‘सरकारले कठोर निर्णय लिन्छ’

नरेन्द्र ढकाल

गोरखा, पुस ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले केही दिनभित्र कठोर निर्णय लिने बताउनुभएको छ । शुक्रबार सुरु भएको नवौँ गोरखा महोत्सवको उद्घाटन गर्दै उहाँले मुलक अनिर्णयको बन्दी हुन नसक्ने बताउनुभयो ।  ‘सकेसम्म सबैलाई मिलाएर लैजाने हाम्रो चाहना हो, कसैले मेरो गोरुको बाहै्र टक्का गरेर बस्छ भने त्यसलाई हेरेर बस्न सकिन्न, सरकारले कठोर निर्णय लिन्छ । ’
संविधान संशोधन, अख्तियार प्रमुख लोकमानसिहं कार्कीविरुद्ध अविश्वासको प्रस्तावलगायत कुरामा अहिले दलहरू एक ठाउँमा आउनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ । अन्यथा सरकारले प्रक्रियाको बाटो समाउन बाध्य हुने उहाँले बताउनुभयो । ‘सरकार अहिले देखिएका सबै समस्या प्याकेजमा टुङ्ग्याएर बृहत् राजनीतिक एकता कायम राखी अगाडि बढ्ने तयारीमा छ’, नेकपा एमालेतिर सङ्केत गर्दै उहाँले भन्नुभयो, ‘कसैलाई सरकारले गरेको राम्रा कामको पनि विरोध गरिहनुपर्नेछ भने त्यसमा हामीलाई भन्नु केही छैन । ’
वर्तमान सरकारलाई अनौठो सरकार भनेर प्रतिपक्षीले आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्री दाहालले कटाक्ष गर्दै भन्नुभयो, ‘यो सरकार हिमालदेखि तराईसम्म सबैलाई मिलाएर जाऊँ भन्छ, अधिकार नपाएकाहरूलाई दिऊँ भन्छ, लोडसेडिङ हटाऊँ भन्छ, समयमै निर्वाचन गरौँ भन्छ, प्रतिपक्षीलाई त सरकारको काम अनौठो लाग्नु स्वाभाविक हो । ’
त्यसअघि गोरखाको दरौदी नदीमा निर्माण सम्पन्न भएको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै उहाँले हेपिएका थारू, मधेसीलाई पाखामा राखेर अहिलेको अवस्थामा संविधान कार्यान्यवन हुन नसक्ने बताउनुभयो । एमाले नेतृत्वको सरकारले अगाडि सारेको संविधान संशोधनको प्रस्तावलाई अक्षरशः आफूले अगाडि सार्दा पनि स्वयम् एमालेबाटै विरोध भएको भन्दै उहाँले प्रतिपक्षीले सरकारको प्रगति नचाहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘तराईका जिल्लालाई समेटेर ५ नम्बर प्रदेश बनाउने प्रस्ताव केपीजीकै हो, उहाँ नै आज आफ्नो प्रस्तावको विपक्षमा उभिनुभएको छ, मैले कुरा बुझ्न सकिराखेको छैन । ’
मुलुकसामु अहिले संविधान संशोधनको विकल्प नभएको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘जनतासामु थुप्रै अपेक्षा छन्, अहिलेको गतिरोध चिरेर स्थानीय निकायको निर्वाचन समयमै गर्नु छ, जनता विकास र समृद्धिको पर्खाइमा छन्, यस्तो बेला सरकार हात बाँधेर बस्न सक्दैन । ’ एमालेले विरोधका निम्ति विरोध मात्र गरेको र त्यसले एमालेलाई नै घाटा लाग्ने प्रधानमन्त्रीको तर्क छ । उहाँले भन्नुभयो, ‘उहाँहरूलाई देखेर मलाई दया लाग्छ, वास्तविकता जनताले राम्रेरी बुझेका छन् । ’
काठमाडौँ उपत्यका लोडसेडिङमुक्त भइसकेको र अन्य जिल्ला पनि लोडसेडिङमुक्त घोषणाको तयारीमा रहेको भन्दै उहाँले अबको १५ दिनभित्र गोरखाको विद्युत् अवस्थासहितको स्पष्ट खाका पेस गर्न विद्युत् प्राधिकरण शाखा कार्यालय गोरखालाई निर्देशन दिनुभएको छ । गोरखाको आँबु खैरनीदेखि गोरखा सदरमुकाम जोड्ने मोटर बाटो १५ मिटर कि २५ मिटर हुने भन्ने अन्योल अब हट्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।
उहाँले गोरखा हुँदै चीन जोड्ने मोटर बाटो निमार्णका लागि मन्त्रिपरिषद्ले नेपाली सेनालाई दिने निर्णय गरिसकेको बताउँदै छिटै काम सुरु हुने बताउनुभयो ।
राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनाको काम यथाशीघ्र सुरु हुने उहाँले बताउनुभयो । ‘मेरै पालामा आयोजनाको शिलन्यास हुनेगरी काम अगाडि बढ्छ, बुढीगण्डकी आयोजनाको सुरुवात गर्ने मेरो तीव्र इच्छा छ’, उहाँले भन्नुभयो । सोबारे सरकारले छिटै स्पष्ट योजना सार्वजानिक गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो ।
कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले गोरखा जिल्लालाई एक महिनाभित्र लोडसेडिङमुक्त बनाउने घोषणा गर्नुभएको थियो । ‘हामी मुलकलाई नै लोडसेडिङ मुक्त बनाउने योजनामा छाँै, गोरखामा त आवश्यक स्रोत जुटेको छ, के के प्राविधिक समस्या छन्, सोको पहिचान गरी हामी छिटै अगाडि बढ्छौँ’, उर्जा मन्त्री शर्माले भन्नुभयो । बुढीगण्डकी अयोजनाको काम अगाडि बढिसकेको भन्दै मन्त्री शर्माले बुढीगण्डकी आयोजना आफ्नो मुख्य प्राथामिकता भएको बताउनुभयो । कालिका पावर कम्पनीले दरौदी नदीमा निर्माण गरेको जलविद्युत् आयोजनाबाट ६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
भूकम्पपछि थला परेको कृषि, पर्यटन र व्यापार प्रवद्र्धृन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव पुस १६ सम्म चल्नेछ । ८५ भन्दा बढी स्टल छन् । भूकम्पको सम्झना दिलाउने खालका फोटो प्रर्दशनी गरिएको छ । महोत्सवको उद्घाटन समारोहमा हिमाल आरोही गोरखा छेकम्पारकी फुन्जो लामालाई पनि प्रशंसापत्रसहित दोसल्ला ओढाएर प्रधानमन्त्री दाहालले सम्मान गर्नुभएको थियो । महोत्सवको पहिलो दिन शुक्रबार म्यान अफ द गोरखा दौड प्रतियोगिता भएको छ । प्रतियोगिताको उपाधि नेपाली सेनाका मोहन जोशीले जित्नुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना