नेपालको रूपान्तरणमा आकाशे आवाज

 prem sharmaप्रा.डा. प्रेम शर्मा


नेपालमा प्रजातन्त्रको पुनस्र्थापना (वि.सं. २०४६) पछि केही सकारात्मक परिवर्तन देखापरेको क्षेत्र सञ्चार माध्यमको विकास मान्नुपर्छ । त्यस पूर्व रेडियो नेपालको आवाजले ७५ जिल्ला समेट्न सकेको थिएन । एकतर्फी सरकारी समाचार र सिमित विधामा ‘सेन्सर’ गरी झन्डै १८ घण्टा जति रडियो नेपाल प्रशारण हुन्थ्यो । पञ्चायत र राजतन्त्र विपरीत टीका टिप्पणी र क्षेत्रीय, स्थानीय कुरा त कमै सुनिन्थ्यो । हाल झन्डै ७५ जिल्लामा सामुदायिक एवं निजी रेडियोहरू (एफएमहरू) सञ्चालनमा रहनु, अधिकांश रेडियोहरू कुनै नेटवर्क (सञ्जालमा) चौबीसै घण्टा चल्नु, विषय वस्तुहरू व्यापक र स्थानीय हुनु, प्रतिस्पर्धात्मक रुममा सञ्चालन हुनु जस्ता अभ्यासले हाल नेपाली सुसूचीत छन् । छापा र टेलिभिजनभन्दा सुलभ र सस्तो माध्यम मोफसलका रेडियोमार्फत सामाजिक विपन्न वर्ग, र दूरदराजका जनता लावान्वित भइरहेका छन् । यिनै रेडियोहरूका कारण गोठे (गाउँ पाखा घन्काउने कला र गला) लोक संस्कृतिबाट कोठेः रोदी (टेलिभिजन), मुठी (मोबाइल) र इन्टरनेटतर्फ हामी यान्त्रिकी हुन पुगेका छौँ । हाल नेपालमात्रै होइन विश्व नै मुठी (मोबाइल) भित्र सिमित हुन पुगेको छ । विज्ञान र सञ्चार प्रविधिका कारण कोठा र मुठीबाट व्यापार, उपचार, खानपानदेखि वस्तु व्यापार एवं मानव आकाङ्क्षा विनियम हुन पुगेको छ ।
सूचनाको हक, मानव अधिकार, मौलिक अधिकार, विकास निर्माण र मानिसलाई दैनिकी के चाहिएको छ ती कुरा हाल मोफसलमा छरिएर रहेका रडियोहरूले जानकारी गराइरहेका छन् । गाई–गोरु हराएका खबरदेखि मानिसको मृत्यु र मलामी जाने खबरसमेत यी रेडियोमार्फत प्राप्त हुन्छ । के यो अकल्पनीय सञ्चार माध्यमको विकास र मानिसको सोचमा रूपान्तरण होइन र ? समाचार, मनोरञ्जन, विज्ञापन, सूचना प्रवाहसँगै यी रेडियोले शिक्षामुलक (कृषि महामारी, स्वास्थ्य, विद्यालयका कक्षा कोठाभित्र पठन पाठन गर्ने विषयः गणित, विज्ञान अङ्ग्रेजी आदि) विषयसमेत समावेश गरेको भेटिन्छ । अधिकांश रेडियोले स्थानीय बुद्धिजीवी र जिल्ला भ्रमणमा रहेका बखत राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका विज्ञ, विशेषज्ञ र ज्ञाताहरूको विशेष अन्तर्वातामार्फत पनि स्रोतालाई सुसूचीत गर्ने गरेको छन् ।
हाल अधिकांश यी साना सञ्चारघर सिकाइ र परीक्षणमुखी पनि छन् । लगानीको फिर्ता (असुली), शिकारु प्राविधिकहरू र अन्य कर्मचारी, प्रसारणमा समावेश रहेका विषय वस्तु र प्रविधि क्षमता एवं नेटवर्क कमाण्ड क्षेत्रलगायतलाई परीक्षणको रूपमा हेरिएको छ । किनभने यी सञ्चार माध्यम सेवामुखी रहे पनि अधिकांश निजी सामुदायिक रूपमा नाफाउन्मुख उद्देश्यले सञ्चालित छन् । यिनीहरूका लागि आजको बजारमुखी अर्थतन्त्रमा प्रतिस्पर्धा गर्नु र नाफा एवं संस्थागत विकास हुनु, गराउनु धेरै चुनौतीपूर्ण स्थिति छ । अर्कोतर्फ यो क्षेत्र सेवा एवं नाफामुखी व्यवसाय पनि हो । यो क्षेत्र राज्यको चौथो अङ्गको रूपमा चिनिने हुँदा यसले गर्ने गतिविधि समाज र राष्ट्रका धेरै सवालमा संवेदनशील पनि हुन्छ । त्यसैले यो व्यवसाय र कामलाई अङ्गीकार गर्नु सबल एवं सफल व्यवस्थापकीय सीप र कला विना सम्भव छैन । यिनीहरूको कार्यक्रमहरूले निरन्तरता पाउनु, संस्थागत विकास हुनु र संलग्न लगानीकर्ता र कर्मचारीलाई समेत आफ्नो कर्मथलोको क्षेत्र सुनिश्चित होस् भन्ने चासो र चिन्ता हुन्छ । देशैभरी छरिएर रहेका स्थानीय रेडियोले खासगरी ग्रामीण समाजमा धेरै सकारात्मक भूमिका निर्वाह गरेको भेटिन्छ । टेलिभिजनको पर्दा र मोबाइलको नकारात्मक प्रभावभन्दा रेडियो धेरै सकारात्मक रहेको जनभनाइमार्फत थाहा पाइन्छ ।
हिजो आज केही विद्वान् ग्रामीण विकासमा रेडियो÷सञ्चार क्षेत्रले खेलेका भूमिका, विषय शीर्षकमा अध्ययन अनुसन्धान गर्न थालेका छन् तर त्यसखाले अध्ययन÷अनुसन्धान प्रतिवेदन जनसमक्ष प्रचारप्रसार गर्ने गरेको कमै भेटिन्छ । यसर्थ ती अध्ययन÷अनुसन्धानमा दम छैन कि ? हुनुपर्ने हो । विश्वविद्यालयहरूले पनि अध्यापन, अध्ययन र अनुसन्धान गर्दा गराउँदा यसतर्फ सोच्नु उपयुक्त हुन्छ । बरु सञ्चारघरहरूले नै विशेषाङ्क निकालेर कुनै विषय क्षेत्रलाई कुनै सन्दर्भ पारेर प्रकाशन गर्ने गरेको भेटिन्छ ।
नेपालको भू–संरचनामा रेडियो सञ्चार माध्यम अत्यन्त उपयोगी र लोकप्रिय साबित भएको छ । छापाका माध्यम
(पुस्तक, पत्रपत्रिका) ओसारप्रसार, जनताको कार्यशक्ति, पठन पाठन गर्ने बानी र बुझ्ने क्षमता, सर्वसुलभता र पत्रपत्रिकाको व्यावसायिकतामा पनि विचारणीय कुरा छन् । पत्रपत्रिकाको शुल्क, उपलब्धता, टेलिभिजन सेट किन्ने क्षमता, विद्युत् प्रसारण, इन्टरनेट सुविधा र पहुँच आदिको समस्यामा तीन चार सय रुपियाँको रेडियो जनताको रोजाइमा पर्छ । हरेक घर परिवार सदस्यका हातमा मोबाइल सेवा उपलब्ध छ, त्यसमै पनि बज्छ रेडियो । आकाशे माध्यम (रेडियो), विशेष गरी स्थानीय एफ.एमहरूले बढी लोक भाषा, स्थानीय सवालहरू केन्द्रित हुँदा पनि सर्वसाधारणको आकर्षण रेडियोमै बढेको छ । यिनैले स्थानीय भाषा, संस्कृति संवद्र्धन र विकासमा सहायोग पु¥याइरहेका छन् ।
स्थानीय रेडियोहरूले स्थानीय प्रतिभा, क्षमता र सिर्जनशिलतालाई विकास गर्ने अवसर प्रदान गरेका छन् । विद्यालयका बालबालिकालाई विभिन्न कार्यक्रममा संलग्न गराउँछन् । प्रायः स्थानीय कार्यक्रम राष्ट्रियकरण गर्नुप¥यो भने पनि त्यो यसै माध्यमद्वारा सम्भव छ । रेडियो प्रसारण नेटवर्कहरूको राष्ट्रव्यापी प्रसारण क्षमता र कार्यक्रम छन् ।
विचार र विकासलाई एकीकृत गरी स्थानीय स्रोत साधनलाई अधिकतम उपयोग गराउने नेपाली भूमिमा रेडियो माध्यम वरदान साबित भएका छन् । चाहे पाल्पा मदन पोखरा सामुदायिक रेडियो होस्, वा सोलुखुम्बु, जुम्ला, इलाम वा हुम्लाको सिमीकोटस्थित सामुदायिक रेडियो कैलाश (एफ.एम) होस् सबै स्थानीय सवाल र समस्या केन्द्रित हुँदै राष्ट्रिय सूचना प्रसारणमा व्यस्त भेटिन्छन् । नेपालको ४५ वर्षको विकेन्द्रीकरणको असफल अभ्यासमा सबैभन्दा सफल र प्रभावकारी सूचना विकेन्द्रीकरणको अभ्यास रेडियो (एफ.एम) हरू हुन पुगेका छन् । राज्यले यिनीहरूको क्षमता अभिवृद्धि, गुणस्तर र दिगो विकासका लागि विशेष वातावरण र रणनीति तय गर्नुपर्छ । विकास निर्माणका कामहरूको कार्यान्वयन, अनुगमन, मूल्याङ्कन, सार्वजनिक लेखाजोखा, सामाजिक परिक्षण र सार्वजनिक जवाफदेहीता र उत्तरदायी प्रणालीलाई यी रेडियोमार्फत प्रत्यक्ष निगरानीको एउटा अंशियार, हिस्सेदारको रूपमा समावेश गर्ने निर्देशिकाभित्र पार्नुपर्छ । असल स्थानीय शासनको अभिन्न मित्र स्थानीय सञ्चार माध्यमलाई मान्नुपर्छ भन्ने पारदर्शिताको सिद्धान्तमा स्थानीय रेडियोलाई परिचालन गराउनुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना