‘धूमधामसाथ मनाइँदै क्रिसमस’

काठमाडौँ, पुस १० गते ।  क्रिसमस भन्नेबित्तिकै धेरैको दिमागमा ‘क्रिसमस ट्री’, ‘सान्टा क्लस’, थरीथरीका उपहार, चर्च र येशुको नाममा गरिने प्रार्थना आउने गर्छन् ।  डिसेम्बर महिना सुरु भएसँगै क्रिसमसको चर्चा हुन थाल्छ ।  सपिङ मलदेखि चर्चसम्म इसाई धर्मावलम्बीका साथै गैरक्रिस्चियनको चहलपहल बाक्लिन थाल्छ ।
धेरै युवकयुवतीले क्रिसमस आउनु महिनौँ अगाडिदेखि नै योजनासमेत बुन्न थालिसके ।  क्रिस्चियन धर्मावलम्बीसँगै गैरक्रिस्चियन पनि पर्वमा रमाउन थालेका छन् ।  नयाँ बानेश्वरकी स्मारिका तुलाधर इसाई नभए पनि क्रिसमसमा नगरकोट घुम्न जाने योजना बनाएको बताउँदै थप्नुहुन्छ, “शनिबार क्रिसमस इभ परेकाले धेरै रमाइलो भएको छ, नभए इभको दिनमा बिदा हँुदैन, कामबाट चाँडो गर्नुपथ्र्यो । ”
तुलाधर भन्नुहुन्छ, ‘‘साथीहरूसँग रमाइलो गर्ने भनेकै त यस्तो मौकामा हो, क्रिसमस मनाउन क्रिस्चियन नै हुनुपर्छ भन्ने छैन ? क्रिसमसको बेला जताततै रमाइलो माहोल हुने भएकाले आफू पनि त्यसप्रति आकर्षित भएको हो । ” तुलाधरजस्तै अहिले धेरै युवा सहरबजारमा भेटिने गर्छन् जो एकै स्वरमा भनिरहेका हुन्छन्, “सबै धर्मलाई समान रूपले लिनुपर्छ, त्यसमा रमाउनुपर्छ । ”
यता वसन्तपुरकी उर्मिला लामिछाने क्रिस्चियन हुन् ।  क्रिसमसका दिन रमाइलो गर्न आफू विभिन्न तयारीमा जुटिरहेको उहाँ बताउनहुन्छ ।  झोछेँ प्रेम मण्डलीमा क्रिसमसको तयारीमा खटिरहनुभएका कपिल गुरुङ ‘क्रिसमस डे’का नाममा भइरहेका विकृतिप्रति असन्तुष्टि पोख्नुहुन्छ ।  “अचेल धेरै युवाले क्रिसमसलाई येशुको सन्देशका रूपमा ग्रहण गरेका छैनन् ।  उनीहरूले त यसलाई रमाइलो गर्ने पर्वको रूपमा मात्र लिएका छन्”, गुरुङ भन्नुहुन्छ, “येशुको जन्मदिनको खुसियालीमा क्यान्डल बालेर केक काट्नेलगायत क्रियाकलाप सकारात्मक भए पनि अनावश्यक खर्च गरेर ठूलठूला पार्टी गर्नु एक प्रकारको विकृति नै हो । ” क्रिसमसका दिन चर्चमा नाचगान गर्ने, बेलुन उडाउने र रमाइलो गर्ने गरिन्छ । cristmas
पास्चर डेविड भन्नुुहुन्छ, ‘‘क्रिसमस बुझेकाभन्दा नबुझेकाले बढी मनाउन थालेका छन् ।  युवापुस्ताका लागि क्रिसमस एक प्रकारको फेसन हुन पुगेको छ ।  क्रिसमसका नाममा पार्टी राख्ने, जाँडरक्सी खाने कामले समाजमा नकारात्मक प्रभाव पारिरहेको छ ।  असल र अनुशासित ढङ्गबाट क्रिसमस मनाएमात्र यसले सार्थकता पाउनेछ । ’’
क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ ।  क्रिसमस ट्रीलगायतको सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ ।  

आज सार्वजनिक बिदा
इसाई धर्मावलम्बीले मनाउने ‘क्रिसमस डे’को उपलक्ष्यमा सरकारले आइतबारका लागि सार्वजनिक बिदा दिएको छ ।
आइतबार नेपालभर तथा विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूमा लागू हुने गरी सरकारले पर्व बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  
सूचना विभागले जारी गरेको सार्वजनिक बिदाको सूचीअनुसार क्रिसमसमा क्रिस्टियन धर्मावलम्बीका लागि मात्र सो बिदा दिने उल्लेख छ ।  शनिबारको मन्त्रीस्तरीय निर्णयले सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी गराउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना