समृद्ध नेपाल बनाउन सबैलाई प्रेरणा प्राप्त होस् : राष्ट्रपति

Bidya-Devi-Bhandariकाठमाडौँ,  पुस १०  गते । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसका उपलक्ष्यमा नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ । उहाँले आज दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

“क्रिसमस मनाउन जसरी हामी एकताबद्ध भएर लाग्छौँ त्यसरी नै यस पर्वले समुन्नत नेपाल निर्माणका लागि प्रेरणा प्राप्त होस्,” उहाँले भन्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ – “धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने चाडपर्वहरुबाट सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर जुटाई सामाजिक एकता, सद्भाव एवम् धार्मिक सहिष्णुता कायम राख्न महत्वपूर्ण योगदान हँुदैआएको छ । यस्ता चाडपर्वको अवसरमा कायम हुने एकता तथा सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।”

यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सबै चाडपर्व मिलेर मनाउँदा राष्ट्रिय एकतालाई बलियो हुने विश्वास व्यक्त गर्दै सभापति देउवाले सबै जातजाति, भाषाभाषी, संस्कृति र भिन्न भिन्न धर्मावलम्बीहरुबीचको आपसी सद्भावबाट नै मुलुकको प्रगति हुने विश्वास उहाँले प्रकट गर्नुभएको छ ।

आजै दिनुभएको शुभकामना सन्देशमा उहाँले क्रिसमसले सबैमा भ्रातृत्वको भावना पैदा गर्ने प्रेरणा दिन सकोस् भन्ने कामना गर्नुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना