मिलनबिन्दुको खोजी

nirmal acharyaनिर्मलकुमार आचार्य
    

 

नेपाली राजनीति गतिरोधको शिकार भएको छ ।  ठूला राजनीतिक दल तीव्र धु्रवीकरणमा छन् ।  व्यवस्थापिका संसद्मा अवरोध कायम छ भने पश्चिम तराईका कतिपय जिल्ला अशान्त छन् ।  राजनीतिक  गतिहीनताको असर हरेक क्षेत्रमा परेको छ ।  समग्रमा, आशामुखी जनता निराशाको अँध्यारो गुफामा फस्दै गएका छन् ।  
    उत्तरतिर बढ्दो हिमपात र दक्षिणतिर चम्कँदो शीतलहरका माझ नसुल्झँदो राजनीतिक अन्योल राष्ट्रिय पीडाको विषय बनेको छ ।  एउटै जहाजमा सवार नेतृत्वगण गन्तव्यमा नपुग्दै ३६ को आँकडामा परिणत हुँदा घरको न घाटको स्थिति सिर्जना भएको छ ।  संविधानसभाबाट संविधान बन्नुमात्र सफलताको द्योतक नरहेको प्रष्ट भएको छ ।  संविधान जारी गरिंदाको मसी नसुक्दै भएको पहिलो संशोधन पनि अर्थपूर्ण नबनेको विदितै छ ।  असन्तुष्ट पक्षलाई सक्दो समेट्ने भावना आफैमा स्तुत्य रहेकामा शङ्का छैन तर ल्याइएको संशोधन प्रस्तावप्रति लक्षित समुदायसमेत किंकर्तव्यविमूढ रहनु अनौठो कुरो बनेको छ ।  यसले गर्दा उग्र विरोधमा रहेको नेकपा एमालेलाई झन् बल पुगेको छ ।  सत्ताधारी दलमा पनि संशोधन प्रस्तावप्रति मतैक्य नरहनुले अनिश्चयको खाडल बढाएको छ ।  नेपाल र नेपालीलाई सुख, शान्ति र समृद्धिको दिशामा अघि बढाउन सारथिको भूमिकामा सक्षम सावित हुनुपर्ने नेपाली काँगे्रस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, मधेसी मोर्चा आदि जनान्दोलनकारी शक्ति आपसमै भिड्नथालेपछि सबैथोक भर्सेलामा पर्ने लक्षण देखिएको छ ।  
    सत्ताधारी, विपक्षी, असन्तुष्ट पक्ष कोही नरम हुन नचाहने र टसको मस हुन नखोज्ने हो भने यो ‘मेरो गोरुको बाह्रै टक्का’ पाराले कसैको भलो नगर्ने निश्चित छ ।  तसर्थ, भाइ फुटे, गँवार लुटेको उदाहरण दिएर जगहँसाइ गर्ने काम गरिनुहुँदैन ।  अझै पनि ढिलो भएको छैन, मुलुकका सबै राजनीतिक शक्ति आपसमा मिलेर सर्वोत्तम निकास खोज्नु सर्वथा बुद्धिमानी हुनेछ ।  
    यतिखेर राजनीतिक गत्यवरोधका बखत आचार्य चाणक्यको नीति सम्झना आएको छ ।  नेतागणले चाणक्यको नीति अनुसरण गर्ने हो भने मुलुक र मुलुकवासीको भलो हुनेमा दुईमत रहन्न ।  २४ सय वर्ष अघिका विद्वान् आचार्य चाणक्यले सिंहसित १, बकुल्लासित १, कुखुरासित ४, कौवासित ५, कुकुरसित ६ र गधासित ३ वटा कुरा सिक्न आग्रह गरेका छन् ।  सिंहसित सिक्नुपर्ने कुरा–जुन काम गरे पनि एकमन लिएर अर्थात् एकतासहित बडो दत्तचित्त भई गर्नुपर्छ ।  तर यहाँ त्यसैको खडेरी छ, ऐक्यबद्धताको कमीले गर्दा मतभेदभन्दा बढी मनभेद रहेका छन् ।  आफ्नै दलभित्र समेत मतैक्य नरहनु ठट्टाको विषय बनेको छ ।  
    बकुल्लासित सिक्नुपर्ने कुरामा ऊ जस्तै इन्द्रिय वशमा गरी ठाउँ, समय र योग्यतालाई पूरा ध्यानमा राखी कार्य पूर्ण गर्नु हो ।  ठाउँ, समय र योग्यतालाई नेतागणले ध्यानमा राख्न नसकेका उदाहरण बगे्रल्ती छन्, पछिल्लो दृष्टान्त संविधान संशोधनको प्रस्ताव बनेको छ ।  प्रस्ताव दर्ता हुनुपूर्व कम्तीमा असन्तुष्ट पक्ष तथा सत्ताधारी सदस्य एकमत हुनुपर्ने थियो ।  
    सही समयमा उठ्नु, नीडर बन्नु, भिड्नु, सम्पत्तिको उचित बाँडफाँट गर्नु र आफ्नै कष्टले आफ्नो रोजगारी प्राप्त गर्नु कुखुरासित सिक्नुपर्ने कुरा हुन् ।  मुलुक सङ्कटमा पर्दा पनि दलहरू बेमेलका शिकार हुनुले सही समयमा जागा हुने दिव्यज्ञान नेतागणमा नभएको छर्लङ्गै छ भने अनिच्छा हुँदाहुँदै नेताहरूले स्वीकारोक्ति जनाएका विडम्बनापूर्ण पाटा पनि अनेक छन् ।  यसले नेतृत्वमा निडरताको न्यूनता दर्शाएको छ ।  सम्पत्तिको उचित बाँडफाँडमा निकै कमजोरी रहेको साक्ष्यप्रमाण त मुलुकका अनेक क्षेत्रमा छरपस्ट छन् ।  कतै खातैखात, कतै पुर्पुरामा हातको स्थिति छ ।  स्वकष्टले रोजगारी प्राप्त गर्ने कुरो नेपाली नेतागणमा दुर्लभ पक्ष हो ।  बरु राजनीतिमा लागेको केही वर्षमै राजधानीमा हवेली ठडाएका, विदेशी बैङ्कमा खाता उक्साएका र सातपुस्ता उद्धार  गर्नेगरी अकुत धन कुम्ल्याएका दृष्टान्त निकै छन् ।  नेपाल दुनियामा अतिभ्रष्ट यसै नकहलाएको यथार्थ सबैलाई अवगतै छ ।  
    कौवासित सिक्नुपर्ने कुरामा– पत्नीसित एकान्तमा प्रणय गर्ने, निर्भयता, उपयोगी वस्तुको सञ्चय, सबैतिर आँखा घुमाउने र अरुमाथि सहजै विश्वास नगर्नु हो ।  पहिलो पक्षले सत्चरित्रलाई जोड दिएको छ, यसैको अभावमा नेपालमा पर्खालकाण्ड, लजकाण्ड, सुरासुन्दरीकाण्ड आदि भएको नजान्ने बिरलै छन् ।  निर्भय हुनुलाई कौवाले पनि जोड दिएको छ भने चाहिँदा वस्तुको सञ्चयनका पक्षमा पेट्रोलियम पदार्थको सञ्चयनको कमजोरीले नै राष्ट्रिय धरातलीय वास्तविकता उदाङ्गो बनाएको छ ।  सबैतिर आँखा घुमाउनुको अर्थ भूत, वर्तमान र भविष्यद्रष्टा हुनु हो, दूरदर्शी हुनु हो ।  यस सन्दर्भमा नेतृत्वगण अल्पदृष्टियुक्त रहेको सत्य कसैबाट लुकेको छैन र साँगुरो सोचाइ तथा क्षणिक लाभ, हानिकै विषयमा रुमलिनु तथा जोसुकैका भनाइ पत्याउनु र सोही अनुसार गतिविधि चलाउनु कमजोरीका चाक्ला बनेका छन् ।  अन्यथा मुलुकमा यो वा त्यो ढङ्गबाट बेथिति र बाह्य हस्तक्षेप किमार्थ बढ्ने थिएन ।  
    कुकुरसित सिक्नुपर्ने कुरामा – ज्यादा भोक लाग्दा खान केही नपाए वा थोरै पाएमा पनि सन्तोष गर्ने, गाढा निद्रामा पनि तुरुन्त उठ्ने, आफ्ना मालिकप्रति सदा इमानदार रहने र कसैसित नडराउने रहेका छन् ।  जबर्जस्ती चन्दा, लुटपाट, नियुक्ति, सरुवा, बढुवा, ठेक्कापट्टा, कमिशन जस्ता कुराले यसै पनि नेता बदनाम भएका छन् भने सत्ताको भोक असह्य रहनु चिन्ताको बिन्दु बनेको छ ।  यसबाट मुक्तिको उपाय खोजिएको आभास कतै पाइँदैन, न दलभित्रबाट र न नै बाहिरबाट ।  जनताका भोक, रोग र शोक अन्त्य गर्ने दिशामा नेतृत्वगण जागेको अनुभूति नभएकाले कुम्भकर्णे निद्रा जारी रहेको भान हुन्छ ।  नेताका मालिक भनेका जनता हुन् तर जनता के चाहन्छन् ? सोधपुछ गर्नेतर्फ चासो नलिइनु दुःखदायी पक्ष हो ।  अहिलेकै कुरो गरौँ, सत्ताधारी  दल होऊन् वा विपक्षी दल अथवा असन्तुष्ट पक्ष,  सबैथरी आ–आफ्नै डम्फूको तालमा आँखा नचाई, मुख चलाई, कम्मर मर्काई नृत्यमग्न छन् ।  यस मेसोमा जनता के चाहन्छन्, कसैले सुन्ने, जान्ने र जनआवाज मनन गर्ने चेष्टा कसैले देखाएका छैनन् ।  संविधान संशोधन प्रस्तावको दोहोरीमा जनता झन् असहाय, निरुपाय एवं निरीह प्रतीत भइरहेका छन् ।  सुख, शान्ति र समृद्धिको आशामा रहेका जनतामा नेतृत्वबीचको हानथापले केवल निराशा बढाएको छ ।  अनि बढ्दो परनिर्भरताले निर्भयताको गर्धन अँठ्याइरहेको छ ।  
    गधासित सिक्नुपर्ने तीन कुरा हुन्– आफ्नो भारी बोक्न नछाड्नु, जाडो– गर्मीको चिन्ता नगर्नु र सदा सन्तुष्ट रहनु ।  दायित्व निर्वाह नहुनु नै भारी बोक्न छाड्नु हो, यसमा थप टिप्पणी आवश्यक छैन, सब खुलस्तै छ ।  मुलुक भड्खारामा पर्नथाल्दा पनि ‘चेतबाबा काशीराम’को खाँडो जागेको छैन ।  जाडो, गर्मीको चिन्ता नगर्नुको अर्थ यतिखेर अलि बाङ्गिए जस्तो छ, त्यसैले होला भूकम्पपीडित ठन्डीका कारण जतिसुकै काँपिरहे पनि मुखले बाहेक व्यवहारद्वारा बर्को ओढाउने खाँचो समेत अनुभव गरिएको छैन ।  जहाँसम्म सन्तुष्टिको कुरो छ, सत्तामा बसुन्जेल सबै नेता सन्तुष्ट र बाहिर पर्नासाथ असन्तुष्टिको पर्रा छुट्ने परम्परा बनेको छ ।  यस मेसोमा जनसाधारणका सन्तुष्टि÷असन्तुष्टिको लेखाजोखा गर्ने जाँगर कसैले नदेखाउनु अनौठो होइन ।
    नेताहरू व्यक्तिगत, समूहगत तथा दलगत स्वार्थबाट माथि उठेर राष्ट्रिय हितका दिशामा समर्पित हुनुपर्ने धारणा बारम्बार व्यक्त हुँदै आएका छन् ।  उही भनाइ पटक, पटक व्यक्त हुँदै आउनुको अर्थ नेतृत्वगण व्यक्तिगत, समूहगत तथा दलगत स्वार्थको दलदलमै रहेको बुझ्न हम्मे पर्दैन ।  अहिलेको राजनीतिक गतिरोधका पछाडि पनि मूलतः नेताका व्यक्तिगत, समूहगत तथा दलगत स्वार्थले नै खेल खेलिरहेकामा दुईमत होओइन ।  त्यसैले परिवर्तनको ऐतिहासिक घडीमा नेतृत्व वर्गमा समेत रूपान्तरण जरुरी छ ।  मुलुकलाई सधैँभरि अनिर्णयको बन्दी बनाइरहनु उचित होइन ।  विगतका तमाम तिक्तता बिर्सिई मुलुक र मुलुकबासीको हितका लागि सबै राजनीतिक दल सहमति र सहकार्यमा लाग्नैपर्छ ।  गतिरोधको अन्त्यका लागि के कस्तो मिलनबिन्दु
हुनसक्छ ? त्यसको अविलम्ब खोजी गरिनु अपरिहार्य आवश्यकता बनेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना