन सक्यौँ न त कसैलाई उफ्रिन दियौँ ।
राजनीति ऊर्जा उत्पादनका लागि हुनुपर्दछ ।  निष्कर्ष र उपलब्धिविहीन राजनीतिक खिँचातानीले सञ्चित ऊर्जा पनि चिसिँदै गएको अनुभूति हुन थालेको छ ।  नेपालको असफलताका लागि राणाकालीन अन्धकारलाई दोष दिने गरिन्छ, त्यसपछि प्राप्त प्रजातन्त्रलाई संस्थागत गर्न नसक्नुका लागि पनि यसको अर्काे कारणका रूपमा लिन थालियो ।  यसैको लहरमा उभियो निर्दलीयता अँगालेको पञ्चायती व्यवस्था ।  बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि दलहरूबीचको खिँचातानीलाई पनि नेपालको गतिहीनताका लागि दोषी मानियो ।  दोषको भारी बोक्ने पालोका लागि वर्तमान सङ्क्रमणकाल पर्खी बसेको अवस्था छ ।  लामो समयदेखि नेपाल आफ्नो असफलताको कारण पर्गेल्नमै अल्मलियो तर कारणको निराकरणमा समर्पित हुन भने सकेन ।  कमजोरीका लागि अमुक अर्काे पक्षमाथि जिम्मेवारी पन्छिनमै हामी व्यस्त रह्यौँ तर आफूभित्रका कमजोरीलाई छाम्न कहिल्यै कोसिस गरेनौँ ।  यो अँध्यारोभित्रको अलमललाई अन्त्य गर्न असफल भयौँ भने उज्यालोलाई छुन सकौँला र ?
राजनीतिक नेतृत्वमा रहेका दलहरू आफू हिँड्ने बाटोबारे स्पष्ट देखिँदैनन् ।  गन्तव्यमा पुग्नका लागि कुन बाटो हिँड्ने भन्नेबारे नै अन्योल भइरहेको देखिन्छ ।  आज हिँडेको बाटो भोलि परिवर्तन भइसकेको हुन्छ ।  आज लिएको अडान भोलि कायम रहन्छ वा रहँदैन भन्नेबारे ढुक्क हुन सकिने अवस्था छैन ।  राष्ट्र र जनतालाई दिशा देखाउनेहरू आफैँ दिग्भ्रमित देखिन्छन् ।  यो अन्यमनस्कताको शिकार मुलुकको वर्तमान र भविष्य बनिरहेको छ ।  एक वर्ष अघिसम्म संविधान कार्यान्वयनभन्दा अर्काे कार्यसूची अस्तित्वमा थिएन तर अहिले सोही संविधानमा संशोधन गर्नुको विकल्प नभएको अवस्थामा हामी छौँ ।  ‘संविधान संशोधनपछि मात्रै निर्वाचन’ को आवाज सेलाउन पाएको छैन, ‘निर्वाचनपछि मात्रै संशोधन’ को बोली गुञ्जिन थालेको छ ।  सङ्घीयताबारे करिब एक दशकको मस्तिष्कमन्थनपछि पनि यसको उपयुक्तता वा अनुपयुक्तताबारे बहस सकिएको छैन ।  ठूलो उपलब्धिका रूपमा लिइएको सङ्घीयता स्वयं क्रमशः सङ्कटमा पर्दै गएको आभास हुन थालेको छ ।  यसलाई आफ्नो एजेन्डा बनाएकाले पनि बाध्यताका कारण यो बाटोमा लागेको बताउन थालेका छन् ।  तदर्थवादको यो अलमल कहिलेसम्म ?
लोकतन्त्र जनता उभिने जग हो, यसलाई हाँक्ने जिम्मेवारी मात्र जनताको समर्थनप्राप्त दलको हुन्छ ।  मूल रूपमा लोकतन्त्र ‘जनताका लागि, जनताको, जनताबाट’ भन्ने आदर्शमा आधारित प्रणाली हो तर वर्तमान परिदृश्यलाई दृष्टिगत गर्दा यो ‘दलबाट, दलका लागि र दलको’ प्रणालीमा रूपान्तरित हुन थालेको प्रतीत हुन्छ ।  जनादेश पाएर अग्रपङ्क्तिमा पुगेका दलहरू आपसी द्वन्द्वमा अल्झिन पुगेका छन्, लोकतन्त्रलाई आफ्नो अनुकूल व्याख्या गर्नमा अभ्यस्त छन् र आफ्नो कुरा सुनाउनमा बाहेक अरुका कुरा सुन्न तयार छैनन् ।  जन–आन्दोलनले नेपाललाई गणतन्त्रमा पदार्पण गराएको पार्टीगत स्वार्थमा यसलाई उपयोग गराउनका लागि हुँदै होइन, दलहरूलाई त यसलाई संस्थागत, सदृढ र समृद्ध बनाउने जिम्मेवारी मात्र दिएको हो ।  
अल्पकालीन रणनीतिबाट राजनीतिक दलहरू मुक्त हुनुको विकल्प छैन ।  सत्ताभित्र वा बाहिर नेतृत्वको अग्रपङ्क्तिमा रहेका दलहरूले बुझ्नैपर्ने कुरा के हो भने गुटगत गुञ्जन, क्षेत्रगत छनोट र आयातीत आकाङ्क्षाको तत्कालीन सम्बोधनमा अलमलिरहेसम्म निकास दिगो हुन सक्दैन ।  नेपालले युगान्तकारी अवसर प्राप्त गरेको छ र यो अवसर बारम्बार प्राप्त हुने कुरा होइन ।  यसलाई सम्मान र सदुपयोग गरेर नेपालको अँध्यारो युगलाई चिर्नैपर्दछ ।  एउटा वर्गको असन्तुष्टिका नाममा संविधान संशोधन गर्दै जाने हो भने अरु थुप्रै असन्तुष्ट समूहले टाउको उठाउने सङ्केत सतहमा आइसकेको छ र यसबाट पाठ सिक्नु आवश्यक छ ।  परिपक्वतातर्फको यात्रा अनन्त हुन्छ र साधनलाई परिपक्व बनाउनमै समय बिताउँदा गन्तव्य नपुग्दै घाम अस्ताउन सक्छ ।  तसर्थ राष्ट्रलाई अन्त्यहीन अन्योलबाट मुक्ति दिनका लागि वर्तमान संविधानले उपलब्ध गराएको वातावरणमा टेकेर सङ्घीयताको संरचनामा प्रवेश नै पहिलो प्राथमिकता हुनुपर्दछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना