ख्रीष्टमसको उत्पत्ति र नेपाल

trichandra pratiksyaत्रिचन्द्र प्रतीक्षा

 

सन् २०१७ को ख्रीष्टमस मनाउन विश्वका करोडौँ मानिसहरू तर्खर गर्दैछन् । गैर–ख्रीष्टियन मुलुकमा समेत यो उत्सवले व्यापार अनि मनोरञ्जन जगत्मा प्रभावपार्ने गर्छ । “ख्रीष्टमस“ को वास्तविकता के हो
त ? सामान्यतया मानिसहरूलाई ख्रीष्टमस किन मनाइन्छ भन्ने कुरा थाहा छैन, तर ख्रिष्टियनहरूलाई पनि ख्रीष्टमस के हो भनेर सोधेमा “ख्रीष्टमस प्रभु येशुको जन्म दिन हो” भन्ने जवाफ दिने गर्दछन् । त्यसो भए के साँच्चै नै ख्रीष्टमस येशु ख्रिष्टको जन्म दिन हो त ? यसबारेमा केही तथ्य र प्रमाणको आधार हेरौँ ।
ख्रीष्टमस÷क्रिस्मस ख्रीष्टमससँग सम्बन्धित लोकप्रिय तर काल्पनिक व्यक्ति हो– सान्ता क्लाउस  । सो शब्द डच शब्द सिन्तेरक्लासबाट आएको हो, जसको अर्थ हुन आउँछ सान्ता निकोलस । चौथौं शताब्दीमा टर्कीको मीरा नामक एक सहरका प्रसिद्ध सन्त थिए भनिन्छ । हालै इन्डियानाको एउटा सहरको नाम नै सान्ता क्लाउस राखिएको छ ।
सातौँ शताब्दीको मध्यतिर क्रिस्मस–वृक्ष सजाउने परम्परा जर्मनीमा आरम्भ भयो । यसको सुरुवात बौनोन्फसटिया नामक अङ्ग्रेजले गरेका थिए । मानवाधिकारवादी लेखक सेवास्टियन ब्राण्डले सन् १४९४ मा लेखेको सबैभन्दा महìवपूर्ण साहित्य “मूर्खहरूको जहाज’’ नामक कृतिमा घरहरूमा देवदारु वृक्षका हाँगाहरू राख्ने चलनलाई अभिलिखित गरेका छन् । ख्रीष्टमस सजाउनका लागि देवदारु वृक्ष नै छानिएको थियो । यतिबेला शिशिर ऋतु सुरु भइसकेको हुन्छ । सबै वृक्षको पात झरिसकेको भए पनि देवदारुको चाहिँ सदाबहार हुन्छ । ख्रीष्टमस वृक्षको परम्परा सुनिश्चित मिति र उत्पत्तिको सम्बन्धमा केही अनिश्चिता भए पनि स्याउहरूसँग सजाइएका देवदारु रुखहरू सर्वप्रथम सन् १६०५ मा स्ट्रास्वर्गमा जानकारीमा आएजस्तो देखिन्छ । यस्ता रुखहरूमा प्रयोग गरिएका मैनबत्तीहरू सन् १६६१ मा सायलसियनद्वारा अभिलिखित गरेका छन् ।
थोमस एडिसनका सहायक एडवर्ड जोन्सनले सन् १८८२ मा ख्रीष्टमस वृक्षका लागि विद्युतीय प्रकाशको सोच ल्याएका थिए । ख्रीष्टमस वृक्षका बत्तीहरूको आमउत्पादन पहिलो पटक सन् १८९० मा भएको थियो ।   
सन् १८४३ मा पहिलो ख्रीष्टमस कार्ड बेलायतका सर हेनरी कोलका लागि जोन क्यालकोट हर्सनद्वारा डिजाइन गरेका थिए । यो आधुनिक पोष्टकार्डजस्तै थियो र यसमा लेखिएको शब्दहरू यस्ता थिए – ‘मेरी ख्रीष्टमस एण्ड ह्याप्पी न्यु इयर टू यू । ’
सुरुवात
न्यू क्याथोलिक इन्साइक्लोपीडियाका अनुसार, ख्रीष्टको जन्ममिति पत्ता लागेको छैन । बाइबल पुस्तकले न त ख्रीष्ट जन्मेको दिन न महिनाबारे नै बताउँछ । एच. उजेनरको अनुमान र आजका धेरैजसो विद्वान्हरूले स्वीकारेअनुसार ख्रीष्टको जन्ममिति उत्तरी गोलाद्र्धमा जाडो महिना सुरु हुने बेलामा (जुलियन क्यालेन्डरमा डिसेम्बर २५, आधुनिक ग्रेगेरियन क्यालेन्डरमा जनवरी ६) तय गरियो । किनभने सूर्य विस्तारै उत्तरी गोलाद्र्धको आकाशमा फर्कन सुरु गर्ने भएकोले यस दिनमा मिथ्राका गैर–ख्रीष्टियन भक्तहरूले डीस नाटालिस सोलिस इन्विक्टी (अजेय सूर्यको जन्मदिवस) मनाउँथे । डिसेम्बर २५, २७४ मा रोमी सम्राट एरेलियनले सूर्यदेवलाई रोमी साम्राज्यको मुख्य संरक्षक भएको घोषणा गरे अनि क्याम्पस मारटियसमा सूर्यदेवको एउटा मन्दिर स्थापना गरे । ख्रीष्टमसको उत्पत्ति त्यस्तो समयमा भयो, जतिबेला रोममा विशेष गरी सूर्यको कट्टर उपासकहरू थिए । पछि सूर्यदेव मिथ्राको उपासनालाई नै ख्रीष्टमसको रूपमा मनाउन थालियो । रोमका धार्मिक समुदायहरूले सबैभन्दा पहिला ख्रीष्टमस मनाएका थिए । दसौँ शताब्दीमा ख्रीष्टियन धर्म सँगसँगै ख्रीष्टमस मनाउने चलन रुसभरि फैलियो । त्यही बेला ख्रीष्टियनधर्म प्राचीन स्लाभ जातिहरूले जाडो महिनामा मनाउने चाडसित छ्यासमिस हुन पुग्यो । त्यस चाडमा स्लाभहरूले आफ्ना पितृहरूको उपासना गर्थे । ”
ऐतिहासिक अभ्यास
येशुको ऐतिहासिकता माथि शङ्का गर्नु अस्वभाविक भए पनि उहाँको जन्मदिनबारे शङ्का गर्नुचाहिँ स्वभाविकै हो । ख्रीष्टको जन्मको सम्झनामा मनाइने पर्व नै ख्रीष्टमस हो । बाइबल धर्मशास्त्रमा उहाँको जन्ममिति उल्लेख नभएकाले प्रारम्भिक ख्रिष्टियानहरूको बीचमा कुनै निर्धारित मिति थिएन । बाइबल वास्तवमा ६६ पुस्तक अर्थात् खण्डको पूर्ण सँगालो हो । यो ई.पू. १५१३ देखि इ.सं. ९८ सम्म १६१० वर्षको अवधिमा ४० जना व्यक्तिहरूले लेखेका थिए । पहिलो ३९ पुस्तकमध्ये धेरैजसो हिब्रुमा र केही भाग अरामीमा लेखिएको थियो भने बाँकी २७ पुस्तक ग्रीक भाषामा लेखिएका थिए । चौथों शताब्दीको उत्तराद्र्धतिर ख्रीष्टमस भिन्नाभिन्नै मितिमा भए पनि प्रायःजसो चर्चमा मनाइन थालिएको थियो । उहाँको जन्मदिन निर्धारण गर्न विभिन्न विधिहरू अपनाए । परिणामतः प्रारम्भिक ख्रीष्टियन चर्चमा बेग्ला–बेग्लै मितिहरू देखा परे । जनवरी २, अप्रिल १८, मे २० र डिसेम्बर २५ त्यस्ता मितिहरू थिए तर डिसेम्बर २५ नै ख्रीष्टमसका लागि औपचारिक मिति हुन पुग्यो । ख्रीष्टियन इतिहासकार सेक्टस जुलियस अफ्रिकानसले सन् २२१ मा सर्वप्रथम डिसेम्बर २५ लाई ख्रीष्टको जन्मदिनको रूपमा परिचित गराएका थिए ।
चौथाें शताब्दीमा ख्रीष्टियमत रोमी सम्राटको सरकारी धर्म भइसकेको थियो । १२ औं शताब्दीमा आइपुग्दा ख्रीष्टमस युरोपमा सबैभन्दा महìवपूर्ण धार्मिक पर्व भएको थियो । सुधारवादी युगसम्म ख्रीष्टमसको लोकप्रियता ज्यादै बढ्यो । ख्रीष्टमसमा गैर–ख्रीष्टियानहरूको मनग्ये चालचलनहरू समावेश भएकाले सुधारवादको समयमा धेरै ख्रीष्टियानहरूले ख्रीष्टमसलाई गैर–ख्रीष्टियान पर्वको रूपमा विचार गर्न थाले । कति ठाउँमा यसको असर परेको भए पनि मानिसले ख्रीष्टमस मनाउन जारी राखे । २० औं शताब्दीमा विभिन्न किसिमका व्यवसायका लागि ख्रीष्टमसको पर्व ज्यादै महìवपूर्ण हुन थाल्यो । २० औं शताब्दीको मध्यदेखि ख्रीष्टमस झण्डै विश्वव्यापी रूपमा मनाइन थालिएको छ ।
ख्रीष्टमसमाथिको प्रतिबन्ध
सन् १६४७ मा बेलायतमा संसद्ले एउटा कानुन पारित गरी ख्रीष्टमसलाई अवैध घोषणा ग¥यो अनि त्यसपछि सन् १६५२ मा यसमाथि पूर्णतया प्रतिबन्ध नै लगाइयो । सन् १६४४ देखि १६५६ सम्म हरेक डिसेम्बर २५ मा जानाजानी संसद्को भेला बोलाइन्थ्यो । इतिहासकार पेनी एल. रिस्टाडका अनुसार ख्रीष्टमसका दिन अन्य सामान्य दिनमा जस्तै पसलहरू खोल्नुपर्ने नियम थियो भने त्यसदिन आफ्ना चर्चहरूलाई सजाएको खण्डमा जरिवाना र जेल सजाय पनि थियो । ’ सन् १६६० मा क्रमवेल सत्ताबाट हटेपछि प्रतिबन्ध हटाइएको थियो ।
उता उत्तर अमेरिकामा पनि यस्तै अवस्था थियो । म्यासाचुसेट्स बे कोलनीमा सन् १६५९ देखि १६९१ सम्म ख्रीष्टमस मनाउन नपाउने कानुन लागू गरेर प्रतिबन्ध लगाइएको थियो । यस कानुनको उल्लङ्घन गर्नेहरूलाई जरिवाना तिर्न लगाइन्थ्यो ।
ख्रीष्टमस नमनाउनेहरूमा बेलायतका ख्रीष्टियानको एक समूह प्रोटेस्टेन्टमात्र नभई मिडल कोलोनिजका केही समूह पनि थिए । एउटा स्रोतका अनुसार, अमेरिकीहरूले स्वतन्त्रता पाएको लगत्तै एलिजावेथ ड्रिकरले फिलाडेल्फियाका बासिन्दाहरूलाई तीन वर्गहरूमा विभाजित गरे अनि उनी आफैँ पनि एक क्वेकर थिए । धार्मिक विश्वासको निम्ति ख्रीष्टमस मनाउने क्वेकरहरूका लागि ‘ख्रीष्टमसको दिन र अरू दिनमा खासै केही फरक थिएन’ अनि बाँकी रहेकाहरूले चाहिँ यस उत्सवलाई मोजमज्जा र मनोरञ्जन गरेर मनाउँथे ।
पुरातन ब्याप्टिस्ट र कग्रिंगेशनल चर्चहरूले पनि ख्रीष्टको जन्मोत्सव मनाउने कुनै धर्मशास्त्रीय आधार पाएनन् र मनाएनन् । एक स्रोतका अनुसार डिसेम्बर २५, १७७२ मा मात्र न्युपोर्टको रोड आइल्याण्डे ब्याप्टिस्ट चर्चले सर्वप्रथम ख्रीष्टमस मनाए । यो उत्सव न्यु इंग्ल्याण्डमा प्रथम ब्याप्टिस्ट चर्चको स्थापना भएको झन्डै १३० वर्षपछि मात्र मनाइएको थियो ।
परम्परागत क्याल्भिनिस्ट घरानामा हुर्केका प्रसिद्ध अमेरिकी ख्रीष्ट धर्म प्रचारक हेनरी वार्ड बिचरलाई ३० वर्षको उमेरसम्ममा पनि ख्रीष्टमसबारे ज्ञान थिएन । बिचरले सन् १८७४ मा यस्तो लेखे, ख्रीष्टमस मेरो जीवनको भाग थिएन ।
नेपालमा २०६२÷६३ को आन्दोलन अघिसम्म चर्चमा सीमित रहने ख्रीष्टमस मुलुक धर्म निरपेक्ष घोषणा भएसँगै सार्वजनिक रूपमा विस्तार भएको छ । यो पर्व मनाउन सरकारले वि.सं. २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको छ । पछिल्लो जनगणनाअनुसार नेपालमा १ दशमलव ४२ प्रतिशत ख्रीष्टियन धर्मावलम्बी रहेका छन् । बुझेर वा नबुझेर हो, हाल ठूला सहरमा ‘ख्रीष्टमस इभ’ भन्दै सबै धर्मावलम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ । विश्वव्यापीकरणसँगै विविध संस्कृति फैलने क्रम तीव्र हुँदै गइरहेको छ ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना