घरको नक्सा पास गर्ने क्रम तीव्र

नारद गौतम

काठमाडौँ, पुस १० गते  ।  काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकामा घर निर्माण सम्पन्नको प्रमाणपत्र लिने र घरको नक्सा बनाउने कार्यमा वृद्धि भएको छ ।  भूकम्प पीडितले सरकारी अनुदान प्राप्त गर्ने काम सुरु भएको र हिउँदमा घर बनाउने क्रम पनि बढेपछि नक्सा बनाउने क्रम पनि तीव्र भएको हो ।
नगरपालिकाका कार्यकारी प्रमुख अग्निप्रसाद अधिकारीले भन्नुभयो, “अहिले घरको नक्सा बनाउने र घर निर्माण सम्पन्नको प्रमाणपत्र लिनेक्रम बढेको छ । ” पहिलाका गोलढुङ्गा, काभ्रेस्थली, जीतपुरफेदी, धर्मस्थली, फुटुङ, मनमैंजु र साङ्ला गाविस मिलेर २१ वटा वडाको तारकेश्वर नगरपालिका बनेको हो ।  
पहिला नक्सा बनाउने क्रम कम हुनु, गाविसको पूर्वाधार राम्रो नहुनु, अभिलेख राम्रो व्यवस्थापन नहुनु, कतिको नक्सा भए पनि इन्जिनियरको सहीछाप नहुनु, एक वा दुई तलाको नक्सा बनाएर अन्य तलाहरू मनपरी ढङ्गले थप्नुजस्ता कामसमेत भएको पाइएको छ ।  नगरबासीमा मापदण्डका बारेमा राम्रो जानकारीका साथै सचेतता नहुँदा पनि नक्सा अनुसारको घर नबनाउने गरेको पाइएको छ ।  २०७२ वैशाखमा गएको भूकम्पले धेरैका घर ढलेकाले नयाँ घर निर्माण गर्न नक्सा पास गर्ने क्रम अहिले बढेको हो ।
नगरपालिकाका नक्सा एवं भवन शाखा प्रमुख इन्जिनियर मिलन अर्यालका अनुसार, साउनदेखि मङ्सिर मसान्तसम्म चार सयवटाभन्दा बढी नयाँ नक्सालाई स्वीकृति प्रदान गरिएको र यो अवधिमा झण्डै ११ सयवटा घरको निर्माण सम्पन्न तथा अभिलेखीकरण गर्ने काम भएको छ ।  कतिपय नगरबासीले पुरानो नक्सा भए पनि पुनः बनाउनुपरेकाले नक्सा बनाउन र नगरपालिकामा राजस्व तिर्नुपर्दा धेरै खर्च लागेको गुनासो गरेका छन् ।  नक्सा भएकाले पनि इन्जिनियरहरूको कन्सलट्यान्सीबाट सिफारिस तथा कबुलियतनामासहितको पत्र नगरपालिकामा पेश गर्नुपर्ने गरेको छ ।  नक्सा पुरानै कायम भएको तर कन्सलट्यान्सीलाई पाँच हजार र नगरपालिकामा पाँच हजार रुपियाँ बुझाएको जानकारी दिने नगरपालिकामा भेटिनुभएका एक जना घरधनीले भने, “घर त पुरानै हो, नक्सा नयाँ बनाएर निर्माण सम्पन्नको प्रमाणपत्र त लिइयो तर भूकम्प आउँदा चाहिँ कसरी बाँच्ने हो थाहा छैन । ”
भूकम्पपीडितलाई तीन करोडभन्दा बढी वितरण
तारकेश्वर नगरपालिकाभित्रका भूकम्प पीडितलाई सरकारले उपलब्ध गराएको अनुदान रकम वितरण गर्ने क्रम जारी छ ।  नगरपालिकाका प्रशासन प्रमुख एवं अनुदान सम्झौताका लागि सम्पर्क व्यक्ति तोकिनुभएका राजुप्रसाद तिम्सिनाले हालसम्म तीन करोड ३२ लाख रुपियाँ पीडितका खातामा जम्मा गरिसकिएको र पीडितले दुई चार दिनबाटै रकम निकालेर घर निर्माण गर्नसक्ने जानकारी दिनुभयो ।  नगरपालिकाले हालसम्म तीन हजार ५१५ जनासँग अनुदान सम्झौता गरिसकेको र ६२४ जनाले बैङ्कमार्फत ५० हजार रुपियाँ अनुदान प्राप्त गरिसकेका छन् ।  नगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद रिजालका अनुसार, तारकेश्वर नगरपालिकामा भूकम्प पीडितको कुल सङ्ख्या पाँच हजार ४०० रहेको र तीमध्ये एउटा घर सद्दे भई भत्केको घरको रकम लिने पनि रहेका छन् ।
ढाँटेर रकम लिनेहरू छटपटीमा
घर सद्धे भएका तर गलत रिपोर्ट टिपाएर यसअघि २५ हजार रुपियाँ अनुदान लिएकाहरू भने अहिले छटपटीमा परेका छन् ।  नगरपालिकाले सम्बन्धित वडा कार्यालयलाई गैरपीडितले अनुदान रकम लैजान नपाऊन् भनेर सतर्कता अपनाउन निर्देशन दिएपछि कतिपयले वडा कार्यालयमा पुगेर ‘हाम्रो पैसा किन रोकियो ?’ भनेर झगडासमेत गरेको पाइयो ।  नेपाल सरकार र नेपाल सरकारको स्वामित्वमा रहेका संस्थामा काम गर्ने कर्मचारीले चाहिँ प्रशासनिक कारबाहीमा पर्ने डरले रकम फिर्ता गर्न थालेका छन् ।  यसअघि २५ हजार रुपियाँ लिएका तर घर भने सद्धे रहेकाहरूले पनि घर निर्माण सम्पन्नताको प्रमाणपत्र लिनका लागि ताकेता गर्न थालेका छन् ।  त्यसका लागि घरकर र जग्गाकर तिर्न जाँदा वडा कार्यालयका कर्मचारीले ‘तपाईंको घर त भूकम्पमा भत्केको छ, राहत रकम लिनुभएको छ, अब केको घर निर्माणको प्रमाणपत्र चाहियो ? अब नयाँ घर बनाउन नक्सा पास गर्नुहोस्’ भनेपछि छाँगाबाट खसेजस्तो हुनेगरेको पनि पाइएको छ ।
नगरपालिकामा भेटिनुभएका एक महिलाले भन्नुभयो, “भूकम्पपछि चौरमा बसियो, छिमेकीले भूकम्प पीडितमा नाम लेखाइदिएको बताए, पछि रकम आयो, मैले लिएँ, अहिले त्यही घरमा बसेकी छु, अब अहिले समस्या आयो, घर निर्माणको प्रमाणपत्र लिनवडाले लेखिदिनुपर्ने हुन्छ, वडाले दिँदैन के गर्ने होला ?” जानी जानी वा अरूले टिपाइदिएका आधारमा रकम लिएका र अन्यत्र घर भएकाले पनि रकम लिएको पाइएको छ ।  यस्ता कतिले चाहिँ आफैँ आएर पनि रकम फिर्ता गर्नेगरेका छन् ।  कतिपयले वडा कार्यालयमा गएर ‘थर्काउने’ गरेपछि वडा कार्यालयका कर्मचारीले पनि ‘नक्कली भूकम्पपीडित हुने अनि हामीलाई थर्काउने’ भनेर जवाफ दिनेगरेको पाइएको छ ।
वास्तविक पीडित अझै पीडित
नगरपालिका कार्यकारी प्रमुख अधिकारीका अनुसार, भूकम्पपीडितको प्रमाणपत्र भएका तर अन्य कागजातको अभावमा अनुदान सम्झौता गर्न समस्या भएको छ ।  हालसम्म दुई हजार ३३६ जना पीडितले गुनासो दर्ता गराएका छन् ।  गुनासो दर्ता गराउनेहरूले भूकम्पपीडितको प्रमाणपत्र पाएको तर जग्गाको लाजपूर्जा नभएका, बसोबास भएको तर आवश्यक प्रमाण नभएका, गुठीको जग्गामा घर बनाएर बसोबास गरेको तर लाजपूर्जा नभएका, मोही र जग्गाधनीको दोहोरो स्वामित्व भई मोहीले घर बनाएर बसेर अस्थायी पूर्जामात्रै पाएका जस्ता समस्या लेखाएका छन् ।
यसैगरी, पर्ती जग्गामा घर बनाएर भूकम्प पीडितको प्रमाणपत्र पाएका तर लालपूर्जा नभएका, बाउ, बाजे, आमा वा बाबुको नाममा घरजग्गा भएको तर नामसारी नभएका, एउटा कित्ता जग्गामा धेरै जनाको घर भएका, एउटा घर भत्केको तर परिवारका धेरै सदस्यले रकम दाबी गर्ने गरेका समस्या पनि देखिएका छन् ।  तारकेश्वर नगरपालिका–९ को पुरानो गुह्येश्वरी क्षेत्र दुखेलका शुक्लमान पुतुवारले भन्नुभयो, “बुबाको नाममा जग्गा थियो, उहाँको निधन भयो, जग्गाको पुर्जा बुबाकै नाममा छ, हामी पाँच भाइ छौँ, हामीले बनाएका घर पनि भत्किएका छन्, भूकम्प पीडितको प्रमाणपत्र छ तर पैसा कसले पाउने ? एक जना मात्रैले पाउँदा हामी छुट्टिएर बसेका छोराको त उठिबास हुनेभयो । ” भूकम्प पीडित दिलबहादुर नगरकोटीले पनि आफ्नो समस्या यसरी सुनाउनुभयो, “बुबाको निधन भयो, आमाको नाममा जग्गाको लाजपूर्जा छ, हामी तीन छोरा छुट्टिएर अलग बसेका थियौं तर घर एउटै थियो, चुलो अलग थियो, हामी पीडित भएर पनि अनुदान पाउने कि नपाउने ? पाए पनि पाँच आनामा त सबैले घर बनाउन सकिँदैन, कसो गर्ने ?”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना